scheduleमगलवार आषाढ़ २३ गते, २०७७

सरकार ! अब कोरोनासँगै बाँच्नुपर्छ, लकडाउन हटाऊँ

दिबस खनिया

मानौं नमानौं, अब कोरोनासँगै बाँच्नुपर्छ। त्यसैले लकडाउनले कोरोना भाग्छ भन्ने भ्रम त्यागौं । सतर्कता अपनाऔं र व्यवसायको वातावरण बनाऔं । अब कोरोना हट्न धेरै बर्ष लाग्न सक्छ अथवा नहट्न पनि सक्छ। तसर्थ हामी सधैँभरि यसरी बस्न सक्दैनौँ वा एक दिन न एक दिन यस्तै परिस्थितिमा हामीले लकडाउन खोल्नु नै पर्ने हुन्छ भने अहिले नै खोलौँ ।

हो, कोरोना कहरसँगै संसार अहिले तहसनहस बन्दैछ। यसले लाखौँ मानिसको ज्यान लिएको छ, लाखौँ मानिस जीवन र मृत्युको दोसाँधमा छन् भने लाखौँको संख्यामा मानिसहरु यसलाई जितेर घर फर्किएका छन् । धेरै मानिसको ज्यान लिन थालेपछि धेरै राष्ट्रले आफ्नो देशलाई लकडाउन गर्न थाले । नेपालमा पनि समयमा नै हामी सचेत र जिम्मेवार हुन चुकेकाले यो भाइरसले प्रवेश गर्न पायो । चीनमा यो भाइरस देखिनासाथ केही सतर्कता र पूर्वतयारी अपनाएको भए यो अवस्था आउने नै थिएन ।

अरु केही नगरे पनि व्यवस्थित तरिकाले बाहिरबाट आउने यात्रुलाई एयरपोर्टमा नै चेकजाँच गरी क्वारेन्टाइन वा अवस्था हेरेर आइसोलेसनमा राख्ने व्यवस्था र त्यसैगरी भारतबाट आउने नागरिकलाई पनि सोही अनुसारको व्यवस्था सुरुवाती दिनहरुमा नै गरेको भए नेपालले कोरोना भाइरसको सामना गर्नुपर्ने नै थिएन ।

त्यो गर्न त सकिएन सकिएन, भाइरसले नेपालमा प्रवेश पाइसकेपछि पनि यसको रोकथाम, न्यूनीकरण तथा उपाचारकालागि स्वास्थ्य उपकरण, स्रोत र प्रविधि तथा भौतिक पूर्वाधारको विकासतर्फ नलागी हामी कुनै अध्ययन तथा अनुसन्धानविना हचुवाका भरमा अरुको देखासिकी गरेर एक्कासी पूरा देशलाई लकडाउन गर्नतिर लाग्यौं । यसको मूल्य निकट भविष्यमा नै हामीले चुकाउनु पर्नेछ ।

एक पेट खानाको अभावमा जनता सैयौँ किलोमिटर पैदल मार्च गरिरहेका थिए । भारतले गरीबमारा लकडाउनको सहारा लियो । नेपालले भारतको नक्कल गर्‍यो । यदि सरकार जनताप्रति जिम्मेवार थियो भने जस्तोसुकै अवस्थामा पनि सबै नागरिकलाई न्युनतम आधारभूत आवश्यकता पूरा गरिदिनु पर्‍थ्यो । न्युनतम आवश्यकताभित्र बिहान बेलुकाको खाना, बास र उपचार पर्दछ । यति न्युनतम आवश्यकता पनि सरकारले पूरा गर्न सकिरहेको छैन । बरु लकडाउनको नाममा जनतालाई घरभित्र थुनिएको छ ।

कृषि, कलकारखाना, स-साना खुद्रा पसल र पूरा विकासको काम रोक्नु तथा त्यसमा पनि दैनिक श्रम गरी खाने वर्गलाई सर्वाधिक अन्याय हुने गरी लकडाउन गर्नु कुनै पनि बहानामा न्यायोचित छैन । धेरै भन्दा धेरै कोरोनाबाट मृत्यु भएका तथा संक्रमित भएका कतिपय देशले लकडाउन गरेका नै छैनन् भने गरेकाहरुले पनि लकडाउन खुकुलो पारेका छन् । नेपालले भने पूरा देशलाई नै एउटै मापडण्ड बनाएर बिगत २ महिना अगाडिदेखि लकडाउन गरिरहेको छ । डब्लु.एच.ओ तथा विभिन्न अनुसन्धानले यो भाइरस कम्तीमा २ बर्ष वा सधैंभरि रहन सक्ने बताइरहेका छन् । अब घरभित्र लुक्दैमा यो महामारीबाट मुक्ति पाइने भन्ने भ्रम हामीले त्याग्नु पर्दछ । बरु यही अवस्थामा हामीले नागरिकलाई राख्यौँ भने अरु मानसिक, शारीरिक लगायतका विभिन्न संकट गहिरिने पक्का छ। अनि छिट्टै भोकमरी र अरु यसबाट सिर्जित हुने रोगहरुले मानव जीवन झन् कष्टकर बन्दै जानेछ ।

बन्द कोठाको बेड, सोफामा बसेर टिभी हेर्ने, लेखपढ गर्ने, मोबाइल खेलाउने, क्यारिकेचर गर्ने, टिकटक बनाउने गर्दैमा कोरोना प्रतिरोधी क्षमता बढ्दैन । रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाउन त हामी मानसिक रुपमा पनि तन्दुरुस्त हुनु पर्दछ । त्यसैले लकडाउन आफैमा अचुक औषधी कदापी हैन । यो त हामीले अरुको सिको गरेका मात्र हौँ ।

आफ्नो सुरक्षा आफै गरौँ, भौतिक दूरी कायम राखौँ, डब्लु.एच.ओले भनेका सबै नियम पालना गरौं । कोरोना संक्रमणको केन्द्रबिन्दू बनेका केही स्थानबाहेक अन्य स्थानमा लकडाउन खोलौं । लकडाउनले जनतामा झन् त्रास सिर्जना गराइरहेका छौं । यो रोग लाग्दैमा मरिने भन्ने हुँदैन । यो एउटा कडा फ्लु मात्र हो तसर्थ सबै आफै सजग भएर आफ्नो काममा लागियो भने यसलाई हामीले जित्न सकिन्छ ।

स्वदेश तथा विदेशका सबै हवाइ यातायात र लामा दूरीका सवारीहरु बन्द गरौं । जिल्ला-जिल्लाका सबै नाका ‘लक’ गरेर जिल्लाभित्र खुल्ला गरेनौँ भने यसको परिणाम अब अप्रिय हुन सक्छ । यसो भन्दै गर्दा फेरी पनि सरकारले देशभित्रको संक्रमण रोक्नै पर्दछ । तर हचुवाको भरमा देशलाई बन्दाबन्दी गरेर हैन ।

छिटो भन्दा छिटो रोगको परीक्षण गर्नु पर्दछ । यतिका दिन बितिसक्दा पनि सरकारले परीक्षणको दायरा बढाउन सकेको छैन । जतिदिन लकडाउन गरे पनि जबसम्म परीक्षणको दायरा बढाइँदैन तबसम्म समस्याको समाधान हुँदैन । यो निको हुँदै नहुने रोग हैन । धेरैलाई निको भएको छ। रोग लाग्नेबित्तिकै डराउन पर्ने अवस्था छैन।

कोरोना भाइरसको भ्याक्सिन नबनेसम्म रोग नियन्त्रण गर्न गाह्रो छ । त्यसो हो भने भ्याक्सिन नबनेसम्म लकडाउन मात्रै गरिरहने ? यसलाई कसरी नियन्त्रण गर्ने र लकडाउनको विकल्प के हो ? यसबारेमा अब सरकारले सोच्नु पर्दछ । जनतालाई संयमित बनाएर, यो रोग जसरी सोचिएको छ त्यति धेरै त्रसित हुनुपर्ने अवस्था छैन भन्ने कुरा बुझाएर सबैलाई आवश्यक नियमको पालना गर्दै अनुशासित भएर काममा लाग्न दिनु नै उपयुक्त हुन्छ ।

हामी आज लकडाउनको ६४ औँ दिनमा छौँ र सरकारले जेठ २० सम्म लकडाउनको घोषणा गरेको छ। रोगभन्दा भोक नै ठूलो हुने भएकाले मानिसहरुले बाँच्नका लागि संघर्ष अर्थात् लकडाउनको उल्लंघन गर्न थाले भने के होला ? आखिर लकडाउनको विकल्प वा यसको मोडालिटीमा कसरी परिवर्तन गर्न सकिन्छ र रोग फैलन नदिन के के गर्न सकिन्छ ? यसबारेमा अहिले नै छलफल भएर अगाडि बढिएन भने त्यसको परिणाम हामीले निकट भविष्यमा चुकाउनुपर्ने हुन्छ ।

(लेखक खनिया सामाजिक अभियन्ता तथा टेलिभिजन कार्यक्रम निर्माता हुन् ।)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय