scheduleसोमवार आषाढ़ २९ गते, २०७७

जनता समाजवादी पार्टीद्वारा संविधान संशोधन विधेयक दर्ता

काठमाडौं, १९ जेठ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले संयुक्त रुपमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ ।

यी दुई पार्टीबीच पार्टी एकीकरणको सहमति भई जनता समाजवादी पार्टी बनाउने घोषणा भए पनि दल एकीकरणको प्रक्रिया पूरा नभएकाले दुई दलकै रुपमा विधेयक दर्ता गराएका हुन् ।

सोमबार गैरसरकारी विधेयकको रुपमा संविधान (दोस्रो संशोधन) विधेयक सचिवालयमा दर्ता भएको हो । संविधान संशोधन विधेयकको प्रस्तुतकर्ता राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।

दर्ता भएको विधेयकमा विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरेलगत्तै नेपालको अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था हुनुपर्ने उल्लेख छ । त्यस्तै, राष्ट्रियसभामा हरेक प्रदेशबाट ३–३ जनाको सिट संरक्षित गरेर अन्य सांसद जनसंख्याको आधारमा निर्वाचित हुनुपर्ने, नेपाली बाहेकका भाषालाई पनि संविधानको अनुसूचीमा राख्नुपर्ने, प्रदेशको सीमांकन र संघीयताबारे निर्णय लिनका लागि संवैधानिक संयन्त्र गठन गर्नुपर्ने संविधान संशोधन विधेयकमा रहेको जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रधानमन्त्री, मन्त्रिपरिषद्लगायतसँग जोडिएका आर्थिक अपचलनका मुद्दा हेर्न शक्तिशाली लोकपाल गठन गर्नुपर्ने विषय पनि रहेको नेता कर्णले बताए ।

विधेयकमा राजदूत लगायत संवैधानिक नियुक्ति समावेशी र समानुपातिक हुनुपर्ने पनि उल्लेख छ ।

यसअघि शुक्रबार सो दलले संविधान संशोधन विधेयक संसदमा दर्ता गराउन खोजेको थियो । संसद सचिवालयले अध्ययन गर्ने भनेपछि विधेयक दर्ता हुन सकेको थिएन ।

भिडियो पनिः

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय