scheduleमगलवार आषाढ़ २३ गते, २०७७

आउनुहोस्, बाबुरामलाई गाली गरौं

रुद्रप्रसाद भट्ट

केहि समयअगाडि एकजना छद्मभेषी लेखकले टेलिभिजन अन्तर्वातामा बाबुराम चिन्दिन भने । प्रश्नकर्ताले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईबारे धारणा लिन खोज्दा उनको जवाफ थियो- म तीनजना बाबुराम मात्रै चिन्दछु, १.बाबुराम आचार्य, २.बाबुराम शर्मा भित्तेपात्रो वाला र ३.बाबुराम ढुङ्गाना ।

उत्तर ठीकै हो सबैले सबैलाई चिन्नुपर्छ भन्ने पनि छैन । तर, मेरो देश चिन्दिनँ, देशको पैसा चिन्दिनँ, प्रधानमन्त्री, राष्ट्रपति चिन्दिनँ भन्नुले ठूलो अर्थ राख्दछ । ईतिहासमा भीमसेन थापादेखि जंगबहादुर र उनका राणा खलक, पञ्चायतका प्रधानमन्त्री, बहुदलका प्रधानमन्त्री पढ्ने व्यक्तिले वर्तमानमा जीवित र सक्रिय राजनीतिमा रहेको व्यक्ति चिन्दिनँ भन्नु कति पत्यारिलो हुनसक्छ ? उनमा यो उन्माद कसरी चढ्यो ?

वर्तमान प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केहि समयअघि बाबुरामले दौरासुरुवाल र ढाकाटोपी लगाएकैमा व्यङ्ग्य गरे । जबकी त्यै हुलियामा उनका पार्टीका वरिष्ठदेखि कनिष्ठ नेताहरु हिजो दरबारमा दाम चढाउन जाने गर्दथे । त्यस्ता कम्युनिष्ट सदन र सडकमा अहिले पनि बग्रेल्ती भेटिन्छन् । तर बाबुरामले दौरा सुरुवाल लगाउँदा उकुसमुकुस किन भयो ? यो पनि मनगढन्ते वा ओली उखान टुक्का जस्तो हल्का बिषय थिएन र होईन । उनी कसको दानापानीको आडमा कोमार्फत् परिचालित छन् ?

केहि दिनअघि नेकपा निकट विद्यार्थी संगठनका अध्यक्षले आफ्नो फेसबुकको भित्तामा बाबुरामलाई हार्दिक श्रद्धाञ्जली नै दिए । नेकपा कार्यकर्ताले त्यसैमा होमा हो मिलाउँदै मृत्युलाई प्रमाणित नै गर्न तम्सिए । जिउँदो मान्छेलाई श्रद्धाञ्जली दिने सत्ता उन्माद उनको पोष्टमा देखियो । उनलाई जस्तो राजनीतिक संस्कार सिकाईयो त्यै उनले गरे ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका अत्यन्त निकट भन्दै अन्तर्वाता दिने सांसद अपहरणको आरोप समेत लागेका महेश बस्नेतले बाबुरामलाई आफुले चाहेमा जेपनि गर्न सक्ने धम्की दिँदैछन् । केहि समयअगाडि खुलेआम बाबुरामको राजनीति सिध्याईदिन्छु भनेर कुर्लिए तर कसैले उनलाई रोकेन । उनको यो उन्माद्मा मलजल हाल्ने काम पनि बालुवाटारबाटै भएको देखिन्छ । जे परे पनि व्यहोर्छु भन्ने नेतृत्व भएपछि छाडातन्त्र त मौलाउने नै भयो ।

स्वयं प्रधानमन्त्री केपी ओलीले बाबुरामलाई धेरै पढेर बिग्रेको भन्दै भ्यागुता जस्तै भूँडी फुटेर मर्नेसम्मको अभिव्यक्ति दिए । ओलीको त्यो अभिव्यक्ति पनि सहज र उखानटुक्का मै मात्रै बुझेर पुग्दैन । देख्ने सुन्ने साक्षी बाबुरामकै पूर्वसहकर्मी कमरेड प्रचण्ड नै थिए । उनी हाँसेरै ओली अभिव्यक्तिमा रमाउँदै थिए ।

अहिले पनि दैनिकजसो बाबुराममाथि अनेकौं आरोप लागिरहेको छ । जबकि बाबुराम कुनै कार्यकारी पदमा पनि छैनन् तर गाली खानेमा उनी एक नम्बरमै पर्दछन् । त्यसमा धेरैजसो वर्तमान सरकारबाट पालिएका अरिङ्गाल कार्यकर्ता र केही स्वतन्त्रको पगरी गुथेर बालुवाटारबाट दानापानी खाँदै आएका छद्मभेषीहरु छन् ।

आखिर यतिधेरै गाली खानुपर्ने बाबुराम को हुन् त ? यिनले त्यति ठूलो राष्ट्रघात के गरे ? दासढुङ्गामा मदन-आश्रितको हत्या गरेकी ? दरबार हत्याकाण्ड गराए की ? महाकाली बेचे की ? टनकपुर बेचे की ? अरुण तेस्रो, मेलम्ची, पञ्चेश्वर परियोजनाबाट करोडौंको गाडी बक्सिस लिए की ? कुनै ठेकेदार र कालोबजारीको घर भाडामा बसेर तिनैलाई ठेक्का दिलाए की ? एनसेलबाट २० अर्ब लिएर चुनाव लडे वा चन्द्रागिरी गएर ब्रेकफाष्ट, सुकुटे गएर लञ्च, गोकर्ण गएर डिनर गरे ? दुबई र सिङ्गापुर गएर दैनिक ५ लाखभन्दा बढीको कोठामा सुतेर मोजमस्ती जीन्दगी बिताएकी ? आफ्नो उपचारको नाममा करोडौं रुपैंया विदेशी अस्पतालमा सिध्याए की ?

कुनै राष्ट्रसँग सन्धि, सम्झौता गरेर देशलाई ठूलो बर्बादी पो गरे की ? वा मधेशी, दलित, महिला, अपाङ्गता भएकाहरु, वृद्धवृद्धाको नाममा छुट्ट्याईएको बजेट रकमान्तर गरेर खाए की कुन चाहिँ अपराध गरे यिनले ?

आज सर्वहाराका नेता भन्नेहरु आलिसान बंगलामा दर्जनौं सुरक्षाकर्मीको घेराभित्र बसेर राजामहाराजाको जस्तो जीवन बिताईरहेका छन् । तर बाबुरामको त्यस्तो तामझाम पनि देखिन्न । न अकुत सम्पति कमाएको भनेर अख्तियारमा मुद्दा छ न कुनै माफिया र दलाल घरमा बोलाएर करोडौं मागेको छ । कुनै एउटा कारण त चाहियो नी विरोध गर्न । तर पनि आजको दिनमा गोर्खाबाट चुनाव जितेर संघीय संसदमा पुगेको सर्टिफिकेटभन्दा अरु कुनै पद उनको देखिन्नँ । र पनि गाली सबैभन्दा धेरै उनैले खाईरहेका छन् । नेपालीले प्रयोग गर्ने तर शब्दकोषमा नभएका ४८ वटा गाली अर्थात् अश्लिल शब्दहरु छन् ती सबै आज बाबुरामका लागि प्रयोग भैरहेको छ । त्यसैले कहिलेकाहीं लाग्छ यिनी बाबुराम हुन् की हराम ?

पहिलोः पिएचडी गरेका बाबुराम २०५२ साल फागुनदेखि सुरुभएको जनयुद्धमा लाग्नु नै हरामी बन्नु हो । मैं मात्रै जनयुद्धको असली हकदार हुँ भनेर यतिबेला कुर्लनेहरुलाई तत्कालीन अवस्थामा जनताले चिन्दैन थिए । २०५७ को स्वघोषित सम्मेलनपछि पार्टी नेतृत्वको मात्रै फोटो देखाउने भनेपछि अहिलेका प्रचण्डलाई जनताले चिनेका हुन् । त्यो बेलासम्म बाबुरामकै कारण आन्दोलनले राष्ट्रिय र अन्तराष्ट्रियरुपमा चर्चा पाएको थियो । जनयुद्धकै जगमा भएको २०६२/०६३को लोकतान्त्रिक आन्दोलन सफल भएर नै केपि ओली, माधव नेपाल, झलनाथ खनाल प्रधानमन्त्री हुन पाएका हुन् । त्योभन्दा अगाडि दरबारमा गएर प्रधानमन्त्री बनाईबक्स्योस् महाराज भनेर दाम चढाउने र बिन्ती बिसाएर फर्कने गरेको ईतिहास जिउँदैछ ।

अहिले अरिङ्गाल बन्नपुगेका र हिजोका माकाफुईंहरु (केपि ओलीले भनेका) ले पनि जेजति अवसरहरु लिए त्यसमा प्रचण्डको भन्दा बढी योगदान बाबुरामकै छ । महिला, मधेसी, दलित, अल्पसंख्यक, सिमान्तकृत सबैलाई राज्यको पहुँचसम्म पुर्‍याउने र अवसर दिलाउने काम यिनै बाबुरामको कारण सम्भव भयो । तर, त्यसको जस यिनले कहिल्यै लिन खोजेनन् । पार्टी, नेता र नेतृत्वलाई जहिले विश्वास गरेर प्रचण्डलाई धेरैपटक गर्ल्याम्म अंगालो हाले । अहिले उनै प्रचण्ड जो ओलीभक्तिमा रमाएर बाबुरामलाई नै गाली गरिरहेका छन् ।

दोस्रोः जब बाबुराम कठिन अवस्थामा प्रधानमन्त्री बने । उनलाई आफ्नो प्रधानमन्त्रीको कार्यकालभरी बजेट ल्याउन दिइएन । उनको हरामी यात्रा फेरि अगाडी बढ्यो । युवा स्वरोजगार कार्यक्रम, राष्ट्रिय गौरवका आयोजना, जलस्रोत, हुलाकी मार्ग, मध्यपहाडी लोकमार्ग र काठमाण्डौं लगायत धेरै ठाउँमा बाटो फराकिलो बनाउने काम सुरु गरे । उनले मुस्ताङ गाडी चढेर स्वदेशी उत्पादनलाई जोड दिन खोजे । करोडौंको गाडी, करोडको कार्पेट र करोडको जिमखाना, करोडौंको औषधि उपचार अनि लाखौंको खाने पानीमा खर्च गर्नुपर्नेमा यिनले १६ लाखको स्वदेशी गाडी चढ्नु साँच्चिकै हरामी बन्नु थियो ।

तेस्रोः बाबुराम हरामी त्यो दिनदेखि भए जव संविधानसभाबाट जारी संविधानमा आधा गिलास भरियो आधा खाली छ भनेर मधेसी, दलित, महिला, थारुलगायत विभिन्न जाति जनजातिको पक्षमा बोल्न यिनी मधेस झरे । आजसम्म पनि यिनले मधेसी, दलित, महिलाका मुद्दा सडकदेखि सदनसम्म उठाउँदै छन् । यो पनि हरामीको अर्को नमूना हो ।

चौथोः बाबुरामले जब पुरानो परम्परावादी राजनीति होईन नयाँ ढंगबाट राजनीतिक यात्रा सुरु गरौं र अर्बाैं खर्च हुने चुनावी अभ्यासभन्दा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने बाटो अबलम्बन गरौं भनेर संसदबाट बाहिर आएर नयाँ शक्ति गठन गरे । यिनको नयाँ शक्तिलाई पुरानो खाईखेली आएको शक्तिले न चुनाव चिन्ह दियो न दल बन्न दियो अन्ततः यिनको यात्रामा षड्यन्त्रहरु भईनै रहे । आज मधेस, पहाड, हिमाल, जाति जनजातिहरुको ईन्द्रेणी राष्ट्रवाद अर्थात् बहुराष्ट्रवादको बाटोमा घिस्रिंदै छन् ।

पाँचौंः यिनले संसदमा उभिएर केपि ओली, माधव नेपाल, झलनाथ, प्रचण्ड, शेरबहादुर देउवा समेत आफ्नो पनि सम्पती छानबिनको माग गरे । जबकी यो कुरा कसैलाई मिठो लाग्ने कुरै भएन । यस्ता कुरा बाबुराम जस्ता हरामीले मात्रै गर्न सक्छ । आफुले खाईपाई आएको सुबिधा कटौती गर्ने, अगाडी पछाडि सुरक्षाकर्मी लिएर दौडने, माफिया र दलालकोमा लञ्च, डिनर गर्ने कुरालाई कटौती गरौं र सम्पति छानबिन गरौं भन्ने बहुलट्ठी कुरा गर्ने हरामी बाबुराम नेपाली राजनीतिमा टिकिरहन सम्भव छ त ?

अनि जातीय विभेदका विरुद्ध आवाज उठाउने, यदि ठूलो र सानो जात भनेर हेपिएको हो भने कथित सानो भनिएको जात थर कुन हो ? अनि कथित ठूलो भनिएको जात कुन हो हामी सबैले त्यै एउटै लेखौं र समान पहिचान कायम गरौं भन्ने बाबुराम हराम नै हुन् नी हैन र ? यसर्थ, छद्मभेषी लेखक हुन वा स्वघोषित विश्लेषक सबैले भनौं बाबुराम होईन हराम हो !

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय