scheduleशनिवार आषाढ़ २० गते, २०७७

कोरोनाको कहरबीच पर्यटनको पालुवा !

राममणि खतिवडा

कोभिड-१९ भनिने कोरोना भाईरसको विश्वव्यापी असर चरमोत्कर्ष उन्मुख छ । चीनको वुहानमा उत्पत्ति भएको भनिएको यस महव्याधिको त्रासमा सिङ्गो विश्व त्राहिमाम भैरहँदा संसारका झन्डै आधा जनसंख्या कुनै न कुनैरुपमा घर परिसरमै थुनिनु परेको छ । विश्व जनजीवनलाई अभूतपूर्व असर पुर्‍याएको कोरोना संक्रमणको असर कहिलेसम्म रहने हो कसैले किटान गर्न सक्ने अवस्था छैन । युरोपलगायत तुलनात्मकरुपमा विकसित मुलुकमा ज्यादा प्रभाव देखाएको महाव्याधिले नेपाललगायत दक्षिण एसियामा गम्भीर प्रभाव जमाउने क्रममा छ। विगत वर्षहरुमा पनि यस्तै किसिमका संक्रामक महामारी दुनियाँले भोगेको थियो, तर यो स्तरको विश्वव्यापी असर भने पहिलोपटक अनुभव हुँदैछ।

कोभिड महामारीको विश्वव्यापी प्रभाव गहिरिँदै जाँदा यसले निम्त्याउने बहुआयामिक असरका बारेमा विभिन्न कोणबाट विश्लेषण शुरु भएको छ । विश्व बैंक, अन्तर्रास्ट्रिय मुद्राकोष, विश्व स्वास्थ्य संगठन, विश्व प्रसिद्ध विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुको पछिल्लो आंकलनअनुसार आगामी दिनहरु निक्कै कठिनाईपूर्ण हुनेछन् । जनस्वास्थ्यका सवालमा मात्र नभई, समग्र विश्व अर्थतन्त्र, खाद्य सुरक्षा, रोजगारी, समाज, आप्रवासन, सुरक्षा, पर्यटनलगायत जनजीवनका सम्पूर्ण पक्षमा कोरोनाको गहिरो असर पर्नेछ ।

विश्व स्वास्थ्य संगठनको चेतावनीलाई मान्ने हो भने यो भाईरस सम्भवत: कहिल्यै नाश हुनेछैन । केवल स्वरुप मात्र परिवर्तन हुने हुँदा लामो समयसम्म पनि पटकपटक पुनरावृत्ति भैरहन सक्नेछ । कोरोनासँग जुध्न सिङ्गो विश्वले लामो समय र ठूलो आर्थिक व्ययभार सहन तयार हुनुपर्ने हुनसक्छ ।

नेपालको सन्दर्भमा कोरोनाको असर झनै गम्भीर र एक हदसम्म धान्न मुस्किल हुने विन्दूसम्म नपुग्ला भनेर भन्न सकिने स्थिति छैन । नेपालको जनस्वास्थ्यको अवस्था, भौगोलिक अवस्थिति, अर्थतन्त्रको आधार, रोजगारीको अवसरलगायतका कारण परिस्थिति विल्कुलै प्रतिकूलताउन्मुख देखिन्छ । मुलत: विप्रेषण र पर्यटन आयको बलमा थेगिएको आयातमुखी अर्थतन्त्रको भुक्तानी सन्तुलन आगामी दिनमा कसरी व्यवस्थापन हुने हो कुनै टुंगो छैन ।

मुलुकको अर्थतन्त्रको मुख्य आधार स्तम्भका रुपमा लिईएको कृषि, पर्यटन र जलस्रोत मध्ये पर्यटन उद्योग अनिश्चित भविष्यको भुमरीमा नराम्ररी भासिएको छ । विश्वव्यापी महामारीको शुरुदेखि नै प्रहार खेपेको पर्यटन उद्योगले प्रकोपको अन्तपछि पनि अनिश्चितकालसम्म अकन्टक असर व्यहोरी रहनुपर्नेछ ।

पर्यटन अत्यन्तै संवेदनशील उद्योग हो । समाजमा हुने सामान्य गतिविधिले पनि यसलाई प्रत्यक्ष असर पुर्‍याउन सक्छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा कम योगदान देखिए पनि पर्यटन उद्योगको प्रत्यक्ष-परोक्षरुपमा ज्यादै ठुलो योगदान रहेको छ । अनुमानित तथ्याङ्कअनुसार पर्यटन उद्योगले करिब दश लाख नागरिकलाई प्रत्यक्ष रोजगारी दिएको छ भने अप्रत्यक्षरुपमा झन्डै दोब्बर संख्या यससँग जोडिएका छन् ।

साना, मझौला र ठुला गरी हजारौं व्यावसायिक प्रतिष्ठानमार्फत् नागरिकहरु स्वरोजगार बन्दै मुलुकको समृद्धिमा योगदान गर्ने माध्यम समेत बनेको छ । रोजगारीको भरपर्दो क्षेत्र, वैदेशिक मुद्रा आर्जनको दिगो स्रोत, मुलत: स्वदेशी लगानी तथा कच्चा पदार्थको प्रयोग, अति कम पर्यावरणीय प्रभाव अनि नेपाली संस्कृतिको सकारात्मक प्रचार समेत हुने पर्यटन उद्योगलाई जीवित राख्न यस घडीमा बिशेष पहलको नितान्त जरुरत छ ।

विश्वव्यापी महामारीका कारण पर्यटनको अन्तरास्ट्रिय सञ्जाल नराम्रोसँग खल्बलिएको छ र निकट भविष्यमा नै पूर्ववत अवस्थामा फर्कने कुनै गुञ्जायस समेत छैन । हाल विश्वका झन्डै ९० प्रतिशत विमान सेवाहरू थन्किएको अवस्थामा छन् र ती सेवामा फर्किन महिनौं लाग्नेछ या आर्थिक समस्याले सेवामा पुन: कहिल्यै फर्कन सक्ने छैनन् । यस परिस्थितिले पर्यटनलाई थप निराश बनाउनेछ र धेरै हदसम्म अन्तररास्ट्रिय पर्यटकमा निर्भर नेपालको पर्यटन उद्योग अझै थिलथिलो हुने स्थितिमा छ । यसबाट करिब ८० प्रतिशत उपस्थिति रहेको साना तथा मझौला उद्यमीहरू पलायन हुनेसम्मको परिस्थिति सृजना हुनसक्छ ।

पटकपटक आईलग्ने यसप्रकारका प्रतिकूलताबाट उम्किने सुविधा निजी वा सार्वजनिक कुनै पक्षलाई छैन । निजी क्षेत्रका तर्फबाट पर्यटनमा भएको अरबौंको लगानी यतिखेर उच्च जोखिममा परेको छ । यसबाट सृजना हुने परिस्थितिले निजी लगानी मात्र नभई, बैंक हुँदै मुलुकको अर्थ प्रणाली मै गम्भीर असर निम्त्याउन सक्नेछ । स्थितिको गम्भीर मुल्यांकन गर्दै राज्यले अविभावकको रुपमा निजी क्षेत्रलाई विश्वासमा लिंदै यो विषम परिस्थितिसँग जुध्दै अघि बढ्न सहजीकरण गरिदिनु पर्दछ ।

अहिलेको अवस्थामा पर्यटन उद्योगमाथि अस्तित्वको संकट आइलागेको छ । यो स्थितिमा कसैले नाफाको कल्पनासम्म गर्न सक्दैन । हाललाई, आ-आफ्ना व्यावसाय टिकाउन सके संकटको अन्त्यपछि निजी क्षेत्रले आफूलाई पुनर्जीवित गर्न सक्नेछन् । यस घडीमा पर्यटन उद्योगले राज्यको यथोचित साथ र सहयोग पाएन भने निश्चय नै लामो समयसम्म शीर उठाउन सक्ने छैन । यसको सिधा असर पर्यटन उद्योगमा मात्र नभई समाजका अनेकौं पक्षमा समेत पर्ने पक्का छ ।

झन्डै दुई महिनादेखि नेपाललगायत संसारका धेरैजसो क्षेत्र बन्दाबन्दीको अवस्थामा छन् र पर्यटन सम्बद्ध कुनै गतिविधि हुने स्थिति छैन । यस्तो अवस्थामा नेपालको पर्यटन क्षेत्र अन्योल भविष्यको भुमरीमा रुमलिएको छ । अहिलेलाई परिस्थिति प्रतिकल भएपनि पर्यटनको भविष्य सुरक्षित छ र हामी फेरी उठ्ने छौं भन्ने विश्वास दिलाउँदै निजि क्षेत्रको मनोबल बढाउनु पनि राज्यको जिम्मेवारीभित्र पर्दछ । मुलुक सबैको साझा हो । समस्या पनि साझा नै हुन् । आर्थिक, सामाजिक अनि रोजगारीका सवाल पनि साझा नै हुन् । साथै, यसको समाधानको दायित्व पनि साझा हुन् भन्ने भावनाले सिंगो मुलुक एकसुत्रमा बाँधिन सक्यो भने अवश्य नै हामीले महामारीलगायत सबै समस्याविरुद्धको लडाईं जित्न सक्नेछौं । यसका लागि ठोस पहल लिने जिम्मेवारी भने राज्यलगायत सबैले बहन गर्नुपर्दछ ।

प्रतिकूलताका सयौं पहलुहरु होलान्, तर प्रतिकूलताबीच अनुकूलताको खोजीमा अघि बढ्नु नै मानवीय स्वभाव हो । कोभिड महामारीकाबीच पनि सम्भावनाको सुत्र पत्ता लगाउने जिम्मा आज निजी, सार्वजनिक, समुदायलगायत समग्र पक्षको काँधमा आएको छ । अभूतपूर्व महासंकटबाट नेपालको पर्यटन जरुर उठ्नेछ । तर समय भने लाग्नेछ । यसका लागि समग्र पक्षको सामूहिक प्रयत्नमा माथि उठाउने संकल्पको खाँचो छ आज ।

कम्तिमा नेपालको पर्यटनले अब शून्यबाट प्रस्थान गर्नुपर्नेछ । सम्पूर्ण वायुसेवा कम्पनिहरु, मुलुकभरीका सबै तहका होटेलहरु, सबै रेस्टुरेन्टहरु, ट्राभल, ट्रेकिंग, राफ्टिङ्, पाराग्लाईडिङसम्बन्धित सबै पसल, स्टोरहरु महिनौंदेखि पूर्णरुपमा बन्दको अवस्थामा छन् । हजारौं व्यावसायीहरु, लाखौं आश्रित मजदूरहरु, साना-ठूला सप्लायर्सहरु महिनौंदेखि कामविहिन भएका छन् र यो अवस्था कहिलेसम्म रहने कुनै टुंगो पनि छैन ।

निश्चय नै शून्यविन्दू चुनौतिको द्योतक हो । सँगै यो एक अवसरको सूचक पनि हुन सक्छ । शून्यताले हामीलाई नवीन शिराबाट लामो गन्त्यव्यको सहि शुभारम्भका लागि मार्गदर्शन पनि गर्न सक्दछ । शून्य समयको सुविधा सदुपयोग गर्दै राज्यले स्वदेशी उद्योगमैत्री नीतिमा आवश्यक सुधार, लचकता र भविष्यको चुनौती आंकलन गर्दै उपर्‍युक्त नीति तर्जुमा गर्नेतर्फ समेत ध्यान दिनुपर्दछ ।

अपार प्राकृतिक/सांस्कृतिक सम्भावना भएर पनि पर्यटन पूर्वाधारका सवालमा हामी अझै पछाडि नै छौं । यो समय नयाँनयाँ क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी हाम्रा पर्यटकीय गन्तव्यहरुलाई आगामी दिनहरुमा प्रतिस्पर्धी बनाउन सकिनेछ । पर्यटन उद्योगका लागि आवश्यक जनशक्तिको उचित तालिम, कर्जाको पुनर्तालिकीकरण, चालू पुँजी, कर्मचारी खर्च, घरबहाल तथा कर व्यवस्थापनमा सहजीकरण गर्नु पनि राज्यको जिम्मेवारी भित्र पर्दछ ।

लामो समयदेखि नेपाल एकै प्रकारका पर्यटन उत्पादनमा टिकी रहेको छ । बदलिँदो परिस्थितिमा नेपालले बजार प्रतिस्पर्धी बन्न समेत आफ्ना उत्पादनहरुको विविधिकरण गर्नु नितान्त जरुरत छ । राज्यले यो समयलाई सदुपयोग गर्दै कोभीड-१९ पछिको अन्तरराष्ट्रिय, क्षेत्रीय र छिमेकको रणनीतिको गहिरो अध्ययन गर्दै सोहीअनुसार प्रतिस्पर्धी नीति तर्जुमा गर्दै अघि बढ्न सकेमा नेपालको पर्यटन उद्योगले आफुलाई पुनर्स्थापित गर्ने मार्ग प्रशस्त गर्न सक्नेछ । सरोकारवाला सम्पूर्ण पक्षहरुले ख्याल गर्नु पर्ने कुरो के पनि छ भने कोभीड-१९ पछिको अन्तरराष्ट्रिय पर्यटन बजारले नयाँ ट्रेण्ड समात्ने प्रवल सम्भावना छ । आगामी दिनमा सोतर्फ समेत सचेत हुँदै नेपालले होसियारीका साथ अघि बढ्नु नै बुद्धिमानी हुनेछ ।

नेपाली पर्यटनको हालको अवस्था अकस्मात लागेको ठूलो डडेलोले उजाड बनेको हराभरा जंगल जस्तै हो । जो हराभरा थियो, अनेकौं प्रजातिका पोथ्राहरू आकाश छुने उत्साहका साथ तछाड-मछाड गर्दै हुर्कंदै थिए । कैयौं जडिबुटीहरु लहलाहाउँदै थिए । अनि पोथ्राका टुप्पातिर विभिन्न प्रजातिका चराचुरुंगीले गुँड लगाएका थिए । तर, अकस्मात आएको राक्षसी रापले एक्कै झोक्कामा सब तबाह बनाई दियो । डडेलोले उजाड बनाएको उराठ पठारमा बाँकी रह्यो त केवल काला ठुटा ठुटी मात्र ।

हिजोको हराभरा जंगल जगाउनका लागि अब निकै कम उपाय मात्र बाँकी हुनेछन् । पर्यटन उद्योगको वर्तमान अवस्था पनि उल्लेखित बिम्ब भन्दा कत्ति फरक छैन । पर्यटनलाई पुनर्जीवित गर्नको लागि सम्पूर्ण सरोकारवाला पक्षहरुको बीचमा उचित समन्वय, दृढ ईच्छाशक्तिसहित जसरी पनि उठ्ने अठोटको तीव्र जरुरत पर्नेछ । बेलैमा सचेत बनौं । बाँकी रहेका जराजुरीलाई मेहनत साथ मलजल गरौँ र भविष्यलाई परिणाममुखी बनाउन लागि परौं । अन्यथा; किनारामा बसेर रामराम भन्नुको दोस्रो विकल्प बाँकी हुनेछैन !

(खतिवडा पर्यटन व्यवसायी हुन्)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय