scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

आर्थिक सर्वेक्षणको अन्तरविरोधः ऋण बढ्यो, गरिबी घट्यो

साझापोस्ट टिप्पणी

काठमाडौं, १४ जेठ । सरकारले आर्थिक वर्ष २०७६/२०७७ को फाल्गुन मसान्तसम्मको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । साथै देशका समष्टिगत आर्थिक परिसूचकहरु सन्तोषजनक रहेको निष्कर्ष समेत निकालेको छ । सर्वेक्षणमा भनिएको छ, ‘मुद्रा स्फिति, भुक्तानी सन्तुलन, वैदेशिक मुद्राको सञ्चिती, लगानी र वित्तिय परिसूचकहरु आर्थिक स्थायित्व अनुकूल हुँदै गएका छन् ।’

सरकारले आयात संकुचन र निर्यात विस्तार भई व्यापार घाटा सुधार भएको र शोधानान्तर स्थिति बचत भएको समेत दाबी गरेको छ । कोराना संकटले अर्थतन्त्र असीमितरुपमा खुम्चिरहेको बेला सरकारको यो दावी अपत्यारिलो लाग्ने खालको छ । सर्वेक्षण फाल्गुन मसान्तसम्मको मात्र भनिएको हुँदा चैत्र यताको अवस्था नदेखिएको हुन सक्दछ ।

चालू आर्थिक वर्षको वृद्धिदर २.३ प्रतिशतमा झर्ने प्रारम्भीक अनुमान गरिएको छ । चालू वर्ष आर्थिक वृद्धिदरको लक्ष्य ७.५ प्रतिशत थियो । अन्तर्राष्ट्रिय संस्थाहरुले चालू वर्षमा नेपालको आर्थिक वृद्धिदर दुई प्रतिशतभन्दा पनि कम हुने बताइरहेका छन् ।

सरकारले यसबीच प्रतिव्यक्ति आय बढेको बताएको छ । सर्वेक्षणमा भनिएको छ,‘प्रतिव्यक्ति कूल ग्राहस्थ उत्पादन प्रचलित मूल्यमा गतवर्षको तुलनामा ७.५ प्रतिशतले बढेर १ लाख २६ हजार १८ अर्था्त् १०८५ डलर पुगेको छ ।’ ५ वर्षभित्र ५ हजार डलर प्रतिव्यक्ति आय बनाउने चुनावी घोषणपत्रमा उल्लेख गरेर सरकारमा आएको नेकपाका लागि यो निराशाजनक अवस्था हो । ५ वर्षमध्ये करिब ३ वर्ष कार्यकाल पूरा हुनै लाग्दा प्रतिव्यक्ति आयले अल्पविकसित देशहरुको सामान्य सीमा समेत छुन सकेको छैन ।

सर्वेक्षणले गरिब भने घटेको देखाएको छ । नेपालमा अब निरपेक्ष गरिबी १६.६७ प्रतिशत बाँकी छ भनिएको छ । अन्तर्राष्ट्रिय आर्थिक संस्थाहरुले नेपालमा २९ प्रतिशतसम्म गरिबी रहेको देखाउने गरेका छन् । सरकारले भने गत वर्षको १८.७ प्रतिशतबाट करिब २ प्रतिशत गरिबी घटेको देखाएको छ । एकातिर प्रतिव्यक्ति आयमा उल्लेखनीय सुधार नहुनु, अर्कोतिर आर्थिक वृद्धिदर अपेक्षित नरहनु तर गरिबी कसरी घट्यो भन्ने प्रश्नमा सर्वेक्षण मौन छ ।

अर्थतन्त्रमा सेवाक्षेत्रको योेगदान सबैभन्दा बढी ५८.१ प्रतिशत देखिएको छ । प्राथमिक क्षेत्र (कृषि, बन खनिज आदि) को योगदान २८.२ प्रतिशत छन् भने औद्योगिक क्षेत्रको योगदान सबैभन्दा कम १३.७ देखाइएको छ । अर्थतन्त्रमा विप्रेषणको योगदानको योगदान भिन्नै देखाइएको छैन । कूल उपभोगमा आन्तरिक उत्पादनको अंश १८.१ प्रतिशत रहेको बताइएको छ । यसको अर्थ कूल उपभोगमध्ये करिब ८२ प्रतिशत आयातमा निर्भर गर्दछ । लगानी ३.४ प्रतिशतले घटेको बताइएको छ ।

प्रादेशिक आर्थिक वृद्धिदर सुदुूर पश्चिममा सबैभन्दा बढी ४.१ प्रतिशत र वागमतीमा सबैभन्दा कम १.२ प्रतिशत हुने अनुमान गरिएको छ । कर्णाली प्रदेशको आर्थिक वृद्धिदर दोस्रो स्थानमा ३.६ प्रतिशत, तेस्रो स्थानमा प्रदेश एकको ३.४ प्रतिशत छ । गण्डकीको २.७ र प्रदेश २ को २.३ प्रतिशत भनिएको छ ।

यस अवधिको कूल खर्च ६ खर्ब १० अर्ब ६८ करोडमध्ये पुँजीगत खर्च ९६ अर्ब ४७ करोड मात्र छ । सार्वजनिक ऋण भने ११ खर्ब ३९ अर्ब ८० करोड पुगेको छ । यो भनेको प्रतिनागरिक करिब ३९ हजार ऋण हो । जबकी यो वर्षको राजस्व संकलन भने ४ खर्ब ६९ अर्ब ७१ मात्र छ । यसको अर्थ यदि सरकारले ऋण तिर्ने हो भने ३ वर्ष देशलाई ठप्प राख्नु पर्छ । ऋणको बार्षिक साँवाब्याज भुक्तानी मात्र ६३ अर्ब ६२ करोड पुगेको छ । आन्तरिक तथा बाह्य ऋण अनुपात करिब ४:६ छ ।

चालू वर्षको कूल निर्यात ९४ अर्ब ९१ अर्ब मात्र भने कूल आयात ९ खर्ब २४ अर्ब २९ करोड छ । विप्रेषण १.८ प्रतिशतले बढेको देखाइएको छ । फाल्गुन मसान्तसम्म कोरोनाको प्रभाव विप्रेषण आप्रवहन हुने देशहरुमा खासै चर्को थिएन । तथापि बृद्धिदर निक्कै न्यून देखिएको छ । चैत्रदेखि आषाढसम्मको प्रभावलाई समावेश गर्दा बिप्रेषणमा २५ प्रतिशतसम्म कमी आउने अनुमान गरिंदैछ । यो पाटोको कुनै चर्चा गरिएको छैन ।

नेपाली रुपैयाँ अमेरिकी डलरसंग ७.७ प्रतिशतले अवमूल्यन भएको बताइएको छ । १ अमेरिकी डलर प्राप्त गर्न ११८.४४ नेपाली रुपैयाँ खर्च गर्नुपर्ने स्थिति छ । अझ रमाइलो कुरा यसबीच पर्यटक आगमानमा वृद्धि भएको बताइएको छ । तर त्यसको अनुपात देखाइएको छैन ।

नेपालमा शहरी जनसंख्याको अनुपात ६२.२ प्रतिशत पुगेको बताइएको छ । तर यो नगरपालिका घोषणा भएको क्षेत्रमा बसोबास गर्ने जनसंख्या हो वा शहरी सुविधा पुगेको क्षेत्रको जनसंख्या अनुपात हो प्रष्ट गरिएको छैन । भौतिक पूर्वाधार र शहरी सुविधा नपुगी नगरपालिका घोषणा भएका क्षेत्रको जनसंख्यालाई समेत समावेश गरिएको हो भने यस्ता अनुपात बृद्धिले खासै अर्थ राख्दैन ।

समग्रमा अधिकांश आर्थिक तथ्यांकहरु नकारात्मक देखिन्छन् । तर गरिबी घट्ने र प्रतिव्यक्ति ऋण बढ्ने कसरी सम्भव भो भन्ने कुराको उत्तर सर्वेक्षणमा पाइँदैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय