scheduleआइतवार आषाढ़ २८ गते, २०७७

कथा: बिर्ख बहादुर

मदन मगर 'मंगोल'

“ओई… बिर्खे कामी; मासाले बिष्टा गाउँ छिर्चै । माँरु तोलाई ।”- परबाट बिर्खे दगुर्दै आएको देखेर मुखियाको नाति जम्कियो; बाटोमाथि बारीको ढिकबाट । ख्याँस्सै कट्टु छराएर बाटोमा पिसाबको धर्को बनाउँदै भन्यो – “लु पाजि, हिम्मत छ भन्या, यो नाघिन देखा ।” उसका साथीहरु गलल्ल हाँसे । बिर्खे डरले रातोपिरो भयो । अलिक पर कुलो भाँचिरहेको बिमल दगुर्दै आयो । बिमललाई देखेर बिर्खेको मन अलिक ठूलो भयो । उसको मुहारबाट डर हरायो ।

“ओई.. क्यान न्यूँह खोज्छै ? तिमीरुले यो बिचारोलाई एक्लई पाइन हेप्या ?”

बिमलले केटाहरुलाई झपार्‍यो । मुखियाको नाति झन् के कम कड्कियो – “साले कामीको जार् ।”

फेरी केटाहरु गलल्ल हाँसे ।

“त जाँठा मुख्या जार् ।” – बिमल रातोपिरो भयो । उसको रीसको पारा तात्यो । उसलाई रीस कामीको जार भनेकोमा होइन; उसको साथीलाई कामी भनेर हेपेकोमा उठिरहेको थियो ।

मुखियाको नाति झन् के कम; हजुरबाको हैकम थियो गाउँमा । उसमा रीस नहुने कुरै भएन । त्यो जमाना थियो नै ‘मुख्या’को । गाउँमा मुखियाको सानसौकत राजासमान थियो ।

“तेरिमा ठास्ने कामी ।”- भन्दै मुखियाको नाति र उसका दुई साथीहरु बारीबाट घस्रिँदै बाटोमा आएर भकुर्न थाले । मुखियाको घरमा गाईभैँसीको कमी थिएन । बसिबसी दुधदही खाएको बल जाओस् कहाँ ? बिर्खे पनि के कम ? हलीको छोरो । बच्चै भए पनि खाँदिएको ज्यान । क्षणभरमै त्यो बाटो भुराहरुको रणमैदानमा परिणत भयो ।

“तिम्र्यामा ठास्नेऊ नि ! क्या मर्न पच्छारा लाग्छौ ?” – कताबाट मुखिया बाजे टुप्लुक्क आइपुगे । रीसले चुर हुँदै सबैलाई एकसर्ती हेरे । कसैको नाकबाट रगत बगिरहेको थियो त कसैको मुहार चिथोरिएको थियो । बाजेको आगमनबाट हौसिएको नातिले झन् रुँदै भन्यो – “यिनीहरुले मारे ।”

बस् ! अब मुखियालाई के चाहियो; टेक्ने लठ्ठीले बिर्खेलाई दुई सट्को हिर्काए । बिर्खे रुँदै भाग्यो ।

“तिम्रै नातिलाई हान्दैनौ; तेल्ले सुरु गर्‍या हो झगडा ।”- बिर्खेलाई बिना गल्ती पिटेको देखेर; बिमल बोल्यो ।

“अझ बर्ता बोल्छै काम्यो जार् । ल खा ।”- मुखिया बाजेले बिमललाई लठ्ठीले खुट्टामा हिर्काए अनि आफ्नो नातिलाई पनि – “ल खा तो पनि ।” भन्दै बिस्तारै ठ्याप्प पारे । बिमल चुपचाप बिर्खे गएतिर दगुर्‍यो ।

“ओई…बिर्खे रोक् ! रोक् !”- बिमल बिर्खेको पछिपछि गहिराखेतमा दगुर्‍यो ।

तर बिर्खे रोकिएन । अहँ आज बिर्खेलाई रोकिनै मन छैन । आफ्नो गल्ती नहुँदा पनि मुखिया बाजेले पिटेको सम्झेर उसको हृदय भत्भती पोलिरहेको छ । उमेर त धेरै होइन उसको; यस्तै बाह्रतेह्र बर्षको हुँदो हो तर न्याय अन्याय बुझ्न सक्ने भइसकेको छ । ऊ बुझ्न सक्ने भइसकेको छ कि ऊ; मुखियाको नाति र बिमल जस्तो होइन । उनीहरुको जस्तो उसको घर छैन । उनीहरुको जस्तो उसका बाआमा टन्नै सम्पत्तिवाल छैनन् । उसले बुझिसकेको छ कि उसको गाउँ कल्लेडाँडा र बिष्ट गाउँमा धेरै भिन्नता छ । तर एउटा कुरा छ जो कल्लेडाँडा र बिष्ट गाउँबीच समानता छ; त्यो हो उसको साथी बिमल । बिमल अरु बिष्ट जस्तो छैन । बिमललाई सम्झिँदा बिष्टप्रति उसको रोष अलिक मत्थर भयो ।

“ओइ! रोक् न यार बिर्खे ।”- बिमल जति कराए पनि आज बिर्खे रोकिएन । सुँक्कसुँक्क गर्दै कुदिरह्यो ।

घर पुग्दा; बिर्खेको बाऊ सन्ते कामी पीँढीमा बसेर सिल्बटको बटुकामा जाँड र थालीमा खाजा खाइरहेको थियो । बिर्खे आँगनको डिलमा गाडिएको खाँबोमा अढेस लागेर उभियो । आफ्नो छोरो रुँदै आएको देखेर उसको हृदयमा केही रीस अनि केही ममता उर्लियो ।

“कोसित पच्छारा लागिन मरिस् टोक्या ?” – बिर्खेको बा झर्कियो ।

“भित्र मर् ।”

यत्तिकैमा हस्याँङ फस्याँङ गर्दै बिमल पनि आँगनको डिलमा आएर उभियो ।

“नमस्ते ! पुत्नी ।”- बिर्खेको बा उठ्यो ।

“ह्या..ठूला बा ! खै ढोग गरम् ।”- बिमलले सन्ते कामीको नजिक गएर निधार झुकायो । सन्ते कामीलाई अलिक अफ्ठ्यारो लाग्यो बिष्टले ढोग गर्न खोज्दा ।

“कस्तो झुक्नु भा’को हाम्रो बिष्ट ।”- उसले मनमनै सोच्यो ।

त्यो समय अशिक्षा र चरम गरीबीको थियो । पहाडी गाउँमा जातभात, छुवाछुत खुब चल्थ्यो । समाजमा अशिक्षा, अचेतना व्याप्त थियो । तर शिक्षा र चेतनाको झिल्को हेडमास्टरको घरमा परेको थियो । उहिल्यै जमानामा नेपाल खाल्डोमा गएर पढेका हेडमास्टर; प्रखर कम्युनिष्ट थिए । टाढा टाढासम्म नाम थियो उनको । उनकै चेतनाका बाछिटाहरु सानो बालक बिमलमा पनि परेका थिए । आफूभन्दा ठूलालाई आदर गर्नुपर्छ चाहे सानो जातको होस् या ठूलो – यो संस्कार हेडमास्टरको घरमा थियो ।

“यो टोक्या क्यान रुइराछ हँ अझै ?”- बिर्खेको बा फेरी करायो ।

“मुख्या बाजेले पिट्या हुन् ।”- बिमल बोल्यो ।

बिर्खेको बा केही बोलेन । यसो होइन कि; उसको मन कुँडिएन तर गर्नै पो के सक्थ्यो र ? बिष्ट त्यसमा पनि मुखियाको अगाडि । रीस त उसलाई पनि उठ्छ तर त्यसको प्रभाव उसको घरमा देखिन्छ । आफ्नै छोरोलाई हपार्‍यो उसले । भित्र खाजा भुटिरहेकी कस्तुरी कमिनी बाहिर आई जसले सुनिरहेकी थिई सबै कुरा अघिदेखि । मन त उसको पनि रोयो तर गर्नै पो के सक्थी र उसले पनि ?

“बाबु खाजा खानुस् ।”- उसले थालिमा खाजा र बटुकोमा मोही राखेर बिमलको अगाडि राखिदिई । अनि आफ्नो छोरोलाई पनि दिई । सन्ध्याको समय थियो । चराहरु बास् फर्किँदै थिए । हटारुहरु अलिक छिटो पाइला चाल्दै थिए । बिमल पनि घर फर्कियो ।

+ + + + + +

कुनै शनिबारको समय छ; दिन ढल्किँदै गरेको । बगरमा गहुँ काटेर खेतहरु नाङ्गा छन् । गाउँभरिका चौपायाहरु चरिरहेका छन् । बिमल, उसकी बहिनी निर्मला र बिर्खे बैँसको रुखको छहारीमा बसेका छन् । निर्दोष छन् यी बालकहरु; दुनियाँको कालो चेहेरादेखि बेखबर; मग्न आफ्नै धुनमा तर समय सधैँ सायद यसरी नै बग्ने छैन । रङ्ग कुरुप; समयको पनि छ ।

बिमलका एकहल गोरु र एउटा भैँसी अलिक पर चरिरहेका छन् । बिर्खेको घरमा कामकाज खासै हुँदैन । एउटा गाई छ कतै दानमा पाएको; त्यही पनि घरमा काम गर्ने मान्छेहरुको कमी छैन । गर्नुपर्ने काम खासै केही छैन उसको घरमा । न घाँस काट्नलाई कान्ला छन्; न जोत्नलाई बारी । उसको बाबु एक हली हो; एक कमारो । बाली उठाउँदा खलो माग्न हिँड्छ । बस् त्यसैबाट गुजरा टर्छ उनीहरुको । त्यसैले ऊ प्रायःजसो बिमलसँगै हिँड्छ । चरन राम्रो छ आजकाल । चौपाया अघाएछन् सायद; घर फिर्न बाटो लागे । उनीहरु तीनै जना पनि फर्किए । दिन ढल्किँदै गरेको छ; पहेलिँदै छन् घामका धर्साहरु । गोधूलीमा फिर्दै छन् घर; बचेराहरु ।

मदन मगर ‘मंगोल’

बिमल र उसकी बहिनी गोठमा छोबा बानिरहेका थिए । भान्सामा बिमलकी आमा रोटी बनाउँदै थिइन् । बिर्खे ढोकानेर उभियो ।

“कतान् तीनका दुई भाइना ?”- बिमलकी आमाले सोधिन् ।

“बल्द बानिराछन् ।”- बिर्खेले जवाफ दियो ।

भित्रबाट रोटी र सागको मिठो बास्ना हरर.. आइरहेको थियो जुन बिर्खेको नाक हुँदै फोक्सोमा गएर ठोकियो । घुटुक्क थुक निल्यो बिर्खेले । बिमलकी आमाले उसलाई शिरदेखि पाउसम्म हेरिन्; केही बोलिनन् । न भित्र बोलाइन्; न बाहिरै बस् भनिन् । पहिले पहिले उसलाई भित्र पसालेको पटक्कै मन पर्थेन उनलाई तर शिक्षित लोग्ने र छोरो बिमलको अगाडि केही जोर चलेन उनको । मध्यमवर्गीय महिलाहरुमा यो सोचाइ अक्सर देखिन्छ । जब छोरो हुर्किँदै जान्छ; आमाहरु उसलाई बाबुपछिको दर्जा दिन थाल्छन् । हिजोको सानो छोरो एकाएक पुरुष बन्छ । उसका निर्णयहरु परिवारमा आमाका निर्णयमाथि हाबी हुन थाल्छन् । सायद पुरुषप्रधान समाजको उपज हुन सक्छ यो । “मान्छे सबै एउटै हो सायद”- यो कुरा उनले पनि बुझेकी छन् । तर मान्छे संस्कारले बन्छ जुन संस्कार यही समाजको उत्पत्ति हो । उनको मनले अलिक मान्थेन ।

सधैँ बिमल बिर्खेदेखि रिसाइरहन्छ; ढोकामा कुकुर जसरी उभिएको देखेर । उसलाई गाली गरेर भित्र बोलाउँछ । आज बिर्खेले सोच्यो बिमललाई गाली गर्ने मौका दिने छैन । ऊ घोसे मुन्टो लगाएर लुसुक्क भित्र पस्यो अनि ढोकानेर बस्यो । बिमलकी आमाले पुलुक्क हेरिन बिर्खेलाई; मुख बिगारिन् तर केही बोलिनन् । सर्सर्ती उसलाई हेरिन् । झुत्रो टिसर्ट; त्यो पनि परार साल उनैले दिएकी थिइन् दया मानेर; बिमलको । ठाउँ ठाउँमा च्यातिएको थियो । आँखामा कचेरा जमेका थिए । कपाल धुलो जमेर फुस्रो भएको थियो । हातखुट्टामा कालो मयल जमेको थियो । उनलाई नछुने जात भित्र पस्यो भन्दा पनि बिर्खेको फोहोरी आवरण देखेर झनै रीस उठ्यो ।

गोठबाट फर्केर बिमलले धारामा हातखुट्टा धोयो । ढोकातिर नजर लगायो; बिर्खे थिएन । सधैँ ऊ नहुँदा ढोकाबाहिर उभिने बिर्खे आज उभिएको थिएन ।

“कस्तो रैछ; खाजा त खाइन जानुपर्छ ।”- उसले मनमनै सोच्यो । अनि भान्साभित्र पस्यो । ल बिर्खे भान्सामा पो रहेछ । सधैँ कर गरेर भित्र बोलाउनुपर्ने बिर्खे आज आफैँ भित्र पसेछ । उसो त बिमल सबैभन्दा खुशी हुनुपर्ने; उसको साथी आफैँ घरभित्र पसेको छ । अब उसलाई बारबार बोलाउनु पर्नेछैन । तर खै किन हो सोचेजस्तो खुशी हुन सकेन ऊ । कस्तो अजिब भाव हृदयमा उठ्यो उसको । बिर्खे, जुन साथिलाई ऊ आफैँ घरभित्र पसेको देख्न चाहन्थ्यो । जब ऊ पस्यो; ऊ खुशी हुन सकेन । केही अमिलो भयो मन । सायद उसको अभिमानमा चोट पुग्यो । अब त्यो ढोकाले बिर्खेलाई छेक्ने छैन । बिर्खेलाई घरभित्र बोलाउँदा जुन आत्मगौरवको आभाष उसले गर्‍थ्यो; अब आइन्दा उसले गर्न पाउने छैन । जुन समाजविरुद्ध विजयभाव आभाष गर्न पाउँथ्यो; त्यो अब पाउने छैन । तर फेरि उसले मनमनै सोच्यो – समाज बदल्नुछ, सुरु आफैँबाट गर्नुछ । आजभन्दा २५०० सय बर्षअघि त बुद्धले जातभातको विरुद्ध बोले भने यो त २१ औँ शताब्दी हो । तर ऊ केही बोलेन; चुपचाप बस्यो । एकछिनमा बहिनी निर्मला पनि आई । आमाले तीनै जनालाई थालिमा रोटी र साग राखिदिनुभयो । सबैले खाए । बिमलले सकेर थाली मुट्कोनिर लर्कायो । बिर्खेले आफ्नो थाली धारामा धोएर पिँढीमा सुकायो ।

+ + + + + +

दिन, महिना, साल हुँदै समयले कोल्टे फेरिरह्यो । हिजोका गुच्चा खेल्ने फुच्चेहरु; चौबीस-पच्चीस सालका लक्का जवान भइसकेका थिए । यो बीचमा थुप्रै उथलपुथल भयो देशमा – सर्चालिस सालको बहुदल देखि लिएर बाउन्न सालको माओवादी द्वन्दसम्म । तर केही अपरिवर्तित थियो त – त्यो पश्चिमको गाउँ र त्यहाँका जनता । गाउँ उस्तै थियो; विकट अनि गरीबी र अशिक्षाले व्याप्त । तर बिमल र बिर्खेबीचको मित्रता अझ प्रगाढ भएको थियो । यस्तो मित्रता कि मान्छेहरु नै आरीस गरुन् ।

कथित ठूला जातिहरु बिमलको खेदो खन्थे । भन्थे – “खुब कामीको छाउरोलाई टाउकोमा बोकेको छ कुन दिन कन्नोमा मुत्दिन्छ अनि था’ हुन्छ ।” कथित तल्लो जातिहरु बिर्खेको रीस गर्थे । भन्थे – “बिष्टसित साथ छ भनिन भुँइमा खुट्टा छैन मास्टरको; नोकर बनाको था’ छैन, चाइने त हामी नै हुम्ला है दु:ख पर्दा ।” हुन पनि हो बिर्खे अब पुरानो सिंगान झार्ने बिर्खे थिएन । हलक्क परेको खाइलाख्दो ज्यान । ऊ मास्टर बिर्ख बहादुर भइसकेको थियो । कथित तल्लो जातिहरु कोही बिर्खेदेखि गौरव गर्थे; सम्मान गर्थे भने कतिले रीस गर्थे । तर जे होस् बिर्खे अब मास्टर बिर्ख बहादुर भइसकेको थियो ।

उसँगका साथीहरु कल्लेडाँडामा कोही बाउको बिँडो थमाउँदै हली भएका थिए त कति बम्बै, कालापार भारी बोक्न जान्थे । चेतना र शिक्षाको दियो अझै बलेको थिएन कल्लेडाँडामा; जिन्दगी अझै फुलेको थिएन । मान्छे उस्तै थिए; सोचाई उस्तै थियो । उसो त त्यो भेग नै पीछडिएको थियो; विकासदेखि विमुख थियो तर अझ भयावह थियो कल्लेडाँडाको अवस्था । बिमल र बिर्खे दुबैले आई.एड गरेपछि आफूले पढेको विद्यालयमा मास्टर भएका थिए ।

+ + + + + +

अषाढको पहिलो शनिबार छ । धान रोप्न हतारो छ गहिराखेतमा सबैलाई । आज बिमलको घरमा रोपाइँ छ । बिऊ काढ्नेले काडिरहेका छन्; जोत्नेले जोतिरहेका छन् । कोही मोही लगाइरहेका छन् त कोही आली बाँधिरहेका छन् । रोपार्नीहरुले छुपुछुपु धान रोपिरहेका छन्; मिठो लयमा । आज बाहुरेहरुको मेला छ; गहिराखेतमा । रोपार्नी र हलीहरुको हाँसो ठट्टाले गुन्जायमान छ गहिराखेत; सिम्सिमे पानीमा । मास्टर बिर्ख बहादुर आली लगाउँदै छ; तल्लो गरामा । माथिल्लो गरामा रोपार्नीहरु एक अर्कालाई जिस्काइरहेका छन्; बिर्खेको नाम लिएर । कथित तल्लो जातको किन नहोस्; मास्टर बिर्खे नौजवान छ; बैँस नचढ्ने कुरै भएन ? रोपार्नीहरुलाई लुकीछिपी हेर्छ । रोपार्नीहरु पनि अधिकांश अठार-बीस बर्षका छन्; उन्मत्त बैँसमा ।

जवानीमा जातभातले त्यति महत्व राख्दैन सायद – कोही उसलाई मायालु नजरले हेर्छन्; कोही कामी भन्दै मुन्टो बटार्छन् । त्यत्तिकैमा निर्मला बिर्खेको नजिक आउँछे अनि भन्छे – “बिर्खे दाई, त्यो बिऊको मुठो पुर्‍याउनु त ।” उसो त बिर्खे र निर्मला बच्चैदेखि सँगै हुर्केका हुन् तर त्यहाँ माहोल नै यस्तो थियो कि निर्मला एकदमै लजाएकी थिई । यत्तिकैमा कुन चाँही रोपार्नीले प्याच्च भन्दिहाली – “ओई मास्टर्नी बिऊ छिटो ल्याउ ।” निर्मला लाजले भुत्तुक्कै भई अनि छिटोछिटो बिऊको मुठो लिएर फर्किहाली । ऊ लज्जावती झारझैँ लजाएको बिर्खेलाई खुब मन पर्‍यो । उसो त उसले निर्मलालाई बच्चैदेखि देखेको हो तर खै किन हो आज विशेष लाग्यो उसलाई ।

सर्लक्क परेको ज्यान; पछाडि जुरो बनाएर बाँधेको कपाल; मानौं त्यो धान रोप्ने हिलोमा कमल फुलेको होस् । थाहा थियो उसलाई; ऊ केही गलत गर्दैछ; केही अनिष्ट गर्दैछ । साथीको बहिनी त्यो पनि कहाँ ऊ बिष्टकी छोरी कहाँ ऊ विश्वकर्मा । तर प्रेम तर्कभन्दा माथि छ; जब धड्किन्छ हृदय कसैको निम्ति – त्यहाँ फगत प्रेम हुन्छ फगत प्रेम । बाँकी सब कुरा गौण ।

उसो त निर्मलाले पनि बिर्खेलाई बच्चैदेखि देखेकी हो आफ्नै दाईसँग तर आज मौसम अलग छ; खै किन हो मास्टर बिर्ख बहादुर मायालु लागेको छ । प्रेम अंकुराउन कुनै दिनबार चाहिँदैन सायद । हृदयको भाषा नयनले बुझे पुग्छ । एक झिल्का जसरी अकस्मात हुन्छ प्रेम ।

+ + + + + +

बिस्तारै मास्टर बिर्ख बहादुर र निर्मलाको भेटघाट अब एकान्तमा बाक्लिन थाल्यो । गहिराखेतबाट सुरु भएको उनीहरुको प्रेम पानीपँधेरो हुँदै वन कान्लासम्म फैलियो । खुशी छे निर्मला; खुशी छ मास्टर बिर्खे; दुबै उत्कर्षमा छन् प्रेमको । परिवर्तित निर्मलाको चालढाल देखेर अचम्भित पर्छिन् उसकी आमा कहिलेकाहीँ । सानोसानो कुरामा झर्किने, रिसाउने निर्मला आजकल फुरुङ्ग छे पुतलीझैँ । बिर्खे पनि आजभोलि प्रायःजसो प्रेमको गीत गुन्गुनाइरहेको भेटिन्छ ।

निर्मला घाँस काट्न वनमा गएकी छ । यताउती हेर्दै दाउरा बटुल्ने बहानामा बिर्खे पनि वनमा जान्छ । दुबै केहीबेर रुखमा अढेस लागेर बस्छन् । यो वन नै यी दुबै प्रेमीहरुको निम्ति सुरक्षित ठाँउ हो ।

“घरमा बिहेको कुरा गर्नु पर्दैन ? कि यसरी नै चोरझैँ भेट्ने हो सधैँ ?”- निर्मला ठुस्किन्छे ।

“कुरा गरौँला नि बिस्तारै किन आत्तिएकी ?” – मास्टर बिर्ख बहादुर सम्झाउने प्रयत्न गर्छ ।

“हजुर बिस्तारै भन्दै गर्नु । बाआमाले अर्कैसित अन्माइदिन्छन् अनि हुन्छ बिस्तारै ।”- ऊ अझ ठुस्किन्छे ।

“कुरा त गर्नु तर कसरी ? तिम्रो घरमा मान्छन् कि नाइँ ? क्या भन्ने हुन् डर लाग्छ ।”- बिर्खेले आफ्नो स्वाभाविक चिन्ता प्रकट गर्‍यो ।

उसले थप्यो – “तिमी ठूलो जातकी म सानो जातको ।”

“पहिले दाइसित कुरा गर्नु न । तपाईं र दाइ त मिल्ने साथी हुनुहुन्छ । दाइले मान्नुभो’ भने बाआमाले नि मान्नुहुन्छ ।”

“त्यही त अब साथीसित कसरी बहिनीसँगको बिहेको कुरा गर्नु ?”

“मलाई था’ छैन जसरी गर्नुछ गर्नु ।”- ऊ ठुस्किँदै घाँसको भारी बोकेर हिँड्न थाली ।

“नरिसाउन बाबा । म अलिक समय परिस्थिति मिलाएर बिमलसित कुरा गर्छु । अब खुश ?”

निर्मलाले मुस्कुराउँदै सहमतिको मुन्टो हल्लाई अनि दुबै उल्टो दिशातिर लागे ।

+ + + + + +

यसैगरी केही समय बित्यो । बिर्खेले बिमलसँग बिहेको कुरा राख्न नखोजेको होइन तर कुरा पेटबाट घाँटीमा आएर अड्किहाल्थ्यो । बिर्खे र निर्मलाको प्रेमको चर्चा खेत खल्यान्, पानी पँधेरो अनि वन कान्लामा चल्न थाल्यो । सबै खासखुस गर्थे तर खुलेर बोल्ने हिम्मत कसैसँग थिएन । कामीसँग साथ गर्‍यो भनेर रीस मान्नेहरु काखी पट्काइरहेका थिए । “ठिक्क भो; मैले भन्या हैन यी डाङ्ग्राहरुलाई धेरै टौकामा नचढाउ, कन्नानु मुत्छन् भनिन ।”- मुखियाको नातिले साथीभाइको अगाडि भन्यो । सबै गलल्ल हाँसे । गाउँभरी हल्ला थियो परन्तु कोही बेखेबर थियो त निर्मलाका बाआमा र उसको दाजु ।

त्यसैबेला हटारुहरुले हल्ला बोकेर ल्याए उँदबाट नुन बोकेर आउँदा – कल्लेडाँडाको पले दमाईले बिष्ट गाउँकी फूलमतीलाई भगाएर लग्यो रे । हटारुले नेपालगन्ज जाँदै गरेको देखेका ।

यो समाचार क्षणभरमै गाउँमा आगोझैँ फैलियो । फूलमती दिदीलाई सबैले छिछी जात फाली भन्दै गाली गर्न थाले । गाउँको चौतारीमा पञ्चायत बस्यो । बुढापाका पञ्च भलाद्मीहरु चौतारीमा बसे । अलिक पर जुर ढुँगोमा टुसुक्क बसेर झाँक्री बाजेले सुल्पामा कक्कर भर्न थाले । बिष्ट गाउँकाहरु दाँयातिर उभिए; कल्ले डाँडाकाहरु बाँयातिर ।

“चाइने यी डाँग्रारुले अब हाम्रा छोरी बैनीलाई आँखा लाउने भए ?”- मुखिया बा जो भूतपूर्व भइसकेका थिए; तैपनि उनको सानसौकत अझै उस्तै थियो – बोले ।

“चुटाइ नभेट्या हुन् यी डाँग्रारुले; जिउँदै गाड्नुपर्छ् ।”- भीडबाट एउटो ठिटो बम्कियो ।

“मले ता भन्या हुँ पैल्यै । यी कामीदमाईलाई धेरै टाउकोमा नचढाउ भनिन । कोइले सुनिन मेरो कुरा ।” – मुखियाको नाति बोल्यो ।

सबैले आफ्नोआफ्नो मत राखिरहेका थिए । कथित तल्लो जातिहरु चुपचाप उभिएका थिए । भनुन् पनि के? उनीहरुको नजरमा पनि गल्ती पले दमाईकै थियो । जुन थालिमा खायो त्यही थालिमा छेद पारेर कहाँ हुन्छ ? जति गरे पनि उनीहरु ठूला जातिका – जुगदेखि चलिआको रित् । तैपनी पलेको नाउँमा अरु सबैलाई ता नकोस्नुपर्ने – कथित तल्लो जातका बुढापाकाहरु सोचिरहेका थिए । अलिक जवानहरु चाहिँ – मन मिल्यो दुईजनाको; भगायो । के बिरायो ? सबैले त भगाउँछन् नि ? आजकालको जमानामा पनि जात न पात । यस्तै भैन ता माओवादीले ठीकै गर्‍याछन् – सोचिरहेका थिए । तर बोल्ने हिम्मत कसैको थिएन ।

अती नै व्यक्तिगत झगडाको आडमा सिंगो जातिलाई नै बारबार आक्षेप लगाएपछि असह्य भएर मास्टर बिर्ख बहादुर बोल्यो – “यसलाई जातजातिको लडाइँभन्दा पनि मिलाउने हिसाबले अगाडि बढाऔँ । हुर्केका केटाकेटीले बिहे गरे; सक्किगो नि ।”

तर उसको बोली भुइँमा खस्न नपाउँदै च्याँखुरी भाउजु जुरुक्क उठेर खोक्दै बोलिन् – “अब क्या… अब क्या… हामीरुले तिमीरु डाँग्रारुलाई इष्ट मानिन ढोग गर्नु पर्ने भो’ तो ?”

“जे मनाँ आयो त्यै नबोल्नु है क्या डाँग्रासाँग्रा नि ।”- मास्टर बिर्ख बहादुर जंगियो । बाँयातिरका अरु पनि रीसले आगो भएका थिए ।

“उइता क्या… बाख्रोलाई बाख्रो भन्नु पर्‍यो भेडोलाई भेडो भन्नु पर्‍यो; कामीलाई कामी भन्नु पर्‍यो दमाईलाई दमाई ।” – आगोमा झनै घ्यू थपे झाँक्री बाजेले । गाउँमा उखान टुक्काले खप्लक्कै पार्न सिपालु थिए उनी । हेर्दाहेर्दै चौतारो समर मैदान बन्ने बाटोतिर अगाडि बढेको देखेर अघिदेखि चुपचाप बसेका हेडमास्टरले मुख खोले – “अब क्यार्नु त, भाग्ने भागिसके । एउटाको गल्तिले क्यान सबैलाई मुछ्नु । बरु समाधान खोजुम् ।”

“तिमी आफै भनन त मास्टर क्या समाधान छ ?”- मुखिया जंगिए । वास्तवमा समाधान त स्वयम् हेडमास्टरसँग पनि थिएन । उनी पनि विलखबन्दमा परेका थिए ।

“मसित छ हल्; यी साला डाँग्राहरुको टाउको छेक्नुपर्छ ।” – भन्दै मुखियाको नातिले खुकुरी निकाल्यो दापबाट ।

अति भएपछि बिमल जुरुक्क उठेर बोल्यो – “यस्ता पाजी कुरा नगर् तो; दिमाग छैन ?”

“इस् ! तेरै छ नि दिमाग; पहिला आफ्नो घर समाल । यो कामी र तेरो बैनीको चर्तिकला दुनियाँलाई था’ छैन र ? न’भा सोध तेरो जारलाई ।”

रीसले आगो भएको बिमलले पुलुक्क हेर्‍यो बिर्खेलाई । बिर्खे डरले घोसेमुन्टो लगाएर उभिएको थियो । उसको झुकेको शीरले सत्यलाई अझै बल दिएको थियो । उसको मौनताले सबै बोलिरहेको थियो । साथीको ठाँउमा उसले दुश्मन उभिएको देख्यो । एक नजर भीडलाई हेर्‍यो । ती आँखाहरु घोचिरहेका थिए उसलाई । ती आँखा, जसमा ऊ सधैँ सम्मान भेट्थ्यो । आज तीक्ष्ण व्यङ्ग्य हानिरहेको देख्यो उसले मानौँ उसको धारातल नै भासिएको होस् ।

हेडमास्टर पनि रीसले आगो भएका थिए । भीडको कुटील मुस्कान उनलाई असह्य भएको थियो । आज उनको अभिमानमा आघात पुगेको थियो । बिमल फनक्क फन्केर घरतिर हानियो । त्यहाँ रमिता गरेर दुनियाँ हँसाउन उचित लागेन उसलाई । उसको स्वाभिमानमा आज ठूलो ठेस परेको थियो । हेडमास्टर पनि जुरुक्क उठेर चुपचाप आफ्नो बाटो लागे ।

जाँदै गर्दा बिर्खेलाई खाउँलाझैँ गरी हेरेर गए । बिर्खे डरले थुर्थुर् भएको थियो ।

घरमा निर्मला आफ्नो कोठामा बसेकी थिई; रेडियो सुन्दै । आमा भान्सामा खाजा बनाउँदै थिइन् । ऊ सरासर निर्मलाको कोठामा गयो र कपालमा समातेर एक थप्पड हान्यो; गालामा । निर्मलाले के भयो भनेर सोध्न नपाउँदै उसले फेरी अर्को थप्पड हान्यो । गड्याङ् गुडुङ् गरेको सुनेर आमा आत्तिँदै कोठामा आइन् ।

“न क्यान पिट्छ बैनिलाई ? छोड्; मार्लाई ।” – आमाले छुटाइन् ।

“तिम्रै छोरीलाई सोध । आज तेत्रो गाउँलेको अगाडि बा र मलाई लाजमर्नु बनाई यसले ।”

“सोध यसको र त्यो बिर्खे कामीको के चलिराछ ?” – एकछिन आमा पनि तीनछक् परिन् तर यतिबेला छोरीलाई गाली गर्नु कदापि मुनासिब ठानिनन् । उल्टै छोरोलाई गाली गर्न थालिन् – “मैले भन्या होइन त्यो डुमसित साथ नगर् भनिन; तो र तेरो बा’ ता हौ । दुनियाँ बद्लिन्छु क्याक्या भन्ने ।”

बिमल चुपचाप बस्यो; एकछिन् रीसलाई काबुमा राखेर ।

निर्मलाले डराउँदै भनी – “आमा हामी एकर्कालाई प्रेम गर्छम् । बिहे गर्न चाहन्छम् ।”

रीसले आगो भएको बिमलले एक लात्ती हिर्कायो बहिनीलाई ।

निर्मला – “ऐया” भन्दै चिच्याई ।

बिमल रन्किँदै अर्को कोठामा गयो । रीस त आमालाई पनि उठेको थियो तर त्यसबेला छोरीप्रति रीसभन्दा पनि छोरोदेखि डर लागिरहेको थियो उनलाई । कतै रीसको झोंकमा अख्खरमा हानेर मारिदेला भन्ने डर । आमाको मन न पर्‍यो ।

हेडमास्टर पनि घर पुगे । रीस अनि लज्जाबोधले उनको मुहार रातझैँ अँध्यारो भएको थियो । जिन्दगीको यति लामो यात्रामा हेडमास्टरले कैयन् बैठक बसेका छन् । कैयन फैसला गरेका छन् । पञ्चायतकालमा समेत गाउँलेहरु न्यायनिसाफ माग्न मुखिया भन्दा पनि हेडमास्टरकहाँ आउँथे । उनले पनि आफ्नो विवेक अनि चेतनाले भ्याएसम्म निष्पक्ष न्यायनिसाफ गरेका थिए । तर आज उनलाई जिन्दगीमा पहिलोपटक पञ्चायतबाट लज्जाबोध भएर फर्किनु परेको छ; त्यो पनि आफ्नै छोरीको कारणले । उनको अभिमानमा आघात पुगेको छ । आज हेडमास्टरलाई पहिलो पटक लाचारीपन महसुस भएको छ । दुनियाँको न्यायनिसाफ गर्ने मान्छे आज आफैँ अन्यायमा परेको आभाष भएको छ तर अन्याय गर्‍यो कसले ? उनले भेऊ पाउन सकेका छैनन् । न्याय खोज्न कहाँ जाने उनले भेऊ पाउन सकेका छैनन् । उनी चेतनाशून्य भएका छन् । मानवता आफ्नो ठाँउमा छ तर त्यो बिर्खे कामीले सिधै इज्जतमा हात हाल्यो – उनी सोचिरहेका छन् तर उनी केही बोलेनेन् । उनी अक्सर बोल्दैनन् । हुर्केको छोरीलाई केही गर्न पनि सक्दैनन् । गाउँ हँसाउन मन छैन उनलाई । उनी चुपचाप कोदाली बोकेर बारीतिर लाग्छन् ।

त्यो रात ठूलो झरी पर्‍यो । बिमल सुत्न सकिरहेको छैन । मानसिक द्वन्द्व उसको मानसपटलमा गुन्जिरहेको छ । मैले उसलाई साथ दिएँ; बद्लामा त्यो कामीले मेरै इज्जतमा हात हाल्यो – ऊ सोच्छ – साथीभाइसम्म ठीक छ तर त्यसको तेत्रो आँट मेरी बहिनीलाई ताक्ने ? ऊ छट्पटाइरहेको छ ।

सायद ठीकै भन्थे गाउँले – कुकुरलाई घरबाहिरै राख्नुपर्छ; भित्र पसाले चुलोमा मुत्छ । गल्ती गरेँ मैले, घरबाहिरै राख्नुपर्ने जातलाई घरभित्र राखेँ, आज आएर ऊ भन्याँरा कुन्टा पस्न खोज्दैछ । जसको सजाए मैले लज्जाबोध गरेर भोग्नुपर्‍यो । बैगुनी हुन्छ मान्छेको जात जुन थालीमा खायो त्यसैमा छेद गर्छ । खुट्टामा राख्नुपर्ने जातलाई टाउकोमा चढाएँ, आज आएर उसले ढाँडमा मुतिदियो । उसले गाउँलेका आँखा सम्झियो; गिज्याइरहेका आँखा । औडाहा छुटेर आयो ।

मान्छे चेतनशील प्राणी हो तर चेतना समाजको उपज हो । चेतना एकैपटक आउँदैन; कैयन् जुग बित्छ या त सबै बुद्ध हुनुपर्‍यो । तर बिमल बुद्ध थिएन । ऊ एक सामान्य व्यक्ति थियो जसले आफ्नो चेतनाको स्तर; समसामयिक गाउँलेले भन्दा वृद्धि गरेको थियो । त्यसैको फलस्वरुप छुवाछुतको युगमा पनि उसले एक अछुत बिर्खेसँग संगत गरेको थियो । तर चेतनाको पनि सीमा हुन्छ होला सायद; प्रत्यक कुराको सीमा भएझैँ । त्यसको कतै गएर अन्त्य हुन्छ । ठोकिन्छ त्यो कतै गएर । सायद बिमलको चेतनाको सीमा त्यति नै थियो । आखिर ऊ पनि यही समाजको उत्पत्ति न हो; बाँदरको सन्तान ।

कल्लेडाँडा सुनसान छ आज । चीरनिद्रामा डुबेको छ कल्लेडाँडा जसरी त्यो शदियौँदेखि सुतेको छ । देशको भूगोलको मानचित्रमा कल्लेडाँडाको उपस्थिति प्रायः शून्य छ । भनौँ त देशले कल्लेडाँडालाई उहिल्यै बिर्सिसकेको छ । कल्लेडाँडालाई पनि कुनै गुनासो छैन । बिष्टको घरमा काम गर्न जानु । भरे जे दिन्छन् – आटोपिठो लिएर खानु; बस् यतिमै सीमित छ उनीहरुको जिन्दगी । बाँकी दुनियाँदेखि बेखबर छ कल्लेडाँडो । यो सुनसान गाउँको एक्लो चिराग बिर्खे भने आफैँ अन्धकारमा डुबेको छ – चेतनाशून्य भएर ।

उसले समय परिस्थिति मिलाएर भन्ने सोचेको थियो आफ्नो साथीलाई । विश्वास थियो उसलाई; उसको साथी यी जातभातभन्दा धेरै माथि उठिसकेको छ । बिमलले अवश्य बुझ्नेछ उसको र निर्मलाको प्रेम । उसले सम्झियो आफ्नो साथीको रीसले चुर भएको मुहार । यत्रो बीस-बाइस सालको संगतमा बिमल यसरी रिसाएको उसले कहिल्यै देखेको थिएन । निर्मलासँग प्रेम गरेकोमा ऊ पछुताइरहेको थियो । तर साथसाथै उसको अर्को विद्रोही चेत विद्रोह गर्न खोजिरहेको थियो । अर्को मनले सोच्छ ऊ – “आखिर के बिगारेँ र मैले ? प्रेम त गरेँ नि । भुँडी बोकाएर भागेको छैन । के जात, धर्म प्रेमभन्दा अनि मित्रता भन्दा माथि छ र?”

उसैले भनेको होइन – मानवता अनि प्रेमको स्थान उच्च छ । जातभात भन्दा माथि अनि धर्म भन्दा पनि माथि छ – प्रेम अनि मित्रता । यति महान् कुरा गर्ने मेरो साथीले के आफ्नै साथीको प्रेम नबुझ्ला र ? जातभातको विरुद्ध लड्न मलाई उसैले सिकाएको हो । मेरो मित्रता स्वीकार्ने उसले; मेरो प्रेम किन अस्वीकार्ला र ?

मेरो प्रेम निश्चल छ, पावन छ; यो साँख खोलाको जलजत्तिकै, हाम्रो मित्रताजत्तिकै । अब म तल्लो जातको भएर जन्मिएँ त यसमा मेरो के दोष ? यो मान्छेलाई जातभातमा बाँड्ने को होला ? उसले मन्मनै सोच्यो अनि गाली गर्‍यो । केही छैन, ऊ मेरो साथी हो । भोलिपर्सितिर उसको रीस अलिक मत्थर भएपछि; गएर बिस्तारमा भन्छु सबै कुरा । मलाई विश्वास छ; उसले बुझ्नेछ हाम्रो प्रेम । ऊ मेरो बाल्यकालदेखिको साथी हो । मलाई मभन्दा पनि धेरै ऊ बुझ्छ, मेरो प्रेमलाई किन नबुज्ला र ?

+ + + + + +

बिमल अर्को दिन बिहानै उठ्यो । स्नान गर्‍यो । ऊ प्रायःजसो केही महत्वपूर्ण काम गर्दा बिहानै स्नान गर्ने गर्छ । आज उसले अठोट गरिसकेको थियो । यो धर्मयुद्धमा विजय उसको थियो । उसलाई पराजय किमार्थ स्विकार्य थिएन । उसलाई आफ्नो ज्यान हलुङ्गो अनुभूति भइरहेको थियो । रातभरिको मानसिक द्वन्द्वपश्चात ऊ एउटा निर्णयमा पुगेको थियो । खाना खाइवरी ऊ सदरमुकाम गयो ।

त्यो दिनभरी हिजो चौतारामा घटेको घटनाको चर्चा परिचर्चा चलिरह्यो – पानीपँधेरो, वन जङ्गलमा खासखुस । शत्रुहरुले काखी पट्काए; मित्रहरु चुपचाप बसे । तर कोही केही बोलेन । डर थियो सबैलाई ज्यानको । त्यो जमाना माओवादी द्वन्द्वको थियो । कसैको ज्यान लिनु धेरै ठूलो कुरा थिएन । बिमल ढिला मात्र घर फर्कियो सदरमुकामबाट ।

अर्कोदिन । दिउँसोको समय छ; चर्को घाम लागेको । अहो कस्तो उच्चाट दिन? अजिब शून्यता व्याप्त छ; एक निरस धुन् । कुनै भयानक परकम्पपूर्वको शून्यताझैँ । यो ब्रह्माण्डको धड्कन केही संकेत दिन खोजिरहेको छ । यो प्रकृति; यो रन-वन केही बोल्न खोजिरहेको छ । तर के ? बिर्ख बहादुर भेऊ पाउन सकिरहेको छैन । उसको हंशले कुनै भयानक दुर्घटनाको आभाष गरिसकेको छ । बिर्ख बहादुर सोचमग्न हुन्छ । केही समयपश्चात खोला पारिबाट चार-पाँच जना नयाँ मान्छेहरु आउँछन् । बिर्ख बहादुरलाई क्षणभरमै घेराबन्दीमा पार्छन् ।

तीमध्ये एउटाले सोध्यो – “बिर्ख बहादुर विश्वकर्मा तपाईंको नाम हो ?”

बिर्खे अलिक झस्कियो । संकटकालमा नयाँ मान्छेदेखि जो कोही डराउँथे । को सुरक्षाकर्मी हो ? को माओवादी ? थाहै हुन्थेन । उसले डराउँदै जवाफ दियो – “हो, म नै हुँ ।”

अनि बिस्तारै सोध्यो – “हजुर को पर्नु भो’ होला ?”

ती नयाँ मान्छेहरुले उसको प्रश्नमा कुनै ध्यान दिएनन् । बिर्ख बहादुरले पनि दोहोर्‍याएर सोध्ने आँट गरेन । संकटकालमा नयाँ मान्छेहरु चाहे जोसुकै होउन्; दोहोर्‍याएर प्रश्न सोध्नुको अर्थ हुन्थ्यो मृत्युलाई निम्ता दिनु ।

“जाँऊ हिँड्नुस् तपाईंसित काम छ ।” तीमध्ये एउटाले भन्यो ।

“कहाँ जाने ?” – बिर्ख बहादुरले प्रश्न गर्‍यो ।

अर्को अलिक बलिष्ट शरीर भएकोले बिर्ख बहादुरको हात समात्यो अनि कड्कियो – “बढी नबोल्नुस् ।”

अनि घचेट्दै लग्यो ।

“मेरो साथीलाई एकपटक खबर त गर्न दिनुस् ।” – बिर्ख बहादुरले याचना गर्‍यो तर उनीहरुले कुनै कुरा सुनेनन् ।

पारी सालगारीमा ड्याम्म..ड्याम्म…गोली चल्यो । भरे रेडियोमा समाचार सुनियो – “सुरक्षाकर्मीको कार्बाहीमा एक माओवादी छापामार बिर्ख बहादुर वि.क.को मृत्यु ।”

गाउँ शोकमग्न छ अनि सन्त्रास फैलिएको छ जताततै । चौताराका आवाजहरु कुन्नि कता दबे ? अरुसँग त के आफैसँग पनि बोल्ने आँट छैन गाउँलेहरुमा । मानौँ भित्ताका मात्र होइन पानीपँधेरो, वनजङ्गलका पनि कान हुन्छन् । कुनबेला कसको सुराकी गरेर कसलाई सिध्याउने हो थाहै थिएन । त्यो जमाना माओवादी द्वन्द्वको थियो ।

०००००००

नोट: पश्चिम रुकुमको गाउँघरमा बोलिने केही शब्द र तिनका अर्थहरु
१) बिष्ट : कथित ठूलो जाति
२) कुलो भाँच्नु : कुलोको पानी फर्काउनु
३) न्यूँह खोज्नु : झगडा गर्न खोज्नु
४) पच्छारा लाग्छौ : झगडा गर्छौ
५) भन्याँरा कुन्टा : पूजा कोठा
६) टोक्या : एक प्रकारको गाली
७) पुत्नी : छोरो समानको नाता
८) खलो : बर्षभरी काम गरेबापत पाउने अन्न
९) छोबा : चौपाया
१०) बल्द : गोरु
११) कन्नो : ढाड
१२) मोही : धान रोप्नलाई हिलो बनाउने एक प्रकारको औजार
१३) हटारु : हाटबाट सामान बोकेर आएका भरिया
१४) उँद : दाङ/नेपालगन्ज शहरलाई भनिने

(रुकुमका मदन मगर नेपाल राष्ट्र बैंक, नेपालगञ्जमा काम गर्छन्)
magar1994madan@gmail.com

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय