scheduleमगलवार आश्विन ६ गते, २०७७

धादिङका कोरोना संक्रमित युवा भन्छन्- कोरोनालाई जितेर फर्कनेछु

मेरो घर धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा पर्छ । म अहिले ४१ वर्षको भएँ । मेरो घरमा आमा, श्रीमती, एक छोरा, एक छोरी र एकजना भाइ छन् । म बागबजारमा छापाखाना सञ्चालन गर्दै आइरेहको छु । छापाखानामा मैले काम गर्न गर्न थालेको २०६० सालदेखि हो । बीचमा म दुबई पनि गएर आएँ । त्यसपछि नेपाल फर्किएर छापाखाना सञ्चालन गर्न थालेको पनि ७/८ वर्ष भइसकेको छ ।

नेपालमा कोराना भाईरसको कारण नाकाबन्दी भएपछि म चैत्र ११ गते गाउँ फर्किएँ । म काठमाण्डौंमा आएर बस्न थालेदेखि मेरो गाँउको जग्गा जमिन बाँझाे थियो । योपटक म गएपछि खनजोत गरेँ । अलिकति लिचि पनि लगाएको छ । गोडमेल गरेँ । म खास बिहान बिहान शारीरिक अभ्यास गर्न मन पराउछुँ । बिहान बिहान उडुवादेवी विद्यालयसम्म नियमित मर्निङवाकमा जाने गरेको थिए । त्यहाँको केही स्थानीय साथीहरु र म नियमित मर्निङवाकमा जाने गरेको थियौं ।

काठमाडौंबाट लगेको खर्चहरु पनि सकिसकेको थियो । बीचमा लकडाउन केही खुकुलो भयो । पैसा राखेको सहकारीमा फोन गरेको थिएँ, खुल्ला छ आउनुस् भने । सरकारको निर्णयअनुसार छापाखानहरु पनि सञ्चालन गर्नदिने भन्ने थियो । मसगँ छापाखानाको कार्ड थियो, त्यही कार्ड देखाएर म वैशाख २८ गते काठमाण्डौं आएँ ।

बेलुका नै काठमाण्डौंबाट फर्कन्छु भन्ने थियो, तर साथीहरुले बेलुका कुखुरा पोल्ने, रमाइलो गर्ने भन्ने कुरा गरे । त्यसकारण म बसेँ । भोलिपल्ट धादिङ फर्कन्छु भन्ने थियो, केही ग्राहकहरुले फोन गरे । केही काम गर्दिनुस् न भने । मैले नाईं भन्न सकिनँ ।

छापाखानामा काम धेरै भएकाले त्यतै खाने बस्ने गरिरहेको थिए । मेरो डेराचाहिँ २८ नम्बर वडामा पर्छ । दाल, चनाहरु काेठामा त्यतिकै छाडेको थिएँ । एकपटक डेरामा जान्छु भन्ने लाग्यो । डेरामा जाँदा घरभेटीले हाम्रो वडामा यस्तो निर्णय भएको छ भनेर बाहिर गएर आएको मान्छेले अनिवार्य कोरोना चेक गराउनुपर्छ भन्नुभयो ।

घरबेटीले त्यसोभन्दा एकपटक परीक्षण चाहिँ गराउनुपर्छ भन्ने लाग्यो । घर जाँदा चेक गराएर जानुपर्छ भन्ने सोचेँ । जेठ २ गते म टेकुमा जँचाउनको लागि पुगेँ । म मेरो अर्को एकजना साथी र दुईजना काम गर्ने केटाहरुसँगै म टेकु पुगेको थिएँ । दुईजना काम गर्ने केटाहरुलाई पिसिआर नै चेक नगरी त्यहाँवाट फर्काइदिए । मेरो पनि पिसिआर चेक हुने थिएन । १/२ दिन अघिमात्रै धादिङको गल्छीको एक महिलालाई कोराना पुष्टि भएको डक्टरलाई जानकारी रहेछ । धादिङबाट आउनुभएको भए चेक गराउनुपर्छ भन्नुभयो । अनि हामी दुईजना साथीले चेक गरायौं ।

जेठ ५ गते म यस्सै छापाखानामा बसेर अनलाइनमा समाचारहरु पढ्दै थिएँ । म नियमितजसो कोरोना भाइरससँग सम्बन्धित समाचारहरु सुन्ने, पढने गरेको छु । सुरुमा मलाई टेकुबाट फोन गर्नुभयो, तपाईको रिपोर्ट मेसेज गर्नुपर्ने ठेगाना क्लियर भएनछ, भनेर भन्नुभयो । मैले मेरो बारेमा सबै कुरा बताए । त्यसको केहीवेरमा धादिङको सिडियोसाबले फोन गर्नुभयो म छापाखानामा नै थिए ।

केहीबेरमा फेरी टेकुबाट फोन गरेर तपाईको रिपोर्ट पोजेटिभ आएको छ, फेरी चेक गर्नुपर्छ भन्नुभयो । हामी लिन आउँ कि तपाई आफैं आउनुहुन्छ भन्नुभयो । मैले म आफैँ आउँछु भनेर साथीको बाइकको पछाडी बसेर म टेकु गएँ । कुरा क्लियर नभए पनि त्यहाँ नपुग्दै मेरो मनमा मलाई कोराना लागेको मैले बुझिसकेको थिएँ ।

मनमा डर त्रास त थियो तर ममा आत्मविश्वास पनि थियो । म नियमित एक्सरसाइज गर्ने, हाइकिङ जाने भएकाले पनि म तन्दुरुस्त नै छु । घरमा चाहिँ आत्तिनुहुन्छ होला भनेर मैले ढाँटेको थिएँ । मेरो रिपोर्ट क्लियर भएको छैन रे, त्यहाँ तपाईंहरुलाई पनि चेक गर्न आउँछ होला । नआत्तिनु भनेँ ।

अहिले म बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा छु । यहाँ आएको पनि तीन दिन भइसकेको छ । बिहान ५/६ वजे उठ्छु, वरपर हिँड्छु, दौडन्छु । साँढे सात बजेतिरबाट योगा सुरु हुन्छ आधा घण्टाको लागि । त्यसपछि ब्रेकफास्ट हुन्छ । ११ बजेतिर बिहानको खाना, दिउँसो खाजा र बेलुका खाना खाने गरेको छ । खाने कुराहरुमा पनि त्यस्तो केही समस्या छैन । पत्रपत्रिका पढ्ने, सुत्ने, अनलाइनहरु हेर्ने र आफु बसेको ठाउँ सफा गरेर दिनहरु बित्ने गरेको छ । सबैभन्दा ठूलो कुरा आत्मविश्वास नै हो । मलाई थाहा छ- मेरो आत्मविश्वासले कोरोनालाई जित्नेछु र चाडैँ नै नियमित काममा फर्कनेछु ।

(कोरोना भाइरसको महामारीकाे कारण नेपालमा अहिलेसम्म ४४४ जना सक्रंमित रहेकाे पुष्टि भइसकेको छ । यसैमध्यका एक संक्रमित थाक्रे गाउँपालिका वडा नम्वर ७ का ४१ बर्षीय युवा अहिले बलम्बुस्थित सशसस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा उपचाररत छन् । उनीसँग पत्रकार सराेज पाैडेलले गरेको टेलिफोन कुराकानीको सम्पादित अंश)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय