scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

लकडाउनले साइकल चलाउने बढे

चितवन, २० जेठ । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई हिजाेआज दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम्दा कहिले काही १ घण्टा ३० मिनेट पनि लाग्ने गर्दछ । अरु साथी पनि थपिने गरेका छन् ।

लकडाउनसँगै शारीरिक तन्दुरुस्तीका लागि व्यायाम गर्न उनीहरुले साइकल यात्रा गर्न थालेका हुन् । गियर र ब्राण्डेट साइकल चढेर हिँड्नेको सङ्ख्या लकडाउनसँगै बढेको छ । लकडाउनमा घरमा बस्दा मोटोपन बढ्ने र रोगको खतार भएसँगै साइकल यात्रा गर्नेहरुको सङ्ख्या बढेर गएको हो ।

लकडाउनमा साइकल चलाउँदा रोकतोक नहुने र शारीरिक अभ्यास राम्रो हुने भएकाले नियमित साइकल चलाउने बढेका हुन् । यससँगै साइकलको व्यापार पनि बढेको छ । बजारमा साधारणको तुलनामा सौखिन खालका साइकल निकै बिक्री हुने गरेका छन् । साइकल व्यवसायी सङ्घ चितवन–नवलपुरका निवर्तमान अध्यक्ष धर्मराज सापकोटा जेठ महिनामा मात्र चितवनमा ९०० हाराहारी साइकल बिकेको बताउँछन् ।

चितवन र नवलपुर जिल्लामा साना ठूला गरी ५०० हाराहारी साइकल पसल छन् । ती पसलबाट साधारण र विभिन्न ब्राण्डका गियरवाला साइकल बिक्री हुने गरेका छन् । व्यवसायीका अनुसार यहाँको बजारमा रु ६ हजार ५०० देखि दुई लाख ५० हजारसम्मका साइकल बिक्ने गरेका छन् । सापकोटाको भनाइमा सबैभन्दा बढी रु ४० हजार देखि ७० हजारसम्मका साइकल अहिले बिक्री हुने गरेका छन् ।

सङ्घका अध्यक्ष श्यामप्रसाद खरेल शारीरिक तन्दुरुस्तीका लागि साइकल किन्नेहरु बढेको बताउछन् । उनका अनुसार कृषक, मजदुर, विद्यार्थी, बालबालिकाले किन्ने साइकल बिक्री भएका छैनन् ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारी साइकल चलाउनु व्यायाम मध्येको राम्रो हो भन्छन् । यसले मानसिक र शारीरिक दुवै तन्दुरुस्त गर्न सहयोग पु¥याउने उनकाे भनाइ छ । स्थानीय सरकारले फराकिला सडकमा साइकल लेन बनाउन शुरु गरेका छन् । भरतपुर महानगरपालिकाले हालै मात्र दुई वटा सडकमा साइकल लेन बनाउँदै छ ।

साइकल आवश्यकतादेखि सोखिनसम्मको चाहना बन्ने गरेको छ । यस जिल्लामा साइकल नजान्नेहरु कम हुने गर्दछन् । बालबालिकादेखि वृद्धवृद्धासम्मले यहाँ साइकल चलाउने गर्दछन् । पहिले पहिले विवाहमा दाइजो साइकल दिने गरिन्थ्यो । त्यो क्रम भने घटेर गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय