scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

बाबुरामलाई चिन्न अझै कति समय लाग्ला ?

अनित अधिकारी

यो लेखको सुरुवात म एउटा प्रसङ्गबाट गर्न चाहन्छु । बाबुरामसँग नजिक रहेर काम गरेका एक शिक्षकले एक भेटमा भने, ‘मधेसीलाई धेरै खुसी पार्ने होडमा बाबुरामले पहाडी समुदाय, अझ बाहुन समुदायलाई धेरैनै लखेटे । बढी रुखो भए ।’

मेरो बुझाईमा यो बाबुरामप्रति कयौं पढेलेखेका व्यक्तिको मत हो । उनीहरु भन्छन्, ‘बाबुरामले मधेसीलाई बुई बोके ।’ अझ, मधेसलाई आफ्नो आधार बनाएका पार्टीसँग एकता गरेपछि एक गोर्खाली नेताले एउटा छलफलमा भनेको कुरा सम्झन्छु, ‘बाबुरामलाई अब तपाईहरुको भोट आवस्यक नभएकाले उनी तराईको पार्टीसंग मिलेका हुन् । उनी अब चुनाव पनि त्यतैबाट लड्ने विचार गरेका छन् ।’

आफ्नो निर्वाचन क्षेत्रका नेता बनाएर प्रधानमन्त्रीसम्म बनाएका जनतालाई भड्काउन यता गोरखातिर उनकै पूर्वसहकर्मीले गर्ने गरेका अनेकौं हत्कण्डाबारे स्वयम् बाबुराम नै जानकार छन् । त्यही क्षेत्रको एक मतदाता हुनुको नाताले मैले आजसम्म चिनेको बाबुरामबारे केही लेख्ने जमर्को गरेको छु ।

म प्रष्ट पार्छु- म कुनै नियमित लेखक होइन न त राजनीतिको विद्यार्थी नै । म एक जनयुद्धको क्रममा बेपत्ता पारिएको बुबाको छोरो हुँ । बुबा बेपत्ता पारिनुभएपछि आफ्नो पारिवारिक जिम्मेवारी पूरा गर्न नागरिकतामा उमेर बढाई खाडी भासिएको एक युवा हुँ । अहिलेको यो कोरोना कहरमा आफ्नो जागिर लगभग गुमाएर खाली समय बिताइरहेको युवा हुँ । आफ्नो देशमा केही पाइन्छ कि भनेर कुर्दाकुर्दै नाजवाफ भएर खाडी नै निर्विकल्प मैदान बनाएको युवा हुँ । यो मेरो व्यक्तिगत पाटाे भयो ।

अहिले लामा बिदाका दिन बिताइरहेको म आफ्नो देशमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको छु । कोरोनाले देशको असली हैसियत उदाङ्गो परिसक्दा पनि यहाँ रास्ट्रवादको लाइन्सेन्स बाँढ्ने खेल गज्जब सफलताका साथ चलिरहेछ । अनि, बाबुराम यो खेलका चर्चित खेलाडी बनाइएका छन् । कोहि बाबुरामलाई संगीन आरोप लगाउन तम्तयार छन् । कोहि बाबुरामले अघि सारेको रास्ट्रवादको नमूनाको समर्थन गरिरहेका छन् । कसैको आवाज बुलन्द सुनिरहेको छ अनि कसैको सायदै सुनिएको छ । हजारौं झुट बोलेर सत्य साबित गराउने यो समयमा म आफुले चिनेको बाबुरामबारे लेख्दैछु ।

बितेका केही हप्तामा बाबुराम मिडियामा छाइरहे ।

  • कोरोना विश्वव्यापी महामारी बन्ने संकेत पाइसकेपछि उनले सरकारलाई यो रोग नियन्त्रणको स्पष्ट खाका ल्याएर धेरैभन्दा धेरै परीक्षण गर्नुपर्नेमा जोड दिँदै विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश झिकाएर क्यारेन्टाइनमा राख्नुपर्ने आवाज सार्वजनिक गरे । यो प्रक्रियामा जति ढिलाइ भयो, उति देशकै निम्ति आत्मघाती हुने विचार राखिरहँदा सत्ताका जिम्मेवारले जवाफ दिए, ‘के विदेशबाट धमाधम मान्छे ल्याएर देशलाई सोत्तर पारिदिने ?’
  • यसबीच विदेशमा रहेका नेपाली आफ्नो देश फिर्न पाउने आशामा बसिरहे भने भारतबाट सयौं किलोमिटर पैदलै आफ्नो घरतर्फको यात्रा बुने । तर, कयौं दिन पैदलै आएका आफ्ना नागरिकलाई स्वदेशमा स्वागत गर्नुपर्नेमा उनीहरु महाकाली पारी बसेर महाकाली वारी रहेको आफ्नो घरखेत हेरेर महिनौं बस्न बाध्य भए ।
  • आफ्नो आमाको मृत्युपछि किरिया बस्नपनि जान नपाएका घटनाले हाम्रो राजनीतिमा रहेको संवेदनाहिन अवस्थाको सचित्र बतायो । मलेसियामा आफ्नो आमाको मृत्युको खबर सुनेर पनि घर जान नपाएको एक साथीले मलाई फोनमा भनेको थियो, ‘अनित, मलाई आफ्नो राज्यको अभिभावकत्व चाहिएको थियो तर पाइन । आफ्नो देशमा केही नपाएपछि विवश भएर विदेश आएको मलाई आफ्नी आमाको किरिया बस्न समेत नदिने यो राज्यलाई मैले किन मेरो भन्ने ?’
  • उसको प्रश्नको जवाफ मसंग थिएन । तर, मैले आफ्नै अतित सम्झिएँ । सर्वहारा वर्गको नायकत्व स्थापित गर्न आफ्नो परिवारले गरेको त्याग सम्झिएँ । अनि सँगै सम्झिए आजको धरातलीय यथार्थता ।
  • महिना बढीको गैरजिम्मेवारी पछि सरकारले अलपत्र परेका नागरिकलाई ल्याउने औपचारिक प्रक्रिया सुरु गरेको छ । बाबुरामले दुई महिनाअघि भनेको कुरा बल्ल सुरु गरेको पक्ष भन्दैछ, ‘हामी आफ्नो नागरिकको जीवनरक्षाका निम्ति प्रतिबद्ध छौं ।’ जतिबेला संक्रमण उत्कर्षमा थिएन, त्यतिबेला नै उद्धार गर्ने हिम्मत यहाँका शासकहरुले गरेको भए आजको भद्रगोल अवस्था पनि सिर्जना हुने थिएन । न नागरिकको राज्यसँगको विश्वासको बन्धन टुट्थ्यो ।
  • कोरोना नियन्त्रणमा चौतर्फी असफलताले घेरिएपछि सरकारले राष्ट्रवादको नयाँ तुरुप फाल्यो । तर, यसअघि नै संसदमा कुरा उठाउने बाबुराम नै पहिलो थिए । बाबुरामले त्यतिबेला संसदमा कुरा उठाएका थिए, जतिबेला प्रधानमन्त्रीले ‘भारतले सडक खनेको थाहा छैन’ भनिरहेका थिए । नेपालको भुराजनीतिलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग यथासीघ्र सप्रमाण वार्ता गर्नुपर्ने पक्षमा आफ्नो मत जाहेर गरिरहँदा सरकारको नेतृत्व गरेको पार्टीभित्र जस-अपजसको खेल सुरु भैसकेको थियो । उनीहरु राष्ट्रवादीको सूचि बाँढ्न तम्तयार थिए जहाँ बाबुरामको नाम थिएन । उनीहरु बाबुरामलाई भारतीय ईशारामा चलेको अनि सरकारको एकोहोरो आलोचना गरेकाले “हार्दिक श्रद्धाञ्जली” सम्म लेख्न पछि परेनन् । श्रद्धाञ्जली दिनेहरु महाकाली सन्धि गरेर कालापानीमाथि नेपालको स्वामित्व कमजोर बनाउने राष्ट्रघातीहरुका भक्तहरु थिए ।
  • मेरो मनमा एकोहोरो प्रश्न आइरह्यो- यो राष्ट्रवादको आधिकारिक लाइसेन्स पाइने ठाउँ कहाँ होला ? अनि, योग्यता के होला? महाकालीको मूल नखुलाई सम्झौता गर्नेहरु रास्ट्रवादी हुने तर नेपालको हितलाइ केन्द्रमा राखेर छिमेकीसंग खुल्ला बार्ता गर्नुपर्ने अडान राख्ने बाबुराम कसरी रास्ट्रघाती भए होला?
    यस्ता प्रश्नको जवाफ अब केही दिनमै आउला सायद ।
  • पश्चिम रुकुममा कथित उपल्लो जातको केटीलाई माया गरेको निहुमा छजना ‘तल्लो जात’ का युवालाई गाउँनै उर्लेर घरेलु हतियार प्रयोग गरी मारेर भेरीमा फालिदिए । मानवताविरुद्धको यो जगन्य अपराधविरुद्ध संसदमा आवाज उठाउने पूर्वप्रधानमन्त्रीमा बाबुराम पहिलो थिए । उनले दलितमाथिको यो अन्यायमा गैरदलितको साथ अपरिहार्य रहेकोे तर्क गर्दै सबैले आफ्नो नामपछाडि ‘तल्लो जाति’ जनाउने थर राख्नेबारे बहस होस् भन्ने अभिप्रायले राखे ।
  • लगत्तै, उनका विरुद्ध सधैंझै कुप्रचार सुरु भयो । ‘थर होइन सोच बदल्नुपर्छ’ भनेर एकोहोरो रटान लगाउने समूह अमेरिकामा भैरहेको कालामाथिको बर्बरताबारे बोले तर आफ्नै देशमा भएको घटनाबारे चुप बसे । अझ, तत्कालीन समयमा जनयुद्धको नेतृत्वकर्ताले जनयुद्धकै आधारकिल्लामा भएको यो बर्बरताबारे एउटा औपचारिकतासम्म निभाएनन् । तर आफ्नो पुर्खाले गरेका विभेदविरुद्ध माफी माग्दै दलितको समस्यालाई सम्पूर्ण गैरदलितले पनि अपनत्व लिनुपर्ने बाबुरामको विचार कयौं ‘उच्च जाति’लाई पचेन !

यी विगत केही हप्तामा भएका बहसमा बाबुरामले राखेका विचार अनि त्यसमा आएको प्रतिक्रिया भयो । बाबुराम नेपाली राजनीतिमा आफ्नो बोली-विचारले चर्चामा आइरहने नेता हुन् । आफ्नो लाभहानीको कुनै पर्वाह नगरी सत्यको निम्ति निरन्तर वकालत गर्ने यिनका बानीको कारण कयौं पूर्वसहकर्मी टाढिए । सत्ताको वरपर संगत नहुने ठानेर कयौं उनको नयाँ राजनीतिक यात्राको सहयात्री बन्छु भन्नेहरु फेरि पुरानै पार्टीमा फर्किए । तर, हिमाल-पहाड-मधेशलाई एकत्रित गरेर नयाँ पुस्तालाई राजनीति हस्तान्तरण गर्नुपर्ने आवाज उठाउने बाबुरामलाई क्षेत्रीय नेतामा बदलिएको भनेर हौवा छर्छ ।

प्रश्न आउँछ- पहाडका नेताहरु अझ खस-आर्य मात्र मिलेर बनाएको पार्टी राष्ट्रिय पार्टी हुने तर क्लस्टर मिलाएर बनाएको पार्टी चाहिँ क्षेत्रीय हुने कस्तो राजनीतिक परिभाषा बनाउँदैछौं हामी ?

सात समुन्द्रपारी भएको विभेदमा आवाज उठाउने हामी आफ्नै घर आँगनमा भएको विभेदमा किन चुपचाप भनेर आवाज उठाउने नेतृत्वको कुराहारी किन सुन्नै चाहन्नौं होला ?

जनयुद्ध चल्दैगर्दा आफुले उठाएको मुद्दालाई लिएर सफाया गर्नेसम्मको हर्कत हुँदापनि उनी टसमस भएनन् ! अन्ततः देश उनैको बाटोमा अघि बढ्यो तर, जस पाउने बेलामा नयाँ नयाँ पात्र आइरहे जसै सबै जनता गणतन्त्रका निम्ति सडकमा एकजुट भैरहँदा “बयलगाढा चढेर अमेरिका पुग्नुसरह हो” भन्नेहरु अहिले गणतन्त्र नेपालमा कार्यकारी हैसियतमा छन् र उनीहरुनै राष्ट्रवादको लाइसेन्स बाँढ्ने ठेक्का लिएका छन् । स्वीकार्नु पर्छ- यो राजनीतिको कुरुप तस्बिर हो । यसो भन्दैमा आफ्नै निकट इतिहास नभुलेकै जाति हुनेथियो ।

राष्ट्रवादको एकोहोरो नारा बाँढेर, समाजको तप्कातप्कामा विभाजन कोरेर क्षणिक स्वार्थका निम्ति लालायित नेतृत्वको असली अनुवार अहिले आएर उदाङ्गो भैरहँदा केपी ओलिको यो अनुहारविरुद्ध निरन्तर आवाज उठाउने नेतृत्वमा बाबुरामनै थिए ! भलै, यही कारणले उनलाई “भारतीय दलाल” देखि “हार्दिक श्रद्धाञ्जली” सम्म उपमा दिइयो ।

जति बिरोधका स्वर सुनेपनि उनी आफ्नो आगामी यात्रामा निरन्तर छन् र भन्दैछन्- अबको यात्रा समतामुलक समावेशी समाजको निर्माण गर्दै मेरै जीवनकालमा समृद्ध नेपाल बनाउनु हो ।’

राष्ट्रवादको कुरुप खेल देखाउनेलाई “नायक” मान्ने नेपाली समाज आफ्नो राजनीतिक यात्रामा निरन्तर एकै विचारको पैरवी गर्ने बाबुरालाई कहिले बुझ्लान् ?

जनयुद्धदेखि उनले पैरवी गरेका विचार नै अहिलेको आवश्यकता भएको महसुस गरेको नेपाली समाज बाबुरामलाई “शंकाको सुविधा” सम्म किन दिन इन्कार गरिरहेका होलान् ?

हिमाल-पहाड-मधेसबीच समान अस्तित्व अनि समानताबीच अबको यात्राको नेतृत्व गर्न प्रतिवद्ध बाबुरामलाई हामीले कहिले बुझ्ने ?

जति विरोधका स्वर सुनेपनि उनी आफ्नो आगामी यात्रामा निरन्तर छन् र भन्दैछन्- अबको यात्रा समतामूलक समावेशी समाजको निर्माण गर्दै मेरै जीवनकालमा समृद्ध नेपाल बनाउनु हो ।’

राष्ट्रवादको कुरुप खेल देखाउनेलाई “नायक” मान्ने नेपाली समाज आफ्नो राजनीतिक यात्रामा निरन्तर एकै विचारको पैरवी गर्ने बाबुरालाई कहिले बुझ्लान् ?

जनयुद्धदेखि उनले पैरवी गरेका विचार नै अहिलेको आवश्यकता भएको महसुस गरेको नेपाली समाज बाबुरामलाई “शंकाको सुविधा”सम्म किन दिन इन्कार गरिरहेको होला ?

हिमाल-पहाड-मधेसबीच समान अस्तित्व अनि समानताबीच अबको यात्रा तय गर्न तम्तयार बाबुरामलाई हामीले कहिले बुझ्ने?

(अधिकारी हाल मलेसियामा कार्यरत छन्)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय