scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

खाल्डोमा कृषक की तरकारी !

रुद्रप्रसाद भट्ट

नेपाल कृषिप्रधान देश हो । नेपालमा पुस्तौंदेखि पढाईने बिषय यहि हो । तर बिडम्बना, यो कुरा किताबको पानाभन्दा बाहिर अनुभूति गर्न पाईएको छैन । दलका वरिष्ठ नेता मात्रै होईन, परिआउँदा उपप्रधानमन्त्री र मन्त्री भैसकेका ब्यक्ति यहाँ किसान संघ र महासंघको अध्यक्ष हुन्छन् । रोपाईं महोत्सवमा पानी जुत्तासहित खेतमा देखिने र विदेशमा हुने कृषक सम्मेलनमा पुगेर संसारभरका कृषकका सामु कृषि क्रान्तिका भाषण दिने पनि उनै नेता हुन् ।

तर, स्वदेशमा हुने कृषि कार्यक्रम र केहि भाते गोष्ठीको मुख्य वक्ता र अतिथी हुन पनि तीनै नेता वा मन्त्री नै आईपुग्छन् । वर्षभरि दुःख गर्ने कृषकलाई सम्मान पनि तिनैले गर्दछन् । तीनलाई न कृषि थाहा छ न कृषको पीडा । तिनैले नेतृत्व गरेको सरकारले हरेक वर्ष बजेट ल्याउँछ । बजेटमा उच्च घरानियाँ, माफिया, दलाल र भ्रष्टलाई कसरी सहुलियत दिन सकिन्छ भनेर हेर्छ तर गरिब किसानलाई बीउ र मलसम्म दिँदैन । साँच्चै भन्दा बजेट बनाउने समयमा कृषि भन्ने शिर्षकमै धेरैको लडाईंं हुन्छ त्यो पनि कृषिमा बजेट बढाउन होईन घटाउन । बजेटमै ठगिएको कृषि क्रान्ति अन्ततः कृषकको उत्पादन नबिक्ने र विदेशी उत्पादन सजिलै नेपाल भित्रिने अवस्थामा पुगेर माटोमै विलिन हुन्छ ।

भर्खरै पोखरामा एउटा दुःखद घट्ना घट्यो । धेरैले यसलाई मजाकको बिषय पनि बनाए । कतिले बुझेर वा नबुझेरै फेसबुकका भित्ता रंगाए । पोखरा महानगरका एकजना वडा अध्यक्षले धादिङ र चितवनबाट लगिएको तरकारी खाल्डोमा पुरिदिए । कारण थियो “कोरोना” । धादिङ र चितवनमा फलेका तरकारी खायो भने कोरोना लाग्छ भन्ने कुरा वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेललाई कसले भनिदियो थाहा छैन । तर उनले ईटली, ब्राजिल र अमेरिकामा कोरोनाबाट मृत्यु भएकाको शव गाडेजस्तो हरियो तरकारी खाल्डोमा पुरिदिए ।

धादिङ र चितवनबाट लगिएको भनिएको उक्त तरकारीमा कोरोना छ र त्यो खान हुँदैन भनेर कुन जनस्वास्थ विज्ञले प्रमाणित गर्नुभयो र कुन प्रयोगशालामा त्यसको परीक्षण गरियो त्यो खुलाईएको छैन । तर त्यसमा कृषकको मेहनत र पसिना क्षणभरमै माटोमा विलिन गरियो । यदि वडा अध्यक्ष जिम्मेवार जनप्रतिनिधि हो र जनताको स्वास्थप्रति साँच्चिकै संवेदनशील भएर यो काम गरेका हुन् भने उनीसँग त्यो तरकारी नष्ट गर्नुपर्ने कारण खुलाईएको खाद्य प्रयोगशालाको सर्टिफिकेट पक्कै छ होला र त्यो कुन जनस्वास्थ्य विज्ञले जाँच गरेको हो सार्वजनिक पनि हुनुपर्छ ।

यदि वडा अध्यक्षले दुईतिहाईको फुँई लगाएर तरकारी नष्ट गरेका हुन् भने उनी र त्यसका मतियार बनेकालाई २४ घण्टाभित्र कारबाही हुनुपर्छ । एउटा ब्यक्तिको सनकको भरमा कृषकमारा काम गर्नु अपराध हो की होईन ? अहिले लकडाउनका कारण धेरै मानिसहरु खान नपाउने अवस्थामा पुगिसकेका छन् । यसरी आफ्नै माटोमा उत्पादन भएका तरकारी वा फलफूल खाल्डोमा पुरेर के भारतीय बजारबाट ल्याईएका तरकारी खान प्रेरित गर्न खोजिएको हो ? राष्ट्रवादको नारा दिएर नथाक्ने वर्तमान सरकार र सरकारको नेतृत्व गरेको पार्टीका प्रतिनिधिले यसरी गाउँको उत्पादनलाई खाल्डोमा पुरेर के सन्देश प्रवाह गर्न खोजेका हुन् ? यो जान्ने अधिकार ती कृषकलाई छ की छैन ?

नाममा राष्ट्रवादी काममा भारतीय चाकरी कहिलेसम्म जनताले पत्याईरहने ? धादिङ र चितवनमा उत्पादन भएका केरा, करेला, भेण्डी, घिरौंला, फर्सी र गोलभेंडामा कोरोना देख्ने हाम्रा जनप्रतिनिधिको घरमा भारतीय बजारका तरकारी, आँप, लिची र स्याउ सुन्तला छन् की छैनन् ? कम्तीमा कुनै कुरा नष्ट गरिँदैछ भने त्योभन्दा अगाडि के कारण खान योग्य नभएको हो ? कुन बिषादी प्रयोग भएको हो ? त्यसले मानव स्वास्थ्यमा कस्तो असर गर्छ र त्यसलाई कहाँ जाँच गरिएको र कसले जाँचेको जानकारी सहितको मुचुल्का गरेर नष्ट गर्नुपर्ने होईन ? पोखराको तरकारी पुरेको घटनामा वडा अध्यक्षले यी सबै प्रक्रिया पूरा गरेका थिए त ?

रुद्रप्रसाद भट्ट

आफू सर्बेसर्बा अध्यक्ष अनि महानगर प्रमुख आफ्नै पार्टीको, प्रदेश सरकारका कृषिमन्त्री आफ्नै पार्टीको, प्रदेश मुख्यमन्त्री आफ्नै पार्टीको अनि झण्डै दुई तिहाईको नेतृत्व गरेको सरकार आफ्नै पार्टीको भएपछि मलाई कसले छुन सक्छ भन्ने दम्भ हो भने कृषक सडकमा आएको दिन तिमीले यी सबैकुराको मूल्य चुकाउनुपर्नेछ ।

देशभर लकडाउन छ । दैनिक कमाएर खानुपर्ने जनताले लकडाउन पालना गरेका छन् । तिनलाई कतै निस्कन निजी सवारी साधन छैन । साधन हुनेले पास पाउँदैन, पास बनाउन पहुँच छैन । तर, सरकार, प्रतिपक्ष अनि राजनीतिक नेता र सुरक्षा प्रमुख जोडिएका वा उनका नजिकका नातेदार र साझेदारले सञ्चालन गरेका कुनैपनि व्यवसाय बन्द छैन । तीनका सवारी पनि चलेकै छन् । आज वडाअध्यक्षदेखि, गाउँपालिका, नगर, महानगर प्रमुख र संघीय सांसद, मन्त्रीका आफन्तका डोजर, ट्रिपर, अत्यावश्यक ढुवानीका नाममा ट्रक र परिआए एम्बुलेन्स पनि निजी प्रयोगमा चलेकै छन् । तर कृषकले उत्पादन गरेको तरकारी बजार पठाउन सहज छैन ।

अर्कोतर्फ मल, बिउ, किटनाशक औषधि नपाएर पनि खेतबारीमा अहोरात्र खटेका कृषकका उत्पादनलाई यसरी खाल्डोमा पुर्दै जाने हो भने हामीले “आई लव नेपाल”को टिसर्ट लगाएर नेपाली झण्डा उचालेको फोटो फेसबुकमा राखेर अमेरिकी डिभी भर्न साईबर क्याफे दौडनु जस्तै हो ।

वास्तवमा, खाडलमा नेपाली किसानको तरकारी होइन, नेपाली किसान र उनीहरुको सपना पुरिएको हो । भारतीय तरकारी खाएर नेपाली तरकारीलाई खाडलमा पुर्नेले तरकारी होइन, खाडलमा सिंगो नेपालीको सपना पुरिरहेका छन् ।

तसर्थ, यस्ता हर्कत गर्ने वडा अध्यक्षलाई समयमै सचेत गराउन नसक्ने हो भने भोलि कृषकले आत्महत्या गरेका समाचार पढ्ने र जीवन शर्माको ‘बुढो किसान…’ गीत सुन्ने नक्कली राष्ट्रवादी मात्रै हुनेछौं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय