scheduleबुधवार जेष्ठ १४ गते, २०७७

हाँसेर कसेको गाँठो रोएर फुकाउँदै छौँ

इतिहासदेखि विभिन्न आरोह-अवरोह छिचोल्दै आजको सुन्दर नेपाल बनेको हो । हामी वैरीसङ्ग पराजित भयौं होला तर पराधिन कहिल्यै भएनौं । हामी कहिले पनि अरूको जमिन लुट्न गएनौं र त आफ्नो पनि लुट्न दिंदैनौं । हाम्रा अग्रजहरूले रगत र पसिना बगाएर जोगाएको सानो देशको गरिमा उँचो छ ।

त्यसैले त हाम्रो स्वाभिमान सगरमाथाको शिखर बनेर चुलिएको छ । नेपाली विरासत बुझेरै होला आज नेपालजस्तो सानो देशलाई पनि विश्वका कुनै पनि शक्तिशाली राष्ट्रहरूले हलचल गर्न सकेका छैनन् । यसरी नेपाली वीरताको आत्मप्रशंसा गरिरहँदा आज नेपालको वर्तमान ठोस वस्तुस्थिति के हो भन्ने महत्वपूर्ण विषय यसैको उठान हो ।

२१ औं शताब्दीको नेपाल भर्खर समृद्धिका नाराहरू फलाकेर लर्खराउँदै छ । यसैबीच, छिमेकी देशहरूको थिचोमिचो सहनुपरेको छ । भौगोलिक निकटताले मात्र छिमेकी मान्न बाध्य भएका हामी नेपालीहरू अहिले निकै ऐतिहासिक घडीमा आइपुगेका छौं । शासकहरूले हाँसीहाँसी कसेको गांठो आज रूँदै-रूँदै फुकाउनुपरेको छ ।

Dish_Home

हिजो माटो बेचेकाहरूले माटो खाइसके । आज पानी बेचुवाहरू राष्ट्रवादको डुङ्गामा सयर गरिरहेका छन्, जनता पानीबिनाको माछाझैं छट्पटीमा छन् । जनताको ओठतालु सुक्दै जाँदा शासकवर्गको जीवन नदिकिनारमा झुलिरहेको निँगालो बनेको छ । यिनै असमानताबीच जारी समानताको लडाइँ निश्कर्षमा नपुगेसम्म अनवरत संघर्षमा पूर्णविराम लाग्ने छैन ।

थुप्रै विमति र असन्तुष्टका बाबजुत पनि आज राष्ट्रिय एकताको पक्षमा उभिन जरुरी छ । जसरी भीमकाय छिमेकी देशहरू चीन र भारत संवेदनहीन भएर मुखमा रामराम बगलीमा छुरा गरिरहेका छन्, तिनको प्रतिकार गर्नुको विकल्प छैन ।

‘चीन एकछिनको मित्र’ र भारत ‘सजिलो तर बोझिलो’ मित्रको रूपमा प्रस्तुत हुँदै गर्दा हामीले हाम्रो स्वरूप परिवर्तन गर्नैपर्छ । हाम्रो लुटिएको भूमि फिर्ता गर्ने जुझारु अभियानको खाँचो छ । हात्ती चढिसकेको मान्छेले गधा चढ्न मान्दैन भन्ने थाहा हुँदाहुँदै पनि फेरि देशको माटो वैरीको हातबाट खोस्नु जबर्जस्त छ नै । देशभित्र कृयाशील अराजक र अराष्ट्रिय तत्वहरूले सम्धिको निहुँले मलाई पनि घ्यू ले भन्ने दाउपेच गर्न सक्छन्, सत्ताको सौदाबाजी गर्न सक्छन् , यसतर्फ सचेत बनौं ।

किनकि भौगोलिक राष्ट्रवाद सत्ताकवच बनेको र अन्ततः त्यसले कुनै पनि परिणाम दिन नसकेको कटुसत्य हो । हामी कारण भन्दा पनि घटनाको बारेमा अधिक केन्द्रित हुने गर्छौं । आजको यो परिणाम हिजोको कारण हो भन्ने तथ्य भुल्छौं र पछि त्यही गल्ती दोहोर्‍याउँछौं ।

०७२ को भारतीय कठोर नाकाबन्दीले ‘सुपरपावर’ बनाएको शक्ति पछि परणामले उसकै भक्ति गाएको देखाउँछ । भारतको विपक्षमा जति उभिएर कुर्लिए पनि ऊसङ्गको परनिर्भरता झन् बढेर गएको छ । हाम्रा शासकहरुले मुलुकलाई आत्मनिर्भर बनाउन मेहनत गरिरहेका छैनन् ।

महाकाली सन्धि दश दश वर्षमा पुनरावलोकन गर्ने सम्झौता तेइस वर्ष पूरा भैसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । भनिन्छ, एकचोटीको चोर सधैंको चोर । एकचोटी राष्ट्रघात गरिसकेको व्यक्तिले फेरि कसरी पुनर्जन्म लिन सक्छ ? ‘बाँसका चोयाले’ पूरै शरीर बन्धक बनाउँछ भने फेरि ‘शरीरमा’ फर्किन असंख्य असम्भव कुरा भो ।

अत: महाकालीको भेलमा पौडिएर जोगाएको राष्ट्रवाद जीवित छ वा मृत छ, हिंड्न थालेपछि प्रमाणित होला । जस्तोसुकै संभावित दुर्घटनाबाट सुरक्षित अवतरण गर्न सक्ने भएरै होला देशका कार्यकारी केपी शर्मा ओलीलाई राजनीतिका ‘स्विमर’ भनेर चित्रण गरिन्छ । यो किन संभव भयो भन्दा उनले सत्ताको शक्तिलाई ‘लाइफ ज्याकेट’को रूपमा दुरुपयोग गर्छन्, गरेका छन् । पार्टीभित्रबाट ‘रेड कार्ड’को भागिदार बन्न लागेका ओलीले फेरि एकपटक ‘गोल्डेन गोल’ गर्न भ्याए । झन् सीमा विवादले त उनलाई दूधले नुहाएको भ्रम फैलाएको छ । राष्ट्रियताको विषयमा ओली र ओली पुस्ता चुकिसक्यो, अब उनीहरूबाट देशको अस्तित्व जोगिन सक्दैन भन्ने शङ्काको लाभ लिने ठाउँ छ ।

भारतले नेपाली भूभाग भोगचलन गर्ने निर्णय एकतर्फी गर्‍यो, राजनीतिक नक्शा एक्लैले निकाल्यो । यस मानेमा नेपालले पनि आफ्नो गुमेको भूभाग एकलौटी रूपमा आफ्नो देशको नक्सामा समावेश गर्‍यो । यहाँ जस्तालाई तस्तै भनेजस्तो बराबरी देखियो । तर, नेपालको राजनीतिमा भारतको तिखो प्रभाव हुँदै आएकोले कुटनैतिक र राजनीतिक वार्ताको माध्यमबाट समाधान खोज्नु उत्तम हुनेथियो ।

हामीलाई त के छ र, भावनात्मक ढंगले लिने हो भने सरकारले जारी गरेको नयाँ नक्शाले छाती चौडा बनाएको छ । मुलतः यो विधि र प्रक्रियाले कालान्तरमा कस्तो नतिजा ल्याउने हो भन्ने विषय ठूलो हो । किनकी हामी सबै कुरामा भारतपरस्त छौं । हाम्रो आफ्नो स्वदेशी उत्पादनले यहाँको मागलाई पूर्ति गर्न सक्दैन । यसो भनिरहंदा भारतसङ्ग झुक्ने भन्ने आशय पटक्कै होइन । अहिलेसम्मका सरकारहरूले भारतसङ्ग कुम जोडेर नेपाललाई परनिर्भर बनाउने खेल खेले ।

आवेशमा आएर भावनामा बगेर अरूले लुटेको जमिन सजिलै फिर्ता कहाँ हुन्छ ? के नेपालको सीमा जोगाउने अस्त्र भनेकै एकपक्षीय नक्सा जारी गर्नु हो त ? हैन भने केहि समय धैर्य गर्न सकिन्न र ? बाह्र वर्षमा खोलो फर्किन्छ भनिन्छ तर यतिका लामो समयसम्म लिपुलेकमा डोजर चलेको कसरी थाहा भएन सरकार ? जनतालाई मूर्ख बनाउने काम नगरौं ।

महान् व्यक्ति अब्राहम लिङ्कनले भनेका छन्, ‘मलाई रूख काट्न छ घण्टा समय देऊ र म पहिलो चार घण्टा बन्चरो उद्ध्याउन लगाउने छु ।’ यसको तात्पर्य भनेको आफ्नो हतियार बलियो नबनाइकन हठात् निर्णयले सफलता हात पर्दैन भन्ने हो । वार्ताकै बाटो लत्याएर र युद्धकै पक्ष लिने हो भने अत्याधुनिक हतियारसहित साढे चौध लाख सैनिक भएको देशसङ्ग पचासी हजार मात्र सैनिक भएको देशले उसलाई नाप्न सक्दैन । फेरि हारिन्छ भनेर नलड्ने कुरा पनि हुँदैन । देशका निम्ति मर्न तयार हुनुपर्छ । भारतीय मिडियामा नेपालबारे प्रयोग गरिएका शब्द र बलिउड नायिका मनिषा कोइरालाप्रतिको अभद्र व्यवहार दुई देशबीचको सम्बन्ध विपरीत छ, यसको भर्त्सना गर्नैपर्छ ।

रक्षामन्त्रीले लिपुलेकमा बन्दै गरेको सडकका बारेमा मुख खोल्न सकेनन् या त हेलिकप्टर धेरै माथि उडेको हुनुपर्छ । प्रधानमन्त्री ओलीकै मुखारविन्दुबाट नेपालको नक्शामा ‘चरिचुच्चे’ अर्थात् कालापानी, लिम्पियाधुरा र लिपुलेक कहिल्यै नपढेको वाणी फुत्कियो । भारतले खनेको सडकबारे आफू अनभिज्ञ भएको नाटकमन्चन गरियो । यस्तो विवादास्पद भनाइ राखेका ओली यू-टर्न भएर एकाएक मौसमी राष्ट्रवादको स्याबासी लिन तम्सिए । उनमा कसरी राष्ट्रवादको ‘भूत’ जाग्यो भन्ने धेरैको जिज्ञासा छ ।

ओलीकै नाममा बर्सिएको तथाकथित जनमतको पाँच वर्षे कार्यकाल पूरा गर्न र आफूलाई बलियो देखाउन चालेको कदम हो भनेर कतिपयले आलोचना गरेका छन् । हुन त प्रधानमन्त्री ओलीलाई मूर्ख र अन्धभक्तहरूले गरेको प्रशंसा भन्दा बुद्धिमानीले गरेको भद्र गालीले फाइदा पुग्छ । सीमा विवाद बिस्तारै सामसुम होला कि नेपालले अर्को कदम चाल्ला भन्ने आमचासो छ । अहिले केपि ओली भारतको तारो बनेका छन् वा उनको भित्री राष्ट्रवाद अर्कै छ । तर नेकपाका अर्का अध्यक्ष प्रचण्ड भिजेको मुसो बन्न पुगे ।

भारतीय रक्षाविद् जनरल बक्सिले दिएको पछिल्लो अभिव्यक्तिले त प्रचण्ड सुत्न पनि नसक्दा हुन् भन्ने लख काट्न सकिन्छ । माओवादीलाई सहयोग गरेर इतिहासमा महाभुल भयो, जसले दुई देशबीचको सम्बन्ध, धर्म र संस्कार बिगारेको भनी बक्सिले आरोप लगाएका छ्न् । बक्सिकै भनाइ एकैछिन सत्य मान्दा कमरेड प्रचण्ड नाङ्गिने खतरा छ । र, तात्कालिक जनयुद्ध बेकार सावित हुने छ ।

नक्साको विषयलाई लिएर अहिले सामाजिक संजालमा नेकपा कार्यकर्ताहरू उप-राष्ट्रवादी बन्न उद्दत छन् । सबै राजनीतिक दलहरूको साथविना भारतासङ्ग लड्न केपी ओली नै काफी छन् भन्ने भ्रामक अफवाह फैलाएका छन् । विपक्षी दलका नेतालाई अनेक लान्छना लगाएर चरित्र हत्या गर्न उत्तेजित देखिन्छन् । नक्सा छाप्न त एक्लैले सकिन्छ तर भूमि नै फिर्ता ल्याउन त एकता नै आवश्यक छ । अन्धभक्तजनका मुख थुन्न केहि आलोचना गरिए पनि अहिले सरकारले जुन अडान लिएको छ, त्यसलाई हार्दिकतासाथ स्वागत गर्नुपर्छ ।

हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने विधेयक संसदमा दर्ता भएसङ्गै सरकार अझ कडा रूपमा प्रस्तुत भएको सङ्केत पाउन सकिन्छ । अन्त्यमा, दुई देशबीच युद्ध भड्किने गरि जनताले फेरि सास्ती पाउने कुरामा सरकार सजग रहोस् । अब नेपालले दाबी गरेको आफ्नो भूमी यो सरकारले फिर्ता गर्न नसके पनि यो पुस्ताले पक्कै आफ्नो माटोका निमित्त अन्तिम लडाइँ लड्ने छ । यो युगको आवश्यकता युवाले पूरा गर्ने छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय