scheduleआइतवार आषाढ़ २८ गते, २०७७

जुन कुरा देशकै लागि घातक छ

पंकज राई

कोभिड-१९ को प्रकोपका कारण गरिएको यो लकडाउनको समयमा रुकुम पश्चिमको चौरजहारीमा र रुपन्देहीको देवदहमा छुवाछुतको कारणले दलित युवाहरु र नाबालिकको हत्या भयो । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा यो घटनाको चर्को विरोधका आवाजहरु आइरहेका छन् ।

संसद र सडकबाट पनि यो घटनाको विरोध भयो र दोषीलाई कडा कारवाहीको माग गरियो । सँगसँगै समाज दुई भागमा बाँडिएको पनि प्रत्यक्ष देखियो । कुतर्क गर्नेहरुले यस्तो लकडाउनमा नाबालिका केटीलाई भेट्न जाने ? यस्तो बेलामा केटी भगाउन जाने ? भनेर रुकुम घटनाका सन्दर्भमा टिप्पणी गरेको सुनियो ।

देवदहको घटनामा जनप्रतिनिधिले नै विवाह गराइदिए अनि केटाको घरमा पुगेपछि अछुतको छोरी आई भनेर यातना दिएर हत्या गरियो । दलित भएकै कारण यो हत्या भएको हो, यसमा दुईमत छैन । लकडाउनमा भेट्न गएबापत दलित युवाहरुलाई कानूनबमोजिम सजायँ दिन मिल्दैनथ्यो ? कथित उच्च जातलाई हत्या गर्न छुट दिएको छ नेपालको मुलुकी ऐनले ? यो प्रश्नहरुको जवाफ हाम्रो समाजले खोज्नैपर्छ ।

नभए हाम्रो देश नेपाल तेस्रो विश्वबाट प्रथम विश्वमा आउन शताब्दी नै लाग्छ । विश्व अहिले मानव सभ्यतालाई थप विकसित गर्ने युगमा प्रवेश गर्न संघर्ष गर्दैछ । नेपाल नाम गरेको देश पनि पृथ्वीकै एउटा भाग हो, हामी मानव सभ्यतालाई थप विकसित गर्ने दौडमा पछि पर्नु हुँदैन ।

अहिलेको सन्दर्भमा मानव सभ्यताको विकास भनेको के हो ? जस्तै- प्राचीनकालमा मानव जातिहरु शिकार खेलेर जीविका चलाउँथे । त्यसपछि कृषिबाट जीविका चलाउन थाले । त्यसपछि औद्योगिक क्रान्ति भयो र वर्तमान अवस्थामा हामी विज्ञान प्रविधिको प्रयोगबाट जीविका चलाउने भयौं । यो क्रम हेर्दा के देखिन्छ भने हिजो शिकार खेल्न प्रयोग गर्ने चक्कु आज हाम्रो डाइनिङ टेबलमा र भान्सामा मात्रै प्रयोगमा आएको छ । तर, शिकार खेल्ने मानिसहरु कोही दैलो भित्र पसेका छन् र कोही दैलो बाहिर रोकिएका छन् ।

आज विश्वको जुनसुकै स्थानमा कृषिबाट उत्पादन भएको वस्तुहरु जुनसुकै देशमा बसेर पनि खान सकिन्छ । उदाहरणको लागि बासा माछा खान मन लाग्यो भने इण्डोनेशिया जानु पर्दैन । नेपालमै खरिद गरेर खान सकिन्छ । कारण विज्ञानले रेफ्रिजेरेटरको आविष्कार गर्‍यो र किसानले उत्पादन गरेको वस्तु केही समयसम्म भण्डार गर्दा पनि स्वच्छ र गुणस्तरयुक्त नै हुन सम्भव भयो । यो त भौतिक अथवा बाह्य सभ्यताको विकासको कुरा भयो ।

अब कुरा गरौं आन्तरिक मानव सभ्यताको विकासबारे । आन्तरिक मानव सभ्यताको विकास भनेको के हो ? अवचेतन मन, भाषा, संस्कृति, साहित्य, राजनीतिक अधिकार आदि तत्वहरुले पनि मानव सभ्यताको विकासमा भूमिका खेल्छन् । मार्टिन लुथर किङले अमेरिकामा, अब्राहम लिंकनले अमेरिकामा, लेनिनले रुस र युरोपमा, माओले चीनमा सांस्कृतिक क्रान्ति आवश्यक छ भनेर सांस्कृतिक क्रान्ति गरेका थिए ।

नेपालमा पनि सांस्कृतिक क्रान्तिको आवश्यकता देखिएको छ । यो मानिसहरुको अवचेतन मनसँग सम्बन्धित छ । जुन समुदायको भाषा, संस्कृतिलाई दमन गरिन्छ त्यो समुदायको मानव सभ्यता विकास हुन कठीन छ । आफ्नो मातृभाषामा पढ्न लेख्न पाउने संविधानमा लेखिएको छ तर कार्यान्वयन भएको छैन । यस्तो प्रावधानको कार्यान्वयन हुन किन सकेको छैन ? केही उच्च जातले खस भाषालाई मात्रै नेपाली भाषा मान्छन् । यही उच्च जातको मान्छेहरु सरकारी कर्मचारी छन् र उनीहरुकै प्रभावमा सबैले मातृभाषामा लेखपढ गर्न पाउने अधिकारको कार्यान्वयन हुन धेरै चुनौति आएको छ । भाषाकै कारण उनीहरु शासक भएको मज्जा लिँदैछन् ।

सबै मातृभाषाले स्थान पाउन लाग्यो भने उनीहरुलाई शक्तिशाली नभएको महसुस हुन्छ । सीमान्तकृत वर्ग, आदिवासी जनजाति, मधेशी/थारुहरुलाई संग्रहालय बनाउन बजेट दिने, चाडपर्वमा विदा दिने गरेर अल्मल्याउने जुक्तिमा उनीहरु लागिरहेका छन् । जुन कुरा देशकै लागि घातक छ । ६६ प्रतिशत जनसंख्यालाई किनारा लगाएर, उनीहरुको समुदायमा साक्षरता नबढाएर देशले गुणात्मक फड्को मार्न सक्दैन । नेपालको विकासको वाधक यस्तै प्रवृत्ति हो भन्ने कुरा डोरबहादुर विष्टको पुस्तक ‘ब्राह्मणवाद र भाग्यवाद’ पढ्यो भने पनि थाहा पाउन सकिन्छ ।

देशमा छुवाछुतको घटना, अन्तरजातीय विवाह स्वीकार्न नसक्नु भाग्यवाद/ब्राह्मणवाद नै हो । टपरे बाहुन प्रवृत्ति जसले कसले कोसँग विवाह गर्नुपर्छ भनेर हुकुम दिन्छ त्यसले समाजमा विभेद फैलाउँछ । यस्तो प्रवृत्तिविरुद्ध २१औं शताब्दीका युवाहरुले आवाज उठाउनैपर्छ र मानव सभ्यताको विकासको युगमा प्रवेश गर्नैपर्छ ।

अल्बर्ट आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्त बनाए जुन सम्पूर्ण मानव जातिलाई उपयोगी बन्यो । सिद्धार्थ गौतमले मान्छेको स्वभावबारे सम्पूर्ण मानव जातिलाई सचेत गराए । खुशी आफूभित्रै हुन्छ भन्ने थाहा दिए र ध्यान योगको महत्व विश्वले बुझ्यो । हामी मानव जातिमा सबैको केही न केही विशेषता हुन्छ । धनी, गरीब, ठूलो, सानो, सफल, असफल, उच्च जात, नीच जात भन्ने कुराहरु सबै भ्रम मात्रै हुन् । त्यसैले सबैको सम्मान हुने प्रवृत्तिको विकास गरौं र खराब प्रवृत्तिको विरुद्ध बोलौं । मनुस्मृति, ब्राह्मणवाद, भाग्यवाद नेपालको खराब प्रवृत्ति हो । यसले मानव सभ्यताको विकास र देश विकास गर्न ठूलो अवरोध गरेको छ । यो कुनै जात विशेषसँग सम्बन्धित छैन । यो प्रवृत्ति जुन समुदायको व्यक्तिमा पनि हुन्छ र यसको समाधान समावेशी समाज, समानता र वैज्ञानिक मानवतावाद नै हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय