scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

मानव एक, मानवता अनेक

अभि गाउँले

यहाँ जुनसुकै धर्मले जे बेलिबिस्तार गरे पनि मानव जातिको विकास जनावरबाट प्रारम्भ भएको मानिन्छ । विज्ञानले प्रमाणित गरिसकेको विषयमा हामी वैज्ञानिक युगका अवैज्ञानिक मानवले त्यसको बर्खिलाप गर्न सुहाउँदैन । मानिसले आफैंलाई सर्वश्रेष्ठ प्राणी भनेर स्वघोषणा गरेको हो । यसले उसमा अहंकारको जन्म गरायो । त्यही अहंकारको खाडलमा ऊ आफै जाकिँदैछ । अरू प्राणीको अस्तित्व सहर्ष स्विकार्न नजान्दा र नमान्दा आज सारा विश्वले त्यसको दुष्परिणाम कष्टसाथ व्यहोर्नु परिरहेको हो । आगामी दिन मानव जातिका लागि त्यति सहज छैन भन्ने कुरा घामजस्तै छर्लङ्ग छ, यो बहसको विषय बन्ला नै । तर, त्यो भन्दा नि डरलाग्दो पक्ष त मानवका विरूद्ध मानव नै बनेर आइदियो । समाज जति अशिक्षा र अज्ञानताको दास हुँदै जान्छ त्यति नै सर्वनाशको समीपमा पुग्छ । र, समाजले जतिधेरै शिक्षित व्यक्तिहरू जन्माए पनि केही लछारपाटो लाग्नेवाला छैन किनभने ´किताब` नै सामन्तीहरूका छापाखानाबाट छपाइएको छ । यहाँ एउटा बाहुनले अर्को बाहुनलाई ‘टपरेबाहुन’ भनेकै कारण सामाजिक सद्भाव बिग्रन्छ भन्नेहरूले त्यही बाहुनले तथाकथित दलितलाई मन्दिर प्रवेशमा लगाएको रोकलाई कसरी व्याख्या गर्ने ? जबकि एउटा सर्पले अर्को सर्पलाई डसेर विष बमन गर्न सक्दैन भने भ्यागुतोलाई कसले न्याय दिलाउने ? नेपाली समाजमात्र नभनौं दलितहरू लोकतन्त्रको अधिकार प्रयोग गर्न समेत सत्ताको पाउ मोल्न बाध्य छन् ।

जब मुख खोलिन्न, हाँसेर बोलिन्न, डाँको छोडेर रोइन्न भने ओठले ढाकेका दाँतहरू मिलेर/नमिलेर बसेको देख्न सकिन्नँ । हो, आजसम्म पनि पुरातन सोच र रूढीवादी परम्पराको कालो बादलले ढाकिएको समाज प्रष्टसङ्ग खुलेको छैन । कानुनतः जातीय छुवाछूत र विभेदरहित समाजको कल्पना गरेको शताब्दी पार गरिसकेछौँ तर अझै पनि थाहा छैन त्यो कति पर छ । यथार्थ बोल्दा पोल्दैन भने आज समाज मिलेर बसेको छैन, मिलेर बस्नुपरेको छ ।

गाउँमा धाराको टुटि छोएकै कारण अमानवीय व्यवहार सहनुपर्ने, सामाजिक क्रियाकलापमा समान सहभागिता नहुने, कथित उपल्लो जातका मानिसहरूबाट हुने थिचोमिचोबारे बोल्न नपाइने र बोले पनि सामाजिक कारबाही भोग्नुपर्नेजस्ता कैयन असमानताहरू विद्यमान छन् । मान्छे ओछ्यान अप्ठेरो भयो भने रातभर निदाउन सक्दैन तर समाजले विभेदको काँडाले घोचिरहँदा पनि निदाएको बहाना गरिदिनुपर्ने यो कस्तो विडम्बना । समाजले सत्तालाई बुइ बोकेर दलितलाई ढुट्टोपिठो हुनेगरी कुट्दैछ तर सामन्ती ओखल खिइँदै पनि छ ।

दमित समुदायप्रति समाजको पशुवत व्यवहार बेलाबेलामा बाहिरिने गरेको छ । अहिले रूकुममा घटेको घटना निकै नै हृदयविदारक र कारूणिक छ । अन्तरजातीय प्रेम सम्बन्धकै कारण दलित समुदायका नवराज विश्वकर्माले भौतिक संसारबाट अलग हुनुपर्‍यो । केटी पक्षका मानिसहरूले आक्रमण गर्न थालेपछि भेरी नदीमा हामफालेका नवराजका छ जना साथीहरू बेपत्ता छन् । हामी यही कामना गरौं कि सच्चा प्रेमको वहाव बनेर नवराज भेरीसङ्गसङ्गै बगेर प्रेमको सागरमा पुग्नेछन्, र त्यहाँ आफ्नो आत्मलाई शान्त राख्नेछन् । साथै विशाल सागरबाट वाष्प बनेर पहाडको टुप्पोमा पुग्नेछन् अनि असिना बनेर वर्षिने छन्, जसले पासविक गुण धेरै बोकेकाहरूको खप्पर फुटाऊन् । सामाजिक सञ्जालमा दलितप्रति सदासयता प्रकट गर्नेहरूदेखि सदनसम्म पुगेको यो घटना न्यायको ढोकाभित्र अवश्य पस्नेछ भन्नेमा आशावादी बनौं । तर जुन देशको नागरिकले खुलेर आफ्नो पहिचान देखाउन सक्ने वातावरण बन्दैन भने नागरिक सर्वोच्चता कायम हुन सक्दैन । आज देशका विकसित र सभ्य भनिने शहरहरूमा दलितहरू ‘बिरालो’ बन्नुपरेको छ । जसरी बिरालोले शौच गरेपछि दिशा लुकाउँछ त्यसरी नै आफ्नोपन लुकाउनु परेको स्थिति छ । किनकि दलित भएकै कारण काठमाडौंमै डेरा नपाएका थुप्रै उदाहरणहरू पाउन सकिन्छ । यो कतिसम्मको मूर्ख समाज हो भने कुनै कलाकारले कागको बोली दुरूस्तै बोल्यो भने वाहवाही गर्छ तर त्यही मान्छेले मान्छेको बोली बोल्यो भने तुच्छ र नीच ठानिन्छ । अत: दलित र पिछडिएका समुदायको पक्षमा वकालत गर्ने गैह्रदलित अगुवाहरू अल्पज्ञानीहरूको आलोचनाको शिकार बन्नुपरेको दु:खद् यथार्थ छ । यसखालको अज्ञानता र भ्रमलाई बेलैमा चिर्न सके सामाजिक एकता कायम हुन्छ ।

नवराज हत्याको घटनाप्रति धेरैले आफ्नो धारणा राखेका छन् । कतिपयले त यस घटनालाई जातियताको रंग दिन नहुने भन्दै कुर्लिरहेका पनि छन् । केहीले बालविवाहको नजरबाट हेरेर पनि निर्ममतालाई नजरअन्दाज गर्न थाले । सहरमा बसोबास गर्ने सम्भ्रान्त दलितहरूका अनुहार हेरेर गाउँका निमुखा दलितहरूको अवस्था चित्रण गर्न सकिन्न । आज शिक्षित भनाउँदाहरूलाई समाजको डर छ । तिनीहरु बाहिर खूबै आफूलाई मानवताको पूजक कहलाउँछन् तर भित्रभित्रै दलितप्रतिको भेदभावलाई जीवित राखिराख्छन् । मानवले विभेदको हड्डि चुस्दै भुकिरहेको छ भने मानवता चुपचाप बसिरहेको छ । मनुष्यले खुट्टा उचालेर मानवताकै भित्ता भिजाउन थाले एकताको पर्खाल एकदिन भत्किन्छ । दलितको अर्थ हो दलन गरिएको अर्थात् ती मानिसहरू जो आर्थिक अनि सामाजिक रूपले पछाडि पारिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक रूपले प्राचीन कालदेखि उच्च वर्गहरू (बाहुन तथा क्षेत्री आदि हिन्दू जातिहरू)द्वारा शोषण र उत्‍पीडन गर्नको निम्ति समाजमा जातीय वर्ग विभाजन गरिएको थियो र आज पनि छ । राज्यले नै दलित भनेर परिभाषित गरेको छ भने दलितहरूलाई कसैले हेपेको छैन, मात्र हेपिएको महशुस गरेका हुन् भन्न मिल्दैन ।

हिमाली भेगमा दलित समुदायको बाहुल्यता कम छ । जीविकोपार्जनको सिलसिलामा हिमाली क्षेत्रमा बसोबास गर्दै आएका दलितहरू त्यतिधेरै पीडित देखिन्नन् । मुख्यतः पहाडी भूभागमा दलित बस्ती छ्यासमिस रूपमा विस्तार भएको छ । जनजाति र खस आर्यहरूको चपेटामा हुर्किरहेको दलित समुदाय निकै दर्दनाक परिस्थितिबाट गुज्रिएको छ । त्यस्तै, मधेसी मूलका नागरिकहरूप्रति समाज र राज्यले नै दमनकारी नीति अपनाएको भान हुन्छ । अश्वेत नागारिकलाई ‘धोती’ उपमा दिएर मानवताको धज्जी उडाउनेहरू धेरै छन् । अब समाजले यो प्रकारको विभेद र अन्याय थेग्न सक्दैन । भित्रभित्रै असमानताको ज्वालामुखी दन्किरहेको छ । एक मानवले अर्को मानवलाई बहिष्कार गरेर चलेको सृष्टि होइन यो । यो आपसी भाइचाराको परस्परामा अडिएको संसार हो । बलियाले सधैं निर्धामाथि शासन चलाउने र उत्पीडनमा परेकालाई राज्यको नीतिले सम्बोधन गर्न सकेन भने नेपालमा निकट भविष्यमै उग्रजातिवादको हिंसा भड्किने खतरा छ । अन्त्यमा, मानवको जात हुँदैन । पेशा र थरकै आधारमा तल्लो वर्गको भइन्छ भने आज दमाह बजाउने र सनाई फुक्ने जनजाति अनि शहरमा कपडा सिलाएर बस्ने तमाम उपल्लो जात भनिएकाहरूलाई ‘दलित’ करार गरियोस् । होइन भने कामका आधारमा वर्गीकरण गरिएको मानव समुदायलाई तल्लो जातको लेपन लाउन बन्द गर्नुपर्छ । जबजब अत्याचारले पराकाष्ठा नाघ्छ तबतब नयाँ क्रान्तिको मुहान फुट्छ । समाजले जातीय र वर्गीय विभेद पालिराख्ने हो भने एकदिन बन्दुक उठ्नेवाला छ र समाजको स्वरूप भताभुङ्ग हुने निश्चित छ । तसर्थ सबैले सबैलाई मानवीय व्यवहार गरौं ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय