scheduleशुक्रवार आषाढ़ १९ गते, २०७७

थर परिवर्तन गरेका बाबुरामका राजनीतिक गुरुको अनुभूति- म छिरेको कोठा धोएछन्

अर्घाखाँचीका राजु नेपाली नेपाली कम्युनिष्ट आन्दोलनको चिरपरिचत नाम हो । उनले आजभन्दा ४ दशक अगाडि नै आफ्नो थर परिवर्तन गरेका थिए । नागरिकतामा थर फेर्न पाउने कानून नेपालमा छैन । नागरिकतामा नमिले पनि उनले व्यवहारिक जीवनमा थर फेरे । आचार्य थरका बाहुन राजुले आफ्नो थर फेरेर नेपाली राखेको ४१ वर्ष बितिसकेको छ । यसै साता सदनमा डा. बाबुराम भट्टराईले रुकुम घटनाको प्रसंगमा कुरा गर्दै थर परिवर्तनको बहस सुरु गरे । कतिपयले उनले उठाएको बहसलाई हाँसीमजाकको विषय बनाइरहेका छन् ।

यसै सन्दर्भमा नाम र थरलाई व्यक्तिगत परिचयमा सीमित राख्नुपर्छ र यसलाई सामाजिक परिचय बनाउनु हुँदैन भन्ने बहसलाई आजभन्दा ४ दशक अगाडिदेखि नै व्यवहारिक रुपमा कार्यान्वयन गरिसकेका राजु नेपालीसँग साझापोस्टले कुराकानी गरेको छ । प्रस्तुत छ डा. भट्टराईलाई कम्युनिष्ट पार्टीको सदस्यता दिने उनै नेपालीको अनुभव-

दोहोरो उत्पीडनमा दलित

नागरिकतामा त परिवर्तन नहुने रहेछ । धेरै अगाडिको कुरा हो । म बाहुन नै हुँ । २०३४/३५ सालतिर अर्थात् आजभन्दा झण्डै ४१ वर्षअगाडि कुरा हो । म त्यतिबेला १८ वर्षको लक्का जवान थिएँ ।

म भारतमा थिएँ । त्यहाँ दलितलाई र खासगरी नेपाली भनेपछि एकदमै हेप्ने । दलितभन्दा तल नेपालीलाई राख्ने भारतीयहरुको चालचलन, अभ्यास र संस्कृति नै बनेको थियो । यस्तो व्यवहार मलाई मन परेन । मेरो मष्तिष्कमा चोट लाग्यो । मलाई उनीहरुलाई चुनौति दिन मन लाग्यो । ‘लौ कति हेप्छौ हेप’ भनेर मैले नामको पछाडी नेपाली लेख्न थालेँ । तिमीहरु उच्च जाति भन्नेहरुकोमा काम गर्छु म । ल कत्तिको हेप्छौ हेप भनेर मेरो नाम राजुप्रसाद आचार्य थियो । नागरिकताको नाम भक्तिप्रसाद आचार्य ।

‘आजके वाद हमारा नाम परिवर्तन हो गया, हमरा नाम आजके वाद राजु नेपाली’ भनेर घरबेटीसँग पनि छलफल बहस गरेँ । बाहिर पनि त्यसरी नै परिचय दिन थालेँ । त्यतिबेला हामी भर्खर भर्खर एकता समाज निर्माण गर्न थालेका थियौं । एकता समाजको काम गर्न जाँदा पनि नेपाली भनेपछि हेप्ने । नाम राजु नेपाली राख्दा हेपाई दोहोरो भोग्नुपर्थ्यो । एकातिर भारतीयले नेपाली भनेर हेप्ने, अर्कोतिर नेपाली समुदायले दलित भनेर हेप्ने ।

फेर्न सजिलो, व्यहोर्न गाह्रो

एउटा सोच बनाएर थर परिवर्तन थियो । तर व्यवहार सजिलो थिएन । मैले प्रतिवद्धता गरेको थिएँ मनमनै । समाज परिवर्तन सजिलो छैन । कुप्रथाविरुद्ध सामान्य प्रतिवद्धता र दृढताबाट हुँदैन भन्ने लाग्न थाल्यो । जति हेपिनुपर्थ्यो, प्रतिवद्धता त्यति नै बलियो हुँदै जान्थ्यो ।

नाम परिवर्तन गर्दा परिवारबाट खासै आपत्ति भएन । किनकि म नियमति छलफल अन्तर्क्रियामै हुन्थेँ । मेरो बुवा पहिलेदेखि नै कम्युनिष्ट विचारको हुनुहुन्थ्यो । हाम्रो घरपरिवारमा सुरुदेखि नै जातपातलाई मान्दैनथ्यौं ।

भारतमा नेपाली समुदायले पनि अर्कै व्यवहार गर्ने । नेपाल आएर पार्टी काममा गाउँगाउँ जाँदा साह्रै अपमान व्यहोर्नुपर्ने । यसरी थरकै कारण हेपिनुपरेका सयौं/हजारौं अनुभवहरु छन् । म मान्छे उही हुँ । तर, थरकै कारण समाजले गर्ने अर्को व्यवहारहरु मेरो जीवनका अनुभूतिहरु भए ।

म बसेको कोठा नै पखालिएछ

एकपटक बागलुङमा साथीको घरमा गएको थिएँ । त्यहाँ त भित्रै पस्न दिएनन् । हाम्रै जिल्ला अर्घाखाँचीको सुवर्णखालमा कार्यक्रम लिएर गएको थिएँ । बेलुका बास बस्ने बेला भयो । संकट नै आइलाग्यो । थरको कारणले बास बस्नै पाइएन । ‘खानपिन त दिन सकिन्छ बाबु । तर, बास बस्न दिन चाहिँ सकिन्नँ भने ।’

पानी परिरहेको थियो । बस्ने ठाउँ थिएन । बाहुन भनेर बस्न मन लागेन । बरु संकटको सामना गर्ने भन्ने लाग्यो । हामी तीन/चार जना थियौं । त्यसमा हिमकला गैरे पनि हुनुहुन्थ्यो । उनी अहिले माओवादीतिर छिन् । घर चितवन हो ।

‘ठिक छ, हामीलाई खान दिनुहोस् । हामी बस्न अन्त कतै व्यवस्था गर्छौं’ भनेर एउटा आरनमा गएर सुतियो । भारतमै पनि म गएर बसेको कोठा पछि पखालेर नै ‘पवित्र’ बनाएको पनि अनुभव छन् । यज्ञबल्लभ शर्माको घर बागलुङ हो । उहाँ गन्तुरमा हुनुहुन्थ्यो । मेरो साथी । उहाँले बोलाउनुभयो । म उहाँ बस्ने भारतको गुमपुर गएँ । नाम राजु नेपाली बताएँ । म निस्किएपछि साथीको आमाले कोठा नै धुनुभएछ । मेरो साथीले बाहुन हो भन्दा पनि पनि मान्नुभएनछ ।

मैले एउटा प्रतिवद्धता थियो । त्यस्ता विभेद भएपछि आफ्नो जात नभन्ने । भोगेर, व्यहोरेर जाने । ब्राम्हणवादी संस्कार कति प्रतिवद्ध छ, कति जब्बर छ भन्ने कुरा भोगेरै अगाडि बढ्ने सोचेँ ।

मैले थर परिवर्तन गर्ने निर्णय हचुवाभरमा गरेको होइन । एउटा सोचका साथ गरेको हुँ । त्यसैले यसमा मलाई पश्चात्ताप छैन । म अरुभन्दा अनुभवमा समृद्ध बन्न पाएँ । मैले एकैपटक एउटै समाजमा बाहुन र दलित भनिने दुवै जातको मानिस भएर बाँच्दा कस्तो जीवन भोग्न पाइन्छ, अनुभव सम्हाल्न पाएँ । यो मेरो जीवनको विशिष्ट अनुभव हो । मेरो घर परिवार र नजिकका साथीभाइ बाहेक अरु कसैले पनि मेरो नागरिकताको नाम थरबाट चिन्दैनन् ।

बाबुरामको कुरा बुझेनन्

संसदमा डा. बाबुराम भट्टराईले प्रतिकात्मक ढंगले एउटा कुरा गर्नुभएछ छलफलको लागि । उहाँ दलित समुदायमाथि हुने भेदभावप्रति असाध्यै चिन्तित पाउँछु । तर, उहाँको बहसलाई मानिसहरुले उल्टोरुपमा लिए । सकरात्मकरुपमा लिए मानिसहरुले जस्तो लाग्दैन । मेरै जीवनमा म स्वयम्ले भोगेको कुरा हो- थर फेर्दा पनि समाजमा धेरै रुपान्तरण हुन्छ । यसले एकातिर सामाजिक रुपान्तरण त ल्याउँछ नै, साथमा दलित समुदायका मानिसहरुले मलाई असाध्यै राम्रो व्यवहार गरे । हाम्रो समुदायबाट भएको नेता भनेर खुसी हुन्थे । असाध्यै आत्मीयता देखाउँथे ।

तर, मैले उच्च जाति भन्नेहरुकोमा जाँदा थर नेपाली भनेँ, बाहुन कहिल्यै भनिनँ । दलित समुदायकोमा जाँदा मैले कहिल्यै आफू दलित समुदायको हो भनेर ढाँटिनँ । त्यो एकप्रकारले भावनात्मक अत्याचार हुन जान्थ्यो । अहिले पनि दलित समुदायका विभिन्न राजनीतिक सामाजिक संघ संगठनहरुले मलाई आत्मीयता दर्शाउँछन् । चिन्छन् । सम्झन्छन् ।

दलित समुदायभित्रै ब्राम्हणवाद

तर, दुःखको कुरा दलिय समुदाय भित्र पनि एकप्रकारको ब्रम्हाणवाद छ । कामी, दमाई र सार्कीको बीचमा पनि एकआपसमा छुवाछुत नगर्ने, छोएको नखाने चलन छ । उच्च जातिले छुवाछुत तोड्न तयार हुँदा दलित समुदायले पनि त्यसलाई तोड्न तयार हुनुपर्‍यो नि !

यस्तो किन हुन्छ ? म एउटा उदाहरण दिन्छु । उहाँ बित्नुभयो । दलित आन्दोलनका अगुवा, संगीतकर्मी, पत्रकार, नेता सबै भूमिकामा सफल थमन परियार । प्रवासमा एउटै संगठनमा उहाँ कोषाध्यक्ष म महासचिव भएर काम गरेका थियौं । उहाँ आफैं राम्रो पढेलेखेको मान्छे । उहाँसँग मैले दलित समुदायभित्रै रहेको ब्राम्हणवादबारे कुरा गर्ने गर्थेँ ।

राजु नेपाली

उहाँ भन्नुहुन्थ्यो- हेर्नुहोस् राजुजी, हाम्रा मान्छेहरुलाई जतिसुकै धनी, जतिसुकै सम्पन्न भएपनि चिन्तन, दृष्टिकोण छ, उहिलेका ब्राम्हणहरुले हालिदिएको यो चिन्तनबाट माथि नउठ्दासम्म जतिसुकै राम्रो बनाएर माथि लगे पनि काम छैन । उदाहरणको लागि- एउटा गरिब बाहुन वा क्षत्री हुन्छ । जो एकदमै गरिब हुन्छ । बाटोमा हिंड्दा चुरोट पिउन मनलाग्यो भने उसले सापटी मागेर वा उधारोमा चुरोट किनेर पिउँछ । तर, एउटा दलित समुदायबाट छ । खल्तीभरी सिङ्गै चुरोटको बट्टा हुन्छ । तर, एउटा उच्च जातिको भनिने मानिस भेट भयो भने ‘जदै हजुर एउटा ठूटो पाउँन’ भन्छ । त्यसैले चिन्तन प्रणालीमै फेरबदल ल्याउनुको विकल्प छैन । म यतिबेला उहाँलाई सम्झन चाहन्छु ।

भारतमा भेट

कोलम्बो प्लानअन्तर्गत उहाँ पढ्न चण्डीगढ आउनुभयो । अखिल भारत नेपाली एकता समाज हामीले सन् १९७९ मा गठन गरेका थियौं । १९८० तिर होला विद्यार्थीको कार्यक्रम लिएर हामी उहाँहरुलाई भेट्न गयौं । उहाँहरुले तत्कालीन राजदूत बेदानन्द झाद्वारा विद्यार्थीको कार्यक्रम उद्घाटन गराउनुभयो । त्यतिबेला विद्यार्थी संगठन प्रगतिशील भइसकेको थिएन सम्भवतः हुनहुन लागेको थियो ।

त्यो भेटपछि हाम्रो भेट बाक्लिन थाल्यो । त्यो खुल्नुभन्दा अघि मैले दिल्लीमा नेपाली समाज, विदेशमा नेपाली दुईटा पत्रिका निकालिसकेको थिएँ । म सम्पादकको भूमिकामा थिएँ । त्यसपछि बल्ल एकता समाज बनेको हो । भेटघाट कुराकानीको क्रममा बिस्तारै सम्बन्ध बन्न थाल्यो । त्यतिबेला मोहनविक्रम नेतृत्वको पातलो मसालमा थियौं हामी ।

बाबुरामजीलाई पार्टी सदस्यता दिन लामै समय लागेको थियो । लामै छलफल बहसको क्रममा एकता केन्द्रको किताब, कम्युनिष्ट पार्टीका किताब दिन्थ्यौं । उहाँले धेरैपछि- तपाईंहरुसँग काम गर्न तयार छु भन्नुभयो र एकता समाजको सदस्य हुनुभयो ।

पछि कम्युनिष्ट पार्टीको सदस्य हुनुभयो । एकता समाजको पश्चिम-उत्तर क्षेत्र भनेको पञ्जाबतिरको अध्यक्ष पनि हुनुभयो । पछि दिल्ली कमिटीको पार्टीको सचिव हुनुभयो । मैले उहाँलाई कम्युनिष्ट पार्टीको सदस्यता दिएको हुँ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय