scheduleशनिवार श्रावण २४ गते, २०७७

महामारीसँग सरकारको लुकामारी

अभि गाउँले

भनिन्छ, ग्रहदशा बाजा बजाएर आउँदैन । आपतविपद आउनुपूर्व नै त्यसलाई देख्नसक्ने तेस्रो नेत्र मानवसँग छैन । तर ६ महिनाअघि झ्याली र झंकारकासाथ सुरू भएको हो कोरोना भाइरस । चीनका लागि आकस्मिक संकट भए पनि विश्व समुदायका लागि भने यो महामारीकै पूर्व संकेत थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ काटछाँट गरेर भन्ने हो भने कोभिड-१९ को मुहान भनेको चीनको वुहान नै हो भन्नेमा द्विविधा रहेन । कोरोना भाइरस वुहान सहरको एक प्रयोगशालाबाट फैलिएको प्रमाण आफूसँग भएको ट्रम्पको दाबी र कोरोना भाइरस प्राकृतिक रूपमा फैलिएको भन्ने विश्व स्वास्थ्य संगठनको प्रतिक्रिया आपसमा बाझिन पुग्यो ।

यसले अमेरिका र डब्लूएचओबीचको सम्बन्ध चिसिन थाल्यो । अन्ततः विश्व स्वास्थ्य संगठनबाट अमेरिका अलग भएको ट्रम्पले घोषणा गरे । पूर्वाग्रह नराखी भन्नुपर्दा वास्तवमा चीनमाथिको ट्रम्पको आरोप र आक्रोश केही हदसम्म स्वाभाविक मान्न सकिन्छ यद्यपि चीनलाई नै दोषी करार गर्ने अहिलेसम्म कुनै प्रमाणहरू भने फेला परेका छैनन् । तथापि कोरोना भाइरसलाई वुहान प्रान्तमै सीमित गराउन सकिने रहेछ भन्ने बलिया आधारहरू देखिँदै गएका छन् । चीनले बेलैमा यो भाइरसको संवेदनशीलतालाई बुझ्न सकेन या त उसले यसलाई अस्त्रविहीन तेस्रो विश्वयुद्धको स्वरूपमा परिणत गर्‍यो भन्ने यकिन छैन । भलै अमेरिकाबाहेक विश्वका अन्य राष्ट्रहरूले अहिलेसम्म चीनप्रति सार्वजनिक रूपले लान्छना लगाउन सकेका छैनन् । अहिले विश्वका दुई सय भन्दा बढी मुलुकहरू यो महाव्याधिको निर्मम सामना गरिरहेका छन् ।

वैश्विक परिक्रमा गरिरहेको कोरोना अहिले नेपालमा भ्रमण गरिरहेको छ । कोरोनाको अनिश्चित बसाइको टुंगो छैन । यसले नेपालीजनलाई माटोमा मिलाएर जान्छ वा आफै बिलाएर जान्छ, कुनै अनुमान लाउन सकिने स्थिति छैन । तर पछिल्लो संक्रमणको तीव्रताले भयावह रूप लिँदैछ भन्ने आँकलन गर्न सकिन्छ । स्रोत र साधनले अमिर अमेरिका त उकुसमुकुस भैरहेको छ भने हामी गरीब देशका नागरिक कोरोनाबाट कहाँ सुरक्षित हुन सक्छौं ? यही हीनताबोध र असक्षमतालाई कहिलेसम्म मलजल गरिरहने ? सुरूवात नै खराब भएपछि अन्त्य असल तरिकाले हुँदैन भन्ने थाहा छ तर के गर्नु श्रीमान जीवित रहेसम्म एउटी श्रीमतीले सिन्दुरपोते पहिरिनैपर्ने बाध्यता हुन्छ । स्वास्थ्य सामग्री खरिदको पहिलो चरणमै अपारदर्शिताको हिलोमा पछारिएको सरकार अहिलेसम्मै कैलोमैलो शरीर लिएर हिँडिरहेको छ ।

त्यसैले त जनताले सरकार ठम्याउन सकिरहेका छैनन् । अहिले कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले राज्यका सबै स्रोत साधन र संयन्त्र परिचालन गरेको जस्तो देखिएको छ । मानौं कोरोना भगाउन सरकारले कुनै कसर बाँकी राखेकै छैन । तर परिणामले यही देखाउँछ कि कहिले कोरोना भाइरस गाउँगाउँमा लुक्ने कहिले सरकार बालुवाटारमा लुक्ने र दुवै सङ्गसङ्गै देखिने सङ्गसङ्गै विलुप्त हुने । तसर्थ कोरोना लुकेजस्तो र सरकार खोदेजस्तो गर्दै जाने हो भने जनता पनि बिस्तारै सडकमा हिँडेजस्तो गर्नेछन् । राज्यले उत्पात गृहकार्य गरिरहने नागरिक रोगको परीक्षण नगर्दै भकाभक मरिरहने हो भने डोकोमा दूध दूहुनु पनि दुस्साहस होइन कि !

कोरोना महामारी ऋतुराजकै रूपमा त पक्कै पनि नरहला तर बेलैमा यसको निदान गर्न नसके विश्वको कूल जनसंख्याको एक चौथाइभन्दा धेरै जनसंख्या घट्ने पूर्वानुमान छ । नेपालमा यही तयारी र तत्परतामा कोरोनमुक्त हुन जटिल प्रायः छ । इतिहासमै भाग्यशाली राजनीतिज्ञहरूको कर्मखोटी सरकार यो असफलताको टोकसो पचाउन सकिरहेकै छैन । स्वाङभन्दा भ्वाङ ठूलो हुँदै गएपछि सरकारको चेहरा अकबरे टोकेजस्तो रातोपिरो हुन थालेको छ । परिवर्तनको रौनक र लोकतन्त्रको ऐश्वर्य गुमाउँदै गएको सरकारले सत्ताको स्टेरिङ घुमाउँदै छ । तत्काल गर्नुपर्ने काम नगरी जता-जता ओरालो त्यतै-त्यतै पानी भने जसरी सरकार सजिलो मात्रै खोजिरहेको जस्तो देखिन्छ ।

कोरोना परीक्षणको दायरा बढाउनुसट्टा सांसद र मन्त्री अनि सिंहदरबारका प्रतिनिधिहरूको सेवासुविधाको दायरा बढाइँदैछ । आरडीटी विधिभन्दा पिसीआर विधिबाट द्रूततर गतिमा कन्ट्याक्ट् ट्रेसिङ हुने भएकोले दोस्रो विकल्प प्रयोग गर्न विज्ञहरूले गरेका सुझावहरू अन्तर्वार्ता र पत्रपत्रिकामै साँघुरिन पुगे । सुरूका दिनहरूमा अल्मलिनु स्वभाविक नै थियो । कोरोनाको आगो टुप्पोबाट सल्कियो कि फेदबाट अत्तोपत्तो लागेन । अब त कमसेकम आँखाकै सामु कोरोना फैलिरहेको छ । कोरोनाकै कारण संक्रमितहरूको दु:खद निधन भइरहेको छ । यतिका धेरै प्रतिकूलताहरू सिर्जित हुँदा समेत सरकार नतात्तिनुले निराशा जागेको छ । एकातिर छिटोछिटो परीक्षण गरेर समुदायबाट संक्रमित छुट्याउनुपर्ने दबाब छ भने अर्कोतिर स्वास्थ्य उपकरण र पर्याप्त जनशक्तिको अभाव छ । यहिमाथि सरकारी इच्छाशक्तिको खडेरी परेको छ ।

जनताका सेवकहरू सत्ताको जीवनजल पिएर जिउने जनताको मुखमा माड नलाग्ने विकराल अवस्था बल्झिँदैछ । सरकारले सिन्को भाँच्न सकेन भनेको होइन, सिन्को मात्रै भाँचेको हो पहाड उठाउन अझ बाँकी छ । कोरोना नियन्त्रण गर्न हालसम्म राज्यकोषबाट ९ अर्ब ८७ करोड रकम खर्च भइसकेको छ । अहिलेको विषम परिस्थितिको सामना गर्न यो खर्च यथेष्ट भने हुँदै होइन । अझ यसमा सांसद विकास कोषको करोडौं रकम थप गरेको भए हुन्थ्यो त ! उक्त रकमको दोब्बर अंक बढेको भए पनि अवस्था केही सुध्रिने थियो होला । शंकास्पद व्यक्तिहरूबाट संकलित थ्रोट स्वाब सैयौंको संख्यामा परीक्षणका लागि लाइनमा छन् ।

आफू दैनिक १८ घण्टा काम गरेर कर्मचारीलाई ८/१० घण्टा मात्र काममा लगाउने हाम्रा कर्मकाण्डी प्रधानमन्त्रीलाई यो विषयले खासै पोलेन । स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता वृद्धि गरेर अहोरात्र खटाउन सकेको भए सायद ती संकलित स्वाबहरू प्रयोगशालामा अटाउने अवस्था टर्न सक्दथ्यो । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सरकारकै भक्त मात्र बने तर जनतामाथि भक्तिभाव देखाउने हैसियत राखेनन् । अन्तत्वगत्वा कमजोर स्वास्थ्य प्रणाली भएको मुलुकले महामारीको दुर्दशा झेल्नुको विकल्प रहेन । फलत: रोगको सिकार बन्नुपरेको छ ।

सरकारलाई भविष्यको चिन्ताले वर्तमान बिर्सने मनोरोगले सताएको हुनुपर्छ । अहिलेसम्मकै लामो नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा सरकारले लामो महामारीको शृङ्खलालाई देख्न सकेन । त्यसैले नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने फुस्सा माग राखेका पूर्वजन्मको फल खाइरहेका काङ्ग्रेस सभापति शेरबहादुर देउवा अन्तिममा त्यही दुलोमा मुसो बनेर छिरे । विद्वान अर्थमन्त्री डा. खतिवडाको ज्ञानको द्वार खुलेन वा उनले त्यो साहस गर्न सकेनन्, बजेट बाउबाजेकै पालाको पुनरावृत्ति गरे । यो वर्षको बजेट गतसालकोभन्दा पृथक ढंगले आउनुपर्‍थ्यो । विकास बजेटलाई ९० प्रतिशत कटौती गरेर जनतालाई राहत र स्वास्थ्योपचारको व्यवस्था गर्नुपर्ने हो । तर विकासका कार्यक्रम एक वर्षपछि धकेलिए पनि त्यसको तत्कालीन असरलाई पार गर्न सकिन्छ भन्ने दृढ आत्मविश्वास कसैबाट पलाएन । पूर्व भिआइपी र बहालवाला भिआइपीहरूका अतिरिक्त सुविधामा फराकिलो हेरफेर हुन सकेन । सरकार आफैं संवेदनशील अवस्थाबाट गुज्रिएकोले कोरोना नियन्त्रणमा खुब संवेदनशील भएको नाटक मात्र रचेको हो । समग्रमा सञ्चारमाध्यमले पनि सरकारले संयम बजेट ल्याएको विश्लेषण गरे तर बजेटले गुमाएको संयमताबारे खासै बोल्न सकेनन् ।

एउटा कालखण्डबाट अर्को कालखण्डमा प्रवेश गर्दा जतिसुकै बलिया प्राणी पनि विनाश हुन्छन् । यसको मूल कारण परिस्थितिअनुसार आफूलाई बदल्न नसक्नु हो । अहिले पनि समयको गहिराई बुझ्न सकेनौं भने प्राणी विनाशको पछिल्लो ज्वलन्त उदाहरण हामी बन्दैछौं । हिजो जसरी आज र आज जसरी भोलि चल्नेहरू अब संसारमा टिकिरहन सक्दैनन् । त्यसैले त यथास्थितिवादीहरू नै पश्चगामी हुन् भनिएको हो । हाम्रोमा त अग्रगामी सरकार छ । कम्युनिष्टहरूको बहुमत छ । दुई तिहाइको उन्माद छ ।

यसले त पक्कै अपेक्षाकृत काम गर्ला भन्ने आमभरोशा हो । तर कोरोना महामारी झन्डैझन्डै भगवान भरोसामा पुगेको छ । विदेशमा अलपत्र परेका नेपालीलाई ह्वार्ह्वार्ती ल्याउन सक्दैनौं भनेर जुठे अडान लिएको सरकार अहिले बाध्य बनेको छ । घाम छँदै काम नगर्ने जब रात परेपछि छलछाम गरेर समस्या हल हुँदैन । किस्ताकिस्तामा लकडाउन थप्ने तर जनतालाई राहत उपलब्ध गराउन नसक्ने सरकारी संयन्त्रले लकडाउन मात्र अचूक उपाय देख्यो । अब यही तरिकाको लकडाउनले जनताको धैर्यता तोड्ने दिन आयो । कोरोना महामारीबाट पार पाउन ठूलै ‘वार’ लड्नुपर्छ, चानचुने साहसले पुग्दैन । अदम्य साहस सबैले गरौं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय