scheduleशनिवार आषाढ़ २७ गते, २०७७

लकडाउनमा पनि रोकिएन सर्लाहीमा तस्करी, चार प्रहरी निलम्बित

एसपी यादव/ सर्लाही, २२ जेठ । कोरोना भाइरसको संक्रमणले गर्दा देश विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा सर्लाहीमा भने प्रहरी प्रशासनको सेटिङमा तस्करले जिल्लास्थित विभिन्न नाकाबाट रातभर खुलेआम तस्करी गर्दै आएका छन् ।

लकडाउनको समयमा तस्करलाई भारततर्फ सामान ओसारपसार गर्ने काममा सर्लाही प्रहरीको संलग्नता रहेको प्रमाण फेला परेपछि चार जना प्रहरीलाई बुधबार निलम्बन गरिएको छ ।

भारतिय सिमानाकासंग जोडिएको सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने विष्णु गाउँपालिकास्थित रहेको बाराउधोरण प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवल्दार द्वय विजय साह र चुनरमण चौरसिया र प्रहरी जवान अरुण तिवारीलाई निलम्बन गरिएको हो ।

तस्करहरुको बढदो सक्रियता र प्रहरीको सेटिङले यस क्षेत्रमा रात्री समयमा तस्करीमा तीव्रता आएको श्रोतले जनाएको छ ।

नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ रहेपनि तस्करी नियन्त्रणमा आउन सकेको छैन । सुरक्षाकर्मीहरुकै मिलेमतोमा यस क्षेत्रबाट तस्करी हुदै आइरहेको स्थानीय वासिन्दाहरु बताउँछन् ।

तस्करीमा सीमा नाकामा रहेका सुरक्षाकर्मीहरुकै संलग्नता छ, माथिल्लो हाकिमहरुलाई मिलाएर यहाँ तस्करीको लाइन सञ्चालन भइरहेको छ । मासिक रकम दिएर लकडाउनको समयमा पनि तस्करी फस्टाउदै गएको छ । माथिल्लो निकायले तस्करी नियन्त्रण गर्न तत्काल पहल गर्नुपर्छ स्थानीय वासिन्दाहरु बताउँछन् । तर तस्करी रोक्नेतर्फ सर्लाही प्रहरी प्रशासन भने मौन रहेको देखिन्छ ।

तस्करहरुले खुलेआम भारतीय सामग्रीहरु अवैधरुपमा नेपाल भित्र्याउने गरेका छन् । यसबाट नेपाल सरकारलाई प्राप्त हुने करोडौ रुपैयाँको सरकारी राजस्व चुहावट भइरहेको छ ।

यस विषयमा भारतीय सीमावर्ती क्षेत्रमा तैनाथ नेपाली सुरक्षाकर्मीहरुले भने केही बोल्न चाहेनन् । आफ्ना माथिल्लो हाकिमहरुसँग कुरा गर्न अनुरोध गर्दै उनीहरु पन्छिए ।

यस विषयमा प्रतिक्रियाका लागि प्रमुख जिल्ला अधिकारी मोहन बहदुर जिसिलाई प्रत्यक्ष फोन सम्पर्क गर्दा उनले भने, उनीहरुलाई कारबाही गरिएको छ । र प्रहरीहरुको आन्तरिक मामिला भएकोले जिल्लाको एसपी साहबसंग प्रतिक्रिया लिन उनले सुझाए ।

सर्लाही प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार, पहिल्यै देखि त्यस क्षेत्रमा तस्करी हुँदै आएको कुरा आफ्नो जानकारीमा नरहेको र आफुलाई जानकारी भएपछि तत्काल डिआइजी साहबसंग समन्वय गरेर बुधबारनै संलग्न रहेको आरोप लागेका चारै जना प्रहरीहरुलाई निलम्बन गरिएको छ । र थप अनुसन्धानको विषय रहेको बताए ।

सशस्त्र प्रहरी प्रमुख एसपी गंगाराम श्रेष्ठले भने, सशस्त्र प्रहरीको संलग्नता पाइएमा कुनै पनि हालतमा छुट नदिइने बताए ।

जिल्ला भन्सार कार्यालय सर्लाहीले लकडाउनको समयमा पनि तस्करी हुँदै आएको बारे कुनै जानकारी नभएको जनाए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय