scheduleमगलवार आश्विन १३ गते, २०७७

भोलिको भाका राख्नुहुन्छ ? यसलाई तपाईंले एकपटक पढ्नैपर्छ !

एकपटक महाराज युधिष्ठिर राजकाजको काममा व्यस्त थिए । उनी मन्त्रीसित छलफल गर्दै थिए । एक ब्राह्मण गुन्डाहरुले आफ्नो गाई खोसेर लगेको गुनासो लिएर राजसभामा पुगे ।

युधिष्ठिरले ब्राह्मणलाई बाहिर प्रतीक्षा गर्न लगाए । मन्त्रीसितको वार्तालापपछि युधिष्ठिरसित भेटघाटका लागि छिमेकी देशका राजदूत पुगे । त्यसपछि पनि अन्य भेटघाटमा व्यस्त हुँदाहुँदै उनले ब्राह्मणलाई समय दिन सकेनन् । अन्त्यमा सबै काम सिध्याएर निस्किँदा उनी थाकिसकेका थिए । उनले ब्राह्मणलाई भने- आज म निकै थाकेको छु । तपाईं भोलि आउनुस् है ! म अवश्य सहयोग गर्नेछु ।

युधिष्ठिर आराम कक्षतिर लम्किए । ब्राह्मण निकै दुःखी भए । बाहिर निस्किँदै गर्दा उनको भेट राजकुमार भीमसित भयो । भीमले उनको समस्या सोधे । ब्राह्मणले भीमलाई सबै बताए । जब युघिष्ठिरले भोलि बोलाएको उनले थाहा पाए, तब तत्कालै सैनिकलाई विजयको नगरा बजाउने आदेश दिए । तत्काल आदेश कार्यान्वयन भयो, दरबारका चारै दिशामा नगरा घन्किए ।

नगराको आवाज सुनेर युधिष्ठिर बाहिर निस्किए । उनले भीमलाई भेटे । उनले विजय नगरा बज्नुको कारण सोधे ।

भीमले भने, ‘महाराज हजुरले कालमाथि विजय हासिल गरिबक्सेको खुसियालीमा यी नगरा बजाइएका हुन् ।’

युधिष्ठिरले छक्क पर्दै सोधे, ‘हँ, तिमी यो के भन्दै छौ ?’

भीमले भने, ‘हजुरले एक ब्राह्मणलाई भोलि बोलाउनुभएको रहेछ । त्यसको अर्थ, हजुरलाई आफू भोलिसम्म मर्दिनँ अर्थात् कालले छुन सक्दैन भन्ने पक्का रहेछ । त्यसैले, कालमाथिको विजयोत्वसमा यी नगरा बजेका हुन् महाराज !’

भीमको कुरा सुनेपछि युधिष्ठिरलाई आफ्नो गल्ती महसुस भयो । उनले तत्काल ती ब्राह्मणका समस्या सुने र उचित सहायताको प्रबन्ध गरिदिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय