कोही भोकै बसिरहेछन्, कोही भोकै मरिरहेका छन्
राजेश विद्रोहीसप्तरी, ९ जेठ । घरमा खानेकुरा थिएन । खाने कुराको जोहो गर्न उनी काँधमा कोदालो बोकेर एकजना जमिनदारको जमिनमा पुगे । दिनभर काम गरे । घर फर्किनेबेला भएको थियो । चर्को गर्मी थियो । एक्कासी रिंगटा लागेर उनी खेतमै ढले ।
खेतमा ढलेको देखेपछि गाउँलेहरू उनलाई बोकेर घरमा पुर्याई दिए । शरीरमा श्वास बाँकी थियो । बोकेर ल्याउनेहरुले सोचेका थिए- नातागात भयो होला, एक दुई दिनमा उठ्ला ।
बेलुका श्रीमतीसँगै घरमा रहेको सुख्खा चिउरा पानीमा भिजाएर नरम पारे । त्यसपछि उनले नुन खुर्सानी र प्याजको डल्लोसँग मज्जाले खाए । दिनभरको थकाइ त्यसमा पनि नाजुक अवस्था देखेर उनकी पत्निले जिउमा तेल दलेर मालिस गरिदिइन् । त्यसपछि भुईंमा ओछ्यान लगाएर दुवैजनासँगै सुते । उनकी पत्नि जलेश्वरी देवी सदा भन्छिन्, ‘त्यसपछि उहाँ उठ्नु भएन । बिहान उठ्दा उहाँलाई उठ्नुस् भनेर हल्ला गरे । उहाँ बोल्नु भएन । मनमा शंका लाग्यो । त्यसपछि उहाँलाई जति हल्लाए पनि उठ्नु नै भएन । उहाँ त यो संसार छोड्नुभएको रहेछ ।’
गरिबीको कारण लकडाउनमा खाना नपाएर ज्यान गुमाएका सप्तरी कञ्चनरुप नगरपालिका-५ पथरी रामपुरका ५० वर्षीय मलरु सदाको कथा हो । तीन साताअघि नगरपालिकाले राहत स्वरुप १५ किलो चामल र १ सय २० रुपैयाँ वितरण गरेका थिए । थोरै पाएको राहतको चामल सकिएपछि मलरु सदा थप खानेकुरा जुटाउन सकिरहेका थिएनन् ।
उनको परिवारका सदस्यहरु चार दिनदेखि भोकै थिए । पेटमा अन्न परेको थिएन । जेष्ठ ५ गते सोमबार मलरु भोको पेट लिएर काँधमा कोदालो बोकेर अन्नको जोहो गर्न काममा हिँडेका थिए । तर, उनी काम गर्दागर्दै खेतमै ढलेका थिए । गरिबीको कारण समयमा उपचार गर्न पाएनन् । उपचार गरेको भए बाँच्न पनि सक्थे ।
मलरुका तीन छोरामध्ये दुईजना विवाहित छन् । दुवैजना विवाहित छोरा भारतको गुजरातमा रोजगारीमा छन् । दुई बुहारी छुट्टभिन्न भएर बसेका छन् । दुवै छोराको कच्ची घर छ । तर, मलरु दम्पतिको घर भने फुसको छ । त्यो पनि भत्किएको छ ।
उनीहरु दैनिक अरुकै खेतबारीमा काम गरेर पारिवारिक छाक टार्दै आएका थिए । कोरोना महामारीले संसार आक्रान्त भएको यतिबेला दैनिक ज्याला मजदूरीमा काम गरेर जीवन पाल्ने मजदुरहरुलाई भोक टार्न निकै समस्या परेको छ । सरकारले कोही नागरिक भोकै बस्न र मर्नु पर्दैन भनेर राहतको घोषणा समेत गरिसकेको छ । यस्तो अवस्थामा सरकारले नागरिकसँग गरेको प्रतिबद्धतामा खानै नपाई मर्नुपर्ने समाचार दुःखद रहेको सदाका छिमेकीले बताए ।
यस्तो विपतको घडीमा मलरु सदाका लागि कोही पनि साथ भएन । न त छोरा बुहारीले हेर्न सके न सरकारले नै हेरे । छोराहरु पनि भारतमा दुई महिनादेखि बेरोजगार छन् । छोराहरू पनि आफ्नै समस्यामा छन् । स्थानीय अशोक सदा भन्छन्,’सायद मलरुको भाग्यमा खानै नपाई मर्नु लेखेको थियो होलान् ।’
श्रीमानको मृत्युपछि जलेश्वरीसँग अन्तिम संस्कार गर्ने पैसा पनि थिएन । गाउँलेहरू मिलेर १५ सय रुपैयाँ दिए । कात्रोलगायतका अन्तिम संस्कार सरसामानहरु किने । त्यसपछि अन्तिम संस्कार गरे ।
छोराहरु घरबाहिर रहेकाले नाति दिनानाथ सदाले दागबत्ती दिएका छन् । मलरु सदाको गाउँमा ५० घरधुरी गरिब विपन्न दलित समुदायको बसोबास रहेको छ । कञ्चनरुप नगरपालिकाममा कुल जनसंख्याको ३२ प्रतिशत जनसंख्या दलित समुदायको रहेको छ । उनीहरू सबैको अवस्था दयनीय रहेको स्थानीय दलित अगुवा राजकुमार पासवानले बताए ।