scheduleसोमवार आषाढ़ २२ गते, २०७७

क्वारेन्टाइन भनेको शरणार्थी शिविर होइन

डा. शरद वन्त

कोरोना प्रकोप यो शताब्दिमा हामीले भोगेको अत्यन्तै विशिष्ट प्रकृतिको प्रकोपको विश्वव्यापी प्रकोप हो । पछिल्लो प्रकोप आजभन्दा १०० वर्ष अगाडि मानव समाजमा देखिएको थियो । त्यसले ४ करोडभन्दा बढी मानिसहरुको ज्यान लियो । १०० वर्षअगाडि ४ करोड मानिसको ज्यान लिनु भनेको चानचुने कुरा थिएन । त्यसपछि पनि थुप्रै प्रकोपहरु आए तर पनि कोरोना भाइरसको प्रकोप अलि विशिष्ट हो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी र हाम्रो देशको स्वास्थ्य प्रणाली जोडिएरै जान्छ । यतिबेला अन्तर्राष्ट्रिय तहमा पनि स्वास्थ्य प्रणालीकै बारेमा बहसहरु भइरहेका छन् । त्यसैले यी कुराहरु जोडिनु सान्दर्भिक पनि हुन्छ । प्रकोपका बेग्लाबेग्लै पक्षहरु छन् । यसका खासगरी चारवटा फरकफरक आयामहरु छन् ।

पहिलो, यसको प्राविधिक पाटो अर्थात् जैविक आयाम हो । यसको बायोलोजी कस्तो छ ? यसको संक्रमणको प्रकृति कस्तो हो ? यो कति बलियो छ, कति दुर्बल छ ? हाम्रो शरीरको योसँग कस्तो प्रतिक्रिया हुन्छ ? यसको औषधि के हो ? यसको खोप के हुनसक्छ ? यी यसका प्राविधिक पाटाहरु हुन् ।

अहिले विश्व स्वास्थ्य संगठन र संसारका हजारौं हजार वैज्ञानिकहरु यी पाटोहरुलाई केलाउन व्यस्त छन् । यी विषयहरु अहिलेसम्म स्पष्ट भइसकेका छैनन् । यसका धेरै अस्पष्टताहरु छन् । यसको माइक्रोबायोलोजी, भाइरोलोजी, फर्मासिटीकल अर्थात् औषधिसँग सम्बन्धित कुराहरु, हाम्रो शरीरले यसलाई गर्ने रक्षात्मक प्रतिक्रियाहरु आदिको बारेमा धेरै विषयहरु रहस्यमै छन् । अहिले विश्व स्वास्थ्य संगठनले पनि अनुमानको भरमा काम गरिरहेको स्वीकारेको छ । यी अनुमानहरु भोलि कतिपय सिद्ध पनि होलान् । कतिपय अनुमानहरु गलत पनि होलान् । त्यस्तो भइरहेको पनि छ ।

अहिले हामी कोरोनाबारे स्थापित भइसकेका वैज्ञानिक धरातलमा बसेर हामीले काम गरिरहेका छौं । यसले हामीलाई कोरोनाविरुद्ध लड्न केही आधारहरु दिएका छन् । अहिलेको विश्व नै यसैमा काम गरिरहेको छ ।

दोस्रो, यसको नीतिगत आयाम हो । यो प्रकोपलाई सम्बोधन गर्ने हाम्रो राज्यको आधारभूत नीति के हो ? राज्यले कस्तो स्वास्थ्य प्रणाली अपनाउँछ ? यो प्रकोपलाई मूलरुपमा स्वास्थ्य नीतिले सम्बोधन गरे पनि यो सिंगो राज्यको दायित्वभित्र पर्ने कुरा हो । त्यसैले यसको रणनीति र कार्यनीतिहरु, तत्कालीन कार्यक्रमहरुको कुरा गर्दा विभिन्न देशहरुले विभिन्न तौर तरिकाबाट यसलाई सम्बोधन गरिरहेको छ । चीनले एकप्रकारले यसलाई सम्बोधन गर्‍यो । आखिर भाइरस त त्यही नै हो । युरोपेली मुलुकहरुको शैली फरक थियो भने उत्तरी अमेरिकन देशहरु खासगरी अमेरिकाको आफ्नै तरिका थियो । हामीजस्ता विकासोन्मुख देशहरुले छुट्टै ढंगले सम्बोधन गरिरहेका छौं । यसर्थ, नीतिगत पक्ष एकदमै महत्वपूर्ण पक्ष हो । देशअनुसार कोरोनाविरुद्ध लड्ने रणनीतिहरु फरक फरक हुन्छन् । चीनले जस्तो रणनीति लियो, सिंगापुर, दक्षिण कोरिया, ताइवानले पनि त्यस्तै गर्‍यो । उनीहरुको एउटा नतिजा आयो ।

युरोपेली मुलुकहरुले फरक ढंगले सम्बोधन गर्‍यो, फरक नतिजा आयो । अमेरिकाले फरक तरिकाले सम्बोधन गर्‍यो अर्थात् फरक नीति लियो, त्यसले त्यस्तै नतिजा निकाल्यो । नेपाल, भारत, कतिपय ल्याटिन अमेरिकन देशहरु, अफ्रिकन देशहरु र केही दक्षिण एसियाली मुलुकहरुले चाहिँ यताबाट अलिकति सिक्ने, उताबाट अलिकति सिक्ने गरेर मिश्रित तरिकाहरु अपनाइरहेका छौं । यो फ्रेमवर्क अर्थात् नीतिगत पक्ष दोस्रो पक्ष हो ।

तेस्रो पाटो- यसको व्यवस्थापन । हाम्रो कार्यकुशलता । नीतिहरु जस्तो बनाए पनि अन्तमा कार्यान्वयनको तहमा जाँदा त्यो कसरी काममा रुपान्तरण हुन्छ ? यो गभर्न्यासको कुरा पनि फरक फरक देशमा फरक पाइन्छ । हाम्रोमा पनि नीति बनेकै छ । रणनीति र एक्सन प्लान बनाइएको छ । एउटा फ्रेमवर्क बनेको छ । तर, कार्यान्वयनको तहमा जाने हो भने यथार्थमा, काममा रुपान्तरण हुन सकिरहेका छैनन् । हाम्रोमा थुप्रै सुशासनका मुद्दा उठिरहेका छन् । हाम्रो कार्यकुशलता, हाम्रो व्यवस्थापकीय पक्षहरु अत्यन्तै महत्वपूर्ण हुनेरहेछ । यसलाई आम नागरिकले कसरी अनुसरण गर्छन् ? यो अर्को पाटो पनि त्यत्तिकै महत्वपूर्ण हुँदोरहेछ ।

यसका पनि उदाहरणहरु छन् । सुरुका दिनमा जतिखेर कुनै तयारीका पृष्ठभूमिहरु थिएनन्, चीनमा जब लकडाउनको प्रावधान राखियो, धेरै देशहरुले विरोध पनि गरे, त्यतातिर नजाऊँ । त्यहाँ राज्यले लकडाउन घोषणा गरिसकेपछि आम चिनियाँ नागरिकहरु सडकमा आएर आफैंले यातायातहरुलाई नियन्त्रण गरेका थिए । आम नागरिक एकप्रकार स्वघोषित स्वयम्सेवकजस्तो भएर काम गरेका थिए । उनीहरु आत्मअनुशासित भएर घरमा बन्दाबन्दी भएर बसेका थिए । शहर बजारमा निस्कँदा उनीहरुलाई हाम्रोजस्तो प्रहरीले लाठाले हान्नुपरेन । तर, हाम्रोजस्तो देशमा अर्कै तरिकाले सम्बोधन गरिरहेका छौं ।

हाम्रा क्वारेन्टाइनहरु कस्ता छन् ? हाम्रो अस्पतालहरु कस्ता छन् ? यी सबै हाम्रो सुशासन र व्यवस्थापनका पाटाहरु हुन् । नीतिको पाटो जस्तै व्यवस्थापनको पाटो पनि असाध्यै महत्वपूर्ण छ । यसलाई पनि केलाउन असाध्यै जरुरी छ ।

चौथो पक्ष- विश्वव्यापी अन्तरसम्बन्ध र सहकार्य । यो प्रकोप एउटा देशको मात्रै, एउटा क्षेत्रको मात्रै र एउटा महादेशको मात्रै प्रकोप होइन । यो विश्वव्यापी प्रकोप हो । र, यो समस्या विश्वव्यापी समस्या हो । कुनै पनि देशले यो मेरोमात्रै समस्या भनेर अहिले भन्न सक्ने स्थिति छैन । विश्वव्यापीरुपमै एउटा ऐक्यवद्धता, सहकार्य र एकता आवश्यकता पर्छ । भर्खरै सम्पन्न भएको विश्व स्वास्थ्य संगठनको सम्मेलनमा यी कुराहरु अत्यन्तै महत्वपूर्ण ढंगबाट निस्किए । यसलाई हामीले बुझ्नु अत्यन्तै महत्वपूर्ण छ । किनभने यही प्रकोपकै पृष्ठभूमिमा अहिले विश्वव्यापीरुपमा विभाजनहरु पनि हुने प्रक्रिया सुरु भइरहेको छ । अहिले एउटा देशले अर्को देशलाई दोषारोपण गर्ने, एउटाले अर्कोलाई आरोप लगाउने जस्ता सन्दर्भहरु हामीले भोगिरहेका छौं । देखिरहेका छौं ।

एउटा जिम्मेवार संस्था विश्व स्वास्थ्य संगठनलाई तहसनहस बनाउने कोशिशहरु भइरहेका छन् । उसलाई धम्की दिइएको छ । ऊ एउटा संकटबाट गुज्रिइरहेको छ । यो विश्व स्वास्थ्य संगठनले एउटा देशको पक्ष लियो र अर्कोलाई बेवास्ता गर्‍यो भन्ने आरोपहरु लगाउने काम भइरहेको छ । कोरोना प्रकोपले कहिँकतै नयाँ प्रकारको ध्रुवीकरण सुरु हुने हो कि भन्ने चिन्ता सुरु भएको छ । यसरी कोरोना प्रकोपको सन्दर्भमा यी चार आयामहरु अत्यन्तै महत्वपूर्ण छन् भन्ने लाग्छ मलाई ।

यी सबै कुराहरुबाट अरु मुलुकहरुजस्तै हामी पनि प्रभावित छौं । यतिबेला प्राविधिक पक्षतिर काम गर्ने हाम्रो क्षमता छैन । हामी कुनै नयाँ औषधि बनाउन गइरहेका छैनौं । नेपालले अहिले कुनै भ्याक्सिनको खोजी गरेर हामी विश्वमा दावी गर्छौं भन्ने स्थिति पनि अहिले हाम्रो छैन । हामीले संसारमा भइरहेका खोज अनुसन्धानको निष्कर्षलाई आधार बनाएर हाम्रो नीति बनाउने हो ।

जब नीति बनाउने कुरा आउँछ । यहीँनेर हाम्रो नीति कस्तो छ, कस्तो बनाएका छौं भन्ने प्रश्न आउँछ । नीति रातारात बन्दैन । यसमा राज्यको चरित्र झल्किन्छ । राज्य जस्तो प्रकृतिको छ, नीतिलाई त्यसैले दिशानिर्देश गर्छ । यो असाध्यै गम्भीर कुरा हो । यान्त्रिक ढंगले यो समस्या समाधान हुँदैन । कागजमा नीति बनाएर मात्रै पनि यो समस्या समाधान हुँदैन । यहीँनेर हाम्रो स्वास्थ्य प्रणाली जोडिन्छ ।

नेपालमा यो प्रकोपको जसरी अहिले वृद्धि भइरहेको छ, यसको कारक तत्व हाम्रो सन्दर्भमा बहुसंख्यक संक्रमणहरु आयातित हुन् । आयातित केसहरुमा पनि विशेषतः भारतबाट आयात भएका केसहरु हुन् । केही केसहरु मिडल इस्टबाट आएको छ । युरोपबाट नगन्य केसहरु आएका छन् । बहुसंख्यक केसहरु भारतमा काम गर्न गएका नेपालीहरुले त्यहीँबाट लिएर आए । स्थानीय तहमै संक्रमित भएकाहरु एकदम कम छन् । त्यसैले हाम्रो प्रकोपसँग लड्ने रणनीति आयातित संक्रमणको कसरी व्यवस्थापन गर्न सक्छौं, त्यसमा भरपर्छ ।

सीमामा नेपालीले दुःख पाएको खबरहरु लामो समयसम्म मिडियामा आइरह्यो । मिडल इस्टमा कतिपय नेपालीहरु घर फर्कने आशामा त्रस्त भएर बसिरहेका छन् । उहाँहरुलाई राज्यले कति जिम्मेवार बनेर सहज व्यवस्थापन गर्न सक्छ ? त्यो हाम्रो लागि निर्णायक कुरा हो । यसले हामीले यो प्रकोपलाई कति प्रभावकारी ढंगबाट व्यवस्थापन गर्न सक्छौं भन्ने कुरा निर्धारण गर्छ ।

सिद्धान्ततः सरकारले स्वीकार गरेको छ, हामी सीमापारी भएको नेपालीको उद्धार गर्छौं । नेपाल ल्याउँछौं । तर, त्यसलाई कार्यान्वयनको तहमा जाँदा यथेष्ट तयारीहरु देखिँदैनन् । हाम्रो तयारी साह्रै नै न्यून छ । हाम्रो तयारीको कमजोरी तीन तहमा देखिन्छ । पहिलो- सीमापारीबाट आउनेहरुलाई व्यवस्थित क्वारेन्टाइनको व्यवस्था हो । व्यवस्थित भनेको क्वारेन्टाइन सुरक्षित र मर्यादित बनाउनुपर्छ । सुरक्षित भनेको विलासी र सुविधासम्पन्न भन्न खोजेको होइन । यो भनेको त्यहाँ कोही पनि संक्रमित छ भने अरुलाई संक्रमण नफैलने हो । संक्रमित छैनन् भने अरुबाट क्वारेन्टाइनमा भएकाहरु संक्रमित हुनुहुँदैन ।

क्वारेन्टाइन भनेको कुनै शरणार्थी शिविर होइन । अथवा यो भनेको अरु विपतको बेला केही दिनको लागि व्यवस्थापन गर्ने अस्थायी बसोबासको थलो पनि होइन । क्वारेन्टाइन भनेको एउटा विशिष्ट उद्देश्यसहित एउटा निश्चित समयसम्म निगरानीसहित बसोबासको व्यवस्था गर्ने थलो हो । यसकारण आफ्नै विशिष्टता र मापदण्ड हुन्छन् । यसरी हेर्दा नेपालमा क्वारेन्टाइनको तयारी हेर्दा सन्तोष मान्ने ठाउँहरु बनाउन सकेका छैनौं ।

त्यसरी नै, क्वारेन्टाइनमा १०-२० दिन बसेपछि रोग लागेको छैन रहेछ भनेर घर पठाउने होइन । संक्रमित भए नभएको पहिचान भनेको परीक्षणबाट मात्रै हुन्छ । त्यसकारण परीक्षण उदार र व्यापक किसिमले गर्न सक्नुपर्‍यो । जसरी हामीले क्वारेन्टाइनलाई सुरक्षितका साथै सामाजिक र मनोवैज्ञानिक ढंगबाट सम्मानित बनाउन सकिरहेका छैनौं भने परीक्षणको सवालमा पनि राम्रो तयारी गर्न सकिरहेका छैनौं । अहिलेकै अवस्थामा क्वारेन्टाइनमा परीक्षण हुन नसकेका थुप्रैथुप्रै कुराहरु आइरहेका छन् भने भोलि हामीले सीमापारी र अन्य मुलुकबाट नेपाली ल्याउँदा त्यतिबेला जुन आयातनमा क्वारेन्टाइनमा बसोबास हुन्छ, त्यही आयातनमा परीक्षण गर्न अहिलेभन्दा धेरै गुणा बढी परीक्षण गर्नुपर्छ । त्यसको तयारी पनि सन्तोषजनक छैन ।

परीक्षणपछि संक्रमित हुने सम्भावना धेरै नै हुन्छ । संक्रमित नेपालीहरुको लागि आइसोलेसनको व्यवस्था पनि सन्तोषजनक छैन । आइसोलेसन भनेको संक्रमितहरुको व्यवस्थापन हो । संक्रमित भनेका बिरामी हुन् । उनीहरुको विभिन्न तह हुन्छ । कुनै संक्रमितमा कुनै पनि लक्षण नदेखिन सक्छ र पनि निगरानी र उपचारको व्यवस्थापन हुनुपर्छ । कुनै संक्रमितको सामान्य लक्षणहरु देखापर्छन् । उसको लागि त्यस्तै प्रकारको उपचार र व्यवस्थापनको जरुरी पर्छ । कतिपय संक्रमितहरु गम्भीर प्रकृतिको हुन्छन्, उनीहरुलाई विशिष्ट प्रकृतिको उपचार गर्नुपर्ने हुन्छ । यसरी विभिन्न तहका संक्रमितहरु सबैलाई हामीले बिरामीकै रुपमा सम्बोधन गर्नुपर्छ । यो पक्षबाट हेर्दा यहाँ पनि हामी कमजोर अवस्थामा छौं । यसरी हेर्दा हामीले तयारी अझै धेरै गर्नुपर्ने देखिन्छ । …

क्रमशः

(वरिष्ठ जनस्वास्थ्यविद् डा. वन्तले चौतारी रिडर्स् क्लबद्वारा आयोजित ‘जनस्वास्थ्य र नेपालको स्वास्थ्य नीति’ भर्चुअल संवादमा व्यक्त विचारको सम्पादित अंश)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय