scheduleआइतवार आश्विन ११ गते, २०७७

चीनको कठपुतली बनेको भन्दै ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध अन्त गरे

वासिङ्गटन, १७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग आफ्नो सम्बन्ध अन्त्यको घोषणा गर्ने बताएका छन् । ‍बीबीसीका अनुसार डब्लूएचओ कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न सुरुबाट असफल रहेको चीनको कठपुतली बनेको आरोप ट्रम्पले लगाएका छन् ।

ट्रम्पले यसअघि नै संयुक्त राष्ट्र संघको एजेन्सीको कोष बन्द गरिसकेका छन् । ‘हामीले डब्लूएचओलाई ब्यापक सुधारको अनुरोध गरेका थियौँ तर यस्तो गर्नमा ऊ असफल रह्यो । आजदेखि हामी विश्व स्वास्थ्य संगठनसँग हाम्रो नाता तोड्दैछौँ,’ शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अमेरिकी कोष अब वैश्विक जनस्वास्थ्यमा लगाइनेछ । डब्लूएचओ पूरै चीनको नियन्त्रणमा रहेको छ जबकि अमेरिकाको तुलनामा उसले निकै कम रकम दिने गरेको छ ।’

गत महिना राष्ट्रपति ट्रम्पले आफूलाई सुधार गर्न डब्लूएचओलाई एक महिनाको समय दिएका थिए । उनले संगठनले सुधार गर्न नसके स्थायीरुपमा सहयोग कोष बन्द गर्ने बताएका थिए ।

सम्बन्धको अन्त्य गर्दै डब्लूएचओका गल्तीको पूरै विश्वले मूल्य चुकाउनु परेको ट्रम्पले बताए । उनले यसअघि नै डब्लूएचओलाई चीन परस्त हुनबाट मुक्त हुनुपर्ने बताएका थिए ।

आफ्नो माग गरेको सुधार डब्लूएचओले पूरा गर्न नसकेको र चीनसँग मिलेर कोरोनाभाइरसबारे पूरै विश्वलाई गुमराह गरेको ट्रम्पले आरोप लगाए । ‘चीनले वैश्विक महामारीको सुरुवात गर्यो र यसको मूल्य एक लाखभन्दा बढी अमेरिकीले ज्यान गुमाएर तिर्न परिरहेको छ,’ उनले भने ।

ट्रम्पले राष्ट्रसंघमाथि पनि प्रश्न उठाउँदै भने, ‘चीनमा पहिलो पटक भाइरस भेटिँदा सूचना लुकाइयो । चीनले पनि पूरा मामिलामा पारदर्शिता अपनाएन । चीन डब्लूएचओलाई हरेक वर्ष मात्र ४ करोड डलर कोष दिन्छ । यसको तुलनामा अमेरिकाले डब्लूएचओलाई हरेक वर्ष ४५ करोड डलर सहयोग गर्छ । हामीले डब्लूएचओलाई विस्तारमा हामीले चाहेको सुधारको बारेमा बतायौँ तर उसले यस्तो गर्नबाट अस्वीकार गर्‍यो ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय