scheduleआइतवार जेष्ठ १८ गते, २०७७

गुन्जी, कुटी र नाभीसमेत समावेश नयाँ नक्सा विदेश पठाइने

काठमाडौं, १० जेठ । लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएसँगै राजनीतिक तथा प्रशासनिक रूपमा यसको प्रयोग सुरु भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न पठाएलगतै मुद्रण विभागले प्रकाशन गरेको हो ।

सरकारले यही जेठ ४ गते मन्त्रिपरिषद्बाट निर्णय गरी ७ गते सार्वजनिक गरेको हो । यो नक्सामा भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहित भूभाग समेटिएको छ ।

Dish_Home

अद्यावधिक नयाँ नक्सा तथा निशान छाप अन्तर्राष्ट्रिय समुदायसहित सबैतिर पठाउने गृहकार्यमा सरकार जुटेको छ । यही क्रममा सरकारले नक्सा छाप्ने र निशान छाप परिवर्तनको कानुनी प्रक्रिया सुरु गरिसकेको छ ।

सन् १८१६ मार्च ४ मा तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धि अनुसार काली नदी र सोभन्दा पूर्वको भू–भाग नेपाल राज्यको अभिन्न अङ्ग रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । काली नदी पूर्वका गुन्जी, नाभी, कुटीलगायतका बस्ती रहेका भू–भागसमेत देशको सिमानाभित्र पर्नेछन् ।

उता, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले नक्सा विदेश पठाउनेबारे निर्णय भई नसकेको बताउँछन् । सबै प्रक्रिया पुगेपछि अन्तर्राष्ट्रिय जगत्मा नक्सा पुग्ने उनले जानकारी दिए ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार अद्यावधिक नक्सा छिट्टै वेब भर्सन र हार्डकपी दुवैथरि प्रकाशनमा ल्याउन तयारी भइरहेको छ ।

यसैबीच, सरकारले बिहिवार सार्वजनिक गरेको नेपालको अद्यावधिक राजनीतिक र प्रशासनिक नक्सा राष्ट्रपति, प्रधानमन्त्रीसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गरेकी हुन् ।

मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि नेपालको नयाँ नक्सा हस्तान्तरण गरिन् ।

नेपालले आफैं बनाएको नक्सामा पहिलो पटक लिम्पियाधुरासहित अन्तराष्ट्रिय सीमानासहितको यो नक्सा प्रकाशित भएको छ । यो नक्सामा भारतले लामो समयदेखि अतिक्रमण गरेको गुन्जी, कुटी र नाभीसमेत समेटिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय