scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

नेपालमा कोरोनाः कुन प्रदेशको अवस्था कस्तो (पूर्ण विवरणसहित)

काठमाडौँ, १६ जेठ । कोभिड–१९ को सङ्क्रमण आज एकैदिन १७० जनामा पुष्टि भएको छ । प्रदेशअनुसार हेर्दा प्रदेश २ ले प्रदेश ५ लाई पछि पारेको छ । प्रदेश २ मा अहिलेसम्म ४९० संक्रमित देखिएका छन् भने प्रदेश ५ मा ४३३ जना संक्रमित छन् ।

प्रदेश ५ मा भन्दा प्रदेश २ मा निको हुनेको संख्या भने धेरै छ । प्रदेश ५ मा अहिलेसम्म ४७ जना डिस्चार्ज भइसकेका छन् भने प्रदेश २ मा १०२ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा थप १७० जनाका सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको हो । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १६५ पुरुष र पाँच जना महिला सङ्क्रमण भेटिएको हो ।

आज देखिएको सङ्क्रमितको सङ्ख्या हालसम्मकै सबैभन्दा धेरै हो । यसअघि बिहीबार १५६ जनामा सङ्क्रमण देखिएको थियो । योसँगै कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या एक हजार २१२ पुगेको छ । यसमा एक हजार १०३ पुरुष र १०९ जना महिला छन् ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा २७ जनामा सङ्क्रमण देखिएको हो । उनीहरुमा झापा कचनाकवल गाउँपालिकाका २४ जना १८–४१ वर्षसम्मका पुरुष र तराईभिट्टाका तीन जना २४–५४ वर्षका पुरुष छन् ।

यस्तै, धरान बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच सङ्क्रमित रहेका छन । सप्तरी राजविराजका २०–२६ वर्षका चार जना पुरुष र झापा भद्रपुरका ३४ वर्षका एक जना पुरुष रहेका छन् । यस्तै, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नौ जना पुरुष सङ्क्रमित भेटिएका छन् ।

बारा पचौताका चार जना २७–४५ वर्षका पुरुष हुन् । पर्सा पोखरियाका चार जना २१–४२ वर्षका पुरुष रहेका छन् । पर्सा जिराभवानीका एक जना ३४ वर्षका पुरुष हुन् । यस्तै, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा सर्लाहीका ३१ वर्षीया एक महिला भेटिएका छन् ।

यस्तै, गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका ३० वर्षका एक पुरुषमा सङ्क्रमण भेटिएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डुडुवा गाउँपालिकाका १० जनामा सङ्क्रमण देखिएको छ । ती १७–४१ उमेर समूहका हुन् ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा छ जना पुरुषमा सङ्क्रमण देखिएको छ । कपिलवस्तुका चार जना पुरुष २३–२६ वर्षका पुरुष हुन् । यस्तै दुई जना नवलपरासीका १९–२१ वर्षका पुरुष छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय