scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

कृषि उपजमा उत्पादनपछिको क्षति न्यूनीकरण र गुणस्तर व्यवस्थापन

डा. वेदप्रसाद खतिवडा

किसानहरुले उत्पादन गर्ने कृषि उपजहरु नै आम मानिसका लागि खाद्य सुरक्षा र पोषणको आधार हो । उत्पादन भइसकेका कृषि उपजहरु पनि जीवित पदार्थ नै हुन् जसले सास फेर्ने लगायतका काम गरिरहन्छ । त्यसमा पनि ताजा कृषि उत्पादनहरु जस्तै फलफूल, तरकारी, च्याउ आदि त एकदमै धेरै संवेदनशील उत्पादनहरू हुन् किनकी यसमा पानीको मात्रा धेरै हुन्छ । कृषि उपजमा हुने अत्यधिक पानीको मात्राको कारण पानी उडेर जाने भएकाले यसको तौलमा गिरावट आउँछ भने उपजको गुणस्तरमा पनि अति धेरै गिरावट आउँछ । उदाहरणका लागि ओइलाएका सागपातलाई लिन सकिन्छ जसमा पानीको मात्रामा गिरावट आएका कारणले गर्दा देख्दा नै अनाकर्षक हुन्छ । यसका अलावा धेरै कार्बोहाइड्रेटको मात्रा हुने भएकोले ढुशी लगायतका सुक्ष्मजीवहरुले पनि आक्रमण गर्ने सम्भावना अधिक रहन्छ ।

कृषि उपजहरुमा सामान्यतया बाली टिप्दा वा काट्दा वा चुट्दा एक हदसम्मको नोक्सानी हुन्छ भने अर्को नोक्सानी भने अन्नबालीलाई भण्डारण गर्दाको क्रममा र फलफूल तथा तरकारीलाई बजारीकरण गर्ने क्रममा हुन्छ । यसरी अन्नबालीको नोक्सानी होस् वा फलफूल तथा तरकारीबालीहरुको होस्, यो नोक्सानी भनेको किसानहरुले गरेको सबै लगानी जस्तै श्रम, मलखाद, बीउबीजन, सिँचाई, जोताई, कटाई वा चुटाई आदिपछिको हो । मुखैमा आएको बालीलाई उचित भण्डारण नगर्दा वा ताजा तरकारी आदिलाई तापक्रम अनुकुल नबनाउँदा किसानले अन्नबालीमा २० देखि ३० प्रतिशत र ताजा कृषि उपजमा २० देखि ५० प्रतिशतसम्म नोक्सानी व्यहोर्दै आएको अवस्था छ । यसले गर्दा किसानले पाउने मूल्यमा गिरावट मात्र आउने हैन उपभोक्ताको लागि पनि उत्पादनको मूल्य बढ्न जान्छ किनकी उक्त नोक्सानीलाई पनि थेग्न व्यापारीहरुले मूल्य बढाउनु बाध्यता नै रहन्छ । यसरी नेपालमा अहिलेको अवस्थामा कृषि उपजमा उत्पादनपछिको क्षति न्यूनीकरणका लागि अपनाउनुपर्ने रणनीति भनेको कृषि आपूर्ति श्रृंखलामा गुणस्तरको व्यवस्थापन नै हो जसले अन्नबाली वा अन्य बालीहरुमा अपनाउनुपर्ने विभिन्न कृयाकलापहरुबारेमा जोड दिन्छ ।

किन गुणस्तर व्यवस्थापन ?

गुणस्तर व्यवस्थापन कुनै पनि कृषि उपजहरुको गुणस्तर कायम गर्नका लागि गरिने व्यवस्थापकीय रणनीति हो जसले कृषि उपजमा हुने उत्पादनपछिको नोक्सानीमा आफसेआफ कमी ल्याउँछ र उत्पादनको गुणस्तरीयता, स्वच्छता आदिमा पनि उल्लेख्य सुधार ल्याउँछ । अन्नबालीहरु, दलहन बालीहरु वा तेलहन बालीहरुलाई उत्पादनपछिको कटाई र चुटाईपछि केही महत्वपूर्ण काम छन् जसले यस्ता क्षतिलाई कम गराउँछ । बिग्रेका र नबिग्रेका उपजहरु छुट्याएर राख्ने काम र चिस्यानको मात्रा १० देखि १२ प्रतिशतको हाराहारीमा राख्ने काम गर्न मात्र सकेमा किसानले आफ्नो उत्पादनमा लाग्ने घुन, पुत्ला वा ढुशीबाट अनाजलाई बचाउन सक्छन् । अहिलेको अवस्थामा भने अनाजलाई दुई देखि तीन घाम सुकाएर प्लाष्टिकको बोरामा राखी मेटल बिनमा राखी भण्डारण गर्न सकेमा अत्यन्त प्रभावकारी हुन्छ । नेपालमा विभिन्न स्थानमा रहनुभएका किसानहरुले स्थान विशेषको आधारमा पनि भण्डारण गर्दै आएको देखिन्छ । मकैलाई सुली बनाएर राख्ने वा सुकाएर केही सुरक्षित विषादीहरु वा निमको पातको धुलो मिसाएर पनि अनाजलाई सुरक्षित राख्न सकिन्छ । यसरी किसानले अपनाउने गुणस्तरीय भण्डारण विधिले एकातर्फ गुणस्तरको कामय (जस्तै कीरा नलागेको, रोग नलागेको) गर्न सहज हुन्छ भने अर्कोतर्फ नोक्सानी पनि कम हुन्छ ।

डा. वेदप्रसाद खतिवडा

ताजा कृषि उपजहरुको हकमा भने गुणस्तर व्यवस्थापनले अति नै ठूलो महत्व राख्दछ किनकी अन्नबालीलाई जस्तै सुकाएर वा पानीको मात्रा घटाएर ताजा फलफूल तरकारीहरु राख्न मिल्दैन र तापक्रमको व्यवस्थापन र बाली टिप्दा वा त्यसपछिको अवस्थामा बालीलाई चोटपटक लाग्न नदिनु नै सर्वोत्तम उपाय हो । गुणस्तर व्यवस्थापनका लागि गरिने सामान्य लाग्ने कृयाकलापहरु जस्तै फलफूल टिप्दा हाँगा हल्लाएर वा भूईंमा बजारेर नटिपी टिपेर झोलामा हाल्दा चोटपटक लाग्ने सम्भावना न्यून हुन्छ । त्यस्तै फलफूललाई टिप्दा भर्‍याङ प्रयोग गरी हातले वा कैचीको प्रयोग गर्ने र सुरक्षित रुपमा टिपेर झोलामा हाल्न सकेमा यसले गुणस्तर कायम गर्न र उत्पादनपछिको क्षति घटाउन दोहोरो फाइदा दिन्छ । तरकारीबालीको हकमा भने बालीलाई काटिसकेपछि वा टिपिसकेपछि उच्च तापक्रममा वा प्रत्यक्ष घाममा धेरै समय राख्ने बानी अत्यन्त सुधार्नुपर्नेछ जसले कृषि उपजको तापक्रम बढाउने र इथाइलिन नामक ग्याँसको उत्पादनको लागि सहज वातावरण बनाउँछ जसले कृषि उपजलाई पकाउने र पछि कुहाउन पुग्छ । यसरी हेर्दा किसानले गरेको सानो लापरवाहीले गर्दा किसानले बेचेपछि पनि व्यापारी वा उपभोक्ताको तहमा समेत गुणस्तर कायम राख्ने र हुन सक्ने क्षति कम गराउन मद्दत मिल्छ । यी त सामान्य उदाहरण मात्र हुन् । तापक्रमको व्यवस्थापन ताजा फलफूल तथा तरकारीको लागि यसको बाहिरी आवरण आकर्षक देखाउनका लागि मात्र हैन उत्पादनको स्वच्छता र गुणस्तर कायम गर्नका लागि पनि अत्यावश्यक रहन्छ । किसानले उत्पादनपछि के मा राखेर बजारीकरण गर्छन् भन्ने कुराले पनि बाली उत्पादनपछिको क्षति निर्धारण गर्छ । आज पनि अधिकांश किसानहरुले बोरामा राखेर ट्रकमा खाँदेर वा बसको छतमा राखी फलफूल तरकारीको ओसार-पसार गरेको पाइन्छ तर किसानहरु आफैले गरेको यस्ता कृयाकलापले आफ्ना बस्तुको नोक्सान बढी भइरहेको हुन्छ । ताजा कृषि उपजहरु चोटरहित अवस्थामा ढुवानी गर्ने र त्यसका लागि पुनर्प्रयोग गर्न सकिने प्लाष्टिकको फोल्ड गर्न मिल्ने क्रेटको प्रयोग अति प्रभावकारी हुन्छ । शुरुमा यो अभ्यास महँगो लागे पनि कालान्तरमा उही क्रेट पटकपटक प्रयोग गर्न मिल्ने भएकाले पनि र कृषि उपजको गुणस्तरमा सकारात्मक प्रभाव पर्ने भएकाले फाइदाजनक हुन्छ । यसका लागि बजारीकरण गर्ने व्यापारीसँगको सहकार्य अत्यन्त आवश्यक हुन्छ किनकी सबै पक्षको उद्देश्य भनेको गुणस्तरीय कृषि उपज उपभोक्तासम्म पुर्‍याउने नै हो ।

के गर्न सकिन्छ क्षति न्यूनीकरण र गुणस्तर वृद्धिका लागि ?

१. क्षति न्यूनीकरण र गुणस्तर वृद्धिका लागि विभिन्न स्तरमा विभिन्न कामहरू गर्न सकिन्छ । तर यसका लागि न्यूनतम काम भनेको मापदण्डको निर्धारण र ताजा कृषि उपजको ओसारपसारमा पालना गर्नुपर्ने कार्यविधि निर्माण नै हो । यस्ता कार्यविधिहरु निर्माण गर्दा किसान समूह, कृषि सहकारी वा किसानका संगठित विभिन्न संघसंस्था र कृषि उपजका व्यापारीहरुको संलग्नता र अग्रगामी नेतृत्व आवश्यक रहन्छ । अन्यथा प्राविधिकहरुले मात्र यस्ता मापदण्ड वा कार्यविधिहरु निर्माण गर्दा किसान वा व्यापारीहरुमा अपनत्व कम हुन्छ र अन्तमा लागू गर्न नसकिने हुन्छ । अब किसानले सोही कार्यविधि र मापदण्डको आधारमा उत्पादन, टिपाई कटाई, प्याकेजिङ, ओसारपसार, भण्डारण आदि गर्नासाथ यसको सकारात्मक प्रभाव सबै पक्षमा देखिन थाल्छ ।

२. ताजा कृषि उपजहरुको हकमा तापक्रम व्यवस्थापन अत्यन्त महत्वपूर्ण काम हो जसमा बाली उत्पादन लिनासाथ तुरुन्त प्रत्यक्ष घाम नलाग्ने स्थानमा लाने र सडेगलेका, बिग्रेका आदि र बजारीकरणका लागि अनुपयुक्त उपजहरु छुट्याउने र बाँकी रहेका र बजारका लागि तयारी गरेका कृषि उपजको शीत भण्डारण गर्ने हो । अधिकांश ताजा फलफूल तरकारीहरुलाई ५ देखि १५ डिग्री तापक्रममा भण्डारण गरिनुपर्छ तर कृषि उपजपिच्छे नै यो तापक्रम फरक हुने भएकाले सोही अनुसार गर्नुपर्छ । यसका लागि किसानको सहकारी स्तरमा वा स्थानीय तहमा भए पनि एउटा शीत भण्डारणको निर्माण आवश्यक देखिन्छ जसले गर्दा कृषि उपजहरु मूल्य नपाउँदा पनि बिक्री गर्नुपर्ने बाध्यता हट्छ ।

३. बजारमुखी उत्पादन गर्ने किसानले पहिला बजारको सुनिश्चितता गरेर मात्र उत्पादन तथा बजारस्थलमा कृषि उपजहरु लैजानुपर्छ । अन्यथा बजारमा लगेर आफ्ना उत्पादन राख्ने र थोक व्यापारीहरु आएर किन्ने नकिन्ने टुंगो नहुने भएकोले मूल्यमा कमी आउने मात्र हैन फर्काएर लैजानुभन्दा कम मूल्यमा नै बेच्न किसानहरु बाध्य हुनुपर्छ । कृषि उपजको बजार अवस्था बुझेपछि र क्रेता पक्का गरेपछि मात्र आफ्ना उपजहरु सहकारीस्तरको शीत भण्डारबाट बजार पठाउनुपर्छ अन्यथा गुणस्तर र परिमाणात्मक क्षति अधिक रहन्छ ।

रणनीतिक योजना निर्माण तथा कार्यान्वयन

समग्र खाद्य पदार्थहरुको गुणस्तरलाई निमयन गर्दै सबै सरोकारवालाहरु मिली खाद्यपदार्थहरु तथा कृषि उपजहरुको मापदण्ड निर्माण गर्न र लागू गर्न अत्यावश्यक भइसकेको छ । यसले एकातर्फ कृषि उपजहरुको गुणस्तर कायम गर्नका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ भने अर्कोतर्फ ताजा कृषि उपजहरुमा हुने बाली टिपेपछिको नोक्सानी (Post-harvest losses) घटाउन पनि मद्दत मिल्नेछ र खाद्य सुरक्षालाई थप टेवा पुग्नेछ ।

यसको शुरुवातमा खाद्यबस्तुहरुको गुणस्तर मापदण्ड निर्धारण गरी बजारका सबै सरोकारवालाहरुको बीचमा वृहत् छलफलपछि पारित गर्नु आवश्यक रहन्छ । तत्पश्चात यसलाई कटिबद्धताका साथ लागू गर्नका लागि सरोकारवालाहरु र किसान समूह एवं कृषि सहकारीहरुलाई अभिमुखीकरण गर्ने, स्थानीय तहहरुमा खाद्य पदार्थको गुणस्तर परीक्षणको प्रयोगशाला बनाउने र हरेक स्थानीय तहहरुमा ताजा कृषि उपजहरुको भण्डारणका लागि शीत भण्डार (cold storage) निर्माण गर्नु आवश्यक छ ।

ताजा कृषि उपजहरुको गुणस्तर प्रमाणीकरण मार्फत गुणस्तरीयताको सुनिश्चितताका लागि पनि आवश्यक कदम चाल्न सके प्रकृति र पर्यावरणका लागि मात्र नभै मानव स्वास्थ्यमा पनि थप सेवा पुग्नेछ । जसका लागि साना किसानहरुका समूह वा सहकारी मार्फत् साना किसानहरुलाई आन्तरिक नियन्त्रण प्रणाली (Internal Control System) लागू गरी वा सहभागितात्मक गुणस्तर प्रवर्द्धन प्रणाली (Participatory Guarantee System) मार्फत् गुणस्तर प्रमाणीकरण गरिने र राष्ट्रिय बजारका लागि योग्य प्रमाणित गरिनुपर्ने आवश्यकता छ ।

यसका लागि ठोस काम के गर्नुपर्छ ?

२. प्रदेशस्तरमा उत्पादन तथा आयात गरिने कृषि उपजहरुको गुणस्तर कायम गर्नका लागि उत्पादन तथा उत्पादनपश्चातको सबै चरणहरुमा गुणस्तर कायम गर्नका लागि ताजा कृषि उपजको गुणस्तर निर्धारणको मापदण्ड बनाउने र हरेक किसान समूह वा कृषि सहकारी मार्फत किसान, कृषि उपजको आपूर्ति श्रृंखलामा संलग्न सबैलाई अभिमुखीकरण गर्ने ।

१. खाद्य बस्तुहरु, खानेपानी, तथा ताजा कृषि उपजको गुणस्तर निर्धारण तथा नियमनलाई वैज्ञानिक र विश्वासिलो बनाउनका लागि हरेक स्थानीय तहमा एक “खाद्य पदार्थ गुणस्तर परीक्षण प्रयोगशाला” स्थापना गर्ने ।

३. ताजा कृषि उपजहरुको गुणस्तर कायम गर्न तथा विक्रिवितरणमा अवरोध आएको समय वा बजार मूल्यमा गिरावट आई बेच्न नसकिने अवस्था आएमा भण्डारण गर्नका लागि क्षेत्रीय बजार, जिल्लास्थित थोक बजार तथा हरेक स्थानीय तहमा शीत भण्डारण निर्माण गर्ने र मूल्यमा आउन सक्ने उतारचढाव नियन्त्रण गर्ने ।

(डा. खतिवडा अष्ट्रेलियामा रहेर कृषि क्षेत्रभित्र ताजा कृषि उपजको गुणस्तर व्यवस्थापनमा काम गर्छन् ।) 

यसअघिका स्तम्भहरु

कृषिमा उद्यमशिलताः आवश्यकता र अवसर

कृषिमा यान्त्रिकीकरणः आवश्यकता र उपलब्धता

नमुना कृषि फार्मः सानो लगानीमा दीगो आम्दानीको स्रोत

यसरी चलाऔं बीउ साटासाट अभियान र बनाऔं सामुदायिक बीउ बैंक

महामारीमा सुरु गरौं घरबगैंचा र करेसाबारी निर्माण अभियान

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय