scheduleसोमवार आषाढ़ २९ गते, २०७७

म्याक्सिकोमा अर्को महामारी !


एजेन्सी, १९ जेठ । कोरोना भाइरसका कारण भएको लकडाउनमा म्याक्सिकोका महिलाहरुमाथि घरेलु हिंसा बढेको छ । नेशनल नेटवर्क फर वुमन्स सेल्टरका अनुसार गत अप्रिलमा सहयोग मागका लागि आउने फोन कल ६० प्रतिशतले बढेको छ ।

त्यसो त यो महामारी अघि पनि म्याक्सिकोका महिलाहरु घरेलु हिंसाबाट प्रताडित थिए । म्याक्सिको विश्वका हिंस्रक मुलुक मध्ये एक बनेको छ । यहाँ महिलाहरु बलात्कृत भइरहेका छन् । हत्या र अपहरणका घटनाहरु निरन्तर बढिरहेको छ ।

मिसिनगान स्टेट युनिभर्सिटीमा स्पेनिस भाषाकी सहायक प्राध्यापक अलेजेन्ड्रा मर्कज ग्वाजार्डोको अनुसार जब उनले २०१८ मा ल्याटिन अमेरिकी अध्ययन कक्षामा लैंगिङ हिंसासम्बन्धि अध्यापन गर्न थालेकी थिइन्, तब मेक्सिकोमा सातओटा फेमिसाइडका घटना देखा परेका थिए ।

फेमिसाइड भनेको लैंगिक आधारमा गरिने हत्या हो जहाँ महिला भएकै आधारमा महिलाको हत्या गरिन्छ । यो वर्ष औसतमा प्रत्येक दिन दश म्याक्सिकन महिलाहरु फेमिसाइडको शिकार हुने गरेको अलेक्जेन्ड्रा लेख्छिन् ।

यो महामारी सुरु हुन केही समय अघि मात्र गत फेब्रवरीमा केही दिनको फरकमा दुई भयानक हत्या भएका थिए । उक्त घटनाले राष्ट्रिय मिडियामा पनि स्थान पाएका थिए ।

फेब्रवरी ९ मा २५ वर्षीया इनग्रिड इस्कामिलाको हत्या गरियो । हत्यापश्चात उनको शरीरको छाला काटेर, भित्री अंगलाई पनि निकालेर फ्याँकियो । त्यसको केही दिनम नै सात वर्षीया फातिमा अल्डराइगेटको अपहरणपछि हत्या भयो । पछि उनको शव प्लास्टिकमा प्याक भएको स्थितिमा फेला परेको थियो । प्रहरीले उनको शवमा यौन दुर्व्यवहार र यातनाको प्रमाण फेला पारेको थियो ।

एक हप्ताको बीचमा भएको दुई भयानक हत्यापछि राष्ट्रपति एन्ड्रेस मेनुअल लोपेज ओब्राडोरले देशमा उठ्न थालेको महिलावादी आन्दोलनलाई आफ्नो दक्षिणपन्थी प्रतिपक्षीको षड्यन्त्र भन्दै खारेज गरेर दबाइदिए ।

लोपेजको त्यस्तो कदमविरुद्ध चौतर्फीबाट विरोधहरु उत्पन्न भए । त्यसपश्चात गत मार्चमा लोपेजको सरकारले म्याक्सिकोमा महिलाहरुको रक्षार्थ एउटा विस्तृत योजना पारित गर्‍यो ।

उक्त योजनामा सरकारले स्थापना गरेको घरेलु हिंसाबाट प्रताडितहरुलाई बास दिने कार्यक्रम पुनः सुरु गरिने निर्णय गरियो । गत वर्ष उक्त शीर्षकमा बजेट कटौती हुँदा त्यो कार्यक्रम रोक्किएको थियो । यस्तै सडकमा हुने दुर्व्यवहारको रिपोर्ट गर्नलाई छुट्टै एप पनि सार्वजनिक भयो ।

गत मार्च ८ मा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा करिब एक लाख बीस हजार महिलाहरुले म्याक्सिको शहरमा र्‍याली निकाले । उक्त र्‍यालीमा उनीहरुले सरकारसँग महिलाहरुको रक्षा गर्ने कानून कार्यान्वयन गर्न तथा फेमिसाइड घटनाहरुको गम्भीरतापूर्वक छानबिन गर्न र परिवार तथा पीडितलाई न्याय दिन माग गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय