scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

सुखी नेपाली, समृद्ध नेपालको बाटोमा देशलाई हिंडाउन नागरिकको साथ चाहियोः मुख्यमन्त्री पौडेल

फाइल फोटो

काठमाडौं, १२ जेठ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकार महामारीविरुद्धको लडाईंमा केन्द्रित भएको बताएका छन् ।

आइतबार वाग्मती प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन (छैटौँ अधिवेशन) लाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणको बाटोमा देशलाई अघि बढाउन सम्पूर्ण नागरिकको बलियो साथको आवश्यकता रहेको उनको भनाई छ ।

मुख्यमन्त्री पौडेलले कोरोना महामारीको कारण स्वदेश तथा विदेशमा ज्यान गुमाउने सम्पूर्णमा श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा उपचारका क्रममा रहेकाकाहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत व्यक्त गरे । सङ्घीय सरकारले समयमै घोषणा गरेको लकडाउन तथा तिनै तहका सरकारको सुझबुझपूर्ण एवं जिम्मेवारीसहितको पहलकदमीको कारण हालसम्म कोरोना महामारीले ठूलो मानवीय क्षति गर्न नसकेको उनको भनाइ थियो ।

मुख्यमन्त्री पौडेलले सङ्क्रमण दर भने दिन प्रतिदिन बढ्दो रहेको बताउँदै बढ्दो सङ्क्रमण दरसँगै महामारीको सामना गर्न थप संवेदनशील बन्नुपर्ने आवश्यकता देखिएको बताए । मुख्यमन्त्री पौडेलले कोरोनाका कारण यस वर्षको नीति तथा कार्यक्रममा सरकारको प्राथमिकता परिवर्तन गरिएको बताए ।

उनले विगतका वर्षमा पूर्वाधार विकासमा जोड दिने गरिएकामा यस वर्ष कृषि, स्वास्थ्य, शिक्षा तथा रोजगारीलाई प्रदेश सरकारले विशेष प्राथमिकता दिएको जानकारी दिए । उनले कृषिमार्फत उत्पादकत्वको वृद्धि तथा रोजगारी सिर्जना गर्न सरकारले लिने नीति उपयोगी हुने विश्वास लिएको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय