scheduleशनिवार श्रावण २४ गते, २०७७

बाबुरामको बाङ्गोटिङ्गो बाटो- शीरमा विचार, पैतालामुनि पद

सुदन अधिकारी

समाजवादी पार्टी र राजपा मिलेर बनेको नयाँ राजनीतिक पार्टीमा बाबुरामले हदैसम्मको लचकता अपनाएर यत्रतत्र छरिएका दललाई अन्ततः एक बनाएको खबरले तीव्र प्रतिक्रिया आइरहेको छ ।

यसै सन्दर्भमा मेरो एक मधेसी साथीले भने, ‘सुदन, मलाई जिन्दगीमा पहिलोपटक आफू नेपाली भएको महसुस अनि गर्व एकैचोटि भएको छ । प्रधानमन्त्री भैसकेका अनि जनमानसमा बेग्लै छवि बनाएका बाबुरामले एक मधेसीको नेतृत्व स्विकार्नु नयाँ राजनीतिक उपलब्धि हो । हिमाल-पहाड-मधेसलाई एकत्रित गर्ने भनेर आफ्ना घोषणपत्र अनि दस्तावेजमा कयौं पाना भर्नेहरुले यथार्थमा मधेसी नेतृत्व स्विकार्नु त परको कुरा, आफ्नो पार्टीमा सम्मानजनक स्थान दिनसम्म अनकनाइरहेको सन्दर्भमा बाबुरामको यो कदमले नेपाललाई भावनात्मक एकता गराउन महत्त्वपूर्ण भूमिका खेल्छ कि ।’

उसले दुःखद विगत अनि भावनात्मक वर्तमानले ल्याउनसक्ने सकारात्मक भविस्यको कल्पना गरिराख्दा म बाबुरामको पछिल्लो कदमपछि मुलतः पहाडी समुदायमार्फत व्यक्त भएका शंका, चासो अनि गरिएका प्रश्न सम्झिए ।

बाबुरामलाई चौथो वरियतामा बसेकाले उनको आगामी राजनीतिक यात्रा सकिएको भविष्यवाणी गर्दै कयौंले लेखेका छन्-
– चौटा खान गएकी बुढी झोलमा डुबेर मरी !
– प्रधानमन्त्री भैसको मान्छे एउटा मधेसी नेताभन्दा तल्लो वरियतामा बस्न पटक्कै सुहाएन ।
– बाबुराम अब क्षेत्रीय नेता बने ।
– मधेसीलाई बुई बोकेर बाबुरामले पहाडी समुदायलाई जिस्काए ।
– यस्तो पदमा बस्नुभन्दा बरु स्वतन्त्र बुद्धिजीवी बनेको भए जाती हुन्थो कि !

यी तर्कहरु अलिकती बाबुरामको अबको यात्राप्रतिको डर, अलिकती भिन्न पार्टीमा रहेपछि शंका गर्नैपर्ने ‘कर’ अनि धेरै बाबुरामप्रतिको भरले काम गरेको छ ।
जिन्दगीभर एउटै व्यक्तिको फेरो समातेर उसैको महिमागान गाएर सत्ताको वरिपरि रहनु नै आफ्नो उपलब्धि ठान्नेहरुले गर्नेगरेका तर्कको त के कुरा भो र !
सर्वसाधारणले गर्नेगरेका शंकायुक्त प्रश्नका जवाफ पक्कै छन् ।

प्रश्न- के बाबुराम चौटा खाने लोभमा झोलमा डुबेका हुन् ?
यो प्रश्नको जवाफ पाउनुअघि बाबुराम माओवादीमा रहदाको ईतिहास हेर्नुपर्छ । आफ्नै हातले लेखेका ४० बुँदे मागलाई लिएर जनसरकार प्रमुखको हैसियतमा जनयुद्ध गरेका बाबुराम जनयुद्धकालभरी अविचलितरुपमा गणतन्त्र, संघीयता अनि धर्मनिरपेक्षतासंगै समतामुलक समावेशी नेपाली समाज निर्माण गर्नुनै आफ्नो एकमात्र लक्ष्य भएको कुरा बोलिरहे ।

तत्कालीन पार्टीमा आफू दोस्रो वरियतामा भएता पनि उनले आफुलाई ज्युँदै गाड्ने/सफाया गर्नेसम्मको ‘कारबाही’ हुँदापनि आफुले उठाएका मुद्दामा टसमस भएनन् ।

सुदन अधिकारी

फलतः के भयो भन्नेबारे नेपाली समाज जानकार छ । माओवादीबाटै प्रधानमन्त्री भएका उनी त्यही पार्टीमा रहेर संविधान बनाउने प्रक्रियामा अहम् भूमिका खेले । त्यही पार्टीमा रहेको भए उनले फेरि प्रधानमन्त्री हुने वा अन्य कयौं लाभको पदमा कयौंपटक रहने अवसर पाउने थिए । तर, संविधान बनाउने क्रममा मधेसी-जनजाती-दलितहरुको कयौं अधिकार सुनिश्चित गर्न नसकेको यथार्थता देख्दै त्यही पार्टीले उनीहरुको अधिकार रक्षा गर्ने कुनै बाटो नदेखेपछि उनले नयाँ बाटो समाएका हुन् !

उनी आफ्नो भागमा आएका अनि आउने कयौं चाैटालाई लात मारेर जिन्दगीमा कहिल्यै झोलसम्म नपाएका जनताको साथमा गएका हुन् । उनीहरुको सारथि भएर उभिएका हुन् । यति सत्यतथ्य बुझिसकेपछि ‘चौटा खान गएकी बुढी झोलमा डुबेर मरी’ भन्ने तर्कको सान्दर्भिकता सकिएन र !

प्रश्न- प्रधानमन्त्री भैसकेको मान्छे एक मधेसी नेताभन्दा तल्लो हैसियतमा बस्न सुहाएन ।
यो सवाल आफैंमा गलत र घातक छ । एकचोटि लाभको पदमा पुगिसकेपछि आजीवन त्यसैको ब्याज खाइरहनुपर्ने तर्कले नेपालजस्तो गरिबीको रेखामुनि रहेर पनि आफ्नो छाक कटाएर सरकारलाइ कर तिरिरहेका जनतामाथिको अपराध हो । विदेशमा लाभको पदबाट अवकाश पाएपछि आफ्नो व्यक्तिगत जीवनमा फर्केर श्रम गरेर जीविकोपार्जन गर्ने संस्कृतिको चर्चा गर्ने तर आफ्नै माटाेमा उदाहरण पाउँदा उठाउने प्रवृत्ति घातक छ ।

प्रश्न- बाबुराम अब क्षेत्रीय नेता बने कि?
यो प्रश्नको जवाफ खोज्नुअघि नेपालको सामाजिक बनोट हेर्नुपर्ने हुन्छ । हिमाल-पहाड-तराई मिलेर बनेको यो सानो देशमा कयौं जातजाति छन् आफ्नै इतिहाससहित । प्रशासनदेखि सरकारसम्म खस-आर्यको बर्चस्व रहेतापनि यहाँ आदिवासी-मधेसी-दलितको जनसंख्या बढी छ । नेपालमा परिवर्तनको एक्लो ठेकेदार दाबी गर्नेदेखि लिएर राजवादी सबैको एउटा समान बिशेषता छ । सबै पार्टीको नेतृत्व खस-आर्यमै छ ।

अहिले बनेको जनता समाजबादी पार्टी यसको अपबाद हो । यहाँ मधेसी-खस-जनजाती सबैको समान नेतृत्व छ र समानतामै अगाडी बढ्ने समझदारी बनेको छ । आफ्नो उद्देश्य प्राप्तिका निम्ति समान हैसियतमा लडेकाहरुलाइ लाभ प्राप्तिमा छानीछानी खस-आर्यलाई अघि बढाउनेहरुले नेतृत्व गरेको पार्टी क्षेत्रीय कि नेपालको सबै पहिचानलाई समेटेको पार्टी क्षेत्रीय ? यो सामान्य कुरा ख्याल गरेपछी उत्तर सम्भवत आउँछ । तपाईलाई आयो ?

प्रश्न -मधेसीलाई बुइ बोकेर बाबुरामले पहाडी समुदायलाइ जिस्काए ?
प्रश्न संवेदनशील छ र यसको जवाफ पाउन अझ संवेदनशील हुनैपर्छ । पहाडी बाहुन समुदायमा जन्मिएको मलाई कहिलेकाही यस्तै प्रश्नले डेरा जमाउँछ । तर, फेरि प्रतिप्रश्न आउँछ – के मलाइ कहिल्यै आफ्नो जातलाई लिएर विभेद भएको छ ? के मलाई कहिल्यै आफ्नो रुपरङलाई लिएर विभेद भएको छ ? के मलाइ कहिल्यै आफ्नो मातृभाषा मात्र बोल्न आउँदा अकमक्क पर्नुपरेको छ ? के मलाइ कहिल्यै अनुहारको रंग मिलेकै कारण अर्कै देशको नागरिक भनेर हेपिएको छ ?

सबैको एकैपटक जवाफ आउँछ- छैन ।

तर, नेपालका कयौं समुदायले आफ्नो जिन्दगीको पाइला-पाइलामा आफू पनि “नेपाली” भएको प्रमाणित गर्नुपरेको छ । कुनै खास प्रायोजनलाई बनाइएको जातकै आधारमा जिन्दगीभर अछुत बन्नुपरेको छ । यो विभेदकारी कार्यलाई प्रश्रय दिन मेरा पुर्खाले जानीजानी गल्ती गरेको यथार्थ हो । यति थाहा पाएपछि पुर्खाले गरेको गल्तीमा माफी माग्दै आगामी यात्रामा हामी साथसाथ हिड्नुपर्छ र समतामूलक नेपाली समाजको उदाहरण पेश गर्पर्छ भनी वकालत गर्दा कहाँ गल्ती भयो?

प्रश्न- यसरी खुम्चिएर बस्नुभन्दा त बरु स्वतन्त्र भएको भए हुन्थो नि !

यो तर्क सही भएता पनि अहिलेको नेपाली राजनीतिक प्रक्रियामा असंगत छ । पहाडी-मधेसीबीच विभाजन ल्याउन दुवै पक्षका अतिवादीहरु टाउको उठाएर बसिरहेको सन्दर्भमा प्रधानमन्त्री भैसकेका एक पहाडि नेताले मधेसी नेताभन्दा तल्लो हैसियतमा आफ्नो विगतको कुनै पुर्वाग्रह नराखी नयाँ राजनीतिक चित्र कोर्न यो भन्दा उपयुक्त मौका अरु कुनै हुन्थेन सायद । यसले नेपाली राजनीतिभित्र स्वीकार्यताको भाव जबर्जस्त रुपमा बढाउन सहयोग गर्नेमा दुईमत छैन । तसर्थ, अहिले आफ्नो राजनीतिक यात्रालाई विश्राम दिएर स्वतन्त्र हुनुभन्दा आफुले अहिलेसम्म हासिल गरेका राजनीतिक उपलब्धिलाई अंगाली युवा पुस्तामा राजनीतिप्रतिको नैराश्यता मेटाएर नयाँ उदाहरण पेश गर्न यो कदम कोशेढुंगा जरुर हुनेछ ।

बाबुराम कयौं कमजोरी भएतापनी नेपाली राजनीतिक इतिहासमा इमान्दारिता-नैतिकता-कार्यकुशलतालाई लिएर एक उदाहरण हुन् । आफुले त्यागैत्याग गरेर भएतापनि आफुले कल्पना गरेको समाज बनाउन लालायित एक राजनीतिक कार्यकर्ता हुन् । एक साधारण परिवारमा जन्मेर देशको कार्यकारीसम्म पुगेका उनले आफुसँगै यात्राका क्रममा छुटेका-छुटाइएका समूहलाई लिन फेरि फर्केर नयाँ यात्रा तय गरेका हुन् !

भनिन्छ नि, शिखर चढ्नुभन्दा ठूलो कुरा आफू शिखरमा पुगिसकेपछि पनि झरेर फेरि सामूहिक प्रयासमा शिखरमा चढ्नु उपलब्धि हो । बाबुराम यो दोस्रो बाटोमा छन् । उनलाइ साथ दिने वा खिसी गर्ने हाम्रो हातमै छ ।

प्रिय पहाडी समुदाय,
एकचोटि आफूसँगैको यात्रामा समान उद्देश्य प्राप्ति गर्न भनी मैदानमा लडेका आफ्ना नजिकका छिमेकीलाई हेर्नू ! आफ्ना सहयात्रीलाई हेर्नू ! उनीहरुले भोग्नुपरेको विभेद अनि आफुमा आएको परिवर्तन तुलना गर्नु न ।

यति गरिसकेपछि एकान्तमा बाबुरामले उठाएका मुद्दाहरू फेरि चिन्तन गर्नुस् !
अनि, तपाईको अन्तरात्माले जे भन्छ त्यही गर्नु ।

मलाइचाहिँ त्यही साथीले भनेको वाक्य सम्झनामा आइरहेछ, ‘सुदन, बाबुरामको यो कदमले मलाई आज नेपाली हुनुको महसुस अनि गर्व एकचोटि भयो !’

लाग्यो- पहाड चढ्न त जो कोहि सक्ला ।

तर, एकचोटि चढिसकेको पहाडबाट ओर्लिएर फेरि सामूहिक प्रयासमा चढ्नु को मज्जा नै बेग्लै !

पद जोगाउनका लागि इतिहासलाई धितो राख्ने कि विचार र उद्देश्यलाई शीरमा राखी पदलाई पैतालामा कुल्चिएर हिंड्ने ? इतिहासको ब्याज खाइरहने कि नयाँ भविष्य निर्माण गर्न बाँकी जीवन समर्पण गर्ने ?

प्रश्न सामान्य छैनन् । उत्तर पनि सामान्य हुने छैनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय