scheduleसोमवार आषाढ़ २९ गते, २०७७

‘प्रधानमन्त्रीको भाषण प्रधानमन्त्रीकै जस्तो लाग्ने कहिले होला ?’

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा गरेको सम्बोधनको सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ । प्रधानमन्त्री ओलीको सम्बोधन अपेक्षा गरेअनुसारको नभएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको गुनासो छ ।

प्रधानमन्त्रीले कोरोना प्रभावितका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्ने आशासहित सम्बोधन सुन्न बसेका नागरिकहरु निराश भएका छन् । वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेत भन्छिन्, ‘राष्ट्रका नाममा सम्बोधन भनेपछि अलि ठूलै कुराको अपेक्षा गरिन्छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीले प्रेस विज्ञप्ति निकालेर स्पष्ट गर्दा मिल्ने सामाजिक सुरक्षा भत्ताको कुरा बाहेक प्रधानमन्त्रीको सम्बोधनमा त्यति ठूलो मुद्दा त केही आए जस्तो लागेन ।’

उनको निष्कर्ष छ, ‘राष्ट्रको नाममा सम्बोधन र प्रधानमन्त्री पद दुवै ठूलो कुरा हुन्, ‘यस्तै त हो नि’ भन्ने नबनाए हुन्थ्यो ।’

उता अर्का पत्रकार प्रतिक प्रधानले प्रधानमन्त्री सम्बोधनमा के भन्न आएका भनेर प्रश्न गरेका छन् । ‘अस्ति सरकारको नीति तथा कार्यक्रम, अनि संसदमा दुई घण्टा आफै कस्सिए । आज के भन्न आएका ? मुख्य चाहिं सुरक्षित रहने पाँच उपाय रहेछ । हैट ! यस्सो जाँच गर्न जाने कि ?’

ट्वीटरमा सुनील सुवेदीको टिप्पणी छ, ‘यो बेला सम्बोधन हैन समाधान चाहिएको हो । यो गरिने छ र त्यो गरिनेछ, यो हुनेछ र त्यो हुनेछ भनेर सपना बाँढ्नुभन्दा यो यो समस्या छ, तत्काल यी यी कार्यहरु कार्यान्वयन गर, कुनै पनि ढिलासुस्ती या बहाना स्विकार्य नहुनेमात्र हैन दण्डनीय पनि हुनेछ भनेर निर्देशन जारी गर्नु बुद्धिमानी हुने थियो ।’

रवीन्द् घिमिरे व्यङ्ग्यात्मक ढंगले लेख्छन्, ‘प्रधानमन्त्रीले सम्बोधनमा जनताका लागि केही घोषणा गरेनन् भनेर आलोचना र चिन्ता नगरियोस्, सबैले बुझौं- यो सम्बोधन ‘जनताको नाममा’ हैन, ‘राष्ट्रको नाममा’ थियो ।’

शशांक रेग्मी लेख्छन्, ‘आत्मश्लाघाले सुसज्जित उखान टुक्रा सुन्ने समय छैन । ख्याल गरेर सम्बोधन गर्नु होला । नाम “जनताको नाममा सम्बोधन” तर भाव भने आलोचकको निन्दा, आफ्ना धुपौरेको बचाउ ! यस्तो नहोस् । भोकलाई र रोगलाई सम्बोधन होस ।’

ट्वीटरमा ईश्वर बञ्जाडे भने सकरात्मक देखिए । उनको प्रतिक्रिया छ, ‘कोरोना महामारी विरुद्धको लडाइमा सरकार के सोचिरहेको छ र अप्ठेरोमा परेका सबै तप्काका जनता तथा प्रवासमा रहेका नागरिकको समस्या सम्बोधन कसरी हुन्छ भन्ने सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधनले स्पष्ट दिशानिर्देश गरेको छ । सोही अनुसारको एक्सनमा राज्यका सबै संयन्त्र आजकै मितिबाट परिचालित हुन् ।’

साझा पार्टीका नेता मुमाराम खनालको प्रतिक्रिया छ, ‘खासै बोल्ने नयाF कुरा छैन भने किन राष्ट्रका नाममा सम्बोधन गर्नु परेको होला ? प्रमले एउटा नेकपाको पत्रकार र नेपाल टेलिभिजन बोलाएर बोलेको भए भैहाल्थ्यो । आखिर सबै सञ्चार माध्यमले कपी गरिहाल्थे ।’

सञ्चारकर्मी गीता चिमोरियाको व्यंग्यात्मक टिप्पणी छ, ‘काम कति भइरा’छ त छर्लङ्ग छ नि, बिरामी प्रधानमन्त्रीलाई लम्बेतान भाषण गर्न लगाएर कति दु:ख दिन्छन् यार ।’

सामुदायिक रेडियोकर्मी तुला अधिकारीको तर्क छ, ‘प्रधानमन्त्रीले भने अनुसार जनसंख्याको २ प्रतिशत नेपालीको कोरोना टेष्ट गर्ने हो भने दैनिक ३ हजार परिक्षण गरिए पनि साढे ६ महिना लाग्ने रहेछ । ५१ हजारको पीसीआर टेस्ट गर्न झण्डै दुई महिना लाग्यो । बाँकी साढे ५ लाखको टेष्ट गर्न कति समय लाग्ने हो र लकडाउनको मोडल त्यसबेलासम्म के हुने हो प्रधानमन्त्रीको घोषणा पछिको आम जिज्ञासा !’

सम्बोधन सुनेपछि साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको प्रश्न छ, ‘लकडाउनको २ महिना भयो । राज्यसँग पैसा, संयन्त्र सबै छ तर अझै ‘हुनेछ, गर्नेछौँ’ मैँ अड्किएको छ अधिकांश कुरा । शरीर र समाजमा लागेका सबै घाउ पचाउन सक्ने क्षमता विकास गरिदिएका छन् प्रम ओली र उहाँजस्ता नेताहरूले। कहिले कुटनीतिक मर्यादाहीन र कहिले आजजस्तै सारविहिन सम्बोधन सुन्न अभ्यस्त भइसक्यौँ हामी। प्रधानमन्त्रीको भाषण प्रधानमन्त्रीकै जस्तो लाग्ने कहिले होला ?’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय