scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

ऐन महरलाई अखिल (क्रान्तिकारी)को चेतावनी- विवेकहिन टिप्पणी फिर्ता लिएर माफी माग

काठमाडौँ, १२ जेठ । अखिल क्रान्तिकारीले सत्ताधारी नेकपाका विद्यार्थी संगठनको संयोजक ऐन महरलाई सत्ताको ध्वाँस र दम्भ नदेखाउन र आफ्नो औकातमा रहन चेतावनी दिएको छ ।

सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् । अध्यक्ष ढकालले विज्ञप्ति जारी गर्दै आफ्नो मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई कुनै पनि तथ्य र आधार बिना गरेको अनैतिक र गैरराजनीतिक टिप्पणीको घोर निन्दा एवम् भर्त्सना गरेका छन् । उनले महरको यो तुच्छ, विवेकहीन, गैरजिम्मेवारपूर्ण र घृणित टिप्पणीको खारेज गर्दै विगतको महान जनयुद्ध र हाल त्यसको उत्तराधिकारी आफ्नो मातृ पार्टी र यसका हजारौँ सहिद बेपत्ता र घाइते योद्धाहरुको बलिदान र योगदानबाट आजको गणतन्त्र प्राप्त भएको ठोकुवा गरेका छन् ।

अध्यक्ष ढकालले १९ दिने आन्दोलनमा खाली तिघ्रा ठटाएको भरमा मात्रै गणतन्त्र आएको होइन् भन्दै यो त महान् जनयुद्धको त्याग समर्पण बलिदान र युद्धबाट प्राप्त भएको बताएका छन् । उनले भनेका छन्, ‘हामीलाई सत्ताको ध्वाँस र दम्भ नदेखाउनु र आफ्नो औकातमा रहनुस् ।’

अध्यक्ष ढकालले महाकाली सन्धिलगायत दर्जनौँ राष्ट्रघात अरबौँ हाम्रो खुन पसिना ठगेको एनसेलसँग मिलेमतो, मेडिकल र शैक्षिक माफियासँग डिनर, बालुवाटार जग्गा
प्रकरण, वाइडवडी घोटाला, होली वाइन प्रकरण, सुन काण्ड, निर्मला हत्याकाण्ड, स्वास्थ्य सामग्रीमा भ्रष्टाचार र अहिले एमसीसी पारित गर्ने प्रयत्न जस्ता कर्म लगायत थुप्रै काण्डमा कालो पोतिएकाहरु साँचो अर्थमा राष्ट्रघाती र जनघाती भएको ठोकुवा गरेका छन् ।

अध्यक्ष ढकालले विज्ञप्तिमार्फत आफ्नो विवेकहीन टिप्पणी फिर्ता लिन र सार्वजनिकरुपमा माफी माग्न महरलाई आफ्नो संगठनको तर्फबाट निर्देशन समेत दिएका छन् ।

महरले विप्लव माओवादीलाई हत्या हिंसाको माध्यमबाट समाजलाई आतंकित बनाउने, मान्छे मार्ने, धम्की दिने, जबरजस्ती चन्दा उठाउने र जनताको अमनचयन खलबल्याउने कामको नेतृत्व गरेको आरोप लगाएका थिए । ‘जनताका प्राप्त अधिकारहरुलाई उग्र क्रान्तिकारिताको नाममा मास्न खोज्ने दुस्साहस पनि बिप्लव समूहबाट भैरहेको छ । यो प्रवृत्तिले नेपाली जनताको शान्ति र लोकतान्त्रिक गणतन्त्रको जगमा सुख र समृद्धि प्राप्त गर्ने चाहनालाई अवरोध गरेको छ,’ महरले लेखेका थिए ।

उनले नेपाली जनातका वास्तविक दुस्मन बाबुराम र बिप्लवहरु रहेको निष्कर्ष सुनाउँदै पूर्वमाओवादीलाई बाबुराम र विप्लवलाई बिर्सन आह्वान गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय