scheduleमगलवार आश्विन ६ गते, २०७७

… त्यसैले म ‘राष्ट्रवादी’ हैन !

मनिकर कार्की

एकपटक इतिहासतर्फ फर्कौं । सन् २०१४ अगस्ट पहिलो साता जब शक्तिशाली छिमेकी देश भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी पहिलो पटक नेपाल भ्रमणमा आउँदैथिए, सहर मोदीमय भएको थियो । मोदीको विशेष नेपाल भ्रमणको तयारी चल्दैगर्दा काठमाडौंको आडैमा रहेको पहाडी जिल्ला सिन्धुपाल्चोकको माङ्खामा भीषण पहिरो गयो । पहिरोले सिंगो गाउँ नै सखाप भयो । पहिरोमा परी कम्तीमा ३३ जनाले ज्यान गुमाएका थिए भने १२३ जना बेपत्ता थिए । तर, मोदीमय बनेको काठमाडौंमा जुरेको दुःख भन्दा मोदीकै चर्चा बढी थियो ।

यहाँँका शासकले जुरेको विपत्ती देखेनन् । पहिरो गएको झण्डै १२ घन्टापछिमात्र राज्यले ‘हवाई गस्ती’ गरेको थियो । त्यो बेला अहिलेका खाँट्टी राष्ट्रवादीहरु मोदीको खातिरदारीमै तल्लीन थिए । तर, मलाई भने त्यो दृष्य अलि बढिनै बिझाइरह्यो किनकि म ‘राष्ट्रवादी’ थिइनँ ।

आध्यात्मिक चरित्रका मोदीले नेपालको संविधानसभामा भाषण गरे । उनले भाषणमा धेरै आध्यात्मिक मिथक र बिम्बहरुको प्रयोग गरे । अनि सबैले तालीका ताली दिएर स्वागत गरे । वेदका ऋचा, उपनिषददेखि महाभारत र गौतम बुद्धसम्मको प्रसङ्गलाई सिलसिला मिलाएर जोड्न सफल मोदीको भाषणको खुबै तारिफ पनि गरियो । उनले हिमालयदेखि तराईसम्म नेपालमा रहेका सम्भावनाहरुको उजागर गरिदिए, उनैले सिन्धुपाल्चोकको पहिरोले पुर्‍याएको क्षतिप्रति आफूलाई पीडाबोध भएको सुनाए, अनि त्यो विपतमा आफूसँगै हुने वचन पनि दिए । उनको भाषण सुनेपछि संसदमा सन्नाटा छायो । सबै भावुक भए, आँशु चुहाए । तर, मलाई भने मोदीका ती सबै कुरा नक्कली झैं लागेका थिए, त्यसैले म उतिसारो उद्देलित हुन सकिन, उतिसारो भावुक पनि भइनँ किनकि सायद म राष्ट्रवादी थिइनँ ।

अँ साँच्चि तिनै मोदीले नेपालको अपार जलसम्पदा र सम्भावनाहरुलाई उजिल्याउने काम गरे । नेपालको पानीले हिन्दूस्तान हराभरा बनाउने र नेपालको बिजुलीले हिस्दूस्तानको अँध्यारो हटाउने उद्घोष गरे । उनले नेपालको सम्भावना चिनाइदिए । उनले नेपाललाई सार्वभौम राष्ट्र पनि भने । बुद्ध नेपालमा जन्मिएको कुरालाई पटकपटक दोहोर्‍याए । समग्रमा उनले नेपाल र नेपालीको पानीदेखि जवानीसम्मको प्रशंसा गरे । हामी सबै मख्ख पर्यौं । सबै खुसी भयौं । गडगडाहट ताली ठोक्यौं ।

मनिकर कार्की

उनले नेपालीहरुको ‘बहादुरी’को चर्चा पनि गरे, अनि त धेरैको गर्वले हाम्रो छाती चौंडा पनि भयो । सबै मखलेल भए । त्यसपछि त सबैको मुखमा मोदीको ‘नमन गर्छु’ भन्ने शब्द थेगोसरी झुण्डियो । नेतादेखि कर्मचारीसम्म, मन्त्रीदेखि सांसदसम्म, विद्यालयका मास्टरदेखि विद्यार्थीसम्मले ‘नमन’ लाई आफ्नो शब्दकोषमै थपे । तर, मैले कहिल्यै ‘नमन’ भनिनँ किनकि म राष्ट्रवादी थिइनँ ।

२०७२ भदौ महिनाको पहिलोसातातिर को कुरा हो । संविधान बनाउने कामले तीव्रता पाइरहेको थियो । आदिवासी, जनजाति, मधेशी, थारु, महिला, दलित, अल्पसंख्यक आदि समुदायका मानिसहरु आन्दोलित थिए । आफ्ना हक, अधिकारका लागि भन्दै आधा देश आन्दोलित थियो । संविधानसभाबाहिर पनि ससाना भएपनि धेरै दलहरु थिए । उनीहरुले पनि मुलुकको संविधानमा आफ्ना मुद्दाहरु सम्बोधन हुनुपर्ने माग गरेका थिए । तर, ती कसैको पनि आवाजलाई सुनिएन र बहुमतको आडमा संविधान जारी भयो । संविधान जारी भएको भोलिपल्ट सडकमा सैनिक परेड खेलाइयो र नागरिकलाई दिपावली मनाउन उर्दी जारी भयो । तर, त्यो बेला पनि मन प्रसन्न भएर दीपावली गर्न सकिनँ, किनकि म राष्ट्रवादी थिइनँ ।

संविधान जारी भएसँगै तराई मधेशमा बढेको असन्तुष्टिमा आफ्नो स्वार्थको रोटी सेक्दै गरेका तिनै मोदी जसलाई केही वर्षअघिसम्म पनि भाग्यविधाताकै रुपमा नेपालको तत्कालीन संविधानसभामा भव्य स्वागतसहित नमन गरिएको थियो, उनले नाकाबन्दीको दुरह औजार प्रयोग गरे । अनि त नेपालका राष्ट्रवादीहरु नाकाबन्दीको आडमा फेरि पृथ्वीनारायण, भिमसेन, बलभद्र, अमरसिंहदेखि महेन्द्रसम्मको राष्ट्रवादी मिथक प्रयोग गर्न थाले । संविधान जारी भएपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले त भारतलाई देखाइदिने भन्दै आत्मनिर्भरताको नमूनाको रुपमा काठमाडौंमा खाना पकाउने ग्यासको विकल्पको रुपमा १५ रुपैंया किलो दाउरा बेच्न थालेको थियो । घरघरमा ग्याँसका पाईप पुर्‍याउनेदेखि सहरबजारमा बिजुलीबसका ताँती लगाउनेसम्मका राष्ट्रवादी कथ्यहरु त्यतिबेलै निर्माण भएका थिए ।

सरकारी कित्ताका धेरै राष्ट्रवादीहरुले तिनै कथ्यलाई महान् सपना र कथाकारलाई स्वप्नद्रष्टाको उपमा दिँदै भारतीय सीमा बजारबाट तस्करी गरेर ल्याएको पेट्रोललाई प्रतिलिटर पाँच सय रुपैंयाँ (काठमाडौंमा १ हजार ५ सयसम्म) मूल्य तिरेर मोटरसाइकल हुँक्याउँदै राष्ट्रवादी नारा लगाए । तर, म भने त्यस्ता र्‍याली अनि राष्ट्रवादी रोड सोमा सामेल हुन सकिनँ । नाकाबन्दीभित्रको आन्तरिक समस्या समाधान गर्दै कुटनीतिक प्रयत्नबाट आपूर्ति व्यवस्थालाई सहज बनाउनुपर्नेमा सरकार रोमान्टिक राष्ट्रवादको कथ्य निर्माणमा लागेको थियो । त्यसैले त्यो बेला पनि सरकारी राष्ट्रवादको फलोअर भइनँ । किनकि सायद म राष्ट्रवादी थिइनँ ।

प्रत्येक वर्ष पुस २७ गते पृथ्वी नारायण शाहको जन्मदिन आउँछ । अनि फेरि खाँट्टी राष्ट्रवादी मान्छेहरु, कुर्लिन्छन् –‘पृथ्वीनारायण थिए र नै यो देश छ, उनी थिए र नै चन्द्र सूर्य उदाउँछ, उनी थिए र नै हामी छौं । उनी थिए र नै अहिले म छु । त्यसैले उनी महान् राष्ट्रनिर्माता हुन् । उनी हामी सबैका भाग्य विधाता हुन् । उनी नै हामी सबैका असज्र प्रेरणाका स्रोत हुन् । उनी नै हाम्रो पहिचानका आधार हुन् । अर्थात् उनी हामी सबैका पिता हुन् ।’

तर, यो अकिञ्चन अनुज भने बेलाबेला प्रश्न गर्छ । इतिहासलाई अलि फरक तरिकाले हेर्दा कस्तो देखिन्छ भनेर प्रश्न गर्छ । अनि धक फुकाएर भन्छ– ‘पृथ्वीनारायण तत्कालीन समयका एक कुशल, रणनीतिकरुपले चार्तुय योद्धा र सूरा शासक थिए । सत्ताको उत्कट महत्वकांक्षा बोकेका एक लडाकू शासक थिए । उनको गोर्खा राज्य त्यो बेला कमजोरहरुकै प्रतिनिधित्व गर्ने राज्य थियो । आफ्नो राज्यको त्यो बेलाको गरिबी र निम्न अवस्थाबाट माथि उक्सिने अनेकन उपाय मध्ये उनले गोर्खा साम्राज्यको विस्तारलाई अंगिकार गरे । अनि त्यो बेलाको आवश्यकता पनि भूगोल विस्तार गर्ने नै थियो । भूगोल जोडेर ठूलो राज्य हुँदा शक्ति बढ्ने हुँदा सबैले आफ्नो क्षमताले भ्याएसम्म राज्य विस्तारमै ध्यान दिन्थे । अनि राज्यहरुको निर्माण र विनिर्माण, विस्तार र संकुचन केवल युद्धबाटै हुन्थ्यो । यहाँमात्र हैन संसार भर त्यसैगरी राज्यहरु बन्थे र भत्कन्थे ।’

‘नेपालमा पनि त्यही भयो । त्यही उपक्रममा पृथ्वीनारायण शाह अब्बल प्रमाणित भए । उनले तत्कालीन गोर्खा राज्य विस्तारमा सफलता हासिल गरे । न त उनको अभियान राष्ट्रिय एकताको भावनाले नै प्रेरित थियो, न त उनले त्यसरी तत्कालीन गोर्खा साम्राज्यमा गाभिएका ससाना राज्य र त्यहाँका ‘रैती’हरुलाई नै मानोवोचित व्यवहार गरे । खासमा उनको अभियानसँगै भाषा, भेष, बोली, संस्कृति इत्यादिमा ‘गोर्खानाइजेसन’ सुरु भयो र कालान्तरमा त्यसैलाई ‘नेपालीकरण’ गरियो ।’ किनकि यो बबुरो राष्ट्रवादी हैन ।

आफूसँग जे हुँदैन सायद त्यसको याद अलि धेरै नै आउँछ । अहिले सत्तामा बसेका देखि सत्ताबाहिर भएका कतिपय राष्ट्रवादीहरुलाई महेन्द्र र उनको पञ्चायतको झझल्को आइरहेको बुझिन्छ । कतिपय राष्ट्रवादीहरुको तर्क छ– ‘खासमा महेन्द्र जस्तो राष्ट्रवादी नेता न त हिजो जन्मिएकै थियो, न त भोलिका दिनमा पनि जन्मिनेछ ।’ तिनीहरु आज पनि पञ्चायतकालीन राष्ट्रवादको स्वर्णिम काल वर्णन गर्न पछि पर्दैनन् ।

तर, म भन्छु– नेपालको राजनीतिक इतिहासमा पञ्चायतकाल यस्तो कालखण्ड थियो जहाँ खस, आर्य एकल राष्ट्रियताको खुबै व्यापार भयो । यो अवधिमा मुलुकलाई नै एउटै भाषा, भेष, धर्म, संस्कार र संस्कृतिमा ढाल्ने चेष्टा गरियो । महेन्द्रले तिनका जिजुबाबुले पनि गर्न नसकेको काम गरेर देखाइदिए, त्यो हो भूगोलको एकतामा एकल सामुदायिक वर्चस्वको सांस्कृतिक हस्तक्षेप । मलाई प्रश्न गर्न मन लाग्छ – के महेन्द्रीय राष्ट्रवादमा जनताको अधिकारको कुरा छ ? जनताको समृद्धिको कुरा छ ? जनताका मौलिक पहिचान, संस्कार, परम्परा, धर्म, संस्कृतिको जगेर्नाको कुरा छ ? विभिन्न जाति, भाषाभाषि, वर्ग र समुदायका मौलिक पहिचानको संरक्षण छ ? जनतालाई अधिकार सम्पन्न मालिक बनाउने विषयवस्तु छ ? राष्ट्रियताको परिभाषामा जनता पर्दैनन् ? जनताको अधिकार पर्दैन ? साँच्चै मलाई यी र यस्तै प्रश्न गर्न मनपर्छ । मलाई प्रश्न गर्न मन लाग्छ- लिपलेकमा भारतीय सेनाले मार्चपास गरिरहँदा महेन्द्रको राष्ट्रवाद कुन दूलोमा पसेको थियो ? यी प्रश्नहरु गर्न घच्घ्याउने मेरो देशभक्तिपूर्ण भावनालाई म सम्मान गर्छु जति म राष्ट्रवादको मौसमी भेलबाढीलाई घृणा गर्छु ।

केही दिनअघि सरकारले तत्कालीन ब्रिटिस सरकारसँगको सुगौली सन्धिले समेत नेपालको सरहदभित्र पर्ने भनी उल्लेख गरेको तर, हालसम्म नेपालले आफ्नो मानचित्रमा समेट्न नसकेको हालको सीमाबाहिर रहेको लिम्पियाधुरा क्षेत्र र नेपालको मानचित्रमै भएरपनि विगत ५ दसकदेखि नै भारतले भोगचलन गर्दै आएको कालापानी, लिपुलेक क्षेत्रसमेतलाई समेटेर नयाँ नक्सा जारी गरेको छ । यो निश्चय नै स्वागतको कुरा हो तर, नेपालले एकतर्फी नक्सा जारी गरेर मात्रै भूमि फिर्ता आउनेछैन । यहिँनेर सरकारको नक्साफण्डासँग सहमत हुन सकिँदैन । सरकार नक्सा जारी गरेर राष्ट्रवादको उही अमूर्त नाराको व्यापार गरिरहेको छ नकि कुटनीतिक राजनीतिक पहलमार्फत् औपचारिकरुपमा सीमा विवादको समाधान । त्यसैले सरकारको यो राष्ट्रवादी स्टन्टको पनि समर्थन गर्न सकिनँ किनकि म सरकारी दर्जाको ‘राष्ट्रवादी’ हैन ।

साँच्चै भन्ने हो भने ‘राष्ट्रवाद’ भ्रम नै रहेछ । जसको उत्पादन महेन्द्रीय शासनकालमा भयो! खासमा हुनुपर्ने चैं राष्ट्रियता हो जसमा मान्छेको जन्म, थातथलो, संस्कार, संस्कृति र जीवनपद्धति जोडिएको हुन्छ । जब हाम्रो संस्कार, संस्कृति, धर्म, परम्परा, भाषाभेष फरकफरक छन् भने राष्ट्रियताहरू पनि त्यसैअनुसार परिभाषित हुन्छन् । अनि ती सबैलाई एउटै मालामा उन्ने देशभक्तिको भावनाले हो । तर, राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद र देशभक्तिको विषयमा खाँट्टी कुरा नबुझी वाहियात कुतर्क गरेर कथित राष्ट्रवादको नशामा लठ्ठिनु चैं समय खेरफाल्नु र खराब शासकहरूलाई झन् बलियो बनाउनु हो ! किनकि खराब शासकले यस्तै रोमान्टिक राष्ट्रवादको सहारामै आफ्नो शासनसत्ता टिकाएका हुन्छन् !

इतिहासको पर्दा उघारेर हेर्दा सबै छर्लंग हुन्छ– जब शासकहरु आफ्नो शासनसत्ता अकन्टक चलाउने सवालमा बाधा देख्छन्, तब उनीहरु राष्ट्रवादको भुभुजेला यसरी बजाउँछन् कि त्यसले अन्य सबै सुमधुर संगीतका धुनहरुलाई फिका साबित गरिदिन्छ, अथवा ती सबै धुनलाई निलिदिन्छ ! त्यसैले सरकारको अहिलेको नक्साफन्डा त्यस्तै स्टन्ट नहोस्, नक्सा देखाएर भूमि छाड्ने काम नहोस् जुन विगतमा भए । आशंका नै सहि सरकारको नक्साफन्डा कोरोना व्यवस्थापन र शासकीय अक्षमतालाई डाइभर्ट गर्ने अनि एक राउन्ड राष्ट्रवादको बजार व्यवस्थापन गर्ने राजनीतिक स्टन्ट हो । आफैं नक्सा बनाएर घोषणा गर्नु चैं आफैंले प्रश्नपत्र तयार गरी परीक्षा दिएर प्रथमस्थान घोषणा गरे जस्तो भयो ! सरकारले साँच्चिकै दुई छिमेकी र अन्तर्राष्ट्रिय समुदायलाई साक्षी राखेर अतिक्रमित भूमि फिर्ता गरोस् !

तर, समस्या समाधानका लागि ठोस, औपचारिक राजनीतिक एवं कुटनीतिक पहल नलिई प्रधानमन्त्री केपी शर्मा ओलीकै लयमा बरालिनुलाई राष्ट्रवादी भन्न सकिँदैन । खासमा राष्ट्रवाद भ्रमपूर्ण अमूर्त नारा रहेछ भने राष्ट्रियता र देशभक्ति चैं नागरिकको जीवन र व्यवहारसँग जोडिन मूर्त व्यवहार ! त्यसैले पनि म चलनचल्तीको राष्ट्रवादी हैन ! किनकि म मान्छेको मन, जमिन र व्यवहारसँग तालमेल खाने राष्ट्रियता र देशभक्तिको पक्षधर मान्छे हुँ!

@nibartaman

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय