scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

सर्लाहीमा थप २१ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १३१ पुग्यो

एसपी यादव/सर्लाही, २० जेठ । मंगलबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पिसिआर रिपोर्टको नतिजाअनुसार सर्लाहीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी गराएका छन् ।

सर्लाहीको बलरा नगरपालिकामा ९ जना र ब्रह्मपुरी गाउपालिकामा १२ जना गरी जम्मा २१ जनामा कोरोना भाइरसको संक्रमण रहेको प्रजिअ जिसिले बताए ।

पुष्टि भएका संक्रमितहरु रोजगारीको सिलसिलामा भारतमा बस्दै आएको र केही दिन अगाडी मात्र भारतबाट उनीहरु आफ्नो घर सर्लाहीस्थित आआफ्नो पालिकामा आएका थिए ।

प्रजिअ जिसिका अनुसार, उनीहरु आउनासाथ घरमा प्रवेश गर्न नदिइएको र पालिकाको क्वारेन्टाइनमै राखिएको थियो । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । र, उनीहरुलाई व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको जनाएका छन् ।

सर्लाहीको सदरमुकाम समेत रहेको मलङ्ग्वा नगरपालिकाको वडा नं. २ मा रहेको सन्त अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजमा बनाइएको ५० बेडको एक मात्र आइसोलेशन वार्ड भरिएको छ । सर्लाहीमा दिनानुदिन कोरोना भाइरसको संक्रमितहरु बढिरहेको अवस्था छ । नयाँ संक्रमितहरुलाई तत्काल व्यवस्थापन गर्नका लागि जिल्लाका प्रशासनिक निकायहरूलाई हम्मे हम्मे परेको छ ।

यससँगै सर्लाहीमा कोरोना भाइरसको संक्रमितको संख्या बढेर १३१ पुगेको छ । यसअघि सर्लाहीमा ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय