scheduleसोमवार आषाढ़ २९ गते, २०७७

अब नागरिकका झोले प्रवृत्ति समाप्त हुनुपर्छ

युवराज सङ्ग्रौला

एउटा भनाई छ- अण्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ । जब राज्य कमजोर हुन्छ र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, राष्ट्रले अन्तर्राष्ट्रिय साख गुमाउँछ । अहिले हाम्रो अवस्था यस्तै हो । जब राष्ट्र अपमानित हुन्छ, नागरिकको मनोदशा पनि भयपूर्ण हुन्छ। हामीले अहिलेसम्म नबुझेको कुरा के हो भने ‘दुई सय वर्षदेखि हाम्रो इतिहास वा राज्यको साख अपमानित भएको छ।’ अब अण्डाले ढुङ्गा होइन, फलामले ढुङ्गा फुटाउने मानसिकताको निर्माण गर्नुपर्छ ।

१. सन १८१४ मा हामीमाथि साम्राज्यवादी आक्रमण भयो । हामीले जमिन गुमायौं । त्यसपछि हाम्रा नागरिकहरुलाई उपनिवेशी शासकले दासझैँ उसको सेनामा प्रयोग परम्परा थोपर्‍यो । राणाहरुलाई कठपुतली बनाएर हाम्रो समाजलाई अन्धकारको चपेटामामा हाल्यो । ब्रिटिश उपनिवेशीले नेपालको राजनीतिलाई फोहोर बनाइदियो । तर हाम्रा नेता र कर्मचारी बेलायतसँग दुई सय वर्षको इतिहास छ भन्छ्न्। अझ गोर्खा भर्ती जस्तो अपमानको पर्यायलाई नेपाल र बेलायतको कुटनीतिको साँघु भन्ने गर्छन् । अपमानित भएको भान पनि छैन ।

सन् १९४७ मा भारत स्वतन्त्र भयो, तर उसले गर्ने व्यवहार उपनिवेशको भन्दा फरक थिएन। बिपीलाई धोका दिएर आफू प्रधानमन्त्री हुन मात्रिका कोइराला दिल्ल पुगेको इतिहास हामीसङ्ग छ । स्वाभिमान हामीले बेच्यौं ।

क्युबामाथि अमेरिकाले के-के मात्र अत्याचार गरेन । तर, क्युबालीले शीर पनि झुकाएनन्, स्वाभिमान पनि बेचेनन् । उनीहरुले आफूलाई उन्नत बनाए । शिक्षालाई आधुनिक बनाए । विज्ञानलाई उन्नत बनाए । नागरिकले देशको अस्तित्वलाई नै आफ्नो अस्तित्व बनाए। क्युबालाई अमरिकाले दमन गर्न सकेन । क्युबाको जस्तो कठिन अवस्था हाम्रो होइन । तर हाम्रा नेता भनिने, राजा भनिने र जनता भनिनेले आत्मा नै बेचिदिए ।

२. नागरिक भारत र बेलायतको सेनामा भर्ना हुन अहिले पनि कुद्छन् । उसँग ५० तर्क छ्न्, आफ्नो गलत काम पुष्टि गर्ने तर आफ्नो खेत र बारीमा उन्नत खेती गर्ने सीप सिक्ने जाँगर छैन । लाहुरे संस्कृति राष्ट्रको अपमानका रुपमा हुर्केको छ । जबसम्म आफ्नो स्वाभिमानको अपमान भएको महसुस गर्न सकिन्न, अरुले हेप्छन् । त्यसैले भारतले हाम्रो भूमिमा आफू खुस गर्छ ।

युवराज सङ्ग्रौला

३. देशका वकिल विदेशीको गुलामी गर्छन्, विदेशीले पैसा दियो भने देशको अस्तित्वकै विरुद्ध तर्क दिन तयार छ्न् । उनीहरु विदेशीका लागि जासुसी गर्ने संस्थालाई सहयोग गर्छन् । देशका पत्रकार विदेशीका पैसा लिएर देशका विरुद्ध लेख्न तयार छ्न् । त्यस्ताका पछाडि नेता लाग्छ्न् । देशका इन्जिनियर सिमानामा पिलर राख्दा आफ्नो भूमि त्याग्न तयार छ्न् । देशका कर्मचारी राष्ट्रघात गरेर विदेशीको गुलामी गर्न तयार छ्न् । देशका नेता आफू मन्त्री हुन विदेशीका पाउमा शीर राख्न तयार छ्न् । देशका जनता चौकिदारी र सिपाहीका लागि स्वास्नी र खेत त्याग्न तयार छ्न् । यी सबै अपमानित इतिहास र राष्ट्रका मानिसका प्रवृत्ति हुन् । राष्ट्र कमजोर भएपछि यस्तै हुन्छ ।

३. हिटलरले आक्रमण गर्दा रसियामा पचास लाख मानिसले सिपाहीका रुपमा निसंकोच ज्यान दिए । चीनमा आफ्नो स्वतन्त्रताका लागि कतिले ज्यान दिए सबैलाई थाहा छ । किनकि उनीहरुलाई राष्ट्र अपमानित हुँदा पोल्यो । हामीलाई राष्ट्रको अपमान पीडा हुँदैन। हामीलाई पीडा डिभी नपर्दा, विदेशी सेनामा भर्ती हुन नपाउँदा र अरबमा शोषण हुन जान नपाउँदा हुन्छ । हामीलाई विदेशीको चाकरी औधी मनपर्छ ।

४. हाम्रोमा केही मानिसलाई सधै प्रधानमन्त्री हुने धोको रहन्छ । कसैलाइ त एक दर्जनपटक प्रधानमन्त्री हुन मन छ । मसङ्ग प्रधानमन्त्री हुने के क्षमता छ भन्ने सोच्न उनीहरु तयार छैनन् । हाम्रा नेता जनताका संरक्षक हुन चाहँदैनन् । उनीहरु जनताका मालिक माननीय हुन चाहन्छ्न् । उनीहरुलाइ आफ्नो विचारको माया लाग्दैन, उनीहरुलाई घुस दिने माफियाको बढी माया लाग्छ । राष्ट्रघातीहरुप्रति रीस उठ्दैन उनीहरुलाई, बरु देशलाई माया गर्नेप्रति रीस उठ्छ। लुट्नेहरु आफ्ना हुन्छन्, आफ्नो स्वाभिमान राख्नेहरु पराई हुन्छ्न् । केही मानिस राजनीतिका नाममा छ्लकपट मात्र गर्छन् ।

५. देशका कानून विदेशीका लागि बन्छन् । सन्धि र सम्झौता विदेशीकै लागि बन्छ्न् । हाम्रो दराजका कागजपत्र विदेशीले निकालेर लैजान्छन् । देशको नक्सा फेरिन्छ । विदेशमा राजदूतहरु सेवाबापत पेन्सन खान जान्छन, राष्ट्रको रक्षाका लागि होइन। विदेशीले मन पराएका मानिस आयोग र कार्यदलमा रहन्छ्न् ।

त्यसैले विदेशीले हामीलाई अपमान गरिरहन्छ्न् । उनीहरु हामीलाई राष्ट्र नै मान्दैनन् । त्यसैले हेप्ने आँट गर्छन् । हाम्रो आफ्नै चिज हामीसङ्ग छैन । हाम्रा कागज ब्रिटिश म्युजियममा छ्न् । हामीसङ्ग हाम्रै सन्धि छैनन् । हामीले गुगलबाट नक्सा प्रिन्ट गरेका छौँ । हामीसँग तर्क होइन गाली गलौज छ । देशको बौद्धिकता जबर्जस्त दमन गरिएको छ । दोग्ला मानिस विज्ञ बनाइएका छ्न् ।

हामीले अब रास्ट्रको अपमानलाई समाप्त गर्ने, हाम्रो स्वाभिमानको पुनर्निर्माण गर्ने अभियानको निर्माण गर्नुको विकल्प छैन ।

१. हाम्रो साम्राज्यवादविरोधी इतिहासलाई हरेक व्यक्तिमा पुर्‍याउनु आवश्यक छ अब । हाम्रो इतिहासको बध गर्नेहरुको खोजी हुनुपर्छ ।२०० वर्षअगाडि हामीले उपनिवेशी शक्तिका विरुद्ध लेखेको इतिहास फेरि लेख्नुपर्ने भएको छ ।

२. हाम्रा सिमाना बेच्ने, हाम्रा नक्सा बद्ल्ने, देशघाती सम्झौता गर्ने र विदेशी एजेन्सीका लागि काम गर्ने भिखारीहरुको नकाब खोल्नुपर्छ अब ।

३. हाम्रो शिक्षाको बेहाल गर्नेहरुको नकाव पनि उतार्नु पर्छ ।

४. विदेशीलाई नागरिक बेचेर देशको उत्पादन समाप्त गर्नेहरुको खोजी पनि गर्नु आवश्यक छ ।

हामीले हाम्रो स्वाभिमानका लागि भारतसँग कुरागर्ने हिम्मत गर्नुपर्छ । अब नागरिकका झोले प्रवृत्ति समाप्त हुनुपर्छ । अब नेपालको अपमान समाप्त गर्ने आन्दोलन गर्नुको विकप्ल छैन । हिजो पनि देश विदेशीको कठपुतली थियो । आज पनि कठपुतली छ । अब देश कठपुतती हुनुहुँदैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय