scheduleसोमवार आषाढ़ २९ गते, २०७७

एकान्तबासमा राखेकाले शुद्ध पानी पिउन पनि पाएनन्

हरिकृष्ण ऐडी/मुगु, १६ जेठ । कोरोना महामारीपछि छिमेकी मुलुकबाट भारतबाट नेपाल आएकाहरुलाई एकान्तबासमा राखिएको छ । तर, कतिपय स्थानका यस्ता क्वारेन्टिनहरुमा न्यूनतम् सेवा सुविधाको सुनिश्चितता पनि छैन ।

मुगको छायाँनाथ रारा नगरपालिकाबाट सञ्चालित २१ जना बस्ने क्षमता भएको क्वारेन्टिनमा भारत र नेपालका विभिन्न भागबाट आएका मानिसहरुलाई राखिएको छ । उनीहरुले शुद्ध पिउने पानी र खानेकुरा खान नपाएको गुनासो गरेका छन् ।
‘यहाँ बस्दा त हामी सञ्चो मानिसहरु पनि बिरामी पर्छौं,’ छायाँनाथ रारा नगरपालिका-१२ कम्पाका सागर नेपाली भन्छन्, ‘हामी पानी पनि नपिई कति दिन बस्न सक्छौं ?’

क्वारेन्टिनमा बसेकाहरु नगरपालिकाका विभिन्न वडामा स्थायी घर भएका मानिसहरु छन् । उनीहरुलाई जेठ १३ गते मुगुको सदरमुकाम गमगढीबाट सुरक्षाकमर्मीले उक्त क्वारेन्टिनसम्म ल्याएका थिए ।

‘हामीले एक छाक खाएर बाँच्नुपरेको छ, शौचालयको व्यवस्था पनि छैन,’ क्वारेन्टिनमा बसेका नरेश थापाको गुनासो छ, ‘बिहानको समयमा यति धेरै मानिसलाई एउटा शौचालय, पालो पाउनै मुस्किल हुन्छ ।’

मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाका अनुसार उक्त क्वारेन्टिनको व्यवस्थापन गर्ने जिम्मेवारी नगरपालिकाको हो । उता छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजङ्ग शाही भने क्वारेन्टिन व्यवस्थापनको जिम्मा प्रशासनको रहेको बताउँछन् । नगरपालिका र प्रशासनबीच समन्वय हुननसक्दा क्वारेन्टिनमा बसेकाहरुले असुविधा व्यहोर्नुपरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय