scheduleशनिवार मंसिर २० गते, २०७७

परदेशबाट नेपाली राजनीति हेर्दा

कमल भट्ट

एक जना मेरा पुराना साथीले यदि राजनीति गर्ने हो भने नेपाली माटोमा आएर गर भन्नुभएको मलाई अझै याद आउँछ र लाग्छ उहाँले ठीक भन्नुभएको रहेछ । जब म एक मतदानको लागि त योग्य छैन भने किन फेसबुक वा अरु कुनै माध्यमबाट मेरा मनमा लागेका कुराहरु व्यक्त गरेर केही राजनीतिक कम्जोरी औंल्याउने जब कि नेपालमा भएका कैयौं मेरा ती साथीहरुलाई ठीक लागिरहेको छ । त्यसैले म यो कृयाकलापमा अलि पछि हटें अनि मात्र दर्शक र पाठक बनें । तर पनि नेपालसँग व्यक्तिगत, पारिवारिक, व्यवसायिक नाता गाँसिएको हैसियतले नेपालको राजनीति टाढाबाट नहेर्ने भन्ने कुरै भएन र अहिले म बसेको देशको राजनीतिक अनुभव भोगेको नाताले नेपालको राजनीतिमा केही यस्ता सुधार भइदिए हुन्थ्यो जस्तो लाग्छ, परिवर्तन हुनुपर्ने धेरै बिषय र मुद्दाहरु छन् तर मूलत: केही यस्ता छन्ः

व्यक्तिकेन्द्रित राजनीतिको सट्टा मुद्दाकेन्द्रित राजनीति

नेपालमा अधिकांश राजनैतिक बहसहरु व्यक्तिको बारेमा हुने गर्छ । को के हुने, कस्ले के बोल्यो, कस्ले कुन पद्को लागि के गर्‍यो, अब को के होला, को भारतीयको मान्छे, को चिनियाँको मान्छे, को पश्चिमा, आदि आदि । यतिसम्म कि राजनैतिक विश्लेशकसँग गरिएका सम्वाद वा अन्तर्वाताहरु समेत व्यक्तिकेन्द्रित हुने गर्छन् । अनि यस्ता सम्वाद वा छलफलमा बिरलै मुद्दा उठान हुने गर्छन् । पत्रकारको प्रश्न नै यस्ता हुने गर्छन् कि कुन नेता के गर्दैछन् अनि कस्ले के चाल चाल्दैछ यस्तै यस्तै । उत्तर दिने विश्लेषकहरु पनि अमुक व्यक्ति यस्तो उस्तो भनिरहनुहुन्छ । तर कतिपयलाई यदि तपाईंले यो ठाउँ पाउनुभयो भने के गर्नुहुन्छ भनेर न त प्रश्नकर्ताले प्रश्न गर्छन् न त उत्तरकर्ताले कुनै खासै मुद्दाकेन्द्रित उत्तर दिन्छन् । अरुलाई एक औंला देखाउँदा ३ औंलाले आफूलाई देखाइरहेको याद उहाँहरुलाई हुँदैन । यतिसम्म कि स्वतन्त्र बुद्धिजिवी भन्नेहरु समेत आफ्नो फाइदा अनुकुल चलेको आभाश हुन्छ । उदाहरणको लागि कुनै अमुक नेतालाई हराउँ भनेर वा सरकारको गल्ती समेतको बचाउ गरेर विज्ञप्ती निकालेको इतिहास छन् । मान्छे हो, मान्छेका कमजोरीहरु हुन्छन् । त्यसैले गुण र दोषको आधारमा समर्थन वा विरोध गर्न सक्ने नागरिक समाजको विकास नहुँदासम्म पद्धतिको सट्टा व्यक्तिले नै राजनैतिक नेतृत्व लिन्छन् र आसेपासे भरणपोषणमा केन्द्रित हुन्छ ।

मुद्दाको राजनीति गर्ने हो भने जुनसुकै पार्टीको पनि राम्रा मुद्दाहरुको ग्रहण गर्ने र यदि आफूलाई मन परेको पार्टीको मुद्दा नराम्रो छ भने बहस गर्ने र विरोध गर्ने क्षमता राख्नुपर्छ । यसो हुँदा बहुमतलाई ठीक लागेको मुद्दा संस्थागत हुन गई व्यक्ति गौण हुन्छ । पछि जुन व्यक्ति नेतृत्वमा भए पनि संस्थागतरुपमा सबै काम चल्छ । नेपालमा कम्युनिस्ट भन्नेहरुले सुन्न नचाहने तर यथार्थ यो हो कि जुन पश्चिमा मुलुकहरुमा (कम्युनिस्टको भाषामा पुँजीवादी) देखिन्छ । यो पार्टीदेखि सरकार अनि सेवामूलक कार्यालयहरुमा लाभदायक हुन्छ जस्तो लाग्छ । जब पार्टी नेतृत्व तल्लो तहदेखि निर्वाचित नभई कसैले टिका लगाइदिएको भरमा हुन्छ र बाँचुन्जेल नेतृत्वमा हुने गर्छ तब तल्लो तह नेतृत्वमाथि कम्जोरी गर्दा पनि औंला देखाउने हिम्मत राख्दैन र नेतृत्व परिवर्तन हुन कठीन हुन्छ । अहिले नेपालको राजनीतिक परिवेश हेर्दा जम्मा ८/१० जनाले चलाइरहेका छन् भने अरु दोस्रो तेस्रो पुस्ताका नेताहरु तिनै ८/१० जनाको नराम्रोको बचाउ र राम्रोको बखान गर्न व्यस्त छन् । यसले अनुत्पादक राजनैतिक चरित्र निर्माण गरिरहेको छ । जुन भविष्यमा घातक हुने संकेत हो ।

राजनीति पेशा होइन, सेवा हो

यदि नेपालका कुनै राजनीतिकर्मीलाई एउटा फाराम भर्न दिने हो भने पेशा भएको कोठामा राजनीति भर्छन् । यो नै सबभन्दा ठूलो प्रमाण हो कि नेपालमा राजनीतिलाई सेवा होइन पेशाको रुपमा अपनाएका हुन्छन् ।

नेपालका अधिकांश राजनीतिकर्मी विद्यार्थी राजनीतिबाट आएका हुन्छन् । तिनीमध्ये कति त ५० बर्षको उमेरसम्म विद्यार्थी नेताको रुपले चिनिन्छन् । पछिल्लो समय भने कोही माओवादी जनयुद्धबाट त कोही मधेश आन्दोलनबाट स्थापित नेताहरु पनि नभएका होइनन् तथापि उनीहरु पनि प्रायःजसो राजनीतिलाई पेशाको रुपमा अंगालेकाहरुको नै बाहुल्य छ । संविधानसभाबाट संविधान बनिसकेपछि भने यदाकदा पूर्वहरु याने कि पहिले कुनै पेशा भएकाहरु राजनीतिमा आउने जमर्को गरेको पाइन्छ । यो एक हिसाबले ठीक जस्तो पनि लाग्छ तर उनीहरु पनि अरुको बिरोध गर्नमा बढी समय खर्चने गर्छन् । उनीहरु आफ्नो मुद्दाको बारेमा अली प्रस्ट नभएको वा अल्मलिएका जस्तो भान हुन्छ ।

जब एउटा विद्यार्थी नेता कुनै पनि लाभको पदमा नबसिकन गाउँबाट आएर काठमाडौंमा घरघरेडी जोड्नेदेखि लिएर छोराछोरीलाई महँगा बोर्डिङ स्कुलमा पढाउन कसरी सामर्थ्य राख्छन् ? यो भित्र अनियमितता छ भन्ने कुरा केटाकेटीले समेत अन्दाज लगाउन सक्छन् । र अझ डरलाग्दो र महँगो त पूर्वहरुलाई दिइने सेवा सुविधा । केही महिना कुनै पदमा गयो अनि उसले आजीवन जनताको करबाट जीविकोपार्जन गरेको हुन्छ । लाज पनि नलाग्ने ? मैले के योगदान गरेको थिए र यो सबै मैले जनताको करबाट किन लिने गरेको छु भनेर एक पटक पनि सोच्दैनन् होला ? अनि ग्लानी लाग्दैन होला ?

म अहिले रहेको देशको (Switzerland) कुरा गर्ने हो भने, सबै राजनीतिकर्मीहरु केही न केही पेशामा आबद्ध हुन्छन्, बाँकी समय निकालेर राजनीति गर्छन् । यसको मतलब सबै जीउनको लागि सक्षम छन् र राज्यको स्रोतको दोहन गर्नु पर्दैन र भ्रष्टाचार हुँदैन । सबै पूर्व मन्त्रीहरु अवकासपछि एक न एक काममा आबद्ध हुन्छन् र पूर्वको हैसियतमा सेवासुविधा लिन आवश्यक छैन किनकि उनीहरु आफै जीउन सक्छन् । नेपालमा यस्ता सेवासुविधाहरु रोक्न सकियो भने राजनीतिलाई नाफाको व्यवसाय गर्नेहरुको संख्या न्युनीकरण हुन्थ्यो कि !

सरकार कुनै आमुक पार्टिको मात्र नभै, सम्पूर्ण नेपालीको हुनुपर्छ

संसदीय व्यवस्थामा बहुमत संसद सदस्यले सरकार बनाउने हो । सरकारका मन्त्री हुनेहरु पार्टीको मुख्य देखि कुनै न कुनै पदमा हुन्छन् । यसो हुँदा ती मन्त्रीहरु आफ्नो पार्टीलाई फाइदा हुने काम गर्न उद्यत हुने गरेका छन् । त्यसैले जब कुनै पनि नेता सरकारमा जान्छ उसले पार्टी सदस्यबाट राजीनामा दिएर सम्पूर्ण नेपालीको सरकार हुनुपर्छ । र अहिलेको नराम्रो प्रवृत्ति के हो भने सरकारमा रहेको पार्टीले नेपाल सरकारका स्रोत-साधनको दुरुपयोग गर्छन् । जस्तै बालुवाटार (प्रधानमन्त्री निवास) सम्पूर्ण नेपालीको करबाट सञ्चालित हो । त्यसैले त्यो पार्टीको बैठक बारम्बार बालुवाटारमा बस्नु गैरकानुनी हो वा संस्थागत भ्रष्टाचार हो । किनकी त्यो बालुवाटार विपक्षीहरुको पनि हो, भोट् हाल्नेको पनि हो, नहाल्नेको पनि हो र विदेशबाट रेमिट्यान्स् पठाउनेको पनि हो । पार्टीको कामकारबाही गर्न धुम्बाराही, सानेपा, वा ती सर्वोच्च भन्न रुचाउनेहरुको आलिसान बासस्थानहरु नै काफी छन् । त्यतिले पुगेन भने कुनै बैंकट वा हल भाडामा लिएर गर्न सकिन्छ । त्यस्तै परराष्ट्रनीति पनि हरेक पार्टीको फरक फरक नभै राष्ट्रिय नीति हुनुपर्छ जुन सबैको साझा होस् । नेपालमा हुने गरेको आ-आफ्नो फरक फरक प्रकारको राष्ट्रवादले (भाषिक, पोशाकीय, भौगोलिक) देशलाई भलो नगर्नुको साथै कूट्नीतिक स्तरमा कमजोर उपस्थिति हुन्छ । त्यसैले सबै नेपालीको परराष्ट्रनीतिको मामिलामा एक स्वर हुनु उपयुक्त हुन्छ जस्तो लाग्छ, जुन अरु देशहरुमा देख्न र भोग्न सकिन्छ ।

राजनीतिमा विरोधलाई सुझावको रुपमा ग्रहण गर्न सक्नुपर्छ

जब कसैले विरोध गर्‍यो भने, कहीँ न कहीँ केही न केही गल्ती भएको वा हुनलागेको हुनुपर्छ । त्यस्ता विरोधहरुलाई सुनेर सच्चिने गर्दा फाइदा हुन्छ जस्तो लाग्छ न कि विभिन्न भाषा प्रयोग गरी कटाक्ष गरेर । सरकारको वा पार्टीको प्रमुख हुनु भनेको त अभिभावक हुनु हो नि । अहिलेको नराम्रो पक्ष यो पनि हो कि नेपालमा धेरैजसो मान्छेहरु कुनै न कुनै पार्टीमा आबद्ध हुन्छन् र त्यही आधारमा पूर्वाग्रही भएर विरोध र समर्थन गर्छन् । त्यसैले आफ्नो पार्टीको वा सरकारको नराम्रो काममा चुप लाग्ने कार्यकर्ता र अर्को पार्टीको वा सरकारको राम्रो कामको पनि विरोध गर्ने कार्यकर्ताले अन्धभक्त राजनीति गर्ने गर्छन्, जुन देश, पार्टी र कालान्तरमा ऊ आँफैलाई हानी पुर्‍याएको हुन्छ ।

राजनीतिकर्मीले नीतिनियम बनाउने र विज्ञले विभागीय काम गर्ने

सबै मन्त्रीलाई सबै कुराको ज्ञान नहुन पनि सक्छ र हुँदैन पनि । उसले विज्ञहरुको सल्लाहमा गाइडलाइन तयार गर्ने र निर्णय गर्ने हो अनि विभागीय कर्मचारीलाई काम गर्न लगाउने वा सहज बनाउने हो न कि सबै मलाई मात्रै थाहा छ मैले भनेको मात्र हुनुपर्छ भनेर गलत काम गर्ने वा गलत बोल्ने । कर्मचारी चयन गर्दा पनि अनुभव र उसको अध्ययनको आधारमा उचित विभागमा नियुक्ति गर्दा काम फलदायी हुन्छ न कि सोर्सफोर्स, ब्रिफकेश वा राजनीतिक नियुक्ति । यसको एउटा कुरुप उदाहरण हो राजदूत नियुक्ति । सबै त भन्न मिलेन तर अधिकांश राजदूत हुन कि आफन्त, कि पैसा कि राजनीतिक कार्यकर्ताको साइनो जोडिनुले देशको कूटनीति कम्जोर भएको छ । अरु देशमा कूटनीतिक विषय पढ्ने विश्वविद्यालय छन् । यो विश्वविद्यालयमा २ देखि ३ बर्ष कूट्नीतिशास्त्र अध्ययन गरेको र कुनै न कुनै राजदूतावासमा सहायकको रुपमा काम गरेको छ भने मात्रै उक्त देशको परराष्ट्र मन्त्रालयमा जागिरको लागि आवेदन दिनु सक्छ । यदि मापदण्ड पूरा गरेको खन्डमा निजले राजदूतको जागिर पाउँछ । न ऊ कसैको नाता पर्ने हुनुपर्छ न कुनै पार्टीको झोला बोकेको । राजदूत भनेको त विदेशमा आफ्नो देशको प्रतिनिधि हो, जसले देशको हित हुने काम गर्छ । तर कुनै कूटनीतिक ज्ञान नभएको, राजनैतिक पहुँचको आधारमा नियुक्ति भएकाहरुबाट के आशा गर्ने र ? यो त एउटा उदाहरण मात्र हो । नेपालमा यस्ता राजनैतिक नियुक्तिले गर्दा प्रायःजसो विभाग र कार्यालयहरु काम नलाग्ने भएकाले सेवा सुविधा संस्थागत हुन सकेका छैनन् । यदि राज्यका कुनै पनि विभाग र कार्यालयहरु संस्थागत हुने हो भने राजनैतिक परिवर्तन हुँदैमा वा सरकार परिवर्तन हुँदैमा जनताले पाउने सेवा सुविधामा कुनै परिवर्तन हुँदैन ।

संघ संगठनको सम्बन्धमा

कुनै पनि वर्गीय संघ वा संगठन हुनु आफैमा राम्रो पक्ष हो किनभने उक्त संगठनको पहलमा वा मद्दतमा त्यससम्बन्धी कर्मचारी वा मजदुरको हकहितमा काम गर्न सजिलो र बलियो आधार बन्छ तर यो हरेक पार्टीको आ-आफ्नो हुनु राम्रो होइन । जस्तै जताततै हरेक पार्टीको प्रवास संगठन हुनुभन्दा विदेशमा रहेका नेपालीहरुको एक छाता संगठन हुनु नै बढी फलदायी हुन्छ जस्तो लाग्छ । विद्यार्थी, शिक्षक, मजदुर, विभिन्न व्यवसायी, किसान देखि डाक्टर, इन्जिनियर अनि बुद्धिजिवीहरुको पनि छाता संगठन भयो भने राजनीति कम र प्रभावकारिता बढी भई फलदायी हुन्छ ।

अन्तमा नेपालको राजनीतिलाई सम्मानित र पद्धतिमा चल्ने बनाउने हो भने, कुरो भन्दा काम बढी गर्ने, भाषण भन्दा रासन बढी दिने, नेता भन्दा नीतिलाई महत्व दिने, हाम्रोलाई भन्दा राम्रोलाई मौका दिने, प्रचारमुखी भन्दा परिणाममुखी काम गर्ने, चुनावमुखी भन्दा सेवामुखी राजनीति गर्ने, राम्रोको समर्थन र खराबको विरोध गर्न सक्ने, विरोधलाई सुझावको रुपमा ग्रहण गर्नसक्ने क्षमता राख्ने र कार्यकर्ता भन्दा नागरिक हुन सिक्ने समाज र सामाजिक अगुवा (नेता) हुन जरुरी देखिन्छ ।

मेरो नजरमा नङमा मसी लगाएर चुनाव चिन्हमा छाप लगाउने प्रवृत्ति रहुन्जेल माथि उल्लेखित राजनीतिक चरित्रको आशा गर्नु आकाशको फल जस्तो लाग्छ । यो तरिकाबाट छानिने प्रतिनिधिहरु अर्को चुनावको खर्च जोहो गर्न बढी लाग्ने र सेवामूलक काममा कम लाग्ने हुने गरेको छ । तर पनि सबैले हरेक स्तरबाट पहल गर्न भने छोड्नुहुन्न । आखिर जस्ले जसरी सोचे पनि नेपाल र नेपालीको हितमा सोचेको खन्डमा सबैको भलो हुन्छ। तीमध्यको सकारात्मक सोच नै उत्तम हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay