scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

भारत कोरोनाको नयाँ इपिसेन्टर बन्दै, नेपाल कसरी जोगिने ?

साझापोष्ट टिप्पणी

कोरोनाको उत्पत्ति चीनबाट भयो । वुहान कोरोनाको पहिलो इपिसेन्टर थियो । दोस्रो इपिसेन्टर युरोप बन्यो, तेस्रो अमेरिका । दोस्रो चरणमा इटाली र स्पेन सबैभन्दा बढी प्रभावित थिए । तर, युरोपका बाँकी देशहरु फ्रान्स, जर्मनी, बेलायत, टर्की, बेल्जियम आदिको स्थिति पनि निक्कै नराम्रो रह्यो । पश्चिम युरोपमा कोरोनाको संक्रमण व्यापक भइसक्दा निश्चिन्तः झैं देखिएको रुसको अवस्था अहिले निरन्तर बिग्रँदै गइरहेको छ ।

तेस्रो चरणमा अमेरिका र ब्राजिल नराम्ररी प्रभावित हुन पुगे । अमेरिकामा मात्र करिब १८ लाख बढी संक्रमित भइसकेका छन् । कूल मृतकको संख्या ३,७४,२२३ हुँदा अमेरिकामा मात्र १,०६,१९५ पुगेको छ । अहिले दोस्रो स्थानमा ब्राजिल छ र तेस्रो स्थानमा रसिया ।

कोरोनाले ३ चरणमा इपिसेन्टर परिवर्तन गर्दा दक्षिण एशिया तुलनात्मक रुपमा सुरक्षित देखिएको थियो । यसबारे अनेक विश्लेषण गरिएका थिए । दक्षिण एशियामा मान्छेको इम्युनिटी पावर बढी भएको, दक्षिणको गर्मी हावापानीमा कोरोना फैलिन वा धेरै प्रभावित गर्न नसक्ने जस्ता विश्लेषण सुनिएका थिए ।

तर, यी तर्कहरु विस्तारै अर्थहीन हुँदै गएका छन् । दक्षिण एशिया कोरोनाको चौथो चरणको इपिसेन्टर बन्ने प्रष्ट संकेतहरु देखिएका छन् । दक्षिण एशियामा अहिले गर्मीको समय हो । भारतका दक्षिणवर्ती क्षेत्रहरुमा झनै बढी तापक्रम र गर्मी हुन्छ । तर, गर्मी सिजन र लकडाउनका बाबजुद भारतमा कोरानो तीव्र गतिले फैलिँदैछ । यो टिप्पणी लेख्दासम्म भारत ७ औं स्थानमा आइपुगेको छ । करिब २ लाख संक्रमित भइसकेका छन् । मृत्यु हुनेको संख्या ५४१३ पुगेको छ । ९१,९०७ निको भएका छन् ।

भारतमा मात्र हैन पाकिस्तान र बंगलादेशको स्थिति पनि त्यस्तै छ । पाकिस्तान १८ औं स्थानमा आइपुगेको छ । करिब ७३ हजार जना संक्रमित भएका छन् भने मृतकको संख्या १५६० पुगेको छ । बंगलादेशमा करिब ५० हजार जना संक्रमित भइसकेका छन् भने मृतकको संख्या ६७२ पुगेको छ । अफगानिस्तानको पछिल्लो स्थिति राम्रो छैन । त्यहाँ १५ हजार बढी संक्रमित भेटिएका छन् र २६५ जनाले जीवन गुमाइसकेका छन् ।

दक्षिण एशियाकै यी देशसँग तुलना गर्दा नेपालको स्थिति अझै त्यति नराम्ररी बिग्रिसकेको छैन । तर दक्षिण एशिया र नेपालमा कोरोनाले वुहान, युरोप र अमेरिकामा झैं क्षति गर्न सक्दैन भन्ने विश्लेषण अर्थहीन भइसकेको छ ।

कोरोना प्रारम्भ हुँदा कूल क्लोज केसमध्ये मृतक र निको हुनेको अनुपात २२ः७८ थियो । यो अनुपातमा निरन्तर सकात्मक सुधार आइरहेको छ । अहिले यो अनुपात १२ः८८ छ । यसले के देखाउँछ भने हर्ड इम्युनिटीको प्रक्रिया लागू हुँदै गइरहेकै छ । भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानमा यस्तो अनुपात क्रमशः ५.५६ प्रतिशत, ५.२९ प्रतिशत, ५.९६ प्रतिशत छ ।

विश्वको औसत १२ प्रतिशत भन्दा यो निक्कै कम हो । यस्तो अनुपात यसअघिका इपिसेन्टर चीनमा ५.५९ प्रतिशत, इटालीमा १७.७ प्रतिशत स्पेनमा १२.१ प्रतिशत र अमेरिकामा १५ प्रतिशत छ । नेपालमा अहिलेसम्मको मृतक अनुपात ३.५ प्रतिशत मात्र छ । यो तथ्यांकलाई आधार मान्दा पनि नेपालमा अहिलेसम्म निक्कै कम क्षति भएको छ भने समग्रकै दक्षिण एशियाको मानवीय क्षति अनुपात अमेरिका र युरोपको भन्दा निक्कै कम छ ।

तर भारतमा भइरहेको तीव्र संक्रमणले भने सबैलाई चिन्तित बनाइरहेको छ । चीन, इटाली र स्पेनमा प्रारम्भिक चरणमा निक्कै क्षति भए पनि दोस्रो चरणमा उल्लेखनीय सफता पाइरहेका छन् । ती देशमा संक्रमणको दर निक्कै कम भइसकेको छ । तर भारतमा पछिल्लो हप्ता जसरी संक्रमण फैलिरहेको छ, त्यसले आउने १० दिनभित्र भारत अमेरिका, ब्राजिल, रुसपछि ४ औं स्थानमा पुग्ने सम्भावना छ ।

कोरोनोको चौथो चरणको इपिसेन्टर भारत बन्नु नेपालका लागि ठूलो जोखिम संकेत हो । नेपाल–भारत करिब १६८० किमी खुल्ला सीमाना छ । लाखौं नेपाली रोजगारीको खोजीमा भारत जान्छन् । ती धमाधम फर्किरहेका छन् । भारतमा बस्ने नेपालीलाई फर्काउने बिषयमा नेपाल सरकारले रणनीतिक कमजोरी गरेको देखिन्छ । हामीले पहिलो चरणमा नै नेपाल फर्काउनु पर्दथ्यो । त्यतिखेर भारतमा कोरोना संक्रमण एकदमै न्यून थियो । लकडाउनअघि भारतमा ५०० मात्र कोरोनाका बिरामी भेटिएका थिए । जुन दिनदेखि भारतमा रहेका नेपालीहरुलाई नेपाल प्रवेश गर्न दिइयो, त्यतिन्जेल भारतमा संक्रमणको संख्या १ लाख २५ हजार भन्दा बढी भइसकेको थियो ।

ठीक यही बेला नेपाल–भारत सम्बन्ध चिसिएको छ । त्यसबारे यो आलेखमा चर्चा नगरौं तर सम्बन्ध चिसिएको बेला समन्वय झन् कमजोर हुने भय उत्पन्न हुन्छ । लकडाउनका प्रारम्भिक दिनहरुमा भारतले त्यहाँ रहेका नेपालीप्रति जुन सद्भाव र असल व्यवहार देखाएको थियो, पछिल्लो चरणमा त्यो देखिन्न । भारतका विभिन्न प्रदेश र शहरबाट प्राप्त समाचार अनुसार भारतले नेपालीहरु घर फर्किदिए हुन्थ्यो भन्ने मनसाय प्रस्तुत गरिरहेको छ ।

रोजगारी गुमाएर परदेशमा लामो बस्न कसैलाई सहज हुँदैन । खर्चपर्चको जोहो सकिँदै गएपछि घर फर्किनुको कुनै विकल्प रहँदैन । अनौपचारिक अनुमान अनुसार करिब १० लाख मानिस भारतबाट नेपाल फर्किनेछन् । घर फर्किन पाउने उनीहरुको आधारभूत मानवीय अधिकार नै हो । तर नेपालले यो प्रक्रियालाई सहजीकरण र व्यवस्थापन गर्न सक्ला कि नसक्ला, त्यो चिन्ताको बिषय हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय