scheduleमगलवार आषाढ़ २३ गते, २०७७

यी चार गुण जसले न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डालाई लोकप्रिय बनायो

आन्द्रेइ अलेक्जेन्डर लक्स

ज्यासिन्डा अर्डर्न न्यूजिल्याण्डका लागि शताब्दि कै सबैभन्दा लोकप्रिय प्रधानमन्त्री बन्न पुगेकी छन् । यो त्यसै भएको हैन । उनमा केही गुणहरु छन् । ती गुण यो हप्ता झनै प्रष्ट भयो जब आफ्नो पाइतलामुनी भुइँचालो भइरहँदा उनी एक लाइभ टिभी अन्तर्वार्ता दिइरहेकी थिइन् ।

भूकम्प ५.९ म्याग्निच्युटको थियो । न्यूजिल्याण्ड संसद भवन करिब १५ सेकेन्ड हल्लियो । त्यस्तोबेला उनले भनिन्, ‘हामी ठीक छौं । म कुनै भ्रममा छैन ।’
जस्तै तनावमा पनि शान्त देखिन सक्ने, असीमित आत्मअनुशासन र कोभिड–१९ को विश्व महामारीमा उनको सरकारले खेलेको निर्णायक भूमिकाले उनी विश्वकै लागि एक प्रभावशाली राष्ट्रिय नेता बनिन ।

तर, उनको लोकप्रियता र प्रभावकारिताको अझ ठोस कारण चाहिँ उनको आधिकारिकता हो ।

हेलेन क्लार्क जो सन् १९९९ देखि सन् २००८ सम्म न्यूजिल्याण्डको प्रधानमन्त्री थिइन्, उनको शब्दमा– ‘अर्डर्न एक स्वभाविक र तटस्थ संवादकर्ता हुन्, उनी जनतालाई गुमराहमा राख्दिनन्, जे हो त्यही भन्छिन् र उनीहरुसँगै आफू पनि उभिएको समानुभूति दिन्छिन् । मानिसलाई लाग्दछ, सरकार उनको पछि छ । सरकारले ठीकै गरिरहेको हुनु पर्दछ ।’ यति उच्चस्तरको दृढता, विश्वास, समानुभूति कमै राजनीतिज्ञले पाउँदछन् ।

आधिकारिक नेतृत्वका यी अन्तर्दृष्टिहरु मेरो अनुसन्धानबाट पनि पुष्टि हुन्छन् । व्यवसायिक नेतृत्व बिषयको प्राध्यापकको रुपमा कार्यक्षेत्रमा नेतृत्वको आधिकारिताबारे मलाई विशेष रुचि हुन्छ । मैले मेरा साथीहरु स्टेभेन ग्रोवर र स्टेफेन टियोसंग मिलेर अष्ट्रलियाका ८०० कामदारबीच उनको नेतृत्वको कार्यशैली र व्ययवहारलाई उनीहरुको कार्यइच्छामाथि कस्तो प्रभाव पार्छ भनेर अनुसन्धान गरेको थिए ।

राम्रो होस् वा नराम्रो कार्यक्षेत्रमा नेतृत्व भनेको व्यक्ति हुँदैन, ऊ समग्र संगठनको सोच र शैलीको प्रतिनिधित्व हुन्छ । कामदारले त्यही नेताले भनेको कुरा आफूलाई संगठनले त्यसरी सोचेको होला भन्ने ठान्दछन् । जसरी एक व्यवसायिक नेताले कम्पनीलाई हामी कसरी रुपान्तरण गर्छौ भनेर बताउँछ, त्यसैगरी राजनीतिक नेताले राष्ट्रको प्रतिनिधित्व गर्दछ ।

त्यो सर्वेक्षणका निष्कर्षहरु निक्कै महत्वपूर्ण थिए । ४० प्रतिशतभन्दा बढी कामदारले आफ्नो काम गर्ने मुड म्यानेजरको व्यवहार र आधिकारिकतामा भरपर्ने बताएका थिए । ६० प्रतिशतले कार्यक्षेत्रमा कामको प्रभावकारिता नेतृत्वको प्रष्टतामा भर पर्ने ठानेका थिए ।

हाम्रो अनुसन्धानले आधिकारिक नेतृत्वका मुख्य चारवटा गुणहरु फेला पारेको थियो । तर त्यसमा प्रवेश गर्नुअघि आधिकारिक नेतृत्वको अवधारणाबारे चर्चा गर्न जरुरी छ ।

आधिकारिक नेतृत्वको अर्थ ‘आफैं आफ्ना लागि ठीक’ हुनु हैन । यस्तो धारणा राख्नेले डोनाल्ड ट्रम्पलाई आधिकारिक नेतृत्व मान्लान् किनकी उनी हरेक मुद्दामा ‘मै ठीक छु’ भनिरहेका हुन्छन् । आधिकारिक नेतृत्वको अर्थ कठोर, स्वमुखी र हठी नेतृत्व हैन, जसले सामाजिक तबरले आफूलाई फिल्टर गर्दैन ।

सन् २०१२ को एक लेखमा क्लाउडिया पियुस र उनका सहलेखकले आधिकारिक नेतृत्वबारे भनेका छन्, ‘आधिकारिक नेतृत्व बलियो नैतिक बलबाट निर्देशित हुन्छन् । तिनीहरु आफ्नो दृष्टिकोण, सवलता र कमजोरीहरुबारे पूरै होसियार हुन्छन् । यो कुरा राम्ररी बुझ्छन् कि आफ्नो नेतृत्वको प्रभाव अरुमा कस्तो परिरहेको छ ।’

एक– आधिकारिक नेतृत्वलाई आफ्नो सवलता र दुर्वलताको राम्रो ज्ञान हुन्छ । उनीलाई दुर्वलतालाई सकेसम्म अभिव्यक्त हुनु अगाडि नै हटाउने र न्यूनिकरण गर्ने प्रयास गर्दछन् । उनीहरुलाई आफ्नो आन्तरिक वास्तविकता थाहा हुन्छ ।

हाम्रो मूल्यप्रणाली प्रायः लुकेका मान्यताहरुले बनेको हुन्छ । तिनीहरुलाई सक्रिय र इमान्दार प्रक्रियाद्वारा आफूमा प्रतिबिम्बित गर्न सक्नुपर्दछ । अरुलाई नेतृत्व दिनुअघि स्वयं आफूलाई नेतृत्व गर्न सक्नुपर्दछ ।

दुई– आधिकारिक नेतृत्वले सधैं नैतिक मापदण्डलाई अनुशरण गर्दछ वा उनीहरुमा सामाजिक अपेक्षाभन्दा बढी आफ्नो मूल्यप्रणालीमा विश्वास गरेर चल्ने साहस हुन्छ । नेतृत्व भनेको केवल पद र कानुनी सहजता मात्र हैन, नेतृत्वमा उच्च नैतिक बल हुनुपर्दछ भन्ने बुझ्दछ ।

तीन– आधिकारिक नेतृत्व आफ्नो ‘बायसनेस’ को सम्भावनाबारे सचेत हुन्छ । एउटै कुरालाई धेरै दृष्टिकोणबाट नियाल्दछ । कुनै पनि मान्छेमा कुनै मुद्दाका सबै पक्षलाई चिन्न सक्ने क्षमता हुँदैन । तसर्थ, कुनै निर्णयमा पुग्नुअघि सबैका धारणा सुन्ने धैर्यता हुनु पर्दछ । सामूहिकताको सबैभन्दा राम्रो पक्ष निर्णयले प्रभावित गर्नुपर्ने जनसमुदायलाई अनुरागपूर्ण सम्बन्धमा बाँधी दिन्छ ।

चार– आधिकारिक नेतृत्वले सरोकारवाला सबै पक्षसंग इमान्दार र खुल्ला सम्बन्ध निर्माण गर्दछ । त्यसका लागि उसले स्वयं पहल लिन्छ र आफूलाई अरुका सामु विश्वासनीय तबरले खुल्ला राख्दछ ।

आधिकारिक नेतृत्व यथार्थमा सम्बद्ध सबैलाई विश्वासनीय सम्बन्धमा एकताबद्ध राख्ने प्रयास हो । सम्बन्ध जहिल्यै दोहोरो हुन्छन् । परस्पर विश्वासबिना सम्बन्धको गाँठो कसिलो हुन सक्दैन । नेतृत्वको विश्वासनीयता कायम हुन मूल्यप्रणालीमा साझेदारी हुनुपर्दछ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डर्नबाट कसैले केही सिक्न चाहन्छ भने यिनै ४ बुँदा सिके हुन्छ । जब अर्डर्नको सफलता र लोकप्रियताको ऐनामा हामीले आफूलाई हेर्नेछौं– हाम्रो नेतृत्वशैलीमा यी तत्वहरु छन कि छैनन् भनेर ध्यान दिनु उचित हुन्छ ।

द साउथ चाइना मोर्निङ पोष्टबाट ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय