scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

भेरीको प्रश्न : तिमी एक क्षण मात्रै पनि मान्छे भएनौ ?

कविता
दामोदर त्रिपाठी

ऊ पनि त तिमीजस्तै
टाउको, शरीर, हातहरु
र, खुट्टाहरु भएको हुँदो हो,

ऊ पनि त तिमीजस्तै
सपना, भावना
माया र प्रेरणाले ओतप्रोत हुँदो हो,

उसका पनि त तिम्रा जस्तै
बलिया पाखुरा र सिपालु औंलाहरु हुँदाहुन्,
तिमीले जस्तै
उसले पनि त
यो संसारको एउटा
सानो कुनामा आफ्ना सपनाका
फसलहरु उर्मादो हो,

कति निर्दयी हुन सक्यौ तिमी
र, उसको शरीर, हातहरु र खुट्टाहरु,
उसका सपना आकांक्षा र
तमाम् सम्भावनाहरुलाई
थिलो थिलो पार्‍यौ र,
बगाइदियौं भेरीको भेलमा ?

सके तिमीले भन्दा अझै
हिम्मतका छालहरु सम्हालेर
उ जस्तै निर्दोशहरुलाई तिमीले
चिहान बनाइरहेको भेरीको भेलमाथि
बलियो पुल बनाउँदो हो,
बर्षेनी बर्षामा बग्ने तिम्रा
बारी, बस्ती र खेतहरु जोगाउने
बलियो पर्खाल बनाउँदो हो,

तर,
तिमी कुन अन्धकार गुफामा
रुमल्लिएका थियौ कुन्नी
तिमी कुन हिंस्रक जनावरसँग
मित्रता गर्दै थियौ कुन्नी,
तिमी कुन शैतानी चेतानसँग
नाता जोड्दै थियौ कुन्नी,

तिमीले उसको टाउको मात्रै फोरेनौ,
तिमीले उसका हातहरु र उसका खुट्टाहरु भाँचेनौ,
तिमीले उसको मेरुदण्डलाई थिलो थिलो मात्रै पारेनैं,
संगसंगै तिमीले मान्छेका सपनाहरु फोड्यौं,
मान्छेका विस्वासका सबै भन्दा बलिया मेरुदण्डहरु माथि
थिलोथिलो हुने गरी घात गर्‍यौ,
मिल्ने भए तिमीले,
छोड्ने थिएनौ भेरीलाई,
सक्ने भए तिमीले
मान्छेका सारा सभ्यातालाई नै
पनि
क्षणभरमा चकनाचुर पार्ने थियौ,

किनभने, प्रश्न जीवित रहनेछ
भेरीको सुसाइसँगै, जुग जुगान्तरसम्म,

तिमी एक क्षण मात्रै पनि
मान्छे भएनौ ?
तिमी एक क्षण मात्रै पनि
मान्छे रहेनौ ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय