scheduleसोमवार आश्विन ५ गते, २०७७

कृषिमा ४ लाख नयाँ रोजगारीको अवसर सिर्जना गर्ने तयारीमा छौंः मन्त्री भुसाल

काठमाडौं, १० जेठ । कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा ४ लाख नयाँ रोजगारीको अवसर सिर्जना गर्नेगरी बजेट विनियोजन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

मन्त्री भुसालले यसपटक कृषि क्षेत्रका लागि ३१ अर्बभन्दा बढी बजेट विनियोजन हुने जानकारी दिए । विदेशबाट फर्किने र स्वदेशमै रहेका लाखौँ नेपाली युवाहरु व्यावसायिक कृषि खेतीमा जोडिन चाहेकाले उनीहरुलाइ समेट्ने गरी बजेट तयार पारेको उनले जानकारी दिए ।

यसैका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग थप बजेट विनियोजन गर्न पनि माग गरेको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्बको सिलिङ बजेट दिए पनि रकम अपुग हुने भन्दै कृषि मन्त्रालयले थप ९ अर्ब ५ करोड रुपियाँ विनियोजन गर्नुपर्ने माग गरेको हो ।

स्थानीय स्तरमा लघु कृषि उद्यम कोष स्थापनाका लागि १ अर्ब ५० करोड, पाँच लाख रुपियाँ भन्दा बढी साना कृषि कर्जा ३ प्रतिशत, १० लाख रूपैयाँदेखि पाँच करोड रूपियाँसम्मको कृषि कर्जा ५ प्रतिशत ब्याज दरमा सुनिश्चित गर्न ५ करोड रुपियाँ भन्दा माथिको कर्जाका लागि आधार ब्याजमा ५ प्रतिशत अनुदान गरी जम्मा ब्याज अनुदानका लागि ३ अर्ब विनियोजन हुनुपर्ने कृषि मन्त्रालयले यस्तो माग गरेको हो ।

त्यस्तै, स्थानीय तहमा प्राविधिक सेवाको सुनिश्चितताका लागि स्वीकृत दरबन्दीमध्ये रिक्त दरबन्दीमा सेवा करारमा लिइने कर्मचारीको तलब भत्ताका लागि २ अर्ब ३० करोड रुपियाँ हुनुपर्ने मन्त्रालयको धारणा छ । कृषि उपजको स्थानीय स्तरमा भण्डारण, प्राथमिक प्रशोधन र बजार पुर्वाधार स्थापनाका लागि ५० करोड रुपियाँ, कृषि प्रयोजनमा प्रयोग हुने विद्युतमा लाग्ने महशुलमा ५० प्रतिशत अनुदान र विद्युत्को डिमान्ड शुल्कमा पूर्ण अनुदान उपलब्ध गराउनका लागि १ अर्ब रुपियाँ, स्थानीय तहमा यसवर्ष १ सय वटा मिनी कोल्ड स्टोर र कुल बुटहरूको निर्माणका लागि ५० करोड विनियोजन हुनुपर्ने माग कृषि मन्त्रालयले गरेको छ ।

अबको ५ दिन पछि अर्थात् जेठ १५ गते सार्वजनिक हुने बजेट लगभग तयार भएको छ । मन्त्रालयहरूले छुटेका र थप्नैपर्ने महत्वपूर्ण योजना, आयोजनाहरु समेट्ने काम गरिरहेका छन् । यसपटकको बजेट कृषि र स्वास्थ्य क्षेत्रमा प्राथामिकताका साथ आउने भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय