scheduleआइतवार आश्विन ११ गते, २०७७

राजपाले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगर्ने

काठमाडौं, १७ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । शनिवार बसेको राजपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपालको संविधानको अनुसूची-३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएको भन्दै संविधान संशोधन गर्न सरकारले विधेयक दर्ता गराएको छ । तर, विभिन्न मुद्दामा संविधानमा संशोधन गर्न आफूहरुले माग गर्दै आए पनि हालसम्म त्यो संशोधन हुन नसकेको भन्दै सरकारले ल्याएको संशोधन प्रस्तालाई मात्र समर्थन गर्न नसकिने राजपाले ठहर गरेको छ ।

अहिलेको संविधान संशोधनकै क्रममा आफूहरुको माग पनि समावेश गरी प्याकेजमै संशोधन गर्न राजपाले माग गर्दै आएको छ । राजपाले शुक्रबार आफ्ना मागहरु सम्बोधन हुने गरी संविधान संशोधनको विधेयक संसदको सचिवालयमा दर्ता गराउन गएको थियो तर सो प्रस्ताव दर्ता हुन सकेको थिएन ।

‘सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विपक्षमा राजपा नेपाल छैन, तर राजपा नेपालको माग सम्बोधन हुने गरी प्रस्ताव नआए सरकारको सो प्रस्तावमा मतदान गर्दैनौं’, राजपा नेपालका सांसद प्रमोद साहले भने ।

समाजवादी पार्टी अन्यौलमा

सरकारले ल्याएको प्रस्तावमा मतदान गर्ने कि नगर्ने भन्नेमा समाजवादी पार्टी अन्यौलमा रहेको छ । समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी नेपाल बनेको छ । तर अहिलेसम्म निर्वाचन आयोगबाट आधिकारिकता पाइनसकेकाले यी दुई दलले आआफ्नै दलबाट गतिविधि गरिरहेका छन् ।

समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले सरकारले ल्याएको प्रस्तावमा मतदान गर्ने कि नगर्ने विषयमा शीर्ष तहबाट नै निर्णय हुने बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय