scheduleसोमवार आश्विन ५ गते, २०७७

तिमी आएनौ …

कविता
रेखाकिरण पौडेल

१.

टाढाबाट तिमी भेट्न आउने खबरले कलशमा फूल सजाएकी थिएँ
तिम्रैलागि भनी मिठो धुन बजाएकी थिएँ
तिम्रो सत्कारमा कमि नहोस् भनी अरुलाई पनि कजाएकी थिएँ
तर सूर्य आयो चन्द्र आयो, तिमी आएनौ ।

२.

दिनभरी सजिएर थकित भै झरेर गयो गुलाब
तिमी नआउँदा लाग्यो ममा नै रहेछ खराब
अनगिन्ति प्रश्न उठे तर पाइन कुनै जवाफ
अहँ तिमी आएनौ ।

३.
जस्तै तालमा आएको भए पनि म तिमीलाई लत्याँदैन थिएँ
तिम्रो अस्वीकृतिमा मेरो रुपको दियो बाली तिमीलाई मत्याउँदैन थिएँ
मायामा पनि हिसाबकिताब हुन्छ भनी कहिल्यै पत्याउँदैन थिएँ
के भनुँ खोइ ! तिमी आएनौ ।

४.
तिमीले मलाई नभेटेको कुरा खुलासा गर्छौकि भने पिर थियो
साथीसङ्गी जिस्क्याउँथे मायाको भाकाले मन मेरो गम्भीर थियो
मायाको न्वारन नहुनु सायद हाम्रो तकदिर थियो
त्यसैले त तिमी आएनौ ।

५.
बर्षौंपछि तिम्रो सम्झना पानी भएको थियो
तिमी बिना पनि हाँस्ने बानी भएको थियो
आँसुमा कमल फुलाउन अरुकै लगानी भएको थियो
ठिकै भयो तिमी आएनौ ।

६.
भन्छौ रे अन्तरजातीय विवाहले मान्यता पाउनुपर्छ
त्यसैले भनेँ- तिमीजस्ता मजस्ताको दैलोमा आउनुपर्छ
पीडितले होइन न्यायालयले न्याय उपहार बोकी घरदैलोमा धाउनुपर्छ
हेर तिमी आएनौ ।

हालः क्यानाडा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय