scheduleबुधवार जेष्ठ १४ गते, २०७७

कृषिमा उद्यमशिलताः आवश्यकता र अवसर

सुरेन्द्र वस्ती र डा. वेदप्रसाद खतिवडा

निर्वाहमुखी कृषि प्रणालीबाट बजारमुखी कृषि प्रणालीमा विकास गर्नका लागि अपनाइने रणनीति नै कृषि उद्यमशिलता हो जसमा उत्पादनको उच्चतम गुणस्तर कायम गर्दै आफ्नो व्यवसायबाट कम लागत र खर्चमा बढी नाफा कमाउने उद्देश्य रहन्छ । कृषि क्षेत्रमा उद्यमी बन्नका लागि सर्वप्रथम र शुरुवातकर्तामा आँट, जोखिम मोल्न सक्ने क्षमता र नयाँ प्रविधि अँगाल्न सक्ने साहसको आवश्यकता पर्दछ । व्यवस्थापकीय एवं उद्यमशिलताको क्षमता भएका मानिस वा समूहबाट नै सफल कृषि उद्यमीको जन्म हुने गर्दछ । यसका लागि उद्यमीले उद्यमशिलताको सैद्धान्तिक तथा व्यवहारिक पक्षका बारेमा गहीरो जानकारी राख्नु अत्यावश्यक रहन्छ । खासगरी नयाँ नयाँ सोच ल्याउने  नयाँ कृषि प्रविधिको प्रयोगको शुरुवात गर्ने, साझेदारीको शुरुवात र चयन गर्न सक्ने, लगानीका लागि साझेदारहरुलाई विश्वस्त तुल्याउने र त्यसलाई व्यवहारिक स्वरुप दिनु नै सफल उद्यमी हुनेतर्फको खुड्किलो हो ।

सफल उद्यमी बन्नका लागि व्यवसायिक सीप, व्यवस्थापकीय सीप, अवसर पहिल्याउन सक्ने सीप, रणनीतिक सीप र सहकार्य र साझेदारी निर्माणको सीप हुनु अनिवार्य रहन्छ । व्यवसायिक सीप र ज्ञानको हकमा भने उत्पादनसम्बन्धी सीप र ज्ञान र प्राविधिक पक्षको कम्तिमा सामान्य जानकारी आवश्यक पर्दछ । व्यवस्थापकीय सीप अन्तरगत आर्थिक व्यवस्थापन, ग्राहक व्यवस्थापन, श्रम तथा सीप र क्षमताको व्यवस्थापन र सामान्य दैनिक योजनाको निर्माण र कार्यान्वयन गर्दै यसबाट नयाँ कुराहरु सिक्ने काम रहन्छ ।

त्यस्तैगरी अवसरको पहिचानको सीप अन्तरगत कुन व्यवसाय नाफामा जान सक्छ वा कुन व्यवसायमा कम जोखिम र बढी अवसर रहन्छ वा कुन व्यवसायमा नयाँ तौरतरिकाले गर्न सकिन्छ भनेर हरदम चनाखो रहने र अवसरको खोज गरिरहने स्वभाव पनि अत्यावश्यक रहन्छ । रणनीतिक सीप र क्षमता अन्तगरत भने लक्ष्य निर्धारण गर्ने, सुपरिवेक्षण तथा मूल्याकंन गर्ने वा कुनै पनि नयाँ विषयको अवधारणा बनाउने जस्ता पक्षहरु रहन्छन् । अहिलेको समयमा सबैभन्दा महत्वपूर्ण सीप भनेको सहकार्य गर्दै नयाँ नयाँ पक्षहरुसँगको सम्वाद र पहुँच विस्तार गर्नुरहेको छ जसमा समूहगत सहकार्यको अवधारणा, किसानहरुको समूह वा संगठन एवं कृषि उद्योगीहरुसँगको सहकार्य पर्दछ ।

Dish_Home

नेपालको सन्दर्भमा कृषि उद्यमशिलता

परम्परागत रुपमा हेर्दा नेपालमा कृषि क्षेत्र न्यून वाह्य प्रविधि, वा न्यून बाह्य ज्ञानको आधारमा पारिवारिक खाद्य तथा पोषण सुरक्षाको परिपूर्ति गर्नका लागि मात्र केन्द्रित रहेको थियो जसमा बजारको प्रभाव न्यून रहेको थियो । परिवारको खेतबारीमा उत्पादन गरिएका कृषि उपजहरु आफ्नै परिवार वा नजिकका छिमेकीहरु वा नातागोतासँग बाँड्ने खालको हुन्थ्यो र एकापसका भान्छाका आवश्यकताहरु पूरा गरिन्थ्यो ।

समयक्रममा परिवारमा आर्थिक आवश्यकता बढ्दै जाँदा कृषिबाट वा पशुपालनबाट केही आम्दानी गर्न सकिन्छ कि भनेर कृषिमा बजारलाई हेरेर वा बजारमा माग भएका उपजहरु उत्पादनमा जोड दिन थालियो । उदाहरणका लागि गाउँघरमा घ्यू बनाएर अन्य केही उपजहरु जस्तै चुक अमिलो, मह, कोदो आदि साट्ने चलन थियो । तर अझै पछि आएर यसको कारोबार नगदमा नै हुन थाल्यो ।

बिस्तारै कृषि उपजहरुमा पनि बजारमुखी उत्पादन र बजारीकरणको प्रयास शुरु भयो जसले उत्पादकहरुलाई आम्दानी हुन थाल्यो भने उपभोक्ताहरु पनि आफूले खोजेको उत्पादन पाएर खुशी हुन थाले । यसले पछि आएर व्यवस्थित बजारको अवधारणा, बजारमुखी उत्पादनको योजना र कृषिमा ठूलाठूला उद्योग नै स्थापित हुन थाले जसमा आफ्नै जग्गा-जमीन भएका किसानले उत्पादन गर्न थाले भने अन्यले कृषि प्रशोधन उद्योग चलाउन थाले । त्यस्तै कृषिलाई चाहिने उत्पादनका साधन जस्तै मल-बीऊ, विषादी, आदिको व्यापार हुन थाले र कृषिको आपूर्ति श्रृङ्खलामा नै उद्यमशिलताको विकास भएको छ ।

कृषि उद्यमशिलतामा कृषि व्यवसायहरु

कृषिको आपूर्ति श्रृङ्खलामा वा मूल्य अभिवृद्धि श्रृङ्खलामा विविध खालका उद्योगहरु वा उद्यमहरु सिर्जना गर्न सकिन्छ । यस्ता व्यवसायहरु खासगरी तीन भिन्न खालका हुन सक्छन् ।

कृषि उत्पादनमूलक व्यवसाय

कृषि अर्थशास्त्रको नियम अनुसार प्रत्येक परिवारले गर्ने कृषि नै एउटा व्यवसाय हो जसमा उनीहरुले दीगो उत्पादन र नाफामूलक उत्पादनका लागि श्रम, शक्ति, पूँजी, सीप र क्षमताहरुको संयोजन गरेका हुन्छन् । यस्ता उत्पादनमूलक व्यवसाय एक किसान वा किसान समूह वा सहकारी वा व्यक्तिगत फार्म उद्योगको रुपमा विकास गरिन्छ ।

सेवाप्रदायक व्यवसायहरु

गाउँघर वा कृषि व्यवसायमा किसान आफैंले गर्न नसक्ने काम वा किसानको कामलाई थप सहज, कम कष्टकर बनाउन वा लगानी घटाउनका लागि पनि विभिन्न रणनीति अपनाउनुपर्ने हुन्छ । यसक्रममा सेवा प्रदायक व्यवसायहरु सिर्जना हुन्छन् । किसानको मल-बीऊ खरिदमा सहज बनाउन गाउँगाउँमा एग्रोभेट पसलहरु हुन् वा खेतबारी खनजोतका लागि टयाक्टर वा बाली काटन वा बाली झाँट्न वा चुट्न रिपर, थ्रेसर आदिको प्रयोग वा हालैका दिनहरुमा आएर प्लाष्टिक घर वा विभिन्न खालका यस्तै उन्नत प्रविधिको प्रयोगको आवश्यकतालाई मध्यनजर गर्दै व्यवसायको रुपमा विकास गरिएको छ । यसले समग्रमा कृषि क्षेत्रमा रोजगारी सिर्जना र लगानीको अवसरलाई बढाएको देखिन्छ ।

उत्पादनका साधनको उत्पादनमूलक व्यवसाय

किसान वा उत्पादक आफैंले सबै उत्पादनका साधनहरु उत्पादन गर्न सम्भव रहँदैन । मल, बीऊ, बेर्ना वा बीरुवा उत्पादन गर्ने नर्सरी, कृषि मेशिनरी वा औजारहरु, पशुपालनका लागि दाना चोकर, र अन्य औजार र यन्त्रहरु कृषि उत्पादनका साधनहरु हुन् र यस्ता उत्पादनमूलक व्यवसायहरुमा लगानीको ठूलो अवसर र रोजगारी सिर्जनाको पनि सम्भावना रहेको छ । किसानले प्रयोग गर्ने उत्पादनको प्रविधिको विस्तारसँगै यस्ता उत्पादनमूलक व्यवसायको दायरा पनि फराकिलो हुँदै गइरहेको छ ।

प्रशोधन र बजारीकरणका व्यवसायहरु

कृषि उत्पादनहरुमा कतिपय अवस्थामा बाली उत्पादन लिइसकेपछि पनि थप प्रशोधनको आवश्यकता पर्छ भने सबै कृषि उपजहरुलाई उपभोक्तासम्म पुर्‍याउनकालागि बजारीकरण अनिवार्य शर्त हो । धान गहुँ मकै जस्ता कृषि उपजहरुको प्रशोधन गराई चामल, पिठो वा आँटा बनाएर होस् वा फलफूल, तरकारी आदिबाट जाम, जेली वा अचार बनाएर होस, व्यवसायिक सोच राख्ने समूहहरुले कृषिको प्रशोधन तथा बजारीकरणमा ठूलो सम्भावना देखेका हुन्छन् । सस्तो मूल्यमा कृषि उपजहरु खरिद गरी यसको मूल्य अभिवृदि गर्ने जस्तै लसुन अदुवा किनेर अचार बनाउने, धान किनेर चामल बनाउने आदि गर्दा प्रशोधनको लागि ठूलो लगानी र रोजगारी सिर्जनाको अवसर सिर्जना हुन्छ ।

यस्ता कुनै पनि व्यवसायहरुमा कृषि उद्यमशिलता विकास गर्न सकिन्छ भने यसका लागि व्यापारिक घराना वा साना किसान वा यसका समूहहरु वा सहकारीहरुमार्फत काम गर्न सकिन्छ । यसकालागि सरकारी तवरबाट नीतिगत व्यवस्था र सहजीकरण आवश्यक रहन्छ भने व्यवसायीहरुले भने आफ्नो व्यवसाय दर्ता गरी नियम अनुसार करको दायरामा आएर सरकारलाई सहयोग गर्नुपर्ने हुन्छ ।

विदेशबाट सस्तो मूल्यमा कृषि उपजहरु नेपाल भित्रिरहेको र नेपालमा बेरोजगारीदर द्रूत गतिमा बढ्दै गइरहेको अवस्थामा यूवा जनशक्तिहरुलाई कृषि पेशामा आकर्षित गरी लगानी गराउने र यसका लागि सरकार, निजी क्षेत्र वा सबै सरोकारवालाहरुले स्वदेशी कृषिजन्य उद्योगको स्थापना, बढावा र रोजगारी सिर्जनालाई थप व्यवस्थित र दीगो बनाउन आवश्यक रहेको छ ।

यसका लागि बैंक वा सहकारीहरुले सस्तो दरमा ऋण लगानी वा सेवा प्रदायकहरुले आवश्यक पर्दा सेवा प्रदान गर्ने र सरकारले बजारको सुनिश्चितता गर्न सकेमा थप प्रभावकारी बनाउन सकिन्छ ।

(लेखक सुरेन्द्र वस्ती अमेरिकाको लुजियाना राज्य विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा विद्यावारिधी गर्दैछन् भने उनी कृषि व्यवसायीकरण र श्रमशक्तिको समुचित प्रयोग विषयमा दख्खल राख्छन् ।
डा. खतिवडा अष्ट्रेलियामा रहेर कृषि क्षेत्रभित्र ताजा कृषि उपजको गुणस्तर व्यवस्थापनमा काम गर्छन् ।) 

यसअघिका स्तम्भहरु

कृषिमा यान्त्रिकीकरणः आवश्यकता र उपलब्धता

नमुना कृषि फार्मः सानो लगानीमा दीगो आम्दानीको स्रोत

यसरी चलाऔं बीउ साटासाट अभियान र बनाऔं सामुदायिक बीउ बैंक

महामारीमा सुरु गरौं घरबगैंचा र करेसाबारी निर्माण अभियान

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय