scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

कथित लकडाउनको कुरा

सरोज बराल

श्रीमतीको स्वास्थ्य परीक्षण गर्न विराटनगर आउनुपर्‍यो । बाइक लिएर डराउँदै घरबाट निस्किएँ किनकी कोरोनाको रोकथाम भनेर बन्द गरिएको छ । इनरुवाको महेन्द्र चोक हुँदै शान्ति चोक पुगें । कसैले रोक्ने, छेक्ने गरेन । मानिसहरु, बाइकहरु फाट्टफुट्ट चलिरहेका थिए ।

शान्ती चोकबाट दुहबी रोड हुँदै पूर्वतिर लागेँ । अब डर बलाहा क्षेत्रको थियो । यो कथित लकडाउनको १०/१५ दिनपछि यहाँबाट मेयरमा पराजित उम्मेदवारको नेतृत्वमा बलाहामा ढाट लगाउँदै प्रवेश निषेध गरिएको फोटो देखेको थिएँ । सोचेँ, प्राय: चिनजानको मानिसहरु नै हुन्छन्, कारण बताएर जान त कसले पो रोक्ला र ?

जब मेरो बाइक बलाहा प्रवेश गर्ने नहर कट्यो, म त छक्क परें । “कुनैबेला अरुलाई प्रबेश निषेध गर्ने बलाहा यहि हो त ?” जस्तो लाग्यो । मानिसहरुको घुइँचो छ । तरकारी बिक्री गर्नेहरु चट्टाइ ओच्छ्याएर बसेका छन् । किन्ने मानिसहरु त्यत्तिकै छन् । कोही साइकलमा, कोही पैदल छन् । अलिक ढुक्क भइयो ।

अघिल्लो साँझ महेन्द्र चोकमा प्रहरीको भ्यानमा माइकिङ भएको थियो । “भोलिदेखि यसरी सब्जी बेच्न राखेको देखिए/भेटिए खोसिने छ ।” सोच्दासोच्दै बलाहा बजार पुगियो । मेरीबास्सै ! यहाँ त सानोतिनो हाट लागेको रहेछ । बिक्री गर्नेहरु कोही मास्क लगाएका छैनन् । हटियामा शारीरिक दुरी भन्ने कतै केही छैन । इनरुवा बजार, शान्ति चोक, महेन्द्र चोक, सखुवागाछीतिर देखिन्थे प्रहरीहरु, तर यता कोहि छैन ।

स्वभाविक ठानेँ यो अवस्थालाई । म पहिलो सातादेखि यो बन्दलाई कथित लकडाउन भन्दैछु । नेपालमा यो लकडाउन गर्न पाउने कुनै सम्बैधानिक ब्यवस्था छैन । वि.सं. २०२० को सरुवा रोग नियन्त्रण ऐनले संविधान प्रदत्त हिंडडुल गर्न पाउने मौलिक हकलाई संकुचन गर्न पाउँदैन भन्ने मेरो सोचाइ हो । संविधानसँग कुनै ऐन बाझिएको हकमा बाझिएको हदसम्म ऐन खारेज हुन्छ । लकडाउन गर्नलाई संकटकाल लगाउनु पर्दछ । यसले मौलिक हकलाई निलम्बन गर्दछ । खैर, यो कुरालाई छाडौं । म कुरा गर्दै थिएँ विराटनगर जाँदाको ।

बलाहा कटेर अगाडि लागेपछि मलाई लाग्न थाल्यो, यो बन्द त इनरुवालाई मात्रै पो लागेको रहेछ । जति अगाडि बढ्यो, सडक त्यत्तिनै व्यस्त भएको पाइयो । दुहबी चोक मै पुग्दा त्यहाँ २/३ जना प्रहरी उभिएको देखें । उनीहरुले कुनै संकेत पो गर्लान् कि ? देखिएन भने त गाली खाइन्छ भन्ने गुन्दै उनीहरु तिर हेर्दै अघि बढें । तर कसैले रोक्ने, सोध्ने गरेन । दुहबी बजार करिबकरिब खुल्ला अवस्थामा छ ।

सरोज बराल

सुनेको थिएँ जिल्लान्तर आवतजावत बन्द गरिएको छ । त्यहाँ चाहिँ कडाइ होला । अर्थात सुनसरी-मोरङको सिमानामा पर्ने बुढी खोला पारी जान देला कि नदेला । पुलको वर बाटो साँघुरो बनाइएको थियो । अब यहाँ चाहिँ केहीबेर केरकार गर्ला । के के सोध्ला र के के भन्नुपर्ला भनेर सोच्दैथिएँ । पुलको छेउमा सडक भत्किएर पो ड्रम राखेर बाटोलाई साँघुरो र सुरक्षित पारिएको रहेछ । किन पो चेक हुन्थ्यो र ?

त्यहाँबाट अघि बढ्ने क्रममा यस्तो लाग्यो, “यो लकडाउन त यात्रु बसलाई अनि किसानको फसललाई पो लगाइएको रहेछ ।” सडकमा यात्रु बस बाहेक हरेक सवारी साधनहरु दोहोरीलत्त चलेका छन् । अनि यो कसको लागि लकडाउन किन गरिएको हो त ?

साँझमा विराटनगर पुगें । भाइको घरमा पुगें र सोधें, “हैन, यही हो विराटनगरको लकडाउन ?” भाइले भन्यो, ‘भोलि बजारतिर गएपछि थाहा हुन्छ ।’ भोलिपल्ट बिहान आठ बजे नै गोल्डेन हस्पिटल विराटनगरमा डा. श्याम रौनियारको एपोइन्टमेन्ट लिन भतिज गयो । म १०:३० बजे श्रीमतीलाई लिएर गएँ । सडक भिडभाड छ । कोशी अस्पताल चोकमा रहेको गोल्डेन हस्पिटल त्यसै पनि भिड हुने भइहाल्यो ।

सडकमा आवतजावतमा खासै फरक लागेन । बजार खुल्लै छ । गोल्डेन अस्पतालमा छु भन्ने फेसबुक स्टाटस राखेपछि कतिपय शुभचिन्तकहरुले “त्यहाँ बिरामीहरु बस्ने कुर्सी अथवा बेन्चमा चाहिँ नबस्नु होला” भनेर कमेन्टहरु गर्नुभएको पाएँ । हुन त मलाई त्यो भिडभाडमा गएर बस्न मन लागेको पनि थिएन । त्यहाँको भिडभाड देखेर यस्तो लाग्थ्यो कि अस्पताल छिर्दै गर्दा हातमा सेनिटाइजर लगाउनुको पनि कुनै औचित्य थिएन ।

झन्डै एक घण्टाको पर्खाइपछि आफ्नो पालो आयो । डाक्टरको च्याम्बरमा डाक्टर अगाडि उभिएर बिरामीको अवस्था केकस्तो छ, भएको के हो भनेर सोधपुछ पछि डाक्टरलाई लागेको आवस्यक परीक्षणहरु लेखियो । सोहीअनुसार बाहिर आएर आवस्यकता अनुसारको पैसा तिरियो । अनि परीक्षणको लागि यो कोठा र त्यो कोठा गइयो ।

रगत दिनुपर्ने ठाउँमा उनीहरु त डिस्पोजेबल पञ्जा लगाएका छन्, तर त्यही पञ्जा लगाएर त्यहाँ आउने हरेकको रगत संकलन गरिरहेका हुन्छन् । यसले अरुलाई त सुरक्षित हुन दिएनन् । त्यसैगरी युरिन परीक्षणको लागि दिइयो । इसिजी गराउन जाँदा पञ्जा किन्न लगाइँदो रहेछ । तर इसिजी परीक्षण गर्दा हरेक बिमारीको नाम, उमेर, लिङ्ग लेख्ने चलन रहेनछ । महिला लेख्नुपर्ने ठाउँमा पुरुष लेखिएको, उमेर लेख्ने ठाउँमा १११ लेखेको रहेछ । रिपोर्ट घरमा लगेर फोटो खिचेर फेसबुकमा हालेपछि अरुको कमेन्ट आउन थालेपछि पो थाहा भयो ।

भोलिपल्ट रिपोर्ट देखाउन जाँदा इसिजी गर्ने कक्षमा प्रवेश गरेर “यस्तो लापरबाही किन ?” भनेर सोधेको “हतार हुन्छ, भिडभाड हुन्छ, सबै मिलाउन भ्याइन्न” भन्दै अरु रिपोर्टहरु देखाएँ । “तर पनि यस्तो लापरबाही नगर्नु, यो गर्नु ठिक होइन” भनेर बाहिर निस्किएँ । उनीहरुले “ठिक कुरा हो, अब यस्तो नगर्ने” भन्ने जवाफ दिए र रिपोर्टमा त्यो भाग च्यातेर राखे । डाक्टरको च्याम्बरमा गएर डाक्टरलाई समेत यो कुरा सुनाएँ । डाक्टरले पनि “अब यस्तो नहुने व्यवस्था गर्छु” भने ।

तर विराटनगरको अवस्था हेर्दा देशमा लकडाउन छ भन्ने अवस्था देखिएन । बाटोमा हिंड्दा यात्रुवाहक बस, माइक्रोबस, म्याजिकहरुलाई मात्र बन्द रहेछ भन्ने महसुस भयो । अरु कुनै पनि कुराहरु बन्द भएको महसुस भएन ।

हुन त इनरुवा मै पनि तरकारी बेच्न साइकल, ठेलामा आउनेहरुलाई, बजारका अरु पसलहरुलाई मात्र बन्द भएजस्तो लाग्छ । रक्सी बेच्ने होटलहरु अगाडि पट्टीबाट बन्द देखिए पनि भित्रभित्रै अबेर रातीसम्म चलिरहेको नै देखिन्छ । पछाडीबाट हल्लखल्ल गरेको आवाज आइरहेको हुन्छ । रक्सी खाएर सडकमा मानिसहरु हिंडिरहेका भेटिन्छन् । बैंकहरुमा अहिले पैसा जम्मा गर्नेहरु नै बढिजसो रक्सीको कारोबारी भएको बताउँछन् बैंकको कारोबारी कर्मचारीहरु ।

हरतरहले मार्कामा परेका निम्न र मध्यम वर्गहरु छन् । यो कथित लकडाउनलाई अझ बढाउँदै लैजादा यसले एकदिन बिस्फोटक रुप लिनसक्छ । यसतर्फ स्थानीय, प्रदेशको र संघीय सरकार कसैले पनि ध्यान नदिएको देखिन्छ ।

मैले पहिलेदेखि भन्दै आएको छु, निम्न र मध्यम वर्गलाई यसले धारासायी बनाउँदैछ । रोग भनेको कहिले लाग्छ कहिले, तर भोक चाहिँ अहिले लाग्छ । यो दुई महिनाभन्दा लामो बन्दले गर्दा के कसरी सुरक्षित रहन सकिन्छ भन्ने प्रायः सबैलाई थाहा भएको छ । अब किन बन्द गर्ने ? औषधि बनेर नआउन्जेलसम्म बन्द राख्ने ? त्यसोभए सिधै एक वर्ष बन्द रहने घोषणा नगरेर यो किस्ताबन्दी बन्द किन ? बरु सबै खुल्ला राख्ने, हामीजस्ता उमेर पुगेका, कोरोना भाइरससँग जुध्न नसक्नेहरु मरे मरिन्छ । त्यसपछि कोरोनालाई जितेर बाँच्नेहरु रहनेछन् यस धर्तीमा ।

घरै बसेर भोकै मर्नुभन्दा बाहिर काम गरेर खाएरै मर्ने बाटो रोज्नुपर्ने अवस्था नै ठिक हो जस्तो लाग्छ । शासकहरुले यति सहज बाटो कहिले बुझ्लान् ? अझ कतै बुझेजस्तो र कतै नबुझेजस्तो, कतै नरमपन्थी र कतै गरमपन्थी अर्थात कतै यथास्थितिवादी र कतै क्रान्तिकारी हुन जरुरी छैन । जीवनको अग्रगामी छलाङ लगाउन यो बन्दको स्थितिलाई हटाउनै पर्दछ भन्ने लाग्दछ । बाँकी त सत्ताधारीहरुको तजबीज ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय