scheduleमगलवार आषाढ़ २३ गते, २०७७

ट्रम्प, मोदी र ओलीको ‘डेमागग’ शैलीले निम्त्याएको संकट

साझापोष्ट टिप्पणी

एक साता यता अमेरिका अशान्त छ । कोरोनाको तीव्र संक्रमण, लकडाउन र कर्फ्यूबीच देशका सबैजसो शहरमा जनप्रदर्शन भइरहेका छन् । हज्जारौंहज्जारको संख्यामा मानिस सडक निस्किएका छन् । प्रदर्शनहरुमा हिंसा भड्किएको छ दर्जनौं आगजनीका घटना भएका छन् । प्रहरीले प्रदर्शनकारीलाई अमानवीय ढंगले पिटेका, दमन गरेका भिडियो क्लिप्सहरु विश्वव्यापीरुपमा भाइरल भइरहेका छन् ।

मे २५ मा मिनासोटा पुलिसले गरेको एक हत्याबाट यो प्रदर्शन भड्किएको हो । अवश्वेत नागरिक जर्ज फ्लोइडलाई गिरफ्तार गर्ने क्रममा श्वेत प्रहरी अधिकृत डेरेक चौभिनले ८ मिनेट ४६ सेकेन्डसम्म जर्जको घाँटीमा घुँडाले थिचेका थिए । फ्लोइडमाथि २० डलरको जाली नोट चुरोट किन्ने क्रममा पसललाई दिएको आरोप थियो । यो घटनापछि फ्लोइडको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट मे २६ देखि अमेरिकाका २०० बढी शहरमा जनप्रदर्शन भड्कियो ।

शुरुमा घटनालाई लुकाउने प्रयास गरियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीलाई ‘थङ’ भनेर गाली गरे । अन्ततः प्रदर्शन ह्वाइट हाउस अगाडिसम्म पुग्यो । अहिले २० बढी राज्यहरुमा कर्फ्यू लगाईएको छ । ५००० बढी नेश्नल गार्ड प्रदर्शन नियन्त्रण गर्न प्रयोग भइरहेको छ । प्रदर्शन नरोकिए सेना परिचालन गर्ने धम्की राष्ट्रपति ट्रम्पले दिएका छन् ।

अमेरिका अहिले सर्वाधिक कोरोना प्रभावित देश हो । संक्रमित संख्या करिब १९ लाख पुगेको छ । १ लाख ९ हजार ९२५ को निधन भइसकेको छ । अमेरिकामा कोरानाबाट मर्ने र निको हुनेहरुको अनुपात विश्वको औसत दरभन्दा माथि छ । विश्वको औसत मृत्युदर १२ प्रतिशतमा झरिसक्दा पनि अमेरिकामा यो दर अझै १५ प्रतिशत छ । कोरोना संक्रमितहरुले राम्रो स्वास्थ्य सेवा नपाएको कारणा यस्तो स्थिति उत्पन्न भएको हो ।

फ्लोेइडको हत्यालाई ट्रम्पको नश्लवाद सोचले राज्य संयन्त्रलाई गाँजेको अर्थमा हेरिंदैछ । त्यसलाई अल्पसंख्यक अश्वेतमाथि गरिएको दमनको उदाहरण मात्र हैन, आमनागरिक माथि राज्यको संवेदनाहीन व्यवहार ठानिएको छ । तर, ट्रम्पले कुनै सहानुभूतिपूर्ण शब्द प्रयोग गरिरहेका छैनन् । उल्टै प्रर्दनकारीहरुलाई धम्की दिइरहेका छन । ट्रम्पको यस्तो व्यवहार र अभिव्यक्तिले जनअसन्तुष्टिलाई झनै भड्काएको छ । यहाँसम्म कि होस्टन प्रहरी प्रमुखले समेत राष्ट्रपति ट्रम्पको आलोचना गर्दै ‘यदि उनीसँग जनतालाई भन्न कुनै रचनात्मक कुरा छैन भने मुख बन्द गरेकै राम्रो’ टिप्पणी गरेका छन् ।

ट्रम्प आफ्नो पहिलो कार्यकालको अन्तिम वर्षमा छन् । सामान्यतया अमेरिकी राष्ट्रपतिहरु २ कार्यकाल निर्वाचित हुने गरेका छन् । तर ट्रम्पको शासकीय भविष्यबारे शंका गरिदैछ । ट्रम्पको शासन प्रारम्भदेखि नै गैरजिम्मेवार र असंवेदनशील प्रकारको गुनासो थियो । लिंकन, रुजबेल्ट, केनेडी, ओबामाजस्ता राष्ट्रपति पाएको देशमा ट्रम्पजस्ता सनकी कसरी निर्वाचित हुन सके भन्ने प्रश्न बारम्बार उठ्ने गरेको थियो ।

सन् १९९० मा नउवदारवादी चिन्तन हावी भएको दाबी थियो । तर सन् २०१० पछि विश्वव्यापी रुपमा दक्षिणपन्थी सोच हावी हुँदै गयो । उच्च जातीय तथा धार्मिक नश्लवादी, अन्धराष्ट्रवादी ‘डेमागग’हरु विश्वव्यापी रुपमा देखा परे । त्यसअघि सीमान्तकृत समुदायका आन्दोलनलाई समाजको मूलधारले न्याय, समावेशिता र प्रगतिशीलताको आन्दोलन मान्दथ्यो । नश्लवादी ‘डेमागग’ हरुको उदयसंगै बहुसंख्यक बर्चश्वशाली समुदायको मनोविज्ञानलाई उत्तेजित र अल्पसंख्यकहरुलाई निन्दा गर्न थालियो । फ्लोइडको हत्यामा यही सोच अभिव्यक्त भएको जनताले ठाने । अन्यथा २० डलरको निहुँमा सार्वजनिक रुपमा घुँडाले घाँटी थिचिथिचि मार्नु पर्ने कुनै कारण थिएन ।

जर्ज फ्लोइड शहरमा सबैले चिन्ने सम्मानित नागरिक थिए । उनी खेलाडी र प्रशिक्षक थिए । कोरोना र लकडाउनले रोजगार गुमाएका फ्लोइड आर्थिक संकटमा थिए । उनमा हल्का मानसिक असन्तुलन देखिन थालेको थियो । फ्लोइडमा देखिएको यो मनोदशामा उनी व्यक्तिगत रुपमा मात्र जिम्मेवार थिएनन् । उनको अपराध गिरफ्तारी गरी कानुनी कार्वाही प्रारम्भ गर्न सकिने सामान्य प्रकृतिको थियो ।

डेमागगहरु बहुसख्यक वर्चश्वशाली समुदायको मनोविज्ञानलाई आफ्नो राजनीतिक भविष्यको आधार ठान्दछन । ट्रम्पको यो चरित्र भारतमा नरेन्द्र मोदीमा हुबहु छ । भारतमा भाजपा नेता तथा कार्यकर्ताहरु दैनिक अल्पसंख्यक र मुस्लिम समुदायलाई गाली गरिरहेका हुन्छन् । यहाँसम्म कि कोरोना संकट र लकडउनाको बीचमा पनि मुस्लिम समुदायमाथिको निन्दा तथा घृण अभियान जारी थियो । कोरोना छिटो फैलिनुमा मुस्लिम समुदायका चालचलन र धार्मिक संस्कार जिम्मेवार रहेको प्रचार गरिदै थियो । कोरोना प्रारम्भ हुनु भन्दा ठीक अघि नागरिकता विधेयकलाई लिएर भड्किएका हिंसामा दिल्लीमा मात्र ६० बढी मुस्लिमहरु मारिएका थिए ।

भारतमा भाजपा नेतारु खुलेआम भाषण गर्दछन्, ‘मुुस्लिमको गीत गाउने हो भने पाकिस्तान जाऊँ, हामी मुस्लिमको भोट बिनै पनि चुनाव जित्न सक्छौं ।’ भारतमा ८० प्रतिशत बढी हिन्दुहरु छन । भाजपाले आफूलाई ‘हिन्दु राष्ट्रवादी’ दल भन्ने गर्दछ । ट्रम्पको रिपब्लिकन पार्टी कुनै समय अब्राहम लिंकनजस्ता व्यक्तित्वले स्थापना गरेका थिए, जसले दासप्रथाको अन्त्य गरेको थिए । अमेरिकामा ट्रम्प जसरी गोरा राष्ट्रवादको आडमा राज्यलाई नश्लीय चरित्रतिर धकेल्दैछन् र रैथाने गोराहरुको बाहेक अरु कसैको भोट आफूलाई नचाहिने बताउँदैछन्, ठीक त्यही दृष्य भाजपाको हिन्दू राष्ट्रवादमा देखिन्छ ।

ठीक यही बला नेपालको पश्चिम रुकुमको चौरजहारीमा सोती घटना भएको छ । जातीय विभेद र हिंसासंग जोडिएको यो घटना पनि कुनै न कुनै रुपमा अल्पसंख्यकमाथिको दमनकै रुप हो । अझ यो घटनामा सत्तारुढ नेकपामा स्थानीय नेता तथा वडाध्यक्ष मात्र जोडिएका छैनन, त्यो क्षेत्रका संघीय सांसदले समेत अपराधीहरु जोगाउन राज्यसत्ताको दुरुपयोग गरिररहेको आरोप स्थानीय जनसमुदायको छ । कोरोना लकडाउन बीच पनि यो घटनाले नेपाली समाजलाई मनोवैज्ञानिक रुपमा विभाजित गरेको छ । सोती सामुहिक हत्याकाण्ड विरुद्ध जनप्रदर्शनहरु भइरहेका छन ।

अमेरिकाको रिपब्लिकन, भारतको भाजपा र नेपालको नेकपा विल्कुल फरक दार्शनिक धारका दलहरु हुन् । रिपब्लिकन लिवरल कन्जर्भेटिभ पार्टी हो, भाजपा हिन्दू राष्ट्रवादी र नेकपा साम्यवादी । तर, यी दलहरुको चरित्र, सोच र शासकीय स्वभाव हेर्दा खासै फरक देखिँदैन ।

नेपालका ओली पनि अमेरिकाका ट्रम्प र भारतका मोदीझैं अल्पसंख्यकहरुको आन्दोलनलाई निन्दा र घृणा गरेर सत्तामा आएका हुन् । उनी संघीयता र समावेशिताको आन्दोलनलाई सर्वथा घृणा गर्दछन् । आज पनि उनी संविधानको एक आधारस्तम्भ संघीयताबारे आफना कुनै पनि सम्बोधनमा भरिसक्य उल्लेख गर्दैनन् भने आरक्षण र समावेशिताको कानूनलाई कमजोर पार्न सकेसम्म प्रयत्न गरिरहेकै हुन्छन् ।

अमेरिकामा जस्तै भारत र नेपालमा पनि कोरोना संकट तीव्र हुँदै गइरहेको छ । भारत कोरोना क्षतिको सुचीमा ७ औं स्थानमा आइपुगेको छ भने नेपाल उच्च क्षति हुने १०० देश भित्र परिसकेको छ । ट्रम्प लकडाउनको पक्षमा थिएनन् । मोदी र ओलीले बेलैमा लकडाउन गरे पनि त्यसको खासै व्यवहारिक व्यवस्थापन गर्न सकेनन् । विपक्ष वा नागरिक समाजमा सुझाव लिन आफ्नो शाकसीय दम्भमाथिको अपमानजस्तो ठान्ने डेमागग शैली ट्रम्प र मोदीभन्दा ओेलीमा कम थिएन ।

मूलतः नेपाल भारत सीमा व्यवस्थापन, अलपत्र नागरिकको उद्धार र लकडाउनका बेला नागरिकलाई चाहिने सहयोग प्याकेजप्रति ओली सरकार उदासिन रह्यो । यी करणले गर्दा लकडाउनका बाबजुद नेपालमा कोरोनाको दर निक्कै तीव्र भएको छ । सम्पूर्ण ध्यान र शक्ति कोराना नियन्त्रण र जनसमस्याको समाधानतिर लगाउनु पर्ने बेला ओली सरकार राजनीतिक दाउपेज, अध्यादेश र पार्टी फाड्ने फोडाउने फोहरी खेल तिर लाग्यो । कोराना संकटकै बीचमा मोदीले मध्यप्रदेशको प्रादेशिक सरकार गिराएका थिए । ओलीले त्यही सिको गर्न खोजे तर आफैलाई प्रत्युत्पादक भयो ।

कोरोनाले निम्त्याएको स्वास्थ्य संकट, मानवीय तथा आर्थिक संकट विस्तारै राजनीतिक संकटको रुपमा देखा पर्न थालेको छ । यो संकटले घृणा र प्रतिक्रियाको राजनीति गर्ने कमजोर व्यवस्थापकीय क्षमता भएका डेमागगहरुको राजनीतिक भविष्य समेत संकटमा पर्ने देखिएको छ । ट्रम्प अमेरिकाको इतिहासमै सर्वाधिक असजिलो सामना गर्दैछन् । लकडाउनपछि मोदीको लोकप्रियता निक्कै घटेको बताइन्छ । नेपालमा ओलीको सरकार पतनको चरमचुलीमा पुगिसकेको थियो, कालापानी विवाद र धन्न चुच्चे नक्साले उनको सत्ता संकटलाई केही पर धकेलदिएको छ ।

सन् २०१० मा देखापरेको अन्धराष्ट्रवाद, बहुसंख्यक बर्चश्वशाली समुदायको मनोविज्ञानमा खेल्ने चुनावी रणनीति, पपुलिज्म र डेमागग शैली एक दशक नबित्दै विश्वव्यापी संकटको चपेटामा परेको छ । कोरानाको अन्त्यसंगै विश्वले उदार, उदात्त मानवीय भावना, जनउत्तरदायी शासनशैलीको युगमा कोल्टे फेर्न अनिवार्य भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय