scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

‘पाताल लोक’को उद्देश्य के हो ? कुनै धर्म विशेषलाई बदनाम गर्नु त हैन ?

अनन्त विजय

वेब श्रृंखलाको स्वच्छन्द संसारमा एक नयाँ सिरियल आएको छ । नाम हो–पाताल लोक । यो सिरिज जुन प्लेटफर्ममा देखाइँदैछ – प्रष्ट छ, त्यो स्वच्छन्द छ । जब कसैमाथि कुनै प्रकारको बन्धन हुँदैन, कुनै प्रकारको उत्तरदायित्व पनि हुँदैन । त्यस्तो स्वच्छन्दता सर्वथा अराजकतामा बद्लिन्छ । हुनत स्वच्छन्दता स्वायत्ततातिर पनि जान सक्थ्यो । तर त्यसो भइरहेको छैन ।

अमेजन प्राइममा देखाइने वेब सिरिज ‘पाताल लोक’को हिजोआज काफी चर्चा छ । यसकी निर्मात्री अभिनेत्री अनुष्का शर्मा हुन् । कहानी लेखक सुदीप शर्मा अन्य ३ लेखकसँग मिलेर लेख्दैछन् । यसको विषयवस्तुमाथि पछि कुरा गरौंला, पहिले कुरा गरौं यसको कथाको ।

यसको कथा पत्रकार तरुण तेजपालको उपन्यास ‘द स्टोरी अफ माइ एसेसिन्स’बाट लिएको प्रतीत हुन्छ । किनकी कथाको प्लटदेखि केही पात्रको नाम र काम मिल्दोजुल्दो छ । यदि यस्तो हो भने तेजपालले आफ्नो साहित्यिक कृति चोरीको आरोप लगाउनुपर्ने हो, तर त्यसो गरेको छैनन् । साहित्यिक वृतमा चर्चा छ कि यो काम उनको सहमतिमै भएको हो । सत्य के हो ? कि तरुणलाई थाहा होला कि सुदीपलाई ।

केही बर्षअघि एक स्टिङ अपरेसनपछि तरुण तेजपालको हत्या षड्यन्त्रको कुरा उठेको थियो । त्यस चार्जशीटमा दिल्ली पुलिसले बिहारका एक बाहुबली राजनेताको नाम समेत जोडेको थियो । यस्तो हल्ला पनि उठेको थियो कि दुबईमा बस्ने एक माफिया डनले तेजपालको हत्याका लागि सुपारी दिएका छन् ।

यस चर्चामा जोडिएका दुबै नाम मुसलमानको थियो । तर वेब सिरिजमा दुबैको पहिचान बद्लिएको छ । न सुपारी दिने मुसलमान छन् न लिने । यो कलात्मक सृजनात्मकतताको स्वतन्त्रता कि बिषयको विषयान्तर, यसबारे बहसको आवश्यकता छ । जब ‘पाताल लोक’ यिनै घटना वरिपरिको कथामा घुम्दछ भने त्यो पुरानो बहस फेरि उठ्नु स्वभाविक हुन्छ ।

यसको कथा तरुण तेजपालको उपन्यासबाट प्रेरित होस् वा सुदीपले आफै लेखेको होस, त्यसमा उठाउन खोजेको कुरा के हो, त्यो महत्वपूर्ण हो । यसको कथामा एक अपराधी अपराध गरेपछि मन्दिरमा गएर शरण लिन्छ । यो कथा एक टिभी सम्पादकको असफल हत्या प्रयासको कहानी हो, जो हत्याराको गिरफ्तारी प्रयासबाट शुरु हुन्छ । कथा दिल्लीको जमीन भएर हिड्छ ।

कहानी परोक्ष एक यस्ती केटी जो आफ्नो देह उपयोग गरेर क्यारियर अगाडि बढाउने हदसम्म पुग्छे, लाई प्रवर्द्धन गर्दछ । सिरिजमा सम्पादक र उनका सहयोगीहरुबीचको सम्बन्ध साह्रै सहजतापूर्वक देखाइएको छ । तर तरुण तेजपालको वास्तविक कहानीमा उनीसँगै काम गर्ने एक युवतीले निक्कै संगीन आरोेप लगाएकी थिइन । त्यो आरोपपछि तेजपाल गिरफ्तार भएका थिए र उनले लामो समय जेल बस्नु परेको थियो । टिभी च्यानलहरुको काम गर्ने तरिकाबारे जसरी प्रस्तुत गरिएको छ, त्यसमा कमै संगति छ, उनीहरुले यो कहानी बनाउनुअघि टिभी न्यूज च्यानलहरुले कसरी काम गर्दछन भनेर आफै अध्ययन गरेको भए राम्रो हुने देखिन्छ । कथा लेखक र निर्देशक यसबारे अनभिज्ञ झैं लाग्दछन् । न्यूजरुमको कामकार्वाही जसरी देखाइएको छ, त्यो वास्तविकताभन्दा केही टाढै छ ।

अब आउँ पाताल लोकको कथा, संवाद र ती दृष्यबारे जसको कारण यो धारणा बलियो हुँदैछ कि यो सिरियलको उद्देश्य कुनै धर्म विशेषलाई बदनाम गर्नु पनि हो । कलाको सृजनात्मकताको नाममा समाजलाई विभाजन गर्ने छुट न लिन सकिन्छ न कसैलाई दिन सकिन्छ । यो सिरियलमा पुलिस र सिबिआई दुबैलाई मुसलमानप्रति पूर्वाग्रहग्रस्त देखाइएको छ । थानामा गफ गरिरहेका हिन्दू प्रहरीहरु मुसलमानको बारेमा जेजस्ता शब्दहरु प्रयोग गर्दछन, त्यसले यो सन्देश दिन्छ कि प्रहरी बल साम्प्रदायिक छ ।

यो सिरियलमा न्यूज च्यानल सम्पादकको हत्या षड्यन्त्रको जाँच गर्ने अधिकार दिल्ली पुलिस र सिबिआईलाई दिइन्छ, त्यसको पत्रकार सम्मेलनको दृष्यसमेत मुसलमान समुदायको खिलाफ छ । कुरा यतिमा मात्र सीमित छैन । यो श्रृंखलाका प्रत्येक अपराधलाई कुनै न कुनै हिन्दू धर्मका प्रतीकसँग लगेर जोडिन्छ । यसरी हिन्दू धर्म र प्रतीकको विरुद्ध वेब श्रृंखलामा देखाइएको यो पहिलो घटना भने हैन ।

नेटफ्लिक्समा एक वेब सिरिज छ – लैला । यो प्रयाग अकबरको उपन्यासमा आधारित छ । यसबाटै प्रष्ट हुन्थ्यो कि यो हिन्दू धर्म र यसको संस्कृतिको भयावहतालाई देखाउने उद्देश्यले बनाइएको थियो । यसको निर्देशन दीपा मेहताले गरेकी थिइन् ।

केही दिनअघि दैनिक जागरणको एक कार्यक्रममा सूचना तथा प्रसारण मन्त्रीले वेब श्रृंखलाहरुको स्वनियमनमाथि जोड दिएका थिए । नियमनको काम सरकारको हो, उसले गर्दै गरोस् तर वेब सिरिजको स्वतन्त्रताका नाममा फैलाइँदै गरेको झुठा संकथनहरुको भने रचनात्मक प्रतिकार हुनै पर्दछ । कला, साहित्य र सिनेमाले समय र समाजको सही चित्रण गर्नु पर्दछ । नसके कम्तीमा गलत चित्रण गर्नु हुँदैन ।

‘पाताल लोक’ र ‘लैला’ जस्ता वेब सिरिजहरु हिन्दू धर्मको काल्पनिक चित्रण र प्रस्तुति तिर लागेका छन् । मेरो भनाई यो हैन कि त्यस्ता श्रृंखलाहरुमा धर्मको महिमामण्डन गरियोस् । तर चित्रण र प्रस्तुति संगतिपूर्ण भने हुनु पर्दछ ।

(अनन्त विजय भारतका एक चर्चित सिने समिक्षक हुन् । अहिलेको चर्चित वेब सिरिज ‘पाताललोक’माथि उनको यो टिप्पणी सत्यहिन्दीबाट अनुभाव गरिएको हो ।)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय