scheduleमगलवार आषाढ़ २३ गते, २०७७

बागलुङका चार स्थानीय तह सिल

रामबहादुर थापा/बागलुङ, ११ जेठ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आजदेखि जिल्लाका चार स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको हो ।

स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकार भएका पक्षको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए । ‘एम्बुलेन्स र बिरामी बोकेका बाहेक सबै सवारीसाधन चल्न नदिने निर्णय भएको छ’, उनले भने, ‘निर्माण सामग्रीको ढुवानी साँझ ५ बजेपछि मात्र गर्न दिइनेछ ।’ बैठकले खाद्यान्न बोक्ने पिकअप जिपसमेत चल्न नदिने निर्णय गरेको छ ।

बन्दाबन्दीलाई थप कडा तुल्याउने र विभिन्न बहानामा अनावश्यक हिँडडुल गर्नेलाई कारवाही गरिने भएको छ । भारतबाट आउनेको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमणको जोखिम हुन नदिन कडाइ गर्नुपरेको अध्यक्ष पाइजाले बताए । भारतलगायत बाहिर जुनसुकै ठाउँबाट आउन चाहने नागरिकलाई चारै स्थानीय तहले मिलेर उद्धार गर्ने सहमति गरेका छन् । पछिल्लो समय भारतमा अलपत्र परेका सर्वसाधारण गाउँ फर्कन थालेका छन् ।

शुक्रबार र शनिबार गरी बडिगाड गाउँपालिकाका ६० जना भारतबाट आएका छन् । उद्धार गरी ल्याइएका सबैलाई क्वारेन्टिनमा राखिएको गाउँपालिकाले जनाएको छ । झण्डै ५०० जना भारतबाट फर्कने गाउँपालिकाको आँकलन छ । ‘भारतबाट आउनेको सङ्ख्या बढेपछि व्यवस्थापनमा चुनौती थपिएको छ’, अध्यक्ष पाइजाले भने, ‘स्रोत साधन सीमित छ, आर्थिक वर्ष सकिन लागेकाले विकास योजनाका काममा पनि लाग्नुपरेको छ ।’

भारतबाट आएका सबै नागरिकलाई क्वारेन्टिनमा राखी कोरोना जाँचपछि मात्र घर पठाइने गाउँपालिकाले जनाएको छ । जिल्लाको पश्चिम भेगबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या बढी छ । बडिगाडको छिमेकी गलकोट नगरपालिकामा पनि शनिबार मात्रै २५ जना भारतबाट आएका छन् । भारतका विभिन्न ठाउँमा अलपत्र परेका व्यक्ति गलकोट फर्कन शुरु गरेको वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो ।

थपिँदै क्वारेन्टिन

भारतबाट जिल्ला भित्रनेको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहले क्वारेन्टिन विस्तार गरिरहेका छन् । गलकोट नगरपालिकाले ११ वटै वडालाई कम्तीमा १० श्ययाको क्यारेन्टिन बनाउन निर्देशन दिएको छ । सबै वडा क्वारेन्टिन व्यवस्थापनमा जुटेका छन् । वडा नं ३ ले १५ श्ययाको क्वारेन्टिन बनाएको छ । गलकोट उद्योग वाणिज्य सङ्घ र गलकोट बहुमुखी क्याम्पसले क्वारेन्टिन निर्माणमा सघाएको हो ।

क्याम्पसको कोठालाई क्वारेन्टिनका रूपमा प्रयोग गरिएको छ । ‘क्वारेन्टिन व्यवस्थित छ, व्यक्तिगत प्रयोगका सामग्रीदेखि स्यानिटाइजरसम्म श्ययामै उपलब्ध गराएका छौँ’, वडाध्यक्ष वीरजङ्ग भण्डारीले भने । शौचालय पनि छुट्टाछुट्टै प्रबन्ध गरिएको छ । नगरपालिकाले कोरोना आशङ्कित व्यक्तिलाई २१ दिनसम्म क्वारेन्टिनमा राख्ने योजना बनाएको छ । क्वारेन्टिनमा रहेका बेला स्वास्थ्यकर्मीले नियमित निगरानी गर्नेछन् ।

‘तत्कालाई भारतबाट आउने नागरिकलाई लक्षित गरी क्वारेन्टिन बनाएका छौँ, आवश्यकता पर्दा श्यया थपिनेछ’, वडाध्यक्ष भण्डारीले भने । सङ्क्रमणको जोखिम हुन नदिन गलकोट क्षेत्रमा पनि विशेष सावधानी र सतर्कता अपनाइएको छ । गत वैशाख ११ गते गलकोटबाट पर्सा पुगेका १४ जना मजदुरमा कारोना सङ्क्रमण पुष्टि भएपछि गलकोटमा एकाएक त्रास छाएको थियो ।

तत्कालै स्वास्थ्य कार्यालयले ‘कन्टयाक्ट ट्रेसिङ’ गरी गलकोटका १०९ जनाको कोरोना जाँच गरेको थियो । पिसीआर विधिबाट गरिएको जाँचमा सबैको रिपोर्ट नेगेटिभ आएपछि तत्काललाई त्रास घटेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर ३५० भन्दा बढी श्यया रहेका क्वारेन्टिन तयारी अवस्थामा छन् । यस्तै १६ श्ययाको आइसोलेसन बनाइएको छ । गत चैतमा सङ्क्रमित जिल्लाका दुई जना निको भइ घर फर्किसकेका छन् । त्यसयता नयाँ सङ्क्रमण देखिएको छैन । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय