scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

बन्दाबन्दीको स्वरुपलाई परिवर्तन गर्ने कि ?

हरि खड्का

वैश्विक महामारी कोभिड-१९ सँग जुध्नको लागि नेपालले चैत्र ११ गतेबाट शुरु गरेको बन्दाबन्दी तेस्रो महिनामा प्रवेश गरिसकेको छ । यद्यपि यस रोगबाट संक्रमित हुनेको सङ्ख्या दिन-प्रतिदिन बढिरहेको छ । चीनमा लकडाउन शुरु भएको ७६औं दिनपछि जनजीवन सामान्य भएको थियो । जसअनुसार नेपालको जनजीवन सामान्य हुनुपर्नेमा कोरोना संक्रमण मिटर उल्टो दिन-प्रतिदिन बढिरहेको छ । सरकार कोरोनाको पहिचान, रोकथाम, उपचार र नियन्त्रणमा संवेदनशील नदेखिएको आरोप स्वास्थ्यसँग सम्बन्धित जानकारहरु लगायत विपक्षी राजनैतिक दलहरुले समेत लगाएका छन् ।

मापदण्डअनुसारका क्वारेन्टाइनहरु नभएको, क्वारेन्टाइनहरुमा अत्याधिक चाप, परीक्षण किटको अभावमा समयमा परीक्षण नभएको, उपचारको लागि पर्याप्त आइसोलेसन बेडहरुको व्यवस्थापन नभएको लगायतका यावत समस्याहरु देखिन्छन् । पछिल्ला दिनहरुमा परीक्षण गर्ने किटको अभावले परीक्षण गर्न नपाउँदै मृत्यु भएको, क्वारेन्टाइनबाट भागेका, भाग्न खोजेका, बस्न नमान्ने जस्ता तीता घटनाहरु पनि देखिए । यी यावत समस्यालाई तिनै तहका सरकारहरुबाट समाधान गर्दै महामारीको विरुद्धमा युद्धस्तरमा लाग्नुपर्ने देखिन्छ ।

नेपालको सन्दर्भमा कोभिड-१९ को प्रभाव कहिलेसम्म रहने भन्ने यकिन गर्न सक्ने अवस्था छैन । छिमेकी राष्ट्र भारतमा सङ्क्रमणको सङ्ख्या करिब २ लाख पुग्न थालेको देखिन्छ । भारतमा रोजगारीका लागि गएका नेपाली दाजुभाइहरु फर्कने क्रम बन्द नहुँदासम्म सङ्क्रमितको सङ्ख्या घट्ने सम्भावना देखिँदैन । पछिल्ला दिनहरुमा भारतसँग सीमा जोडिएका जिल्लाहरुको क्वारेन्टाइनहरुमा अत्याधिक चाप बढिरहेको देखिन्छ ।

बढ्दो चापलाई न्युनीकरण गर्ने एकमात्र उपाय भनेको क्वारेन्टाइनमा ल्याउनेबित्तिकै सबैको पिसिआर चेक गर्ने, नतिजाको आधारमा पोजेटिभ भएमा उपचारको लागि तुरुन्त पठाउने, नेगेटिभ छ भने सम्बन्धित व्यक्तिहरुलाई सम्बन्धित पालिकाहरुले घरमा पुर्‍याउने व्यवस्था गर्ने । समयमा परीक्षण नभएको कारणले भारतबाट आउने नेपालीहरु नेपालको सीमा नजिकका क्वारेन्टाइनहरुमा केही समय बस्नुपर्ने र त्यसपछि सम्बन्धित पालिकाका क्वारेन्टाइनमा बस्नुपर्ने पीडा पनि भोग्नुपरेको अवस्था छ ।

नेपाल सरकारले जेष्ठ २० गतेसम्मको बन्दाबन्दीको समय पुनः जेष्ठ ३२ गते सम्मलाई थपेको छ । बन्दाबन्दीको समय बढिरहँदा स-साना उद्यमीहरु, दैनिक ज्यालादारी गर्ने मजदुरहरु, विपन्न वर्गहरु आक्रान्त भएका छन् । उद्योग व्यवसायहरु, होटल, पर्यटन लगायत आर्थिक उपार्जनका सबै क्षेत्रहरु ठप्प छन् । जसको प्रभाव नेपालको अर्थतन्त्रमा नराम्रोसँग परेको छ । कोरोना महामारीको प्रभाव ६ महिनासम्म रह्यो भने नेपालको कूल गार्हस्थ्य उत्पादनको १३ दशमलव ६ प्रतिशत (अर्थात् ४ खर्ब ५० अर्ब २४ करोड रुपैयाँ) बराबरको आर्थिक क्षति हुने एडिबीको अनुमान छ । राष्ट्र बैङ्कले पनि बन्दाबन्दीबाट नेपालको अर्थतन्त्रमा १ खर्ब भन्दा बढी रकमको क्षति भइसकेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

लकडाउनका कारण अस्त-व्यस्त, उकुसमुकुस अवस्थालाई सहज र खुकुलो पार्न लकडाउनका स्वरुपहरुमा परिवर्तन गर्नुपर्छ भन्ने धारणाहरु पनि व्यक्त भएका छन् । यद्यपि सरकार स्वयं पनि लकडाउन खुकुलो बनाउनेमा सकारात्मक देखिएको छ । छिमेकी राष्ट्र भारतले पनि श्रमिकहरुलाई पठाउन रेल्वे सेवा, लामो दूरीका बससेवा खोलेको अवस्था छ भने आन्तरिक हवाई उडान पनि खोलिएको छ । भारतले जुन ८ देखि धार्मिक स्थल, होटेल, रेष्टुरेन्ट तथा सपिङ मलहरु खोल्न अनुमति दिइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड-१९ को प्रभाव ९ महिना देखि ३६ महिनासम्म जानसक्ने जानकारी दिइसकेको छ । नेपालको परिप्रेक्ष्यमा यो महामारी कहिलेसम्म जान्छ भन्न सकिने अवस्था छैन । अत बिषम परिस्थितिसँग जुध्न लकडाउन अनिवार्य छ । यससँगसँगै यसका स्वरुपहरुमा निम्नानुसार परिवर्तन गर्ने कि ?

१. हालसम्म कोरोना सङ्क्रमण नदेखिएका जिल्लाहरुलाई ग्रीन एरियामा, थोरै संक्रमण देखिएका जिल्लाहरुलाई पहेलो एरिया र संक्रमितको सङ्ख्या धेरै देखिएका तथा भारतसँग सीमा जोडिएका जिल्लाहरुलाई रातो एरियामा राख्ने । यदि कुनै ठाउँमा सङ्क्रमणको सङ्ख्या उदयपुरको भुल्के, बाँकेको नरैनापुरमा जस्तै अत्यधिक बढ्न गएमा त्यो एरियालाई हटस्पट एरिया तोक्ने । सरकारले एरिया अनुसार कुन कुन सेवा सञ्चालन गर्ने, नगर्ने सम्बन्धमा निर्देशन जारी गर्ने । कोरोना संक्रमितको सङ्ख्याको आधारमा एरियाहरुमा थपघट गर्दै जाने ।

२. निजी सामुदायिक स्कुल, कलेज, फिल्महल, फिटनेश सेन्टर, स्विमिङ्पुल, सैलुन, स्पा सेन्टर, होटलहरु सबै जोनहरु पूर्णरुपमा बन्द गर्ने । तर ग्रीन एरियामा स्वास्थ्य सतर्कता तथा सामाजिक दूरी कायम गरी स- साना चमेनागृह, होटलहरु सञ्चालन गर्न सकिने ।

३. लामो दूरीका सवारी-साधनहरु जनजीवन सामान्य नहुन्जेलसम्म सबै एरियाहरुमा बन्द गर्ने । तर उद्योग व्यवसायमा काम गर्ने मजदुरहरु ओसारपसार गर्नुपर्ने भएमा आवश्यक सतर्कता अपनाई, दूरी कायम गरी सेवा प्रयोग गर्न सकिने ।

४. कृषि कार्यसँग सम्बन्धित प्रयोग हुने यातायातका साधनहरु, एग्रो सेन्टर, कृषि सामग्री बिक्री गर्ने व्यवसायहरु जुनसुकै एरियामा पनि आवश्यक स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाई सुचारु राख्ने ।

५. मालबाहक सवारी-साधनहरुलाई सवारी चालक र सहयोगीलाई आवश्यक सुरक्षा सतर्कता अपनाई सबै एरियाहरुमा सन्चालन गर्न दिने ।

६. बैंक तथा वित्तीय संस्थाहरुको सम्बन्धमा ग्रिन जोनमा पूर्णरुपमा सन्चालन गर्ने अन्य जोनमा भने हप्तामा निश्चित दिन तोकी सञ्चालनमा ल्याउने ।

७. ग्रिन एरियाभित्र मात्रै सवारी साधनहरु, उद्योग व्यवासायहरु निर्वाध रुपमा आवश्यक सुरक्षा सतर्कता अपनाई सञ्चालन गर्न दिने ।

८. चालू वर्षको अन्त्यमा बजेट कार्यान्वयन लगायतका कामहरु गर्नुपर्ने भएकोले ग्रीन तथा पहेलो एरियाका सबै सरकारी कार्यलयहरु पूर्णरुपमा खोल्ने । रेड एरियाको लागि कूल कर्मचारीको ५० प्रतिशतमा नबढ्ने गरी कर्मचारीहरुको रोटेशन मिलाई कार्यालय सञ्चालन गर्ने ।

९. निजी सवारी-साधनहरु (मोटरसाइकलमा एकजना मात्रै ) जिप तथा कारहरुमा आवश्यक दूरी तथा सुरक्षा सतर्कता अपनाई ग्रिन तथा पहेंलो एरियामा चलाउन दिने । रेड एरियामा सुरक्षा सतर्कता अपनाई जोर बिजोर प्रणाली लागू गर्ने ।

१०. उद्योग व्यवसायहरुलाई आवश्यक सुरक्षा सावधानी अपनाई दूरी कायम राखी निर्वाध रुपमा सञ्चालनमा ल्याउने । यस्ता उद्योगहरुमा काम गर्ने मजदूरहरु घरमा गएको अवस्थामा सम्बन्धित जि.प्र.का.को समन्वयमा ल्याउन पहल गर्ने व्यवस्था मिलाउने ।

११. जुनसुकै एरियाका सपिङ मल, डिपार्टमेन्टल स्टोरहरु भिडभाड नहुने गरी आवश्यक सुरक्षा सतर्कता अपनाई सञ्चालन गर्ने दिने ।

१२. सङ्क्रमितको सङ्ख्या नघटुन्जेल आन्तरिक हवाइ उडान बन्द गर्ने तर परिस्थितिको सही आंकलन गरेर अवस्था हेरी आन्तरिक उडान सेवा सुचारु गर्न सकिने ।

१३. बाह्य हवाई उडानहरु तत्काललाई पूर्णरुपमा बन्द गर्नुपर्ने ।

१४. काठमाडौं उपत्यकालाई हाललाई पहेलो एरियामा राख्ने । उपत्यकाका सम्पूर्ण नाकाहरुलाई सिल गर्नुपर्ने, प्रत्येक नाकामा चेकजांच, क्वारेन्टाइनको व्यवस्था हुनु पर्ने । काठमाडौं जानको लागि दिइने पासमा कडाइ गर्ने ।

१५. काठमाडौंमा सवारी-साधनको हकमा ठूला बसहरुमात्र आवश्यक सतर्कता तथा दूरी कायम राखी सञ्चालन गर्ने । स-साना सवारी अटो, टेम्पो, टेक्सी, पूर्णरुपमा बन्द गर्ने, निजी सवारी साधनहरुलाई (मोटरसाइकलमा एकजना मात्रै ) जोर बिजोर प्रणालीमार्फत् सञ्चालन गर्न दिने ।

१६. विकास पूर्वाधार सम्बन्धी निर्माणका कार्यहरु जस्तै बाटो, पुल, ढल, खानेपानी आयोजनाहरु, नहर आदि जुनुसुकै एरियाहरुमा पनि निर्वाधरुपमा आवश्यक सतर्कता अपनाई सञ्चालन गर्ने ।

१७. पहेलो तथा रेड एरियाहरुमा भिडभाड नहुने गरी निश्चित रोटेशन मिलाएर व्यापार, व्यवसायहरु सञ्चालन गर्नेको लगि सम्बन्धित उद्योग व्यापार संघ, संगठनलाई जिम्मा दिने ।

१८. भिडभाड गराए, नगराएको आवश्यक सतर्कता अपनाए नअपनाएको अनुगमन तथा नियन्त्रण, कारवाही गर्नको अनुगमन टोली गठन गरिनु पर्ने ।

उपरोक्त सल्लाह सुझावहरु पंक्तिकारका नितान्त व्यक्तिगत विचारहरु हुन् । खासगरी यो लेख लकडाउन कस्तो मोडेलमा गर्ने भन्ने शीर्षक भएकोले पनि सल्लाह सुझावको लागि उल्लेख गरिएको हो । सङ्क्रमण बढिरहेको अवस्थामा लकडाउन नथप्नुको विकल्प छैन । तर यसलाई कसरी प्रभावकारी गराउन सकिन्छ जसले गर्दा अर्थतन्त्र पनि विस्तारै चलायमान होस् ।

यद्यपि सरकारले पनि गृहकार्य गरिरहेको छ । कोभिड-१९ पहिचान, उपचार, नियन्त्रणका सम्बन्धमा हालसम्म भए गरेका कार्यहरुबाट तीनवटै सरकारहरुले पृष्ठपोषण लिनुपर्ने देखिन्छ । पछिल्ला दिनहरुमा सीमा क्षेत्रसँग जोडिएका जिल्लाहरुका क्वारेन्टाइनहरुमा अत्याधिक चाप देखिएको छ । यो क्रम कहिलेसम्म चलिरहन्छ भन्न सक्ने अवस्था छैन । समयमा परीक्षण नभएर परीक्षण अगावै मृत्यु भएका तिता उदाहरण छन । राज्यले परीक्षणको दायरा ठूलो बनाउनुपर्‍यो । क्वारेन्टाइनमा बसेका सबैलाई पिसिआर प्रविधिबाट नै परीक्षण गर्ने व्यवस्था अबलम्वन गर्नु पर्छ । होइन भने बिरामी पहिचान नहुँदै मृत्यु हुने अर्को लज्जित अवस्था देखिन सक्छ । यद्यपि सरकारले आरडीटी परीक्षणमा होइन पिसिआर परीक्षणमा मात्रै जोड दिनुपर्नेमा जनस्वास्थ्यबिदहरुले पनि भनिरहेको अवस्था छ ।

वर्षायामको समय शुरु हुन लागेको छ । क्वारेन्टाइनलाई अझै व्यवस्थित बनाउन, गराउन तीनवटै सरकारहरु सक्रिय हुनुपर्ने देखिन्छ । सङ्क्रमित बिरामीको सङ्ख्या बढेसँगै उपचारको लागि बेडहरुको सङ्ख्या थप्नेतर्फ पनि ध्यान जानु जरुरी छ । अर्को ठूलो समस्या कोरोना भन्दा अन्य रोगबाट धेरै मानिसहरु मर्नसक्ने सम्भावना रहेको जानकारहरु बताउँछन् । जसको लागि सहज उपचारको ब्यवस्था गराउनु पर्ने देखिन्छ । बाल बच्चा, बृद्ध बृद्धा, दिर्घ रोगी, गर्ववति सुत्केरी महिलाहरुको उपचारमा पनि बिशेष ख्याल गर्नुपर्ने देखिन्छ । आम नागरिक पनि सजक र संयमित हुन जरुरि छ ।

भारतबाट आउदा तोकिएको सिमा नाका मात्र प्रयोग गर्ने, परिक्षणको नतिजा नआउन्जेल क्वारेन्टाइनमा अनुशासित भएर बस्ने, आवश्यक कामको लागि मात्र घरबाट एकजना मात्रै निस्कने, अनावश्यक काममा बाहिर ननिस्कने, दैनिक प्रयोगको लागि चाहिने सामान कम्तिमा एक हप्ताको लागि व्यवस्थापन गर्ने, बाहिर निस्कँदा मास्क अनिवार्य लगाउने, भिडभाडमा नजाने नगराउने, महामारी पहिचान, रोकथाम, उपचारमा प्रत्यक्ष संलग्न हुने सबैलाई सहयोग, उत्प्रेरणा दिने अदि । अन्तमा वैश्विक रोगबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔं ।

(लेखक व्यवस्थापन बिषयसँग सम्बन्धित छन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय