scheduleसोमवार आषाढ़ २२ गते, २०७७

अमेरिका–चीन युद्ध भए अरु देश के गर्लान् ?

साझापोष्ट टिप्पणी

काठमाडौं, १५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना प्रत्येक भाषणमा चीनलाई छुन्छन् । चीन षड्यन्त्रद्वारा संसारको एक्लो ‘आर्थिक बादशाह’ हुन खोजेको ट्रम्पको आरोप छ । हुँदाहुँदा पछिल्लो एक भाषणमा उनले भने, ‘चीन मलाई चुनावमा हराउने षड्यन्त्र गर्दैछ ।’ यो वर्ष अमेरिकी राष्ट्रपति निर्वाचनको वर्ष हो । विपक्षी दल डेमोक्र्याटिक प्राइमरबाट बाराक ओबामा कार्यकालका उपराष्ट्रपति जो वाइडेन उम्मेद्वार हुने निश्चित भइसकेको छ ।

ट्रम्प केही बुझेर चीनको विरुद्ध बारम्बार आगो ओकल्छन् वा त्यो उनको मतदाता मनोविज्ञानलाई आफू अनुकूल पार्ने सस्तो राजनीतिक रणनीति मात्र हो ? यो प्रश्नमा सबैमा द्विविधाहरु छन् । अमेरिकाजस्तो शक्तिशाली राष्ट्रको राष्ट्रपतिसँग कुनै सूचना र विश्लेषण नै छैन भन्न गाह्रो छ । अमेरिकाको त्यत्रो राज्यसंयन्त्र सबै मुर्ख र नालायकहरुले मात्र भरिएको अवश्य छैन होला ।

अर्कोतिरबाट हेर्दा अमेरिकी चुनावमा चीनको के भूमिका हुन सक्ला र ? आर्थिक हिसाबले जतिसुकै शक्तिशाली भए पनि राजनीतिक दृष्टिकोणले चीन आफैं एक्लो छ । हिजोको सोभियत संघको झैं चीनको कुनै सैन्य गठबन्धन छैन । न त सहयोगी राजनीतिक देशहरु नै छन् । समकालीन विश्वमा चीनसँग राजनीतिक/वैचारिक सामिप्यता भएको एक मात्र देश उत्तर कोरिया हो । भियतनाम, लओसजस्ता कम्युनिष्ट शासन भएकै देशसँग पनि चीनको खासै राम्रो सम्बन्ध छैन ।

यस्तो बेला चीनले अमेरिकासँग राजनीतिक षड्यन्त्र कसरी गर्न सक्ला ? तथापि अमेरिकीहरुको मनोविज्ञानमा चीनको भय निरन्तर बढ्दै गएको विभिन्न सर्वेक्षणहरुले देखाउँछन् । यहाँसम्म कि अमेरिकीहरु कोरोना भाइरस चिनियाँ षड्यन्त्रको एक कडी हुन सक्ने ठान्दछन् । कोरोनाले अमेरिकालाई जतिजति बर्बाद गर्दैछ, अमेरिकीहरु उत्तिनै चीनप्रति आक्रोशित हुँदै गएका छन् ।

अहिलेसम्मको तथ्यांक हेर्दा कोरोनाले गर्ने क्षति चीनमा भन्दा अमेरिकामा २० गुणा बढी हुने देखिन्छ । अमेरिकामा संक्रमितको संख्या करिब १८ लाख पुगेको छ,,जबकि चीनले करिब ८३ हज्जार संक्रमित नपुग्दै स्थितिलाई नियन्त्रणमा लियो । अमेरिकामा मृतकको संख्या १ लाख २ हज्जार बढी भइसकेको छ जबकि चीनमा अहिलेसम्मको मृतकको संख्या ४ हजार ६ सय मात्र छ । यस्तो कसरी हुन सक्यो ?

अमेरिकीहरु यस्तो हुनुलाई दुई तरिकाले हेर्दछन्- ट्रम्पको लापरवाही ठान्नेहरु पनि पर्याप्त छन् । दोस्रो– पक्कै चीनले गोप्य षड्यन्त्र गरेको छ । नत्र उसकहाँ चाहिँ कसरी रोकियो ? चीनले कोरोनासम्बन्धी सत्यतथ्य सूचना लुकाएको आशंका गर्ने अमेरिकीहरुको संख्या दिनप्रतिदिन बढ्न थालेको छ ।

पहिलो दृष्टिकोणबाट हेर्नेहरु- अमेरिकाले अन्तर्राष्ट्रिय हवाइउडान बेलैमा नरोक्नु, लकडाउन बेलैमा नगर्नु र सावधानीका तरिकाबारे जनतालाई बेलैमा सुसूचित नगर्नुलाई मुख्य कारण ठान्दछन् । वुहानमा कोरोनाको उत्पत्तिपछि करिब ४ लाख मानिस चीन र अमेरिका आइजाई गरेका थिए । अमेरिकाले बेलामै स्थितिको सही आंकलन गर्न सकेन ।

राष्ट्रपति ट्रम्प कोरोनालाई ‘चिनियाँ भाइरस’ भन्दै आत्मरति गर्न थाले । अमेरिकी मिडियाले माओ त्से तुङको फोटोमा मास्क लगाइदिए । चीनलाई ‘एशियाको बिमारी’ भनेर अपमान गर्न थाले । जब अमेरिका आफै चीनलाई गाली र अपमान गर्न थाल्यो भने चीनले मात्र सही सूचना किन दिने ?

अर्को दृष्टिकोणबाट हेर्दा– चीन दोस्रो आर्थिक शक्ति हो । उसको राजनीतिक प्रणाली विश्व अनुमोदित नभए पनि बलियो सैन्य शक्ति छ । आर्थिक र सैन्य शक्तिको बलमा चीनले कुनै न कुनै गुह्य षड्यन्त्र वा योजना बनाइरहेकै हुनु पर्दछ । सन् २०३० दशकमा विश्वको पहिलो महाशक्ति बन्ने चीनको घोषित लक्ष्य नै हो । यो लक्ष्य पूरा गर्न चीनले कतै कोरोना उपयोग त गरिरहेको छैन ?

दोस्रो विश्वयुद्धपछि ठीक यस्तै अवस्था थियो । अमेरिका र सोभियत संघ दुई ठूला महाशक्ति थिए । दुई देशबीच दैनिक घोचपेच भइरहन्थे । सुन्दा यस्तो लाग्थ्यो– अमेरिका र चीनबीच जुनकुनै बेला युद्ध हुनेछ । तर भएन । अमेरिका र सोभियत संघ प्रत्यक्ष युद्धमा कहिल्यै गएनन् । कोरिया, भियतनाम र अफगानिस्तानमा परोक्ष संलग्न भए, त्यो भिन्नै कुरा । अमेरिका र सोभियत संघको त्यो करिब ५० वर्ष लामो तनावलाई ‘शीत युद्ध’ भनिन्थ्यो । सन् १९९० मा साम्यवादको पतन भएसँगै सोभियत संघ विघठित भयो । ‘शीत युद्ध’को अन्त्य भयो । आज फेरि अमेरिका र चीनबीच ‘नयाँ शीत युद्ध’ प्रारम्भ भएको छ ।

यो ‘नयाँ शीत युद्ध’मा पनि अमेरिका र चीन साँच्चै युद्धमा आमने सामने हुने सम्भावना निक्कै कम छ । तर हिजोआज विश्लेषकहरु नयाँ कोणबाट बहस गर्न थालेका छन् । कोरोना संकटले निक्कै क्षति गर्‍यो भने कतै अमेरिका चीनमाथि आक्रमण गर्न बाध्य हुने त हैन ? कि त उसले विश्व महाशक्तिको महत्वाकांक्षा त्याग्नु पर्छ कि त एकपटक चीनसँग युद्ध गर्न तयार हुनु पर्दछ ?

अन्यथा अमेरिकासँग यथास्थितिमा एक नम्बर शक्ति भइरहने सुविधा छैन । यो तर्कमा धेरै हदसम्म दम छ । कोरोना संकट अहिलेजस्तै करिब २ वर्ष जाने हो भने अमेरिका आर्थिक हिसाबले पहिलो शक्ति बाँकी रहने छैन । चिनियाँ राष्ट्रपति सि जिन पिङले आफ्नो सेनालाई ‘जुन कुनै बेला युद्धका लागि तयार रहन’ भने बाट आशंका झनै बढेको छ ।

अमेरिका–चीन बीच साँच्चै युृद्ध भए विश्वका अरु देशहरु के गर्लान् ? कुनकुन देश कता लाग्लान् ? विश्व कसरी ध्रुवीकृत होला ? पश्चिमा सञ्चार जगतमा यस्ता विश्लेषण पनि हुन थालेका छन् । अमेरिकासँग अहिले पनि नेटो गठबन्धन कायमै छ । यो सैन्य गठबन्धनमा अहिले ३० देश छन् । तर चीनसँग हिजोको सोभियत संघको जस्तो ‘बार्सा’ छैन । सन् १९९० अघि सोभियत संघको नेतृत्वमा कम्युनिष्ट मुलुकहरुको भिन्नै सैन्य गठबन्धन थियो, तर चीन त्यसमा पनि सामेल थिएन ।

हिजो ‘बार्सा प्याक्ट’मा भएका कतिपय देशहरु अल्वानिया, बुल्गेरिया, चेक गणतन्त्र, क्रोएशिया, इस्टोनिया, हंगेरी, लाटभिया, लिथुवानिया, रुमानियाँ आदि देशहरु आज नेटोमा छन् । कदाचित युद्ध भइहाले बेलायत, फ्रान्स, न्यूजिलैण्ड, दक्षिण कोरिया, अष्ट्रेलिया, टर्की, साउदी अरेबिया आदि देश स्वतः अमेरिकी धुरीमा हुनेछन् । चीनतिर कुन देश होला ? उत्तर कोरियालाई छोडेर यकिन गर्न गाह्रो छ । तर धेरैको आंशका छ रुस, पाकिस्तान र इरान चीनको पक्षमा हुन सक्दछन् ।

बाँकी केही ठूला देशको भूमिका कस्तो होला ? जस्तो कि भारत, जापान, ब्राजिल, अर्जेन्टिना, साउथ अफ्रिका आदि । सम्भवतः यी देशहरुले केही समय स्थितिको आंकलन गर्नेछन् ? अन्तिममा अमेरिकी धुरीमा हुने सम्भावना बढेर जानेछ ।

तर अमेरिका–चीनबीच युद्ध हुनका लागि अहिले त्यस्तो कुनै प्रष्ट कारण छ र ? विश्लेषकहरु भन्छन्– यसका तीनवटा कारण हुन सक्दछन् । एक– कोरोना संकट र यसको क्षतिपूर्तिको बिषय । दुई– व्यापार सन्तुलनको सवाल र तीन– हङकङ र ताइवानको रणनीतिक अवस्था । यी ३ कारणहरु निहुँ हुने हुन् । यथार्थ के हो भने अमेरिका र चीन एकआपसमा युद्ध चाहन्छन कि चाहँदैनन् ? युद्ध चाहँदैनन् भने यी निहुँहरु टार्न नसकिने खालको छैनन् । युद्ध चाहन्छन् भने कम पेचिला सवाल पनि हैनन् ।

अमेरिका र उसका सहयोगी देशहरु कोराना क्षतिको जिम्मेवारी चीनले लिनु पर्छ भन्दैछन् । बेलायतको एक संस्थाले कोरोनाको क्षति विश्लेषण गरेर एक गोप्य प्रतिवेदन नै बनाएको छ । विश्व स्वास्थ्य संगठनको बैठकमा अमेरिकी सहयोगी राष्ट्र अष्ट्रेलियाले चीनलाई कोरानाको विश्वव्यापी क्षतिपूर्ति तिराउनुपर्ने प्रस्ताव नै राखेको थियो । चीनले यो सम्भावनालाई अस्वीकार गर्दै आएको छ । चीनको उल्टो दाबी छ- कोरोनाको उत्पत्ति चीनमा भएकै हैन । यो वुहानमा सैन्य खेलकुद प्रतिस्पर्धामा भाग लिन आएका अमेरिकी सेनाले फैलाएका थिए ।

अमेरिका, इयु र अन्य नेटो देशसँग चीनको व्यापार सन्तुलनको प्रश्न झनै जटिल हो । तर चीनले पनि यो यथार्थलाई राम्ररी बुझेको छ । व्यापार असन्तुलन निरन्तर बढ्दै गए ती देशहरु निराश हुने र चीनले विश्व व्यापारको सम्भावना गुमाउने जोखिम पक्कै छ । ती देशमा निर्यात अधिकार नपाइकन चीनले आफ्ना अर्थतन्त्रलाई गतिशील राख्न सक्दैन । तसर्थ व्यापार असन्तुलन अमेरिकाको मात्र नभएर चीनको समेत चिन्ताको बिषय हो । कम्युनिष्ट देश भएर पनि पुँजीवादी भूमण्डलीकरणको आर्थिक साझेदार हुन नपाएको भए चीनको आजको आर्थिक विकास सम्भव थिएन ।

अन्तिम प्रश्न– ताइवान र हङकङको रणनीतिक अवस्था । आउँदा केही दशकभित्र चीन यी दुवैलाई भिन्नै राजनीतिक एकाई बनिरहन नदिने मुडमा छ । ताइवान र हङकङलाई मूल भूमिकै राजनीतिक तथा प्रशासनिक प्रणालीभित्र आबद्ध गर्ने चीनको मनसायसँगै हङकङ र ताइवानी दुबै असन्तुष्ट छन् । निर्णायक क्षणमा अमेरिकाले केही कदम उठाउने बुझाई त्यहाँ देखिन्छ ।

तथापि अमेरिका-चीन युद्धको चर्चा तत्काललाई समकालीन विश्व राजनीतिको सबैभन्दा ठूलो ‘हाइपोथेसिस’ मात्र हो । यदि साँच्चै युद्ध भयो भने विश्वको मानचित्र नै बद्लिन सक्दछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय