scheduleमगलवार आषाढ़ ३० गते, २०७७

सीमामा भोकले व्याकुल बनेका युवाले चिउरा खाए,वीर अनि प्राण त्यागे

जनकपुरधाम, १४ जेठ । झण्डै पाँच सय नेपालीलाई बुधबार बिहान भारतीय सुरक्षाकर्मीले जटही नाकामा ल्याएर छाडदिए । उनीहरु भोक र प्यासले आकुलव्याकुल देखिन्थे । धेरै मानिसहरु बिरामी र थकित थिए ।

त्यही भिडमा अवस्था दयनीय देखिएका एक युवालाई नेपाली सुरक्षाकर्मीले चाउचाउ, चिउरा र पानी खुवाए । थोरै चिउरा चपाएसँगै उनले बान्ता गर्न थाले । जब उनलाई उपचारका लागि जनकपुरको ल्याउने तयारी सुरु गरियो, उनको अवस्था गम्भीर बनिसकेको थियो ।

एम्बुलेन्स आउन ढिला भयो र उनले त्यहीँ प्राण त्यागे । जे होस्, उनी नेपाली भूमिमा आइपुगिसकेका थिए ।

बुधवार बिहान यसरी धनुषाको जटही नाकामा प्राण त्याग गरेका युवक धनुषाको शहीदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुरका बासिन्दा वीरेन्द्र यादव भएको खुलेको छ । उनी झण्डै ३० वर्षीय युवक हुन् जो भारतको सुरतमा मजदुरी गरी नेपाल फर्किँदै थिए ।

सुरक्षाकर्मीले ठूलो संख्याका नेपालीलाई त्यहीँको क्वारेन्टाइनमा बस्न अपिल गरिरहेका थिए । तर उनीहरु आफ्नै घरनजिकको स्थानीय तहले बनाएको क्वारेन्टाइनमा जान माग गरिरहेका थिए ।

जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले उनको मृत्यूको कारण नखुलिसकेको जानकारी दिए ।

युवकको मृत्यू भएसँगै आक्रोशित नेपालीले सरकारविरुद्ध नारा लगाएका थिए । अहिले उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

कोरोनाको डरले उनको शव उठाउन कोही पनि तयार नभएपछि नेपाली सेनाले उनको शव उठाएको छ । सेनाले उनको शवलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि ल्याएको छ ।

पोस्टमार्टपछि उनको कोरोना परीक्षण गरिने र नतिजा नेगेटिभ आएमा परिवारको जिम्वा लगाउने प्रशासनको तयारी छ । यदि कोरोना पोजेटिभ देखिएमा सरकारी मापदण्डअनुसार अन्तिम संस्कार गर्ने प्रशासनले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय