scheduleबिहिवार आषाढ़ २५ गते, २०७७

महतो भन्छन्- राज्यको चरित्रजस्तै बजेट आयो

काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आगामी वर्षको बजेट सरकारको चरित्र जस्तै भएको टिप्पणी गरेका छन् ।

आइतबार संसदमा बजेटमाथिको टिप्पणी गर्दै उनले सरकारले आफू मालिक र अरु नोकर सम्झेको सरकारले आफू जस्तै बजेट ल्याएको आरोप लगाएका हुन् ।
उनले भने, ‘राज्यबिहीन जस्तै भएका जनता यसै राज्यमा छन् । धेरै नागरिक विपक्षीमा भए पनि बहुमत विपक्षीमा रहने र अल्पमत राज्यमा रहिरहने शासन गर्ने प्रवृति भएको हुँदा आम नागरिकले कहिल्यै राज्यबाट न्याय पाउन सक्दैन ।’

बजेटले जनतामा उत्साह पैदा नगरेको तथा सरकारले बजेटमार्फत् संघीयतालाई कमजोर पार्न खोजेको उनको आरोप छ । उनले परम्परागत बजेट भएको र राज्यको चरित्रअनुसारको बजेट भएको उनको टिप्पणी गरे ।

‘यो बजेट त राज्यधारी जो छन् उनीहरूको पक्षपोषण गर्न ल्याइएको बजेट हो । राज्यविहीन राष्ट्रियताहरूलाई सिमान्तिकृत गर्ने कमजोर गर्ने प्रकारको बजेट आएको छ,’ उनले भने । राज्यको चरित्र धनीलाई धनी बनाउने, शक्तिमा रहेकाको महिमागान गर्ने र कमजोर वर्ग तथा समूदायलाई झन कमजोर र कुनामा पार्ने रहेको भन्दै बजेट पनि सोहीअनुसारको आएको महतोको स्पष्ट पारे ।

‘मलाई लाग्दैन आम नेपाली जनता यो बजेट आउँदा उत्साहित हुने अवस्था छ,’ महतोले भने, ‘आगामी आर्थिक वर्षको बजेट गणतान्त्रिक संविधान जारी भएपछिको तेस्रो बजेट हो । जस्तो पहिले आएको थियो, अहिले पनि त्यस्तै हो । थप निराशातर्फ उन्मुख भएको बजेटमा के टिप्पणी गर्ने !’

नागरिक भोकले मरिरहेको अवस्थामा सरकार भने कसैलाई भोकले मर्न दिँदैन भन्ने भाषणमा रमाएको उनको भनाइ थियो । उनले भने, ‘जनता त दिनदहाडै मरिरहेको छ । यहाँ भाषण गरिरहेको छ- मर्न दिँदैन, भनेर ।’

सरकारले बजेटमार्फत पनि संघीयतालाई कमजोर पार्ने काम गरेको महतोको भनाइ थियो । उनले भने, ‘संघीयतालाई सखाप पार्ने काम गरिरहेको छ सरकारले । सारा बजेट केन्द्रमा राखेर संघीयता बलियो हुन्छ ? ८९ प्रतिशत केन्द्रमा, ४ प्रतिशत प्रदेश र ७ प्रतिशत स्थानीय तहमा राखेर संघीयता बलियो हुन्छ ?’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय