scheduleआइतवार आषाढ़ २८ गते, २०७७

नयाँ नक्साअनुसार लोगो र प्रतीक फेर्ने कार्यव्यवस्था परामर्श समितिको निर्णय

काठमाडौं, ११ जेठ । प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पारित गर्नका लागि पहल गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले संशोधन प्रस्ताव विवादरहित रुपमा पारित गराउनका पहल गर्ने निर्णय गरेको हो । सरकारले जारी गरेको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका लागि गएको शुक्रबार संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको थियो ।

सो प्रस्ताव परिपक्क हुन सात दिन लाग्ने र त्यसलगत्तै प्रक्रियामा लैजाने गरी तयारी भएको विपक्षी दलका नेता नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँणले जानकारी दिए । बैठकले बजेट प्रस्तुत गर्ने बारे छलफल भएको र संसदमा बजेटलाई प्रक्रियागत रुपमा अघि बढाइने तथा छलफलको समय छोटो गर्ने निर्णय भएको पनि खाँणले जानकारी दिए ।

यसअघि आइतबार नै बसेको राष्ट्रिय सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले संघीय संसदको लोगो र राष्ट्रिय सभाका सांसदले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले १२ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक मुस्लिम समुदायको पर्व ईदुल फित्र परेकोले हुनाले सूचना टाँस गरी जेठ १३ गते ११ बजेका लागि बैठक तोक्ने निर्णय समेत गरेको छ ।

बैठकले संघीय संसदको प्रतीक (लोगो) र प्रतिनिधिसभाका माननीय सदस्यहरुले प्रयोग गर्दैै आउनुुभएको प्रतीकलाई नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको उक्त बैठकको निर्णय अनुसार रोष्ट्रमा राखिएको प्रतीक (लोगो) र माननीय सदस्यहरुले लगाउँदै आएको प्रतीक परिमार्जन हुने छ । बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन संघीय संसद सचिवालयलाई निर्देशन दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय