scheduleआइतवार आश्विन ११ गते, २०७७

भारतीय सीमाबाट प्रवेश गरी क्वारेन्टाइनमा बसेकाहरुको दुई साताभित्र पीसीआर परीक्षण गर्नुः उद्योग समिति

फाइल फोटो

काठमाडौं, २० जेठ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले भारतीय सीमाबाट नेपाल प्रवेश गरी क्वारेन्टाइनमा बसेका नेपालीहरुको दुई साताभित्र पीसीआर परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले नेपाल भित्रिएको लामो समयसम्म पनि पीसिआर जाँच नभएको गुनासो आएको भन्दै नेपाल आएको दुई साताभित्र पीसीआर परीक्षण गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले विदेशबाट आउने अशक्त, महिला, गर्भवती महिला, जेष्ठ नागरिक लगायतको पनि निःशूल्क स्वास्थ परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले बिभिन्न देशबाट नेपाल फर्कने र नेपालभित्र रहेका श्रमिकहरुको लागि रोजगारीको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ । नेपाल आउनैपर्ने अवस्थामा नेपाल ल्याउने सरकारको निर्णयलाई स्वागत गर्दै कोरोना नियन्त्रणका लागि सशक्त रुपमा अघि बढ्न पनि सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल ल्याई व्यवस्थापन गर्ने बिषयमा तयारी भइरहेको जानकारी दिए । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार न्यौपानेले नेपाल एयरलाइन्सका ४ र हिमालयन एयरलाइन्सका ४ वटा विमानहरु तयारी अवस्थामा रहेको बताउँदै आवश्यक परे अन्य निजी क्षेत्रका विमानबाट पनि विदेशमा रहेका नेपालीलाई उद्धार गरिने बताए ।

समिति सदस्यहरुले विदेशमा समस्यामा रहेकाहरुलाई नेपाल ल्याएपछि सुरक्षित स्थानमा राख्नुपर्ने बताएका थिए । उनीहरुले चौरमा क्वारेनटाइन बनाउन नहुने सुझाव दिएका थिए ।

बैठकमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले केही दिनभित्रै खाडी मुलुकबाट आउने श्रमिकहरुको आधिकारिक तथ्याङ्क आउने जानकारी दिए । अन्य देशको तथ्याङ्क आउन भने केही दिन लाग्ने उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय